==========================================
==========================================
२०७१ साल माघ ११ गते नेपाल प्रज्ञाप्रतिष्ठान र लघुकथा समाजको संयुक्त आयोजनामा आयोजित लघुकथा गोष्ठीमा प्रस्तुत गोष्ठीपत्र ।
समसामयिक नेपाली लघुकथा लेखनको स्थिति र चुनौती
कुमारप्रसाद कोइराला (विद्यावारिधि)
प्राध्यापक, त्रि.वि.पद्मकन्या क्याम्पस
१. विषय प्रवेश
साहित्यलाई काव्य, नाटक, आख्यान र निबन्ध गरी चार विधामा वर्गीकरण गरिन्छ । आख्यानभित्र उपन्यास, लघुउपन्यास, कथा र लघुकथा पर्दछन् । त्यसैले लघुकथा आख्यानको उपविधा हो । यो कथाभन्दा सानो हुन्छ । कम्तीमा एउटा लक्ष्यमा पुग्ने र अर्को त्यसमा व्यवधान पु¥याउने दुइटा विपरीत खालका यथार्थ वा कल्पित घटना अथवा अवस्थालाई कार्यकारणको शृङ्खलामा बाँधी तिनको तानातानमा चरम अवस्थाको सिर्जना गराई तिनबाट एउटा परिणाम पनि देखाउन सक्ने आख्यानको लघुतम रूप वा रचनालाई लघुकथा भनिन्छ । आख्यानकै संरचनामा यो रचिन्छ । यसमा विचार वा सारवस्तु, कथावस्तु, पात्र, परिवेश, कथयिता, उद्देश्य, भाषाशैली जस्ता संरचनात्मक तŒव हुन्छन् । लघुकथा अनेक प्रकारको हुन्छ र अनेक ढङ्गमा लेखिन्छ । पढ्न थोरै समय लाग्ने, थोरैमा जीवनको मर्म व्यक्त गर्न सक्ने, चिरकालपर्यन्त प्रभाव पार्न सक्ने आदि विशेषताले गर्दा वर्तमान समयमा यसको महŒव दिनानुदिन बढ्दै गएको र यो लोकप्रिय र उर्वर भइरहेको पनि पाइन्छ ।
नेपाली लघुकथाको आरम्भ वि.सं. २००० सालपछि भएको देखिन्छ । त्यस वेलादेखि अहिलेसम्ममा यस विधाले सत्तरी वर्ष लामो यात्रा पूरा गरिसकेको छ । यस अवधिमा यो प्रशस्त झाँगिएको र मौलाएको देखिन्छ । यस लेखमा समसामयिक लघुकथाको अवस्था वा स्थिति कस्तो छ र यसमा के कस्ता चुनौती छन् भन्ने सम्बन्धमा विवेचना गर्ने प्रयत्न गरिएको छ ।
२ समसामयिक नेपाली लघुकथा
समसामयिक भन्ने शब्द सम विशेषण र सामयिक विशेषण शब्दको योगबाट बनेको देखिन्छ । त्यसैले यो समस्त शब्द हो । सम भनेको समान, बराबर, घटीबढी नभएको हो भने सामयिक भनेको समयअनुसारको, समयसुहाउँदो, समयानुकूल हो । समसामयिक भन्ने विशेषण वर्गको शब्द हो । यसको अर्थ हो अहिलेको समयको, भरखरैको, हालसालैको, वर्तमान कालको । त्यसैले समसामयिक लघुकथा भनेको अहिलेको समयमा लेखिएको, भरखरै लेखिएको, वर्तमान कालमा लेखिएको लघुकथा हो । अहिलेको समयमा लेखिँदैमा सबै लघुकथा समसामयिक नहुन सक्छन् किनभने तिनमा समसामयिकता वा समकालीनताका विशेषता वा अभिलक्षण नहुन सक्छन् । जुन लघुकथाले समसामयिक समाज वा जीवनको प्रतिनिधित्व गर्न सक्छ र जो पहिलेका लघुकथा भन्दा नवीन छ त्यही नै समसामयिक हुन्छ । समसामयिक चेतनायुक्त, समसामयिक युगजीवन देखाउन सक्ने, परम्परा भिन्न, द्रुत परिवर्तनशील समयलाई प्रतिविम्बित गर्न सक्ने, नयाँ शिल्प र शैली आविष्कार गरेर लेखिएको लघुकथा नै वास्तवमा समसामयिक हुन्छ । वर्तमानमा के कस्ता चिन्तन, विचार वा दर्शनको प्रभाव आम जीवनमा परेका छ ? विज्ञान र प्रविधिको विकास कसरी भइरहेको छ र त्यसले जीवनमा कस्तो असर पारेको छ ? जीवनमूल्यमा के कस्ता परिवर्तन आएका छन् ? खास साहित्यिक विधामा के कस्ता नवीन प्रयोग भइरहेका छन् जस्ता कुरा नबुझी लेखिएका लघुकथा समसामयिक हुन सक्दैनन् ।
कहिलेदेखि कहिलेसम्मका लघुकथालाई समसामयिक मान्ने भन्ने विषयमा सबैको दृष्टिकोण समान नहुन सक्छ, किनभने ऐतिहासिक तथ्य एउटै भए पनि त्यसको व्याख्या व्यक्तिले आफ्नो दृष्टिकोणअनुसार गरिरहेको हुन्छ । त्यसैले समसामयिकताका सम्बन्धमा मतभिन्नता पाइन्छ । अश्क (२०६५) ले २०४० पछिका लघुकथालाई समसामयिक मानेका छन् । गौतम (२०६७) ले २०५२ सालपछिका लघुकथालाई समसामयिक भनेका छन् । कोइराला (२०६८) ले नेपाली लघुकथाको विकासक्रमलाई तीन चरणमा विभाजन गरेका छन्ः
क) वि.सं. २००० देखि २०१९ सम्म,
ख) वि.सं. २०२० देखि २०३९ सम्म र
ग) २०४० देखि अहिलेसम्म ।
वास्तवमा २०४० देखि यताका लघुकथालाई समसामयिक भन्नु बढी समीचीन देखिन्छ, किनभने २०३५÷३६ सालमा भएको राजनीतिक आन्दोलनले देशका प्रायः धेरै क्षेत्रमा परिवर्तनको लहर देखा प¥यो । दार्जिलिङबाट इन्द्रबहादुर राईले नेपाली कथा विधामा लीला लेखनको अवधारणा प्रस्तुत गरे । यो अवधारणा पाश्चात्य साहित्यमा सन् १९६० देखि आरम्भ भएको उत्तरआधुनिक अवधारणाबाट प्रभावित र प्रेरित थियो । यसरी २०४० देखियताका कथा परम्पराभन्दा भिन्न नयाँ चिन्तन र शिल्पमा लेखिन थाले । नेपालको राजनीतिक अस्थिरता र पाश्चात्य उत्तरआधुनिक चिन्तन र शैलीको प्रभाव नेपाली कथा लेखनमा पर्न थाल्यो । नेपालमा २०४६ सालमा राजनीतिक परिवर्तन भयो । त्यस्तै २०५२ सालमा माओवादी द्वन्द्व र युद्ध आरम्भ भयो । २०५८ सालपछि देशमा पुनः अधिनायकवादी शासन सुरु भयो र २०६१÷६२ को जनआन्दोलनबाट राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उदय भयो । यी सबै घटनाको प्रभाव लघुकथा लेखनमा परेको देखिन्छ । यी घटनाले लघुकथा लेखनमा अनेक नयाँ मोड सिर्जना गरेका छन् । यिनै कारणले नै समसामयिक लघुकथा परम्परित लघुकथाभन्दा भिन्न र नवीन भएका हुन् । त्यसैले यहाँ २०४० पछिका कथालाई समसामयिक मानेर तिनको चर्चा गरिएको छ ।
२.१ समसामयिक लघुकथा लेखनका प्रमुख कारण
साहित्य विनाकारण लेखिँदैन । कुन समयमा कस्तो साहित्यिक कृति लेखिन्छ त्यसको निर्धारण स्रष्टाले गर्दछ, तर स्रष्टालाई पुराण इतिहासका, ऊ बाँचेको युगका, उसओरिपरिका समसामयिक घटनाले प्रभाव पारिरहेका हुन्छन् । ऊ तिनै घटनाबाट प्रभावित भएर साहित्यिक कृति रचना गरिरहेको हुन्छ । साहित्य लेखिनाका जे जस्ता कारण हुन्छन् ती नै लघुकथा लेखनका कारण हुन् । समसामयिक लघुकथा लेखनका प्रमुख कारणमा निम्न कुराहरू पर्न सक्छन्ः
क.पुरुषप्रधान सामाजिक संरचनाः नेपाली समाज पुरुषप्रधान छ । यस्तो सामाजिक संरचनाले गर्दा समाजमा लैङ्गिक विषमता छन् । यिनै विषमताले गर्दा हाम्रो समाजमा नारीले अनेक प्रकारका उत्पीडन बेहोर्नुपर्छ । पुरुषले नारीलाई आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक आदि अनेक प्रकारले शोषण गरिरहेको हुन्छ । लघुकथाकारले यिनै कुरालाई कथ्य बनाएर कथा लेखिरहेको देखिन्छ ।
ख.बहुदलीय व्यवस्था र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था
नेपालमा २०४६ सालपछि पञ्चायति व्यवस्थाको अन्त र बहुदलीय व्यवस्थाको आरम्भ भयो । यो व्यवस्था पनि जनताले चिताए जस्तो हुन सकेन । नेतृत्व वर्गले यसको मर्म आत्मसात् गर्न सकेन । उनीहरूले यसलाई कमाइ खाने भाँडो बनाए । जनताको जीवनमा कुनै परिवर्तन आउन सकेन । फलतः समाजमा निराशाको बादल मडारिन थाल्यो । समाजको शोषित र उत्पीडित वर्गको एउटा समूहले हिंसाको मार्ग समात्यो । सत्ताधारीले त्यसलाई हिंसाबाटै समाधान गर्न खोज्यो । दुवै अतिवादीको हिंसाले देशमा रगतको खोलो बग्यो । राजाको हत्या भयो । देशमा पुनः अधिनायकवादी शासन सुरु भयो । नेपाली जनताले राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक सङ्घीय गणतन्त्र स्थापना गरी छाड्यो, तापनि वास्तविक हकदार त्यसबाट लाभान्वित हुन सकेन । देशमा अनाचार, दुराचार, भ्रष्टाचार झन् झन् बढ्न थाल्यो । राजनीतिक नेतृत्वको चरम स्वार्थले देशको भविष्य अँध्यारो देखिन थाल्यो । यस्तै विषम र दुरवस्थाको कारणबाट यस अवधिका लघुकथा लेखिएको देखिन्छ ।
ग.साइबर संस्कृतिको विकास
नेपालमा चालीसको दशकमै इन्टरनेटको आरम्भ भएको हो । यसपछि अन्य विद्युतीय सञ्जालहरूको विकास हुन थाल्यो । समाचारपत्रका, साहित्यिक पुस्तक र पत्रपत्रिकाका, रेडियो र टि.भीका अनलाइन संस्करणहरू धमाधम खुल्दै र व्यापक हुँदै गए । नेपाली समाजमा इन्टरनेटको पहुँच क्रमशः बढ्न थाल्यो । यसबाट पाठक सङ्ख्यामा वृद्धि भयो । लामा रचनाभन्दा छोटामीठा साहित्यिक रचनाले प्रश्रय पाउन थाले । सञ्चारका क्षेत्रमा आएको यस्तो अभूतपूर्व विकासले गर्दा साहित्यिक सृजनाको प्रकाशन र प्रसारमा क्रान्ति नै भयो । यस्तो क्रान्तिको प्रभावमा परेर पनि यस अवधिमा धेरै लघुकथाकारले लघुकथा रचना र प्रकाशन गरेको देखिन्छ ।.
घ. विश्वसाहित्यमा देखापरेका विभिन्न वाद
विश्व साहित्यमा सधैँ नयाँ चिन्तन, विचार, वाद वा सिद्धान्त, प्रवृत्ति, लेखनशैली प्रादुर्भाव भइरहन्छन् । विकसित सञ्चारका कारण ती नवीन साहित्यिक सिद्धान्त, प्रवृत्ति र लेखनशैली तुरुन्तै विश्वव्यापी हुन पुग्छन् । तिनको प्रभावबाट स्थानीय लेखन मुक्त हुन सक्दैन । नेपाली लघुकथा पनि विश्व साहित्यमा देखिएका नवीन विचार र लेखन मार्गबाट प्रभावित भएर लेखिएको देखिन्छ ।
ङ. नेपाली समाजमा प्रचलित विभिन्न प्रकारका अन्धविश्वास
नेपाली समाजमा अज्ञानता र अशिक्षाका कारणले अनेक प्रकारका अन्धविश्वास विद्यमान छन् । बलिप्रथा, नारीलाई बोक्सी ठान्नु, झारफुकमा विश्वास गर्नु, बालविवाह गर्नु, विधवालाई हेला गर्नु, अन्धअपाङ्ग र तेस्रो लिङ्गीलाई हेय दृष्टिले हेर्नु आदि हजारौँ प्रकारका धार्मिक, सामाजिक, सांस्कृतिक अन्धविश्वासले नेपाली समाज आक्रान्त छ । यस्तो कारणले पनि लघुकथाको सृजना भएको छ ।
च. देशबाहिरका नेपालीको जीवन
नेपालीहरू कामको खोजीमा पहिलेदेखि नै अन्य देशमा जान्थे । तिनको मात्रा कमै थियो । देशको राजनीति अस्थिरता, द्वन्द्व र युद्ध, बेरोजगारी, खुला बजार व्यवस्था र भूमण्डलीकरणले गर्दा नेपालीहरू चालीसको दशकपछि अत्यधिक मात्रामा विदेश जान थाले । उनीहरू कतिपय उतै बसोबास गर्न थाले भने कति फर्केर पनि आए । यो क्रम दिनानुदिन बढिरहेको छ । यस्ता नेपालीको जीवन पनि लघुकथा लेखनको कारण बनेको देखिन्छ ।
छ. वर्ण व्यवस्थामा आधारित नेपाली सामाजिक संरचना
नेपाली समाज वर्ण व्यवस्था अर्थात् सानो र ठूलो जातमा विभक्त छ । यस्तो सामाजिक संरचनाले गर्दा नेपाली समाजमा छुवाछूतको भावना उग्र रूपमा रहेको देखिन्छ । बाहुन र क्षत्रीलाई उच्च जात र शूद्र र वैश्यलाई निम्न जात भनी विभेद गरिन्छ । कानुनी रूपमा यस्तो विभेद दण्डनीय भए पनि सामाजिक रूपमा यो अझै भित्र भित्रै अवशेषका रूपमा रहिरहेको देखिन्छ । यो पनि लघुकथा लेखनको कारण बनेको पाइन्छ ।
ज. विज्ञान र प्रविधिको विकास
विज्ञान र प्रविधिको तीव्रतम विकासले मानव जीवनमा ठूलो असर पारेको देखिन्छ । यसले मान्छेका परम्परित सोचमा आमूल परिवर्तन ल्याइदिएको छ । स्थान र समयको दूरत्व कम भएको छ । विश्व साँघुरिएर घर जस्तो भएको छ । मान्छेका जीवनमूल्यमा, जीवनदृष्टिमा र जीवनयापनशैलीमा अकल्पनीय परिवर्तन आएको छ । यो पनि लघुकथा लेखनको कारण बनेको छ । यी कारणहरू नै नेपाली लघुकथा लेखनका अभिप्रेरक भएका छन् । यहाँ तीन दशकको अवधिमा के कति लघुकथात्मक कृति लेखिए तिनको विवरण प्रस्तुत गरिएको छ । यी केही प्रमुख कारण मात्र हु्न् । यस्ता अरू थुप्रै कारण हुन सक्छन् ।
२.२. चालीसको दशकका लघुकथाकार र लघुकथा कृति
पूर्णप्रसाद ब्राह्मण— एकतीस कथा (२०४२),अमोददेव भट्टराई— हस्ताक्षर (२०४७), सम्पादित लघुकथासङ्ग्रहः गोविन्दगिरी प्रेरणा (सम्पा.)— लघुकथा (२०४३—२०४४), किशोर पहाडी र अशेष मल्ल (सम्पा.)— अध्याय (२०४७), लघुकथा विशेषाङ्क निकाल्ने पत्रिकाहरूः सौरभ (२०४६÷४७), सम्पा. अशेष मल्ल र किशोर पहाडी ।
२.३ पचासको दशकका लघुकथाकार र लघुकथा कृति
भागीरथी श्रेष्ठ— रङ्गीन पोखरी (२०५०), बालमुकुन्द खनाल— बाध्यता (२०५०), ध्रुव मधिकर्मी— बुद्ध कहीँ छैन, (२०५१), सुमन सौरव— आधुनिक लघुकथाहरू (२०५२), किशोर पहाडी— किंवदन्ती २०५२), रवीन्द्र समीर— तेस्रो आँखा (२०५३), विनयकुमार कसजू— लिस्नो (२०५३), वासु मार्मिक— छेस्काछेस्की (२०५३), कपिल लामिछाने— अन्यथा (२०५४), हरिहर खनाल— विगत आगत (२०५५), इन्दिरा प्रसाईं— बयान (२०५५), रामविक्रम थापा— पात्रहरू (२०५५), नगेन्द्रराज शर्मा— एकान्तका आफन्तहरू २०५५), विष्णु राई— परपर (२०५५), कृष्ण शाह यात्री— सूक्ष्म शिखाहरू (२०५६), हरिगोविन्द लुइँटेल— समय र वनमारा झार(२०५६), पोष चापागाईं— लप्सी धारो (२०५६), नवराज रिजाल— अदृश्य पीडा (२०५७), नारायण तिवारी— दसैँ खर्च (२०५७), विनयकुमार कसजू— थोपा थोपा (२०५७), श्रीओम श्रेष्ठ रोदन—आँखीझ्याल (२०५८), प्रयास सौरभ श्रेष्ठ— विम्बप्रतिविम्ब (२०५८),गोविन्द भट्टराई— भाग्यले लुटेको जिन्दगी (२०५९), यमदेव उत्प्रेरक— यात्रारम्भ (२०५९), पुष्करराज भट्ट— कर्मयोद्धा (२०५९), शेखरकुमार श्रेष्ठ— सागरपुर (२०५९) । सम्पादित लघुकथा सङ्ग्रहः श्रीओम श्रेष्ठ (सम्पा.)— शुभारम्भ (२०५४), गोरखबहादुर सिंह (सम्पा.)— पहिरो थुप्रिएको बगर (२०५५), कृष्ण कँडेल (सम्पा.)— संवेदन स्वरहरू (२०५८) आदि । लघुकथा विशेषाङ्क निकाल्ने पत्रिकाहरूः अभिभावक (२०५०) सम्पा. वासु मार्मिक, सुनसरी (२०५२) सम्पा. कृष्णप्रसाद दाहाल, ज्योतिपुञ्ज (२०५२), गुञ्जन (२०५६), मधुपर्क (२०५६), दायित्व (२०६९), प्रसून (२०६९) आदि ।
२.४ साठीको दशकका लघुकथाकार र लघुकथा कृति
विजय सागर— सागरका कथाहरू (२०६०), डम्बर रसिक भारती— भुइँकुइरो (२०६०), सुदीप गौतम— बुद्ध (२०६०), अच्युत घिमिरे— शिखर चढिरहेको मान्छे (२०६०), विश्वराज अधिकारी— अभिनय (२०६०), किसन थापा अधीर— अन्धाहरूको देशमा (२०६०), बद्री पालिखे— मनस्थिति (२०६०), इन्द्रकुमार विकल्प— सर्वदलीय घर (२०६०), गोरखबहादुर सिंह— आलुप्याज प्याजआलु (२०६०), अगिब बनेपाली— शुभयात्रा (२०६०), कुसुम ज्ञवाली— सहिदले बिर्सेको गाउँ (२०६०), हिरण्य भोजपुरे— जँघार (२०६०), माधव लामिछाने— पुरस्कार (२०६१), पोष चापागाईं— हाइकु कथा (२०६१), कपिल लामिछाने— जल मानव (२०६१), केशव प्रधान— दुर्गे दमाईको मृत्यु (२०६१), विनयकुमार कसजू— बाघको सत्कार (२०६१), भूपेन्द्र सुवेदी— एक मूल एकाउन्न फूल (२०६१), भरत भारद्वाज— प्रश्नको क्याराभान (२०६१), षडानन्द पौडेल— परिवेश (२०६१), पद्मप्रसाद शर्मा— उपहार (२०६२), श्रीबाबु कार्की— समय बाछिटा (२०६२), अगिब बनेपाली— अन्तिम आग्रह (२०६२), अमित घिमिरे— सलह (२०६२), हिरण्य भोजपुरे— रङ्गहरू (२०६२), गोपाल ढकाल— अस्ताएको सूर्य (२०६२), धनुषराज राई— सेतो हस्ताक्षर (२०६२), मोहनबहादुर कायस्थ— भावना (२०६२), राजुराम मुनकर्मी— अन्तद्र्वन्द्व (२०६२), हरिहर पौडेल— कालो उज्यालो (२०६२), शिवहरि अधिकारी— दुखेको मन (२०६२), रवीन्द्र समीर— पोस्टमार्टम (२०६२), पुष्करराज भट्ट— मूक्तिदूत (२०६२), बि.थुलुङ— अनुभूत (२०६२), रवीन्द्र समीर— विकिरण (२०६३), हरिप्रसाद भण्डारी— अविरल यात्रा (२०६३), बुद्धिनाथ ज्ञवाली— जल्दै गरेको आकाश (२०६३), राजु पाठक— भलाद्मी श्रीमती (२०६३), डमरुवल्लभ गडतौला— भ्यागुताको चुरीफुरी (२०६३), ज्योतिप्रभा विष्ट— उज्यालो रोएपछि (२०६३), शर्मिला खडका दाहाल— संवत् अफिस (२०६४), कृष्ण बजगाईं— यन्त्रवत् (२०६४), कृष्ण शाह यात्री— आणविक अस्त्र (२०६४), एल.वि.क्षत्री— त्रिशङ्कुको देशमा (२०६४), प्रदीप प्रधान— द्वन्द्वकालीन कथा (२०६४), पुष्करराज भट्ट— एक थोपा सागर (२०६४), हरिहर खनाल— हरिहर खनालका छोटा कथा (२०६४), टेकबहादुर आले मगर— कालो छाया (२०६४),रवीन्द्र समीर— ईश्वरका कथा (२०६५), सुमन सौरभ— पराई विचार (२०६५), गोरखबहादुर सिंह— नगरसभाको पाँचौँ दिन (२०६५), आर.आर. चौलागाईं— विघटनको तयारीमा (२०६५), भीमराना जिज्ञासु— कफ्र्यु लागेको दिन (२०६५), सुमनराज ताम्राकार— गठेमङ्गल (२०६५), सरस्वती रिजाल— प्रसङ्ग भ्रम र पात्रहरू (२०६५), तारा जोशी— भीडमा एक्लो मान्छे (२०६५), मुक्तिनाथ घिमिरे— २१६६ (२०६६), दिलीप शाह— जालो (२०६६), देवेन्द्र अर्याल आशु— घाइते ईश्वर (२०६६), कृष्ण बजगाईं— रोडम्याप (२०६६), विनय कसजू— स्याललाई स्लिपिङब्याग (२०६६), सुशीला देउजा— दोभान (२०६६), रवीन्द्र समीर— अर्जुन दृष्टि (२०६७), श्रीओम श्रेष्ठ रोदन— भ्रममार्ग (२०६७), हरिप्रसाद भण्डारी— काला सर्पहरूको खोजीमा (२०६७), नवराज रिसाल— माटो खोज्दै (२०६७), सन्तोष श्रेष्ठ— अधुरो सपना (२०६७), टङ्कराम सुनुवार सिर्सेली— परेड (२०६७), रमेश परियार— समयचक्र (२०६७), रामबहादुर बानिया क्षत्री— लघुकथा सङ्ग्रह (२०६७), डमरुवल्लभ गडतौला— खडेरीको पोखरी (२०६८), होम क्षत्री— मुक्ति (२०६८), राजु क्षत्री अपुरो— मेरा केही लघुकथाहरू (२०६८), लुमडी आचार्य— कागजको खोस्टो (२०६८), महेश प्रसाईं— फूलै फूलका आलापहरू (२०६८), साधना प्रतीक्षा— सन्दिग्ध समयका पाइला (२०६८), सिन्धु गौतम— कर्कलाको शीत (२०६८), कपिल लामिछाने— बोन्साई (२०६८), रसुवाली कवि— हत्यारो विदेशतिर (२०६८), रमेश भट्टराई पुजारी— उर्दी (२०६८), रामचन्द्र नेपाल— प्रतिविम्ब (२०६९), कल्याण पन्त— समय सन्दर्भ (२०६९), रवीन्द्र समीर— अणु र पहाड (२०६९), डम्बर रसिक भारती— तुवाँलो (२०६९), कृष्ण शाह यात्री— तारो (२०६९), चन्द्रप्रसाद न्यौपाने— नयाँ घर (२०६९), मित्र आभास— अग्रगमन (२०६९), चिन्तु गिरी— पछुतो (२०६९), पुष्कर अथक रेग्मी— अठार (२०६९), कैलाशकुमार सिवाकोटी— विस्थापित शुक्रराज (२०७०), मणिकुमार पोखरेल— तिरस्कृत सिउँदो (२०७०), नारायण तिवारी— महँगी, भोक र सार्वभौमसत्ता (२०७०), कृष्ण बजगाईं— कामरेड भाउजू (२०७१), सरुभक्त— विरुपाक्ष र देश (२०७१), भाष्कर— टाउकाको खोजी (२०७१), नारायण मरासिनी— हेडसरका कथाहरू (२०७१) आदि । सम्पादित लघुकथा सङ्ग्रहहरूः सिर्जनशील कथाहरू (२०६४), विनयकुमार कसजू (सम्पा.)— प्रतिनिधि लघुकथाहरू (२०६५) । नियो स्तूप (२०७०) सम्पा. जीवन देवान गाउँले आदि । यीबाहेक लघुकथात्मक पुस्तक प्रकाशित नगराएका तर लघुकथा लेखिरहेका सयौँ लघुकथाकारहरूका लघुकथा विभिन्न साहित्यिक पत्रपत्रिकामा, कथाकुनोमा र अन्य विद्युतीय माध्यममा प्रकाशित भइरहेको देखिन्छ । समसामयिक कथाको तीन दशक अवधिको यस विवरणबाट नेपाली लघुकथाको लेखन, प्रकाशन र प्रसारमा उल्लेख्य मात्रामा वृद्धि भइरहेको छ ।
२.५ समसामयिक लघुकथाका प्रमुख प्रवृत्ति
समसामयिक लघुकथामा विषयगत र शिल्पशैलीगत विविधता पाइन्छ । तिनलाई अनेक आधारमा अनेक वर्गमा विभाजित गर्न सकिन्छ । समसामयिक लघुकथा अनेक विशेषता भएका छन् । तिनले अनेक प्रवृत्ति अँगालेका छन् । यहाँ उदाहरणका रूपमा केही प्रमुख प्रवृत्तिको सूत्रात्मक चर्चा गरिएको छ ।
क. सामाजिक विकृति र विसङ्गतिको चित्रण
नेपाली समाज पितृसत्तात्मक, वर्णव्यवस्थामा आधारित र अनेक प्रकारका अनधविश्वासमा जकडिएको छ । समाजको यही विकृत र विसङ्गत अवस्थालाई कथ्य बनाएर सर्वाधिक लघुकथा कृति सृजना गरेका छन् ।
ख. राजनीतिक विकृति र विसङ्गतिको चित्रण
२००७ सालपछि नेपालमा कहिल्यै राजनीतिक स्थिरता देखिएन । चालीसको दशकदेखि त रानीतिक अस्थिरता झन् बढिरहेको देखिन्छ । बहुदलीय शासनकाल, राजा ज्ञानेन्द्रको निरङ्कुश शासनकाल र सङ्घीय लोकतान्त्रिक गणतन्त्र कालमा समेत नेपालीले अमनचैनको अनुभव गर्न पाएनन् । नेपालीको यही विडम्बनालाई विषय बनाएर थुप्रै लघुकथा कृति रचना भएको देखिन्छ ।
ग. द्वन्द्व र युद्धजन्य अभिघातको चित्रण
नेपालमा पचासको दशकदेखि सुरु भएको द्वन्द्व र युद्धका त्रास, पीडा, वेदना, अवसाद, विध्वंस, हिंसा, पलायन, विस्थापन, वैधव्य, टुहुरोपन, सन्तानहीनता, क्रूरता, नृशंसता, बीभत्स अवस्था, निराशा आदिलाई कथ्य बनाएर धेरै लघुकथा लेखिएका छन् ।
घ. व्यङ्ग्यात्मकता
लघुकथा प्रायः व्यङ्ग्यप्रधान हुन्छन् । सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक, धार्मिक क्षेत्रका विडम्बना र व्यक्तिविशेषका अनैतिकता, भ्रष्टता, दुराचार, मूल्यहीनताप्रति व्यङ्ग्य गरेर लेखिएका कथा झन् धेरै देखिन्छन् ।
ङ. मनोश्लिेषणात्मकता
व्यक्तिविशेषका यौनजन्य, अभावजन्य, हीनताजन्य आदि अनेक अपराध र मनोद्वन्द्वलाई प्रमुखता दिएर लेखिएका लघुकथा पनि धेरै छन् ।
च. वैचारिकता
विचारकेन्द्री लघुकथामा विचारको प्रधानता हुन्छ । सबै व्यक्तिको एउटै विचार हुँदैन । प्रत्येक व्यक्तिको जीवनदृष्टि भिन्न हुन्छ । साहित्यले व्यक्तिविशेषकै विचार व्यक्त गर्दछ । यथार्थवाद, प्रतीकवाद, माक्र्सवाद, नवमाक्र्सवाद, नारीवाद, अस्तित्ववाद, विसङ्गतिवाद, मानवतावाद, नवमानवतावाद, उत्तरआधुनिकतावाद, नवइतिहासवाद उत्तरउपनिवेशवाद आदिलाई साहित्यि विचार, धारण वा मान्यत भन्न सकिन्छ । यीमध्ये कतिपय चाहिँ साहित्य रचना गर्ने पद्धति वा शिल्प पनि हुन् । यिनलाई केन्द्रमा राखेर लेखिएका लघुकथा पनि धेरै देखिन्छन् ।
छ. देशबाहिरको नेपाली जीवनको चित्रण
नेपालीहरू देशबाहिर विश्वका अनेक मुलुकमा गएर बसेका छन् । अध्ययनका लागि, काम र मामका लागि, बाध्यता वा खुसीले गएका ती नेपालीको जीवन पनि कथ्य भएर लघुकथामा प्रकट भएको देखिन्छ । यस्ता कथामा उनीहरूको द्वैध मानसिकता, परिचयहीनता, गृहत्यागको पीडा आदिलाई मूल कथ्य बनाइएको हुन्छ ।
ज. प्रयोगपरकता
प्रयोग कृतिको संरचनामा, प्रस्तुतिमा, भाषामा, शैलीशिल्पमा गर्न सकिन्छ । संरचना, प्रस्तुति, भाषा र शैलीशिल्पमा प्रयोग गरेर नेपाली लघुकथा लेखिएका छन् ।
२.६ समसामयिक लघुकथाको प्रवद्र्धन र विकासमा भएका केही महŒवपूर्ण कार्यहरूः
क.लघुकथा समाजको स्थापना (२०६५), ख. लघुकथा सम्मानको सुरुवात ग.पद्मा—रामचन्द्र लघुकथा पुरस्कारको स्थापना (२०७१) घ. नेपाली लघुकथा नामक पत्रिकाको प्रकाशन (२०६९), ङ. लघुकथा लेखन तथा प्रशिक्षण कार्यक्रमको सञ्चालन, च. बहुभाषिक लघुकथा गोष्ठी सञ्चालन, छ. अन्तरराष्ट्रिय लघुकथा गोष्ठीको आयोजन (२०६६) ज. लघुकथा गोष्ठी र लघुकथा वाचन, झ. लघुकथा मञ्चन (२०७०) ञ. सामाजिक सञ्जाल फेसबुकमा लघुकथा कुनो सञ्चालन (सन् २०१२), ट. ढब्लुढब्लुडटनेपालीलघुकथाढटकम वेभसाइट सञ्चालन, ठ. प्रकाशनपूर्व लघुकथाको पाण्डुलिपि परीक्षण र परिमार्जन कार्यक्रम सञ्चालन, ड. स्नातकोत्तर र दर्शनाचार्य तहमा लघुकथासम्बन्धी शोधपत्र लेखन, ढ. लघुकथाविषयक विद्यावारिधि तहको शोधकार्यको सुरुवात आदि । यस्ता कार्यबाट नेपाली लघेकथाको विकासमा ठूलो टेवा पुगिरहेको देखिन्छ ।
३. चुनौती
साहित्यका हरेक विधामा केही न केही चुनौती वा सीमा रहेकै हुन्छन् । लघुकथामा पनि यस्ता सीमा वा चुनौती छन् । ती चुनौती निम्न प्रकारका हुन सक्छन्ः
क. सर्जकको प्रतिभा, विधासम्बन्धी ज्ञान र सीपसम्बन्धी चुनौतीः सर्जक प्रतिभाशाली, विधाको सैद्धान्तिक पक्षसँग सुपरिचित र शिल्प वा सीपमा निपुण छ भने लघुकथा सुसङ्गठित, कलात्मक र प्रभावकारी हुन्छ अन्यथा हुँदैन । कमप्रतिभाशाली, लेखन अभ्यासको कमी भएका र सिकारु लेखकका कृति चुनौती बन्दछन् ।
ख. लघुकथाको सैद्धान्तिक पक्षसँग सम्बद्ध चुनौतीः अन्य विधाका तुलनामा लघुकथाको सैद्धान्ति पक्षको न लामो परम्परा छ, न त्यसको सैद्धान्तिक पक्षको गहन र गम्भीर अध्ययन गरिएका कृतिहरू नै छन् । न यसको इतिहाससम्बन्धी पर्याप्त कृति नै लेखिएका छन्, न लघुकथाका समालोचनात्मक कृति नै निक्लेका छन् ।
ग. लघुकथाको गुणवत्तासँग सम्बद्ध चुनौतीः यस्तो चुनौती सर्जक, सम्पादक र प्रकाशन पक्षसँग सम्बद्ध हुन्छ । धेरै सर्जकसँग भाषिक दक्षता कम हुन्छ, प्रतिभा भएर मात्र हुँदैन अभिव्यक्ति क्षमतामा पनि सर्जक निपुण हुनुपर्छ । त्यसपछि प्रकाश्य कृतिको सम्पादन गर्नु त्यत्तिकै आवश्यक पर्दछ । असल लेखन र सम्पादनले मात्र पनि कृति गतिलो नहुन सक्छ । यदि प्रकाशन गर्दा कमसल कागत, कृतिको डिजाइन गर्ने व्यक्ति सिकारु र छपाइ स्तरीय भएन भने पनि कृतिको गुणवत्तामा कमी आउन सक्छ । यी तीन किसिमका चुनौतीका आधारमा हेर्दा धेरै लघुकथात्मक कृतिहरू गुणवत्ताका दृष्टिले कमजोर देखिन्छन् ।
गौतम (२०६७), समीर (२०६९), भण्डारी (२०६९), भट्ट (२०७१) आदिले नेपाली लघुकथाका सीमा र चुनौतीबारे चर्चा गरेका छन् । उनीहरूका भनाइको आशयअनुसार समसामयिक लघुकथामा प्रायः प्रभावको तीक्ष्णतामा कमी, विषयको पुनरुक्ति, वर्णनात्मक शैलीको आधिक्य, सुरुमै रहस्यको उद्घाटन, कुतूहलतामा कमी, कम रोचकता, शिथिल आवयविक सङ्गठन, कमजोर भाषिक पक्ष आदि कसर रहेको देखिन्छ । अश्क (२०६५) का विचारमा त समसामयिक लघुकथामा मुक्तकीय अन्त्यको असफल अनुकरण, चिन्तनको कमी, समकालीन स्थितिबोधको अभाव, लेखन प्रक्रियामा साधनाको कमी, एकरसता, नीरसता र फितलोपनको प्रचुरता जस्ता कमजोरी पाइन्छन् । नेपाली लघुकथामा देखिएका यी समस्या वा चुनौती स्विकार्दै आजका सर्जकले यस विधाको विकासमा प्रवृत्त हुनुपर्ने आवश्यकता देखिन्छ ।
सन्दर्भ सूची
अश्क, गोपाल (२०६५), लघुकथाः प्रक्रिया र पाठ, ललितपुरः साझा प्रकाशन ।
कोइराला, कुमारप्रसाद (२०६८), आख्यान विमर्श, काठमाडौँः ओरियन्टल पब्लिकेसन ।
गौतम, लक्ष्मण (२०६७), “ लघुकथाको सैद्धान्तिक स्वरूप र नेपाली लघुकथाको सन्दर्भ,” नेपाल प्रज्ञाप्रतिष्ठान र लघुकथा समाजको सहकार्यमा आयोजित लघुकथा गोष्ठीमा प्रस्तुत गोष्ठीपत्र ।
भट्ट, पुष्करराज (२०७१), “नेपाली लघुकथाको विकासक्रम एवम् साठीको दशकका प्रवृत्ति,” नेपाली लघुकथा, अङ्क २, पृ.९—३१ ।
भण्डारी हरिप्रसाद (२०६९), “लघुकथाको अन्य विधासँगको सम्बन्ध,” नेपाली लघुकथा, अङ्क १, पृ.५—११ ।
समीर, रवीन्द्र (२०६९) “लघुकथाः सिद्धान्त र प्रयोग,” नेपाली लघुकथा, अङ्क १, पृ.१२—१४ ।
No comments:
Post a Comment