नेपाल प्रज्ञा प्रतिष्ठानको हीरक वर्षको अवसरमा पूर्वान्चल वाङ्मय गोष्ठी विराटनगरमा सम्पन्न भएकोछ । २०७३ साल फागुन १९ र २० गते बिराटनगरस्थित आरोहण गुरुकुलमा सम्पन्न सो गोष्ठीमा समालोचना, संस्कृति , मातृभाषा र उपन्यास विधाको कार्यपत्र क्रमश : समालोचक राम्जी तिम्सिना, डा सोमप्रसाद खतिवडा,मुनाराज शेर्मा, डा गोपाल भण्डारीले प्रस्तुत गर्नुभयो भने सो कार्यपत्रमाथि क्रमश:डा हरिहर भण्डारी, दधिराज सुवेदी, देवान किराँती र डा, बद्रीविशाल पोखरेलले टिप्पणी गर्नु भएको थियो। समुदघाटन सत्रको प्रमुख आतिथ्य प्राध्यापक बालकृष्ण पोखरेलले गर्नु भएको सो सत्रको सभापतित्व प्रतिष्ठानका उपकुलपति डा विष्णुविभू घिमिरेले गर्नु भएको थियो । समुदघाटन सत्रमा साहित्यकार दधिराज सुवेदी र प्रगतिशील लेखक सङ्घका उपाध्यक्ष कवि मिश्र बैजयन्ति लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यपत्र प्रथम सत्रको सभापतित्व प्राज्ञ डा ज्ञानु पाण्डेले र दोस्रो सत्रको सभापतित्व प्राज्ञ मातृका पोखरेलले गर्नु भएको थियो । गोष्ठीको औचित्यमाथि प्राज्ञ डा दिनेशराज पन्तले प्रकाश पार्नु भयो ।
नेपाल प्रज्ञा-प्रतिष्ठानको हीरक वर्ष पूर्वान्चल वाङ्मय गोष्ठीको दोस्रो दिन अर्थात फागुन २० गते विराटनगरमा सयौं कविबाट कविता वाचनसहित गोष्ठी समापन भयो । बिहान ९ बजे प्रारम्भ भएको गोष्ठी साँझ ५ बजेसम्म चल्यो ।
सो गोष्ठीमा कविहरू मन्जु काँचुली, कुन्ता शर्मा, श्रवण मुकारुङ, मातृका पोखरेल, अनिल पौडेल , शशी लुमुम्बु, भवानी क्षत्री , मनु मन्जिल, सुमन पोखरेल,पुन्य कार्की, राधिका गुरागाइँ, विमल वैध , अयोध्यानाथ चौधरी, रामविक्रम थापा, सुको साइबर, सविता गौतम दाहाल, मुकुन्द प्रयास, डा भीम खतिवडा, डा नवराज सुब्बा, लीला अनमोल, मधु पोखरेल, जीविका खतिवडा ,धनकुटे कान्छा, केजी सुब्बा, बोधकुमार घिमिरे, मन्जुश्री गिरी,डा मेदिनीप्रसाद शर्मा, मनु विश्वकर्मा, रमेशचन्द्र अधिकारी, कविता गाउँले, राधिका गुरागाइ, मीनकुमार नवोदित, जिबिका खतिवडा, दिङ्लाली कान्छो, दीपक आयाम, सन्देश लिम्बू, प्रवीणकुमार चौधरी, कविराज पोखरेल, बसुश्री पाण्डे , टीका मिलन, पूजा आराधना, हरि बराल, हेमन्त क्षितिज,शुभलक्ष्मी लम्साल,ताराबहादुर बुढाथोकी, धीरज राई, रीता ताम्राकार ,दीपक सम्चु, माधव पोखरेल गोज्याङ्ग्रे, हरि कट्टेल, रमाप्रसाद रिजाल, कृष्ण उदासी, विष्णु न्यौपाने, मुनाल पोखरेल, मन्जिला शर्मा, लक्ष्मी ढुंगाना, मेनुका चापागाईं,सरिता तुलाधर, सन्जीव धिमाल, सीता सुवेदी, रोशन परियार, सत्यनारायण ताम्राकार,स्वयम्भूनाथ कार्की, कविता केशरी, रोमा निरौला लगायतका कविहरूले आआफ्ना कविता वाचन गरे । कविता महोत्सव प्राज्ञ कवि श्रवण मुकारुङको सभापतित्वमा सम्पन्न भएको थियो । महोत्सवमा विभिन्न मातृभाषाका दर्जनौ कवितासमेत वाचन गरिएको थियो ।
सो गोष्ठीमा कविहरू मन्जु काँचुली, कुन्ता शर्मा, श्रवण मुकारुङ, मातृका पोखरेल, अनिल पौडेल , शशी लुमुम्बु, भवानी क्षत्री , मनु मन्जिल, सुमन पोखरेल,पुन्य कार्की, राधिका गुरागाइँ, विमल वैध , अयोध्यानाथ चौधरी, रामविक्रम थापा, सुको साइबर, सविता गौतम दाहाल, मुकुन्द प्रयास, डा भीम खतिवडा, डा नवराज सुब्बा, लीला अनमोल, मधु पोखरेल, जीविका खतिवडा ,धनकुटे कान्छा, केजी सुब्बा, बोधकुमार घिमिरे, मन्जुश्री गिरी,डा मेदिनीप्रसाद शर्मा, मनु विश्वकर्मा, रमेशचन्द्र अधिकारी, कविता गाउँले, राधिका गुरागाइ, मीनकुमार नवोदित, जिबिका खतिवडा, दिङ्लाली कान्छो, दीपक आयाम, सन्देश लिम्बू, प्रवीणकुमार चौधरी, कविराज पोखरेल, बसुश्री पाण्डे , टीका मिलन, पूजा आराधना, हरि बराल, हेमन्त क्षितिज,शुभलक्ष्मी लम्साल,ताराबहादुर बुढाथोकी, धीरज राई, रीता ताम्राकार ,दीपक सम्चु, माधव पोखरेल गोज्याङ्ग्रे, हरि कट्टेल, रमाप्रसाद रिजाल, कृष्ण उदासी, विष्णु न्यौपाने, मुनाल पोखरेल, मन्जिला शर्मा, लक्ष्मी ढुंगाना, मेनुका चापागाईं,सरिता तुलाधर, सन्जीव धिमाल, सीता सुवेदी, रोशन परियार, सत्यनारायण ताम्राकार,स्वयम्भूनाथ कार्की, कविता केशरी, रोमा निरौला लगायतका कविहरूले आआफ्ना कविता वाचन गरे । कविता महोत्सव प्राज्ञ कवि श्रवण मुकारुङको सभापतित्वमा सम्पन्न भएको थियो । महोत्सवमा विभिन्न मातृभाषाका दर्जनौ कवितासमेत वाचन गरिएको थियो ।
नेपाल प्रज्ञा प्रतिष्ठानको हीरक वर्ष–२०७३ का अवसरमा विराटनगरमा दुईदिने पूर्वाञ्चल वाङ्मय गोष्ठी सम्पन्न भएको छ । पहिलो दिन अर्थात १९ गते बिहीबार संस्कृति, उपन्यास, समालोचना, मातृभाषालगायतका विषयमा कार्यपत्र प्रस्तुत भएको थियो । दोस्रो दिन अर्थात २० गते सम्पन्न कविता महोत्सवमा झापा, मोरङ, सुनसरी, इलाम, तेह्रथुम, धनकुटा, संखुवासभा, खोटाङ, उदयपुर, जनकपुर, बारा, काठमाडौंलगायतका जिल्लाबाट उपस्थित १ सयभन्दा बढी कविहरुले आ–आफ्ना कविता वाचन गर्नुभएको थियो । सोही अवसरमा कवि हरि कट्टेलको खण्डकाव्य माधवआनी प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभू घिमिरे र प्राज्ञ श्रवण मुकारुङले संयुक्त रुपमा विमोचन गर्नुभयो । खण्डकाव्यमाथि डा. भीम खतिवडाले टिप्पणी गर्नुभयो । प्राज्ञ विवश पोखरेलले संयोजन गरेको कार्यक्रममा संजीव धिमाललगायतले गीत प्रस्तुत गरेका थिए भने प्रवीणनारायण चौधरी, सरिता तुलाधर, सत्यनारायण ताम्राकार, सियाराम रौनियार, सन्देश लिम्बूलगायत एक दर्जनभन्दा बढी कविले मातृभाषाका कविता वाचन गरेका थिए । कार्यक्रम ९ घण्टासम्म सञ्चालन भएको थियो ।
============================================
कार्यपत्र
कार्यपत्र
नेपाल प्रज्ञा प्रतिष्ठानको हीरक वर्ष - २०७३ का अवसरमा २०७३ फागुन १९ गते बिराटनगरमा आयोजित पूर्वाञ्चल वाङ्मय गोष्ठीमा प्रस्तुत
कार्यपत्र
पूर्वाञ्चलमा नेपाली उपन्यासको विकासक्रम
– प्रा.डा.गोपाल भण्डारी
१. प्राक्कथन :
जीवनलाई ज्यादै निकटबाट चित्रण गर्ने साहित्यिक अभिव्यक्ति हो – उपन्यास । सहित्यका विविध विधा मध्ये आख्यान प्रधान भएको र गद्यमा लेखिने यस विधालाई सहज र सरस अभिव्यक्ति मानिन्छ । प्रत्येक भाषाका साहित्यमा उपन्यासले लोकप्रियता पाएको देखिन्छ । मानिसले देखेका भोेगेका र अनुभव गरेका यथार्थलाई उपन्यासले शाब्दिक कलाद्वारा जनसमक्ष ल्याउने हुँदा यसप्रति जनविश्वास बढेको पाइन्छ । यसैले उपन्यास जीवनको अध्ययन पनि हो । जीवनको बाह्य रूप मात्र नभई आन्तरिक रूप पनि हुन्छ । उपन्यास यिनै बाह्य र आन्तरिक रूपभित्र अन्तर्घुलित भएर अगाडि बढेको देखिन्छ । जीवन सरल र सोझो रेखामा मात्र सीमित नभएको हुँदा उपन्यास पनि मानवीय जटिलता र उल्झनहरूमा परिवेष्टित हुँदै विकसित भएको पाइन्छ । उपन्यासले मनोग्रन्थि (साइको कम्प्लेक्स) फुकाउँछ, व्यावहारिक सल्लाह दिन्छ अनि जीवनको भूत र भविष्य देखाउँछ । उपन्यासमा शब्दको जादुगरी हुन्छ र यसले मानिसलाई मोहित पार्दछ । साहित्यिक विधा भएको हुँदा यसमा रमणीयता, काल्पनिकता, सौष्ठवता, मृदुता, भद्रता, सघनता मात्र नभई स्वच्छन्दता, संघर्षशीलता, विद्रूपता र जटिलता समेतको चित्रण पाइन्छ । अतः उपन्यासमा मानवीय मनोरञ्जनका साथ कौतूहलोत्पादक कथावस्तु, पात्र, संवाद, घटनाक्रम, चरित्रानुकुल भाषाशैली, उद्देश्य आदिको संयोजन हुन्छ । अतः उपन्यास वर्तमान युगको मनोरञ्जन र ज्ञानको स्रोत हो, मानिसको भरपर्दो मित्र हो ।
२. साहित्यिक विधा :
प्रत्येक भाषाका प्रमुख विधामा पद्य र गद्यलाई लिइन्छ । पद्य विधामा महाकाव्य, खण्डकाव्य, लामा कविता, फुटकर कविता, मुक्तक, हाइकु आदि पर्दछन् भने गद्य विधामा उपन्यास, कथा, निबन्ध, समालोचना आदि रहेका हुन्छन् । उपन्यास आफै एउटा विधा हो । विधा बन्नका लागि चाहिने आवश्यक भिन्नता उपन्यासले आर्जन गरेको हुँदा यसलाई स्वतन्त्र साहित्यिक विधा मानिएको हो । उपन्यास गद्यमा लेखिनु पर्दछ । यसमा आख्यान हुन्छ भने जीवनको समग्र कथा–व्यथालाई यसले पच्छ्याएको हुन्छ । संघर्षको कुनै मोडदेखि थालिएको औपन्यासिक यात्रा जीवनको उत्तराद्र्धसम्म विस्तार गरिएको हुन्छ यसमा द्वन्द्व, संघर्ष, विरोधाभाष र परिणतिसमेत समाविष्ट गरिने हुँदा यसले पूर्णता पाउँछ । त्यसैले यो साहित्यिक विधाका रूपमा प्रतिष्ठित रहेको हो ।
३. उपन्यासको प्रारम्भ :
उपन्यासलाई साहित्यिक विधाका रूपमा प्रतिष्ठा प्रदान गर्ने मुख्यतः अंग्रेजी साहित्य नै हो । यसै हुँदा उपन्यासलाई अंग्रेजी साहित्यकै अवदानका रूपमा लिइन्छ । अंग्रेजी साहित्यका ड्यानियल डिफो (१७१७–१७८८) उपन्यासका प्रवर्तक हुन् । उनलाई उपन्यासका जनक पनि भनिन्छ ।
उपन्यासका विषयमा हेनरी जेम्स भन्दछन्–‘जीवनको वैयक्तिक र प्रत्यक्ष प्रतिबिम्ब नै उपन्यास हो ।’ यो एउटा प्रतिनिधि भनाइ हो । उपन्यासका विषयमा पाश्चात्य विद्वान् विदुषीहरूका अनेक मतमतान्तर छन्, ती सबैको सारांश हो–उपन्यास जीवनन्यास हो । जीवनका विविध चित्र खिच्ने साहित्यक विधा हो उपन्यास । यसै कथनलाई प्रकारान्तरबाट डा.रवर्ट मूलरले पनि समर्थन गरेका छन् । उनी भन्छन्–‘उपन्यास जीवनको आलोचना हो ।’ यस भनाइमा सत्यता प्रतिविम्बित भएको छ किनभने उपन्यास जीवनका उज्याला र अँध्यारा दुवै पक्षमा गाँसिएको हुन्छ । उपन्यासले सत्यको खरो रूप प्रकट गरेको हुन्छ, जसमा आलोचना वा यथार्थपरक दृष्टिकोण आएको हुन्छ । हिन्दीका प्रसिद्ध आख्यानकार प्रेमचन्दको मत यस्तो पाइन्छ–“म उपन्यासलाई मानव चरित्रको चित्र मान्दछु । मानव चरित्रमा प्रकाश पार्नु, मानव रहस्यहरू खोतल्नु उपन्यासको मूल तत्व (उद्देश्य) हो ।’ यी चर्चाले उपन्यासका विषयमा केही धारणा स्पष्ट हुन्छन् । अझ स्पष्ट रूपमा कृष्णचन्द्रसिंह प्रधान भन्दछन् ः....“उपन्यास जीवनकै दर्शन र मानसिक प्रक्रियाको अध्ययन हो । साहित्यकारहरूको जीवनान्वेषी प्रवृत्ति अथवा जीवनप्रति विहंगम दृष्टिकोण र त्यसलाई बुझ्ने उत्कण्ठा र विश्लेषण गर्ने मनोभावना नै उपन्यास रचनाको प्रयोजन हो ।” अवश्य पनि यस उद्धृतांशले उपन्यासलाई चिनाउन सहयोग पु¥याउँछ । अर्कातिर नेपाली साहित्यको संक्षिप्त इतिहासमा मोहनराज शर्मा र डा.दयाराम श्रेष्ठले स्पष्ट पारेको देखिन्छ –“बहुविध संरचनात्मक एकाइद्वारा हरेक अङ्ग परस्परमा श्रृङ्खलाबद्ध भई निश्चित मूल्य प्राप्त गरेको तथा व्यापक परिधिभरिको समय र स्थानभित्र विस्तारित भएको कला सौन्दर्ययुक्त कथात्मक गद्यलाई ‘उपन्यास’ भनिन्छ’ (पृ. १०५) । यसरी उपन्यासलाई प्रविधियुक्त परिभाषाबाट परिचित गराउने काम र क्रम निरन्तर चलिरहेको छ । यसले उपन्यासप्रतिको चाख वा रुचि प्रदर्शित गर्दछ भने चिन्तकहरूलाई मार्ग प्रशस्त पारेको देखिन्छ ।
३.२. पूर्वीय वाङ्मयमा उपन्यास :
उपन्यास शब्द संस्कृत भाषाबाट उत्पत्ति भएको हो । यस शब्दको ब्युत्पत्ति यस्तो देखिन्छ ः उप+नि+अस्+घञ् . उपन्यासः । आप्टेले यसको अर्थ यसरी दिएका छन् – उपन्यासःश्र निकट, अगलबगल, धरोहर, अमानत (धरौटी), वक्तव्य, सुझाव, प्रस्ताव, भूमिका, प्रस्तावना, संकेत, उल्लेख, शिक्षा, विधि, (पृ.२०७) । प्रसिद्ध लक्ष्मणशास्त्री वा साहित्य सिद्धान्तका प्रतिपादक आचार्य विश्वनाथले स्पष्ट रूपमा भनेका छन्– ‘उपन्यासः प्रसादनम्’ अर्थात् ‘उपन्यासले मानिसलाई प्रसन्न बनाउँछ ।’ प्रसन्न बनाउन सक्ने उपन्यास साहित्यको एउटा शक्ति हो भन्ने कुरा आचार्य विश्वनाथले स्वीकारेको देखिन्छ । यसो भए तापनि संस्कृत साहित्यमा गद्यमा लेखिएका कृतिलाई उपन्यास भनिएको पाइँदैन । गद्यसाहित्यलाई विशेष महत्व दिदै ‘गद्यंकवीनां निकषंवदन्ति’ (गद्यनै कविहरूको कसी हो) भनिएको पाइन्छ । जे भए पनि पूर्वीय वाङ्मयको प्रतिनिधि संस्कृत भाषामा उपन्यासको शब्दको प्रयोग पाइन्छ । तत्कालीन समयमा कादम्बरी जस्ता गद्य कृतिलाई उपन्यास नभनिए पनि उपन्यासका लक्षण घट्न सक्ने सामग्री त्यहाँ फेला परेका छन् ।
४. नेपाली साहित्यमा उपन्यासको प्रारम्भ :
वि.सं. १८०० को आसपासबाट प्रारम्भ भएको लेख्य नेपाली साहित्यमा गद्याख्यानको प्रारम्भ पनि वि.सं. १८२७ मा शक्तिबल्लभ अज्र्यालद्वारा लेखिएको ‘महाभारत विराटपर्व’ लाई नै लिन सकिन्छ । त्यसबेलाको नेपाली समाजमा पनि रामायण र महाभारतका आख्यानहरू लोकप्रिय रहेका देखिन्छन् । ती कृतिमा रहेका विस्तृत कथावस्तुलाई नै नेपाली आख्यानका बीज मान्न सकिन्छ । संस्कृत स्रोतबाट तत्कालीन आख्यान पारखीहरू प्रभावित भई ‘हितोपदेश मित्रलाभ’ (सं. १८३१), मुद्राराक्षस, “दशकुमार चरित’ (१८७५ तिर), ‘नलोपाख्यान’ जस्ता कृतिहरू अनुवाद गर्न पुगेका देखिन्छन् । क्रमशः संस्कृत इतरस्रोत र केही मौलिक जस्ता आख्यानले नेपाली गद्य सिंगारिएको पाइन्छ । लेखक र मिति खुलेका वा दुवै कुरा नखुलेका पुराना गद्याख्यानले नै नेपाली आख्यानलाई फराकिलो बनाएको मान्न सकिन्छ । यस्ता कृतिहरुमा ‘मुन्सीका तीन आहान’ (१८७६), ‘वीरसिक्का’ (१९४६), ‘प्रेम सागर’, ‘बेताल पंचविंशति’, ‘शुकसप्तति’, ‘बहत्तर सुगाको कथा’, ‘विदुला पुत्र सम्वाद’, ‘गायक चरित्र’, ‘महासती अनुसूया’, आदिलाई लिन सकिन्छ । यसैगरी फारसी, उर्दू स्रोतबाट अनूदित गुलबकावली, प्रेमयोगी, हातिमताई, अलादिनको चिराग र हिन्दीबाट अनूदित ‘चन्द्रकान्ता’ र ‘नरेन्द्रमोहिनी’ जस्ता औपन्यासिक कृतिले नेपाली उपन्यासलाई प्रस्फुटित बनाउन सहयोग पु¥याएको देखिन्छ ।
५.१. मौलिक नेपाली उपन्यासको प्रारम्भिक युग :
नेपाली भाषामा सचेत रूपले उपन्यास लेख्ने प्रथम उपन्यासकार सदाशिव शर्मा हुन् । यस दिशामा उनको ‘महेन्द्र प्रभा’ (सं. १९५९) अग्रणी देखिन्छ । शर्माले धारावाहिक रूपमा उपन्यास नै प्रकाशित गर्ने लक्ष्य लिई ‘उपन्यास तरङ्गिणी’ को सम्पादन समेत गरेका थिए । गिरीशबल्लभ जोशीले ‘वीरचरित्र’ (सं. १९६०) लेखेको देखिन्छ भने ‘गोरखापत्र’ (प्रकाशनारम्भ सं. १९५८) ले सं. १९६८ देखि १९७१ सम्मा धारावाहिक रूपले १० वटा उपन्यास प्रकाशित गरेको थियो । ‘सुन्दरी’ पत्रिकामा रसिकको ‘विलासिनी’, पुरोहित रामप्रसाद सत्यालका ‘मधुवाला’ र ‘कलावती’ समेत ३ वटा उपन्यास प्रकाशित भएका थिए । ‘गोरखापत्र’ मा प्रकाशित ‘यमपंचकप्रपंच’ विशेष स्मरणीय मानिन्छ । दार्जिलिङबाट प्रतिमान सिंहको ‘महाकाल जासूस’ (१९७५) प्रकाशित भएको थियो । नेपालमा उपन्यासको लोकप्रियता बढिरहेको हुँदा तत्कालीन लेखकहरूले उपन्यास लेखनमा निकै जाँगर चलाएका थिए । यसरी उपन्यास लेख्नेहरूमा विज्ञान विलासको नाम स्मरणीय भए पनि उनको असमयमै निधन भएको हुँदा लेखिएका दुवै उपन्यास–‘उपन्यास महारानी प्रियम्बदा’ र ‘डा. सूर्यप्रसाद’ अपूर्ण नै रहेका देखिन्छन् । त्यसै बेलाका वेदनाथ आचार्यको ‘दयाकी भावी’ र अम्बालिका देवीको ‘राजपूतरमणी’ स्मरणीय मानिन्छन् । ख. विष्णुचरण श्रेष्ठको ‘सुमती’ लाई प्रारम्भिक युगको उल्लेख्य औपन्यासिक कृति मान्न सकिन्छ ।
५.२ निष्कर्ष :
यसरी नेपाली उपन्यासको विकासमा फेला परेका उपर्युक्त कृतिहरूले आधुनिक नेपाली उपन्यास प्रादुर्भाव गराउन सबल पृष्ठभूमिको काम गरेको देखिन्छ । उपर्युक्त समयलाई प्रारम्भिक युग (१८२७–१९९०) मानिएको छ । प्रारम्भिक युगका औपन्यासिक कृतिहरू मनोरञ्जन प्रधान, धार्मिक विषयवस्तुमा केन्द्रित, नैतिक आचरण र औपदेशिक दृष्टान्त दिने उद्देश्यबाट प्रेरित र आदर्श समाजको स्थापना गर्न अभिमुख रहेका देखिन्छन् । अनूदित र कथांश ग्रहण गरिएका ती कृतिले समाजलाई औपन्यासिक खुल्दुली मचाइ दिएका थिए । ती कृतिहरू प्रायः अमुद्रित रहेका र मुद्रित कृतिले पनि ठूलो जनसमुदायलाई स्पर्श गर्न सकेको देखिदैन । न्यून शिक्षित मध्ये क्रयशक्ति कमै रहेको हुँदा मुद्रित सामग्रीले शासक वर्ग, केही कर्मचारी र अभिजात वर्गलाई मात्र आंंशिक बुद्धिविलास भएको मान्न सकिन्छ । कतिपय कृति प्रकारान्तरबाट शासकवर्गको महत्व र सम्प्रभुतालाई स्थापित गराउने, देवशक्ति र भाग्याधीन रहन प्रेरित गर्ने पनि थिए । कतिपय आख्यानले जनतालाई धर्मभीरू बनाउन मद्दत गरेका थिए । यसो भए तापनि प्रारम्भिक युग (१८२७–१९९०) का औपन्यासिक कृतिले नेपाली भाषाको लेख्य स्वरूप परिमार्जित गराएका थिए । बोलीचालीको नेपाली भाषालाई क्रमशः स्तरीयता प्रदान गर्न औपन्यासिक कृतिहरू सहयोगी बनेका थिए । ती कृतिले पाठकलाई कल्पनाशील बनाउँदै लगेका र केही महत्वकांक्षी पनि बनाएका थिए ।
६. आधुनिक नेपाली उपन्यास
नेपाली उपन्यासको आधुनिक काल रुद्रराज पाण्डेको रूपमती (सं. १९९१) बाट प्रारम्भ भएको हो । सामाजिक जीवनको चित्रण गरिएको यस उपन्यासले नेपाली संयुक्त पारिवारिक अवस्थालाई दर्शाएको छ । यसै गरी रूपनारायण सिंहको भ्रमर (सं. १९९३) ले नेपाली उपन्यासको विकासमा गुणात्मक परिवर्तन ल्याएको छ । यस उपन्यासले स्वच्छन्दतावादी धारा (रोमान्टिक) भित्राएर नेपाली उपन्यासलाई नवीन मार्गतर्फ डो¥याएको देखिन्छ । आधुनिक कालका अन्य उपन्यासहरूमा डायमन समशेरको बसन्ती, लैनसिंह वाङ्गदेलको ‘मुलुकबाहिर’, हृदयचन्द्र सिंहका प्रधानका ‘स्वास्नी मान्छे’ र ‘एक चिहान’, गोविन्दबहादुर गोठालेको ‘पल्लोघरको झ्याल’, लीलबहादुर क्षेत्रीको ‘बसाइँ’, दौलतविक्रम विष्टको मञ्जरी, लीलाध्वज थापाको ‘मन’ र ‘शान्ति’ पारिजातको ‘शिरिषको फूल’, डी.पी. अधिकारीको ‘आशमाया’ र ‘धरती अझै बोल्दैछ’ खगेन्द्र संग्रौलाको ‘चेतनाको पहिलो डाक’, तुलसी राम कुँवरको ‘रने’, शंकर कोइरालाको ‘खैरिनीघाट’, इन्द्रबहादुर राईको ‘आज रमिता छ’ विजय मल्लको अनुराधा’, पारिजातको ‘शिरीषको फूल’ र ‘महत्ताहीन’ ध्रुवचन्द्र गौतमको ‘बालुवामाथि’, तारिणीप्रसाद कोइरालाको ‘सर्पदंश’ विश्वेश्वरप्रसाद कोइरालाका ‘तीन घुम्ती’ र ‘सुम्निमा’ , भवानी भिक्षुको ‘आगत’ जस्ता उपन्यास उल्लेखनीय छन् । सं. १९९१ देखि प्रारम्भ भएको नेपाली उपन्यासको आधुनिककाल फराकिलो बन्दै गएको देखिन्छ । सामाजिक यथार्थवादी धारा, स्वच्छन्दतावादी धारा, मनोवैज्ञानिक धारा, प्रगतिवादी धारा, आञ्चलिक धारा, बालमनोवैज्ञानिक धारा र अतियथार्थवादी धारा थुप्रै उपन्यासहरू लेखिदै गएको यस आधुनिककालमा मानवीय चेतना तीक्ष्ण बन्दै गएको पाइन्छ भने उपन्यासले लोकप्रियताका सिंढी उक्लँदै गएको देखिन्छ । रमेश विकलको ‘अविरल बग्दछ इन्द्रावती’, नयनराज पाण्डेको ‘उलार’ र ‘सल्लीपिर’, अमर न्यौपानेको ‘सेतो धरती’ र राजन मुकारुङको ‘दमिनी भीर’ सम्म आइपुग्दा नेपाली उपन्यासमा जीवनका थुप्रै प्रतिबिम्बहरू स्पष्ट भएका छन् । यो क्रम जारी नै छ ।
७. पूर्वाञ्चलमा नेपाली उपन्यास :
नेपाली उपन्यासलाई वर्तमान प्रदेश नं. १ बाट विस्तार गरी साविक पूर्वाञ्चलमा मात्र सीमित गरी अध्ययन गर्दा नेपालको साविक पूर्वाञ्चल क्षेत्रमा जन्मिएका वा अन्य स्थानमा जन्मिएपनि पूर्वाञ्चलमै रही साहित्य साधना गरेका उपन्यासकारहरूलाई यस अध्ययनमा सम्झने प्रयास गरिएको छ । त्यसैगरी, पूर्वाञ्चल क्षेत्रमा रहेका नेपाली भाषा बाहेकको मैथिली, राई, लिम्बू आदि भाषाका उपन्यासहरू पनि स्मरणीय रहेका छन् । उपन्यासको अध्ययनमा केन्द्रित यस आलेखमा जिल्लागत विवृति प्रस्तुत गर्ने प्रयास गरिएको छ । प्राप्त सामग्रीका आधारमा प्रस्तुत सामग्रीमा परिमार्जन, संशोधन वा समावेश गर्ने ढोका सधैं खुला राखिएको छ । उपन्यास गद्यमा लेखिने साहित्यिक विधा भएको हुँदा यस क्षेत्रका उपन्यासले लेख्य मापनलाई पालना गरेको पाइन्छ । पूर्वाञ्चलका उपन्यासकारहरूमा सबैभन्दा पुराना र अग्रज उपन्यासकार मोरङ्ग जिल्लाका शोभाचन्द्र उपाध्याय खनाल (१९५८–२०३५) देखिएका छन् । उनका ‘पाटलीपुत्र’ (२००३) र ‘विमला’ (सं. २००४) नामक उपन्यास प्रकाशित भएका छन् । जीवनका सरस घटनाक्रमलाई कथात्मक ढाँचामा प्रवाहमय शैलीले प्रस्तुत गरिने उपन्यास अत्यन्तै लोकप्रिय र सुस्वादु हुन्छ । खनालले पूर्वाञ्चलमा उपन्यासलाई लोकप्रिय बनाउन राम्रो भूमिका निर्वाह गरेको देखिन्छ । पूर्वाञ्चलको बिराटनगरलाई साधनाभूमि बनाई उपन्यास लेख्ने खनालका उत्तरवर्ती अनेकौं उपन्यासकारहरू विभिन्न जिल्लामा सक्रिय रहेका हुँदा पूर्वाञ्चलमा उपन्यासले राम्रो मलजल पाएको मान्न सकिन्छ । पूर्वाञ्चल क्षेत्रमा जन्मेर साधनका सोपानहरू चढ्दै अगाडि बढ्ने र अन्य भूभागमा जन्मेपनि पूर्वाञ्चलकै प्रतिनिधित्व गरेर साधना गर्ने उपन्यासकार विश्वेश्वरप्रसाद कोइराला (सं. १९७१–२०३९) नेपाली मनोवैज्ञानिक आख्यानका प्रवर्तक हुन् । उनको जन्म वाराणसीमा भएपनि पैतृक वा कर्मथलो चाहिँ बिराटनगर नै हो । अतः उनलाई मोरङ्ग जिल्लाकै इतिहासमा समाविष्ट गरिएको छ । विश्वेश्वरप्रसाद कोइरालाका, तीनघुम्ती (२०२५), नरेन्द्रदाइ (२०२६), सुम्निमा (२०२७), मोदिआइन् (२०३६), हिटलर र यहूदी (२०४२), बाबु आमा र छोरा (२०४५) सहित ६ वटा उपन्यास प्रकाशित भएका छन् । उनका सबै उपन्यास बहुचर्चित रहेका छन् । पूर्वाञ्चलको भोजपुरमा जन्मिएका दौलत विक्रम विष्ट (१९८३–२०६०) अर्का विशिष्ट आधुनिक उपन्यासकार हुन् । नेपाली उपन्यासको इतिहासमा विष्टको योगदान अत्यन्त महत्वपूर्ण रहेको छ । उनी सामाजिक यथार्थवादी उपन्यासकार हुन् । विष्टका ‘मञ्जरी’ (२०१६), एक पालुवा अनेकौं याम (२०२६), चपाइएका अनुहार (२०३०), बिग्रिएको बाटो (२०३३), थाकेको आकाश (२०३४), भोक र भित्ताहरू (२०३८), हिमाल र मान्छे (२०४५), ज्योति ज्योति महाज्योति (२०४५ मदन पुरस्कार प्राप्त), फाँसीको फन्दा (२०५३) जस्ता नौ वटा उपन्यास प्रकाशित छन् । उनी आकाश विभाजित छ का सहलेखक पनि हुन् । यसै गरी मोरङ्गका तारिणीप्रसाद कोइराला (सं. १९७९–२०३१) बाल मनोवैज्ञानिक उपन्यासकार हुन् । उनले सर्पदंश (२०२६) र फालिएको सामान (२०४२) लेखेको पाइन्छ । उनैले ‘अग्निवाटिका’ लेखेको समेत सूचना पाइएको छ । उनको उपन्यास ‘सर्पदंश’ बाल मनोविज्ञानका क्षेत्रमा चर्चित रहेको छ । मोरङ्गकै अर्का उपन्यासकार प्रा. बालकृष्ण पोख्रेल (सं. १९९०)ले ‘बसन्त’ उपनामबाट थुप्रै उपन्यास लेखी आफ्नो बहुमुखी प्रतिभाको परिचय दिएका छन् । उनका ४१ वटा उपन्यास प्रकाशित छन् । ती हुन् :– यातना (२०४०), खोलावारि खोलापारि (०४०), मित्रता (२०४०), परिचय (२०४०), सेतो सिन्दूर (२०४०), सुनीरा (२०४०), झिमझिम परेली (२०४०), कल्पनाको डिलबाट (२०४०), बरालिएको मान्छे (२०४०), पराइ मान्छे (२०४०), तीन कन्या (०४०), जोर जुलुम (२०४२), विद्रोहिणी (०४५), हत्कडी (०४५), अझ एकतहमाथि (०४६), आगोदेखि पानीसम्म (०४६), पापीहरूको बस्ती (०४६), आकृति (०५१), अमूल्य आँसु सम्झेर (०५२), केको माला ? (०५२), ठूली दुहली (०५२), धन्धा धेरै छन् (०५२), नोकर्नी (०५२), प्रेत सुन्दरी (०५२), माया कति गहिरो (०५२), यो पनि ऊ पनि (०५२), रूपारानी (०५२), जुन बाटो ऊ बग्दै आएको (२०५३), राङशिला (२०५३), अपराध सम्राट (२०५४), यी सबै कुरा (२०५४), अन्तिम निर्णय (२०५७), केही असम्भव छैन (२०५८), हुल्के खोलाको बालुवा (०५८), तेस्रो पार्टनर (०५८), दुई दुष्ट हातहरू (०५८), म मागूँ कि न भागूँ (२०५८), संघार बाहिर (२०५८), एउटा अर्को ऊ (२०५९), यो कुनैपनि भूल होइन (२०५९) र महामानवको सपना (२०६७) । पूर्वाञ्चलमा सबैभन्दा धेरै उपन्यास लेख्ने प्रा.पोख्रेल विद्युत् लेखन क्षमता भएका आख्यानकार हुन् ।
पूर्वाञ्चलको इलाम जिल्लामा जन्मिएका डा. तारानाथ शर्मा (सं. १९९१) अर्का सुविख्यात उपन्यासकार हुन् । उनका प्रकाशित पाँचवटा उपन्यासले बेला बेलामा निकै चर्चा पाएका छन् । ती उपन्यास हुन्– मेरो कथा (सं. २०२३), ओझेलमा पर्दा (२०२३), सुली (२०३०), झझल्को (२०४५) र नेपालदेखि अमेरिकासम्म (२०४८) । पूर्वाञ्चलको भोजपुरमा जन्मिएका प्रदीप नेपाल (२०१०)ले औपन्यासिक लेखनमा महत्वपूर्ण योगदान दिएका छन् । उनले पंचायतकालमा आफ्नो नाम परिवर्तन गरी सञ्जय थापा लेख्ने गरेको पाइन्छ । उनका औपन्यासिक कृतिहरू खुइते कडेरिया (२०४०), पार्टीकी आमा (२०४२), पूर्वतिर (२०४४), नओइलाउने फूल (२०४५), बुङ्लाका साँझहरू (२०४६), देउमाइको किनार (२०४७), मुक्ति (२०४७), आकाश गंगाको तीतरैतिर (२०५७), एक्काइसौं शताब्दीकी सुम्निमा (२०५८)र नन्दिता (२०५९) रहेका छन् । पूर्वाञ्चलका अर्का प्रसिद्ध उपन्यासकार हुन् कृष्ण धराबासी (सं. २०१७) । धराबासीका उपन्यास आधाबाटो (२०५९), राधा (२०६२, मदन पुरस्कार प्राप्त), तपाईं (२०६३) र टुँडाल (२०६५) रहेका छन् । पूर्वाञ्चलको पाँचथरमा जन्मिएर साहित्य साधना गर्ने उपन्यासकार प्रा.डा.गोविन्दराज भट्टराई (सं.२०१०) ले मुगलान (२०३१), मणिपुरको चिठी (२०३४), सुकरातका पाइला (२०६३) र सुकरातको डायरी (२०६८) लेखेको पाइन्छ । भोजपुर जिल्लामै जन्मिएर उपन्यास लेखी मदन पुरस्कार पाउन सफल राजन मुकारुङ (सं. २०३१) ले हेत्छाकुप्पा (२०६५) र दमिनी भीर (२०६९, मदन पुरस्कार प्राप्त) लेखेका छन् । यसरी पूर्वाञ्चल क्षेत्रबाट नेपाली औपन्यासिक विधामा महत्वपूर्ण योगदान दिने उपर्युक्त आख्यानकारका अतिरिक्त अन्य उपन्यासकारहरूको योगदान पनि उल्लेखनीय छ । संक्षेपमा तिनीहरुलाई जिल्लागत रूपमा उल्लेख गरिएको छ ।
७.१ झापा :
झापा जिल्लाका उपन्साकारहरूमा पूर्वोक्त उपन्यासकार कृष्ण धराबासी बाहेक सरोज ओली (सं. १९९८) ले ‘हड्तालै हड्ताल र जुलुसै जुलुस’ (२०७१) उपन्यास लेखका छन् । तेजराज खतिवडा (२००१) ले रातको बाह्र बजे (२०५) र सर्वजा (२०६०) लेखेको देखिन्छ । तुलसीराम कुँवर (१९६९–२०४८) का रने (२०१५), जीवन (२०१७), संघर्ष (२०२४) अभियान (२०२६), घामछायाँ (२०३०), नेटो पारी (२०३१), उज्यालोतिर (२०३३), जीवन सफर (२०३८) र संयोग (२०४५) प्रकाशित छन् । चन्द्रेश्वर दुवे (१९९५)को जिन्दगीको बाटो, तुलसी दास श्रेष्ठ (१९९५) को एक शिक्षक, युवराज बरालका दुई लास ः एकचिता, पागल, प्रेमदीप आदि उपन्यास प्रकाशित भएको जानकारी प्राप्त छ । झापाकै अर्का उपन्यासकार पुण्यप्रसाद खरेल (सं. २००७) ले दोसाँधको घाम, त्रिवेणी आदि उपन्यास लेखेका छन् भने सञ्जीव उप्रेती (सं. २०२०) ले अंग्रेजी भाषामा बटर, पोट्याटो एण्ड कफी (ई.१९९३) र नेपालीमा ‘घनचक्कर’ (२०६४) लेखेको देखिन्छ । शिवशंकर थापा (सं. २००५) द्वारा ‘भिरको फूल’ नामक उपन्यास लेखिएको छ भने सीता पाण्डे (सं. २०१६), ‘अवतार विघटन’ मा सहलेखिका बन्न पुगेकी छन् । स्वागत नेपाल (२०३०) ले मातृ सम्भोग (२०६१) लेखेको देखिन्छ ।
७.२ इलाम
इलाम जिल्लामा पनि थुप्रै उपन्यासकार रहेका छन् । तिनीहरुमा तारानाथ शर्मामा अतिरिक्त माधव भण्डारी (सं. १९९३)को पूर्णिमा (२०३०), पुष्पमानथ शर्मा (सं. १९९७) का स्नेहलता (२०४०), बिहानको खोजी (०४२) र तामाङ जेठा (२०४४) प्रकाशित देखिन्छन् । लक्ष्मीनाथ शर्मा (सं. २००२) ले असन्तोष (ई.१९६६) घाइते गुप्तचर (२०२७), अँध्यारो (२०३१) शीर्षकका तीनवटा उपन्यास लेखेका छन् भने वीरेन्द्र खुँजेली –ई.१९३६–सं.२०६१) ले ‘मेची र महाकाली’ (२०४८) लेखेको देखिन्छ । यसै गरी कृष्णप्रसाद रिजाल (२०१६) ले इन्द्रेणी (२०५४) र कृष्णप्रसाद बराल (२०१७) ले अवतरण (२०६१) शीर्षकका उपन्यास प्रकाशित गरेका छन् । मायादेवी सुब्बा (ई. १९७९) ले बिलौना, पोथी बासेको घर र पश्चाताप लेखेको जानकारी प्राप्त भएको छ । यस्तै टंक के.सी. (२०१६) का अतीतका प्रेयसी (०५३), यौवनका आकाङ्क्षाहरु (०५३) र विखण्डित जिन्दगी (०५६), कृष्णप्रसाद रिजाल (२०१६) को इन्द्रेणी, होमनाथ शर्माको स्वदेशमै भेटौंला (०२८), घुम्टो उघ्रिए पछि (०३५) र सानीआमा (०३९) प्रकाशित छन् । अर्जुन निरौलाको शिशिरको बतास र नारायण पोख्रेल (२०३२) को एक नम्बरको हीराको औंठी (२०५४), प्रकाशित भएका छन् ।
७.३ पाँचथर
पाँचथर जिल्लाका उपन्यासकारहरूमा प्रा.डा.गोविन्दराज भट्टराईका अतिरिक्त टीका भूषण दाहाल (सं. १९९०) ले माखे साङ्लो (२०२२) र खगेन्द्र संग्रौला (२००३) ले चेतनाको पहिलो डाक (२०२७), आमाको छट्पटी (२०३४) । हारी (२०५०), जूनकीरीको संगीत (२०५६) लेखेका छन् । भीष्म भूषण संग्रौला (२००१) ले अँधेरी रात (२०२२) लेखेको पाइन्छ । राजेन्द्र सुवेदी (२००२) ले ‘स्वप्न संसार’ (२०४८) र सुद्युम्न, जे.वी.खत्री (२०२४) ले चितामाथिको लाश (२०५१), धर्मेन्द्रविक्रम नेम्बाङ्ग (२०३०) ले रातो बाघ, लेखेको देखिन्छ । अर्का उपन्यासकार पुष्प सुब्बा थाम्सुहाङ्ग ‘असित’ (२००५) ले लिम्बू भाषामा ‘नाम्दुक्वामा फुङ’ शीर्षकको उपन्यास लेखी नयाँ कीर्तिमान कायम गरेका छन् । उनले नेपाली भाषामा अदृश्य व्यथा (२०३१) शीर्षकको उपन्यास पनि लेखेका छन् । देवी क्षेत्री दुलाल (२०२६) को रङ्गधोजी (२०६०) नामक उपन्यास प्रकाशित भएको देखिन्छ ।
७.४ ताप्लेजुङ्ग
ताप्लेजुङ्ग पूर्वाञ्चलको अर्को महत्वपूर्ण साहित्यिक केन्द्र हो । यस जिल्लामा जन्म भएर साहित्य साधना गर्नेहरूमा राधा कृष्ण मैनाली (सं. २००३) ले लुटिएका दुई थुँगा फूल (२०४७), रामकृष्ण श्रेष्ठ (सं. १९८७) ले झुमा (२०५९), दीर्घराज प्रसाईं (२०००) ले अलमल (२०२८), प्रतिमा र चिन्ता, डा.हरिराज भट्टराई (ई. १९५३) ले साइनडाइ (२०४४), स्वप्नभङ्ग (२०४५), ‘नीलिमा’, र ‘नरमा’ शीर्षकका उपन्यास लेखेका छन् । त्यसै गरी यसै जिल्लामा जन्मिएका डा.तुलसी भट्टराई (२००६) ले जीवन यस्तै हो (२०३५) र ऊ पनि त मान्छे हो (२०३८) नामक उपन्यास लेखेको देखिन्छ । यसै गरी जय प्रसाद भेटवाल (सं. १९९९)को आकाश पाताल (२०३९) प्रकाशित भएको छ । लक्ष्मी उप्रेती (२०१५) ले साहसी आकाङ्क्षा र पवन परी (२०६०) लेखेकी छन् । टेकनाथ न्यौपानेले अविवाहित दम्पत्ति (०२५), केन्द्र विक्रम थुलुङले दौंतरी (०३५) लेखेको जानकारी प्राप्त भएको छ ।
७.५ मोरङ्
मोरङ्ग पूर्वाञ्चलको अर्को साहित्यिक केन्द्र हो । यस जिल्लाका पूर्वोक्त उपन्यासकार शोभाकान्त खनाल, वी.पी.कोइराला, तारिणी प्रसाद कोइरला, प्रा.बालकृष्ण पोख्रेलका अतिरिक्त विश्वराज पाण्डे (१९९३) को ‘मेरो प्यारो खैरे’ प्रकाशित छ । शान्ता पोख्रेल (१९८२) ले स्वास्नी मान्छे (२०१६) को अनुवाद गरेकी छन् भने नारायण तिवारी (सं. २०११) को पिताम (२०५७) र कमला पराजुली (२०२५) का क्षितिजको बदलिदो रङ्ग (२०६७) प्रकाशित छन् । कृष्णराज कोइराला (१९९७)का जीवन यात्रा (०४६) र मुक्ति संघर्ष (०४७), विश्वगोपाल लम्साल (२००३)का आवरण (०२८), प्रतिशोध (०२८), अन्तिम परिच्छेद (०३०) र कलंकिनी (०४३) प्रकाशित छन् । डा.ऋषिराज बराल (२००९)को भावना (२०३४) र कमरेड हुतराजको राजधानी प्रस्थान (२०४८), इन्दिरा प्रसाईंका (२०१४) विश्वमित्र (२०५५), रणमाया (२०५८), शिखा (२०५९), उसको लोग्ने र बिरालो (२०६०) प्रकाशित भएको देखिन्छ । यस्तै भीम कोइरालाको हेटान (२०७०), बद्री घायलको तिलाञ्जली, शंकर चोलागाईंको एउटा परिवारको अन्त्य (०२९), दुर्गा शर्माको तृष्णा (२०४८) र मोड, भूषण हुमागाईंको जीवन दीप र अस्थिपञ्जर, पुष्प बरुवालका आघात परेपछि र ‘जब आँसु बोल्छ’ प्रकाशित भएका छन् ।
७.६ सुनसरी
सुनसरी जिल्लाका उपन्यासकारहरूमा गजेन्द्र प्रसाद आचार्य (सं. १९८७) प्रथम उपन्यासकार हुन् । उनको उषा (२०१९) सुनसरीबाट प्रकाशित पहिलो उपन्यास हो । सुनसरी जिल्लाको धरानमा जन्मिएका डी.पी.अधिकारी (सं. १९९८३) ले आशमाया (२०२५), धरती अझै बोल्दैछ (२०२७) र युगान्तकारी नामक उपन्यास लेखेका छन् । अन्यत्रै जन्मिएर धरानलाई कर्मथलो बनाउने जीतमान राई (१९८७–२०४८) ले परित्यक्ता (२०२४) नामक उपन्यास लेखेको पाइन्छ भने कमला न्यौपाने (१९९८) ले उसको सपना (२०३२) र ‘क्रान्ति र संयोग’ नामक दुई वटा उपन्यास लेखेकी छन् । गोपाल कोइराला त्यागी (१९९७) को सम्पातिको आतंक (२०५४), गिरिराज आचार्य (२००७) का विस्थापित यौवन (२०४१) र तुलसा (२०६१) प्रकाशित छन् । यसैगरी रौतहटमा जन्मिए पनि सुनसरी इनरुवालाई कर्मथलो बनाउने मोहन विरही (२००२–२०६०) ले एउटा जीवन ः एउटा आँसु (२०२५), मिलन (२०३४) र गाउँले नानी (२०५९) नामक उपन्यास लेखेको देखिन्छ । भोजपुरमा जन्मिएर धरानमलाई कर्मभूमि बनाउने शरण कुमार राई (२००४) ले मानव संसार (२०६५) नामक उपन्यास लेखेको देखिन्छ भने धरानमै जन्मिएर साधनारत सविता श्रेष्ठ ‘बेहोसी’ (२०२०) ले अनन्तमा मिल्ने आशामा दुई समानान्तर रेखाहरू (२०४४) र जीवन ज्योति (२०५२) शीर्षकका उपन्यास लेखेको देखिन्छ । सुनसरी जिल्लाका उपन्यासकार कृष्ण विनोद लम्साल (२००६) ले अवशिष्ट यात्रा (०६३) र विभाजित समय (२०६८) लेखेको पाइन्छ भने अर्की उपन्यासकार सुजात (कमला कुँवर) (२०२१) ले अतृप्त चाहना (०५७), बन्धन (२०५८), अन्त्यहीन पीडा (२०६१) र पराजित अस्तित्व (०६४) नामक उपन्यास लेखकी छिन् । प्रवासमा जन्मभई सुनसरीको धरानमा लामो समय एकान्त साहित्य साधना गर्ने चन्द्रप्रसाद नेपाली (स्वर्गीय) ले ‘विहीबारे हाट’ र ‘बाबरी’ (०४२) लेखेका थिए ।
७.७ धनकुटा
धनकुटा पनि पूर्वाञ्चलको अर्का साहित्यिक केन्द्र हो । यसै जिल्लामा जन्म लिएका खगेन्द्र प्रधानाङ्ग (सं. १९८०–२०७०) ले हारी (२०५०) नामक एउटा आञ्चलिक उपन्यास लेखेका छन् भने योगेन्द्र तिम्सिना (२०१०) ले पुनर्मिलन (२०२४) र फूल र काँडा (२०३२), शीर्षकका दुई उपन्यास लेखेका छन् । यसै जिल्लाकी जीवन्यास लेखिका झमककुमारी घिमिरे (२०३७) ले जीवन काँडा कि फूल (२०६५) मा मदन पुरस्कार पाई कीर्तिमान कायम गरेकी छन् । श्याम श्रेष्ठ (१९९८) ले मुलुकभित्र (०२८) र उपेन्द्र पोख्रेल (२००१) ले मिमी (०२६), लेखेको पाइन्छ । यसैगरी दिबा चेम्जोङ (२०३४) ले एक फेर हाँसेर (२०६१) शीर्षकको एउटा उपन्यास लेखेको देखिन्छ । यसै जिल्लाका जीवन कुमार भण्डारीले किशोरावस्थामै पनि उपन्यास लेखेका छन् ।
७.८ तेह्रथुम
तेह्रथुम पूर्वाञ्चलको अर्को साहित्यिक केन्द्र हो । यस जिल्लाका बम प्रसाद श्रेष्ठ (सं.१९९३) ले रीता (२०२४), रश्मि (२०३९) र सरस्वती, लक्ष्मी (ई.२००२) नामक उपन्यास लेखेको देखिन्छ भने पुण्य निरौला (सं. १९९१) ले तकदिर (२०४२), पार्वती (२०४३), अस्थिपञ्जर (२०४३) र सच्चा प्रेमी (२०४४) नामक उपन्यास लेखेका छन् । हरिभक्त बुढाथोकी (सं.१९९७) ले सन्तान (२०२४), आमाको उपहार (२०२९), बहुरूपी साधु (२०३०), मनसराको चिहान (२०३८) र आरतीको आँसु (२०३९) नामक उपन्यास लेखेको देखिन्छ भने यसै जिल्लाका विमल सुवेदी (२०१३) ले दुई हजार वर्ष (२०४०), खडेरी (२०४१), मेरी छोरी (२०४६), देवयानी (२०४८) र रोसा (२०६१) नामक उपन्यास लेखेका छन् । तेह्रथुमकै नरेन्द्र खापुङ संयमले ‘बाँसको झाङ’ (२०६८), साजन मुस्कान लिम्बूले ‘अधुरो प्रेम’ (२०६३), गनिन्द्र विवशले ‘पिरतीको घर’ (२०६६), चक्र मगरले ‘अन्जान उपहार’ (२०६४), जगत माइला सुब्बाले ‘अन्तिम भेट’ र ‘बन्चित चाहना, मिला ईङनामले ‘पुनर्मिलन’ लेखेका छन् । गुरुप्रसाद गडतोला (१९९२) ले नयाँ स्वयम्बर (०२१) र अन्तिम भेट (०२२), पेशल दाहाल (२००९) ले रहस्यमय मेनेजर (०२९) , राजेन्द्रकुमार संग्रौला (२०१५) ले गरीबीका रेखाहरू, रोजगारको खोजीमा, लुतेका पाइलाहरू (०५४), खगेन्द्रप्रसाद लुइँटेल (२०१८) ले गाइड (०४९) लेखको जानकारी प्राप्त भएको छ ।
७.९ संखुवासभा :
संखुवासभा जिल्लामा जन्मिएका जवाहर रोका (सं. १९९०–२०५५) ले फेसुआ (२०३७) शीर्षकको उपन्यास लेखेको देखिन्छ । त्यसै जिल्लाका दुर्गाप्रसाद राईले भ्यानिटी ब्याग (०२९) लेखेका जानकारी मिलेको छ ।
७.१० भोजपुर :
भोजपुर पूर्वाञ्चलको महत्वपूर्ण साहित्यिक केन्द्र हो । यस जिल्लामा जन्मिएर औपन्यासिक साधना गरेका पूर्वाेक्त उपन्यासकारहरू दौलतविक्रम विष्ट, प्रदीप नेपाल र राजन मुकारुङ बाहेक दिवानसिंह राई ( सं. १९८४–२०२९) ले निर्दोष हत्या (२०३१) र ‘परिचय’ नामक उपन्यास लेखेका छन् । परशु प्रधान (सं. २०००) ले रात जो पग्लन्छ (२०२१), सबै बिर्सिएका अनुहार (२०२४) र आकाश विभाजित छ मा (सह लेखन) गरेको देखिन्छ । भोजपुरमै जन्मिएका पूर्णप्रकाश नेपाल ‘यात्री’ (१९९१–२०६९) ले आँधीमय जीवन (२०११), यौवन र विवाह (२०११), कुल्चिएको कोपिला (२०१२), जोगमाया (२०१२), कुसुमलता (२०१६), विष्णुमाया (२०१६), पर्खन मन लाग्छ (२०२९), रूपान्तर (२०३६), पर्दाभित्र (२०४३) र एक झुत्तो पोते (२०४६) लेखेको देखिन्छ । यसै जिल्लामा जन्मिएका हिरण्य भोजपुरे (१९९९) ले छिटेन गोरी (२०५४), मेरी आमै, मेरी आमा, ओ मामा (अंग्रेजीमा) जस्ता उपन्यास लेखेका छन् भने गणेश रसिक (२००४) ले आकाशगंगाको ओतमुनि (२०४८) लेखेको देखिन्छ । नारद ओझा (१९८४–२०४७) ले ‘अस्तित्व र अस्मिता’ नामक उपन्यास लेखेका छन् । यसै गरी कृष्ण जोशी (१९९६) ले मृत्यु दोहोरिन्छ, म बाँचे भने (२०३६), असम्मत सम्मत (२०५१) र काठमाण्डौ वरिपरि (२०५६) नामक उपन्यास लेखेका छन् । भोजपुर मै जन्मिएका मन्जुल (२००३) ले छेकु डोल्मा (२०२६) लेखेको पाइन्छ । भोजपुरकै तीर्थ न्यौपाने (१९९५) ले खदमाको गाउँ (२०३५) र मोहन चापागाईंले ‘ढाक्रेनी’ नामक उपन्यास लेखेको जानकारी पाइएको छ । शैलेन्द्र साकार (२००३) ले अवतार विघटन (ई.सं. १९८५) पछि आकाश विभाजित छ (ई.सं. १९७५) मा सहलेखन गरेका छन् । डिक बान्तवा (२००५) का निम्तो (२०२६) र अभाव (२०२८) प्रकाशित छन् । यसैगरी शैलेन्द्रप्रकाश नेपाल (२०१८) को कामना (२०४१), हरि मञ्जुश्री (२०१६) को चालीसौं शताब्दी (२०५०), काङ्माङ् नरेश (२०३४) को युद्ध बोकेको सिताङ (२०६८) र कुलप्रसाद ढकाल (२००४) को जुठेको नयाँ घर (२०५८) प्रकाशित छन् । केदार न्यौपाने (२०११) ले ‘रामलाल’ र ‘उज्यालो हुनु अघि’ प्रकाशित गरेका छन् ।
७.११ सोलुखुम्बू :
सोलुखुम्बू पूर्वाञ्चलको अर्को साहित्यिक केन्द्र हो । यस जिल्लाका उपन्यासकार मूलीवीर राई (†) ले बिसाइत, छाल र हरियो पर्खाल (२०५७) लेखेको देखिन्छ ।
७.१२ खोटाङ
खोटाङ पूर्वाञ्चलको अर्को महत्वपूर्ण साहित्यिक केन्द्र हो । यसै जिल्लामा जन्मिएर औपन्यासिक क्षेत्रमा योगदान दिने गणेश राई (२०१७) ले राईफलको नालबाट जीवन नियाल्दा (२०६२) र राइफलको मूच्र्छना (२०६८) लेखेको देखिन्छ । रामकृष्ण बान्तवा (२०२३) ले आत्मा (२०४५), राधा राम (२०४९) र आमा छोरी (२०५४) प्रकाशित गरेको देखिन्छ भने धनप्रसाद सुवेदी ‘श्रमिक’ (२०२६) ले सानो स्वार्थ भयंकर अपराध (२०५२) लेखेका छन् । त्यस्तै विष्णु राई ‘आभूषण’ले ‘अनायास’ लेखेको देखिन्छ ।
७.१३ ओखलढुंगा
ओखलढुंगा पूर्वाञ्चलको साहित्यिक केन्द्रका रूपमा परिचित रहेको छ । यस जिल्लाका उपन्यासकार हरिसिंह थापा (२००३) ले सुन्तली (२०६६) लेखेको देखिन्छ । यसैगरी डा.कविताराम श्रेष्ठ (२००४) ले विस्थापित अनुहारहरू (२०२८), बनदेवी (२०३७), पानीको थोपा (२०३७), अवतार विघटन (सहलेखन २०४५), वकपत्र (२०४६), एक सय एक हस्ताक्षरहरू (२०४७), अनौठो यात्रा (२०५५), मावलीको यात्रा (२०५७) लेखेको पाइन्छ ।
७.१४ उदयपुर
उदयपुर पूर्वाञ्चलको अर्को महत्वपूर्ण साहित्यिक केन्द्र हो । यस जिल्लाका राममणि पोख्रेल (२००४) ले साहिँली मैयाँ र रसुवाघाट (२०६१), पुण्य कार्की (२०२७) ले जीवनन्यास (२०५७), विश्वराज ढुंगाना (२०१२)ले उपहार (२०६२), उद्धवबहादुर घिमिरे (२०१७) ले यात्राका वीभत्स पाइला (२०७१) र गुफा भित्रको पर्दा (२)६९), कपिलदेव ठकुरी (२०१८)ले काउछोको माला (२०६०), दिलु वि.क. (२०३०) ले अनौठो प्रेम, फिरोज अलि (२०३२) ले अस्मिता लुटिएकी अस्मिता (२०६२) प्रकाशित गरेका छन् । तेजनारायण शेर्पाले पनि उपन्यास लेखेको जानकारी पाइएको छ ।
७.१५ सप्तरी
पूर्वाञ्चलको बहुभाषिक साहित्यिक जिल्ला हो । यस जिल्लाका भोला झा (२०००) ले मैथिली भाषामा गामघर लेखेका छन् भने धीरकुमार श्रेष्ठ (२०१८) ले घुर (२०६४) लेखेको देखिन्छ ।
७.१६ सिराहा
सिरहा पनि पूर्वाञ्चलको साहित्यिक केन्द्र हो । यसै जिल्लामा जन्मिएका मुरारि अधिकारी (२०००) ले ‘बग्दो खोला थिर बगर’ नामक उपन्यास लेखेका छन् ।
८. पूर्वाञ्चलका औपन्यासिक कृतिमा प्रयुक्त भाषा
नेपाल बहुभाषिक मुलुक हो । पूर्वाञ्चलका १६ जिल्लामा पनि धेरै भाषाभाषी रहेका छन् । राष्ट्रभाषा नेपाली र राष्ट्रिय भाषाहरूको बाहुल्य रहेको पूर्वाञ्चलमा ४ (चार) भाषामा उपन्यास लेखिएका देखिन्छन् । राष्ट्र भाषा नेपाली, राष्ट्रिय भाषा लिम्बू र मैथिली तथा अन्तर्राष्ट्रिय भाषा अंग्रेजीमा पनि उपन्यास लेखिएका हुँदा उपन्यासमा भाषिक विविधता पाइन्छ ।
९. प्रवृत्तिगत विशेषता
पूर्वाञ्चलका उपन्यासमा विविध प्रवृत्ति पाइन्छ । राष्ट्रिय परिवेश र अन्तर्राष्ट्रिय परिवेशले उपन्यासकारहरुलाई प्रभावित पार्ने हुँदा उपन्यासमा पनि तिनको प्रतिविम्ब परेको देखिन्छ । २००७ सालपूर्वको राष्ट्रिय परिवेश गुम्फित प्रकारको थियो भने २००७ सालपछि केही खुला भएपनि पूर्ण रूपले स्वतन्त्र भइसकेको थिएन । २०१७ सालले ल्याएको निरंकुश शासन प्रणालीबाट उपन्यासकारहरू कुण्ठित बनेका देखिन्छन् । २०३६ सालको जनमत संग्हको घोषणा, २०४३ को सत्याग्रह आन्दोलन, २०४६ को संयुक्त जनआन्दोलन, २०५२ को जनयुद्ध, २०६२÷०६३ को दोस्रो जनआन्दोलन, २०६४÷२०७० का संविधान सभाका निर्वाचन र गणतन्त्रको घोषणा, २०७२ को ‘नेपालको नयाँ संविधान’को घोषणा जस्ता राजनैतिक घटनाले नेपाली साहित्यलाई समेत प्रभावित पारेको हुँदा पूर्वाञ्चलका उपन्यासकारहरमा कते क्रानितकारी चेतना, कतै विद्रोही भावना र कतै नयाँ नेपालका सम्भावनाको खोजी गर्ने प्रवृत्ति देखिएको छ । त्यसैगरी अन्तर्राष्ट्रिय बौद्धिक अभियान र पहिचानको आग्रह गर्ने प्रवृत्ति पनि यस क्षेत्रमा पलाउँदै गएको पाइन्छ । सामान्यतया पूर्वाञ्चलका औपन्यासिक कृतिहरू निम्न प्रवृत्तिबाट प्रभावित छन् :
१. यौन मनोवैज्ञानिक प्रवृत्ति – नरेन्द्र दाइ (वी.पी.कोइराला) आदि ।
२. बालमनोवैज्ञानिक प्रवृत्ति – सर्पदंश (तारिणीप्रसाद कोइराला) आदि ।
३. उत्तरआधुनिक प्रवृत्ति – राधा (कृष्ण धराबासी) आदि ।
४. पहिचानमूलक प्रवृत्ति – दमिनी भीर (राजन मुकारुङ) आदि ।
५. आञ्चलिक प्रवृत्ति – हारी (खगेन्द्रबहादुर प्रधानाङ्ग) आदि ।
६. प्रगतिशील प्रवृत्ति – धरती अझै बोल्दैछ (डी.पी.अधिकारी) आदि ।
७. यथार्थवादी प्रवृत्ति – चपाइएका अनुहार (दौलत बिक्रम विष्ट) ।
८. आदर्शवादी प्रवृत्ति – पाटलीपुत्र (शोभाचन्द्र शर्मा खनाल) आदि ।
९. क्रान्तिकारी प्रवृत्ति – देउमाइको किनार (प्रदीप नेपाल) आदि ।
१०. ऐतिहासिक प्रवृत्ति – लुटिएका दुई थुँगा फूल (राधाकृष्ण मैनाली) आदि ।
११. अतिकाल्पनिक प्रवृत्ति – सम्पात्तिको आंतक (गोपाल कोइराला त्यागी) आदि ।
१२. अन्तरदेशीय प्रवृत्ति – नेपालदेखि अमेरिकासम्म (डा.तारानाथ शर्मा) आदि ।
१३. वर्गीय संघर्षात्मक प्रवृत्ति – चेतनाको पहिलो डाक (खगेन्द्र संग्रौला) आदि ।
१४. युगीन रूपान्तरात्मक प्रवृत्ति – महामानवको सपना (प्रा.बालकृष्ण पोख्रेल) आदि ।
१५. सामाजिक यथार्थवादी प्रवृत्ति – रने (तुलसीराम कुँवर) आदि ।
१०. उपन्यास लेखनका चुनौतीहरू :
पूर्वाञ्चल क्षेत्रबाट नेपाली उपन्यास लेखनमा परिचित पूर्वोक्त आख्यानकारहरूका अगाडि प्रशस्त समस्या हुँदा हुँदै पनि विभिन्न काल खण्डमा ती उपन्यासहरू लेखिएका हुन् । ती उपन्यासमध्ये कतिले राष्ट्रिय स्तरमै चर्चा पाए पनि कति चाहिँ क्षेत्रीय स्तरमै सीमित देखिन्छन् । खासगरी उपन्यास लेखनका लागि अत्यावश्यक सामग्री संकलन गर्न कठिनाइपर्नु, प्रकाशन गृहको दृष्टि नपर्नु, आफ्नै लगानीमा छपाइएर वितरण गरिरहनु र समक्षीकहरूका आँखामा नपर्नाले पनि कतिपय उपन्यासहरू चर्चा हुनबाट जोगिएका छन् । पूर्वाञ्चलमा जन्मिएर साहित्य साधना गर्न असुविधा भई कतिपय साधकहरू काठमाण्डौतिर बसाइँ सरेका र कतिपय चाहिँ विदेशतिर लागेका हुँदा उपन्यासको विकासमा सीमितता आएको देखिन्छ । साहित्यको सर्वाङ्गीण विकासका लागि उपन्यास अपरिहार्य मानिन्छ । प्रज्ञा प्रतिष्ठान, साझा प्रकाशन, रत्न पुस्तक भण्डार र नयाँ प्रकाशन गृहहरू काठमाण्डौमा सीमित भएका हुँदा पूर्वाञ्चलका आख्यानकारहरू ओझेलमा परेका छन् । ती संस्थाका क्षेत्रीय वा सम्पर्क कार्यालयहरू पूर्वाञ्चलमा हुनु बाञ्छनीय देखिन्छ । यसो भएमा प्रकाशन प्रक्रिया केही सहज हुने देखिन्छ ।
११. पूर्वाञ्चलका उपन्यासको काल विभाजन
पूर्वाञ्चल क्षेत्रमा रहेर उपन्यास लेख्ने स्रष्टाहरूका समग्र योगदानलाई कालिक रुपमा वर्गीकरण गर्नु बाञ्छनीय मानिन्छ । लगभग ७० वर्षको यस कालावधिलाई निम्नानुसार विभाजित गर्न सकिन्छ ।
(क) पूर्वाद्र्धकाल – वि.सं. २००३– २०२४ सम्म
(ख) उत्तराद्र्धकाल – वि.सं. २०२५–२०७३
(क) पूर्वाद्र्धकाल :
यस कालको औपन्यासिक उपलब्धितर्फ दृष्टिपात गर्दा पूर्वाद्र्धकालको प्रमुख उपलब्धि शोभाचन्द्र खनालको पाटली पुत्र (२००२) लाई लिन सकिन्छ । उनको विमला (२००४) तथा दौलतविक्रम विष्टको मञ्जरी (०१६), गजेन्द्र प्रसाद आचार्यको उषा (०१९), लाई पनि उपलब्धिकै रुपमा लिन सकिन्छ । टीका भूषण दाहालको माखे साङ्लो (२०२२) र डा. तारानाथ शर्माका मेरो कथा (०२३) र ओझेल पर्दा (२०३३), जीतमान राईको परित्यक्ता (२०२४) तथा शान्ता पोख्रेलको अनूदित उपन्यास ‘स्वास्नी मान्छे’ (२०१६) लाई पन यसै कालमा राख्न सकिन्छ । बम प्रसाद श्रेष्ठको रीता (२०२४), परशु प्रधानका रात जो पग्लन्छ (२०२१) र सबै बिर्सिएका अनुहार (२०२४), पूर्णप्रकाश नेपाल ‘यात्री’का आँधीमय जीवन (२०११), योवन र विवाह (२०११), कुल्चिएको कोपिला (२०१२), जोगमाया (२०१२), कुसुमलता (२०१६) र विष्णुमाया (२०१६), उपन्याससमेत यसै कालमा लेखिएका हुन् ।
(ख) उत्तराद्र्धकाल :
२०२५ सालदेखि वर्तमान २०७३ सम्मको कालावधिलाई उत्तराद्र्धकाल मानिएको छ । यस कालको थालनी वी.पी.कोइरालाको तीन घुम्ती (२०२५) बाट भएपछि उनैका नरेन्द्र दाइ (०२६), सुम्निमा (०२७), तारिणीप्रसाद कोइरालाको सपंदंश (०२६), डी.पी.अधिकारीका आशमाया (२०२५) र धरती अझै बोल्दैछ (२०२७), खगेन्द्र संग्रौलाको चेतनाको पहिलो डाक (२०२७), दौलत विक्रम बिष्टको चपाइएका अनुहार (२०३०) लगायत उपन्यासहरू यसकालका उल्लेख्य मानिन्छन् । त्यसैगरी प्रा.डा.गोविन्दराज भट्टराईका मुग्लान (०३१) र मणिपुरको चिठी (०३४), खगेन्द्रबहादुर प्रधानानाङ्गको हारी (०५०), कृष्ण धराबासीका राधा (२०६२) र टुँडाल (२०६५) यस कालका चर्चित उपन्यास बन्न पुगेका छन । भोजपुरमा जन्मिएका उपन्यासकार दौलतविक्रम विष्टले प्रथम पटक ‘ज्योति ज्योति महाज्योति’ (२०४५)मा पूर्वाञ्चलबाट प्रथम पटक मदन पुरस्कार पाएका थिए । कृष्ण धराबासीले राधा (२०६२), राजन मुकारुङ्ले दमिनी भीर (२०६९) मा तेस्रो पटक मदन पुरस्कार प्राप्त गरेर कीर्तिमान कायम गरेका छन् । जीवनीपरक आख्यानकी निर्मात्री झमक घिमिरेले पनि ‘जीवन काँडा कि फूल’ (२०६५) मा मदन पुरस्कार पाएको देखिन्छ । मदन पुरस्कारलाई औपन्यासिक सफलताको कसी मान्न खोजिएको भने होइन । मदन पुरस्कारै नपाए पनि यस कालका सफल तथा चर्चित उपन्यासकारमा वी.पी.कोइराला, तारिणीप्रसाद कोइराला, डी.पी.अधिकारी, प्रा.बालकृष्ण पोख्रेल, डा. तारानाथ शर्मा, मन्जुल, प्रदीप नेपाल, तुलसीराम कुँवर, खगेन्द्र संग्रौला, तेजराज खतिवडा, गिरिराज आचार्य, परशु प्रधान, संजीव उप्रेती, सरोज ओली, हरिराज भट्टराई आदिलाई लिन सकिन्छ । पूर्वाञ्चल क्षेत्रको उर्वर साहित्यिक भूमिमा पूर्वोक्त थुप्रै उपन्यासकारहरू यसै उत्तराद्र्धकालमा सक्रिय देखिन्छन् । अतः यस काललाई उल्लेखनीय र उपलब्धिमूलक मानिएको छ ।
१२. निष्कर्ष :
पूर्वाञ्चलका पूर्वोक्त १६ जिल्लामा नेपाली उपन्यासका स्रष्टाहरू कुनै न कुनै रूपमा सम्बद्ध रहेका छन् । गद्याख्यानका रूपमा स्थापित उपन्यास पाश्चात्य साहित्यको योगदान हो । नेपाली साहित्यका प्राथमिक कालदेखि नै आख्यानात्मक रचना अनूदित रूपमा पाइए पनि माध्यमिककालदेखि उपन्यासको अभ्यास हुन थालेको देखिन्छ । आधुनिक कालको आगमनसँगै आधुनिक उपन्यासहरू लेखिन थालेका हुन् । पूर्वाञ्चलमा सं. २००३ देखि उपन्यास लेखिदै आएको छ भने थुप्रै स्रष्टाहरूले यसलाई प्रतिष्ठा प्रदान गरेका छन् । जीवनका समग्रता, जीवन यापनका संघर्ष, क्रान्तिकारी चेतना र ऐतिहासिक यथातथ्यलाई पूर्वाञ्चलका उपन्यासले कलात्मक अभिव्यक्तिका साथ प्रस्तुत गरेका छन् । पूर्वोक्त चर्चाले पूर्वाञ्चल नेपाली उपन्यासको उर्वर भूमि हो भन्ने स्पष्ट भएको छ । यस चर्चालाई पूर्णता प्रदान गर्न अझै खोजी र अनुसन्धानको आवश्यकता बाँकी रहेको अनुभव गरिएको छ ।
सन्दर्भ सामग्री
– आचार्य, विश्वनाथ, साहित्य दर्पण, चौखम्बा प्रकाशन, वाराणसी ।
– आप्टे, वामन शिवराम, ई.सं. १९९३, संस्कृत हिन्दीकोश, दिल्ली : मोतीलाल बनारसीदास,
– कँडेल, घनश्याम, वि.सं. २०५५, नेपाली समालोचना, ललितपुर : साझा प्रकाशन ।
– प्रधान, कृष्णचन्द्र सिंह (सम्पा.), २०३४ साझा समालोचना, काठमाण्डौ साझा प्रकाशन ।
– फ्रायड सिग्मण्ड ईस.१९५८ मनोविश्लेषण (अनु देवेन्द्रकुमार) दिल्ली : राजपाल एण्ड सन्स
– बराल, डा.ईश्वर र अन्य (सम्पा.) वि.सं. २०५५, नेपाली साहित्यकोश, काठमाण्डौ : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
– ब्युरैक, ए.एस., ई.सं. १९७३ उपन्यास लेखन शिल्प, भोपाल : मध्य प्रदेश हिन्दी ग्रन्थ अकादमी ।
– भण्डारी, डा.गोपाल प्रसाद, वि.सं. २०६९ भिन्न भिन्न दृष्टिकोण, धरान इन्दु प्रकाशन
– भण्डारी, डा.गोपाल प्रसाद, वि.सं. २०७१ नाभिकीय समालोचना, धरान : इन्दु प्रकाशन
– भण्डारी, डा. हरिहर वि.सं. २०६८, मूल्याङ्कनका कसीमा कविता र आख्यान, बिराटनगर : श्रीमती लक्ष्मी भण्डारी,
– शर्मा, डा.तारानाथ, वि.सं. २०३९ नेपाली साहित्यको इतिहास, काठमाण्डौ : सङ्कल्प प्रकाशन ।
– शर्मा, मोहनराज र डा.दयाराम श्रेष्ठ वि.सं. २०४० नेपाली साहित्यको संक्षिप्त इतिहास ललितपुर : साझा प्रकाशन
– शर्मा, सिद्धिकर्ण, वि.सं. २०७३, पूर्वाञ्चलमा नेपाली साहित्यको विकास, धरान : कवि शिरोमणि साहित्य साधना समाज
– सुवेदी, दधिराज, प्रतिभा ९÷९ वि.सं. २०५८, पूर्वाञ्चलमा नेपाली साहित्यको गतिविधि (पृ.२३–६१) दमक ः प्रतिभा निकेतन
– सुवेदी, राजेन्द्र वि.सं. २०६४ नेपाली उपन्यास परम्परा र प्रवृत्ति, ललितपुर : साझा प्रकाशन ।
– अप्रकाशित स्नातकोत्तर शोधपत्र
– बराल, दिनेश्वर, वि.सं. २०७२, महामानवको सपना उपान्यासको कृतिपरक अध्ययन, धरान : त्रि.वि., महेन्द्र बहुमुखी क्याम्पस ।
१५ फागुन, २०७३
No comments:
Post a Comment