Sunday, May 6, 2018

"समकालीन नेपाली कथामा साईवर संस्कृति" विषयक गोष्ठी सम्पन्न ।

नेपाल प्रज्ञा प्रतिष्ठान र प्रगतिशिल लेखक संघ झापाको सहकार्यमा मिति २०७४/१२/२८ गते विर्तामोड स्थित साईपार्टी प्यालेसमा " समकालीन नेपाली कथामा साईवर संस्कृति" विषयक गोष्ठी सम्पन्न भएको छ। प्रगतिशिल लेखक संघका केन्द्रीय अध्यक्ष मातृका पोखरेलको प्रमुख आतिथ्य, केन्द्रीय महासचिव आर. एम. डंगोलको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा केन्द्रीय सदस्यहरु मणिकुमार पोखरेल र सरोज ओली, पूर्व केन्द्रीय सदस्यहरु चूडामणि रेग्मी र पुण्य प्रसाद खरेल , रूद्र- गौरी अम्बिका ओली स्मृति प्रतिष्ठानका अध्यक्ष गंगा प्रसाद ओली, साहित्य चौतारी झापाका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ, साहित्य कला संगम , दमकका अध्यक्ष नरपति पाण्डे, लेखनाथ पुस्तकालय चन्द्रगढीका सभापति नवराज घिमिरे, बाल साहित्य मञ्च नेपाल, झापाका संस्थापक अध्यक्ष देवीचरण भण्डारी, वर्तमान अध्यक्ष कृष्ण सुवेदी " निराकार" साहित्यकार हरिनारायण भट्टराई, पुण्य खरेल, विरही अधिकारी, पुष्प विष्ट, कृष्ण प्रकाश सुमार्गी, विनोद खनाल, टोपलाल ज्ञवाली, गीता खनाल भण्डारी, गोपीकृष्ण खनाल, विन्दु प्रसाद दाहाल, विमला चिमरिया, मदन भण्डारी, मीना अधिकारी, विद्या निर्दोषी, सुभद्रा भट्टराई लगायतका व्यक्तित्वहरुको आतिथ्य रहेको कार्यक्रममा प्रा. डा. भीम खतिवडाद्वारा लिखित कार्यपत्र उनको अनुपस्थितिमा प्र. ले. स. का पूर्व केन्द्रीय सदस्य तथा पूर्व झापा अध्यक्ष हेमनाथ अधिकारीले प्रस्तुत गरेका थिए। प्रस्तुत कार्यपत्र माथि पूर्व केन्द्रीय सदस्य पुण्य प्रसाद खरेलले टिप्पणी गरेका थिए। कार्यपत्र माथि पुण्य खरेल र हरिनारायण भट्टराईले जिज्ञासा राखेका थिए। कार्यक्रममा प्रमुख अतिथि मातृका पोखरेल, विशिष्ट अतिथि आर. एम. डंगोल, अतिथि मणि कुमार पोखरेल र चूडामणि रेग्मीले शुभकामना मन्तव्य राख्तै प्रस्तुत कार्यपत्र र साईवर संकृतिका वारेमा आफ्ना धारणा राखेका थिए। कविहरु मणि कुमार पोखरेल, विष्णु न्यौपाने, मदन भणडारी, गोपीकृष्ण खनाल, विद्या निर्दोषी, मीना अधिकारी , गंगा सेढाईं लगायतले आ-आफ्ना सिर्जनाहरु वाचन गरेका थिए भने कलाकार मातृका संग्रौलाले मुरलीको धुनले मन्त्रमुग्ध पारेका थिए। प्र. ले. स. झापाका अध्यक्ष राजेन्द्र संग्रौलाको सभापतित्व र कोषाध्यक्ष खगिन्द्रा खुसीले सञ्चालन गरेको कार्यक्रममा सह- सचिव विन्दु प्रसाद दाहालले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा समापन तथा धन्यवाद मन्तव्य राख्तै अध्यक्ष संग्रौलाले प्रलेस झापामा रू ५०,०००/- अक्षय कोष राख्ने घोषणा गरेका थिए। अक्षय कोषमा रकम वृद्धि गरिदै लगिने र सो को व्याज रकमबाट स्रष्टाहरुलाई सम्मान गरिने कुरा वताएका थिए।

==========================

कार्यपत्र 

 समकालीन नेपाली कथामा साइबर संस्कृति

प्रा.डा.भीम खतिवडा
                                                
क. उद्देश्य र सीमाङ्कन
साहित्य सामाजिक चेतनाको सुन्दर प्रतिरूप हो । ऐना मात्र नभएर यो समाज–रूपान्तरणको शक्तिशाली हतियार पनि हो । यसका विविध हाँगामध्ये कथा, कविता, उपन्यास, निबन्ध र नाटक बढी लोकप्रिय बनेका छन् । नेपाली साहित्यको सन्दर्भमा कथा मौलिक लोकजीवनबाट विकसित भएर हुर्किंदै आजको अवस्थामा वैश्विक युगजीवनका सबैखाले प्रवृत्तिहरू आत्मसात् गर्दै सम्पुष्ट बनेको विधा हो । हामी सूचना र प्रविधिका कारण ‘ग्लोबल भिलेज’का बासिन्दा हुँदै गएका छौं । आजका कथा आजकै जीवनशैलीमा आधारित हुन्छन् । भूमण्डलीकरणले मानवीय सम्बन्ध, सक्रियता र कृत्यहरूमा प्रभाव पारिदिएको छ । मैनालीको छिमेकी कथाका गुमाने र धनजीतेहरू आज ‘साइबर विडो’ बनेका छन् । अनलाइनमा च्याट गर्ने पुस्ता फेसबुकबाटै सूचनाहरू आदानप्रदान गर्छन् । इन्टरनेटबाट नै आजको दुनियाँ नवीन जानकारी, मनोरञ्जन, व्यापार–व्यवसाय जस्ता सम्पूर्ण काम बसीबसी गर्छन् । आज संसारको एउटा कुनाबाट समग्र विश्व पर्यटन सम्भव छ । हो, यो साइबर युग हो । हामी साइबर कल्चरको अभ्यासमा छौं । सृजनामा पनि यसको जबर्जस्त हस्तक्षेप छ । विश्व सांस्कृतिक साम्राज्यवादले हस्तक्षेपको महाजालो फैलाएर पुजीवादी बजारव्यवस्थामार्फत् सानाठूला, धनीगरीब सबै मुलुकमा साइबर–फाइबर बिछ्याइसकेको छ । सञ्जालमा बाँधिएको आजको पुस्ता खान पनि भ्याउँदैन इन्टरनेटको प्रेमी बनेर । घरहरू जोडिने र भत्किने क्रम जारी छ । सामयिक प्रविधिको सकारात्मक उपयोगिताभन्दा हाम्रोजस्तो समाजमा नकारात्मक प्रवृत्ति हाबी हुँदै गएकोमा हामी आफैं असन्तुष्ट छौं र यो असन्तुष्टि पनि सामाजिक सञ्जालमार्फत् नै सार्वजनिक गरिरहेका छौं । मान्छेबाट उसकै अस्तित्व, भूमिका, स्वभिमान, कायिक सक्रियता मात्र  हैन कि साइबर–संसर्गले त परम्परा, कृत्याकृत्य विवेक, संस्कृति र मानवीय सम्बन्धमाथि पनि मन्दविष मिसाइदिँदै छ— समय, संलग्नता, सामथ्र्यमा प्रभाव जमाएर । हो, आजको लेखनमा पनि साइबर–तागत भरिँदै गएको छ । यस्तो परिवेशमा प्रस्तुत अध्ययनपत्रमा आजको नेपाली कथामा साइबर संस्कृतिको प्रभावबारे संक्षिप्त अनुशीलनको प्रयत्न गरिएको छ । प्रवृत्तिगत रूपमा गरिने अध्ययनमा अभिलक्षण र प्रभावको मूल्याङ्कनलाई प्राथमिकता दिइएको हुनाले सृजनागत दृष्टान्तलाई अतिसंक्षेपमा राखिएको छ । स्रोत, समय र सामथ्र्यको सम्भाव्यताका कारण ०७२ को महाभूकम्पसम्मको समयलाई मात्र मूल्याङ्कनको समयसीमा बनाइएको छ । 

ख. प्रारम्भ : 
नेपाली कथाको उमेर, अनुहार र समकालीनताको सन्दर्भ

साहित्य आत्मिक संस्कृतिको त्यस्तो जबर्जस्त स्तम्भ हो, जसले भाषा, धर्म, कलाजस्ता अन्य आधारहरूसँगै मानव सभ्यताका प्राचीन धरोहरहरूलाई अद्यावधिक पार्दै उज्यालो, रसिलो र जीवन्त राखेको हुन्छ । यद्यपि साहित्यको अभिलेखन लिपि र त्यसको प्रयोगबाट हुने लिखित भाषिक प्रारूपको विकाससँगै हुने गर्दछ, तथापि नेपाली साहित्य जातीय गौरवको स्रोत बन्न पुगेको हुनाले मौखिक अलिखित भाषिक प्रयोगको आधारबाट लोकसाहित्य हुँदै आजको अधिकविधायुक्त सबल स्वरूपसम्म आइपुगेको हो । हामी साहित्यलाई समाजको कलापूर्ण प्रतिबिम्ब मान्छौं, जुन यथार्थ, गतिशील सचेत प्रयत्नको द्योतन गर्छ । हो, हाम्रो समाज नै जब बहुजातीय, बहुधर्मी, बहुसांस्कृतिक छ भने हाम्रो साहित्यमा पनि यस्को प्रतिरूप आउनु स्वभाविकै हो । साहित्यका विविध विधाहरूमध्ये कथा मावजीवनका रङ्गहरूसँगै अघि बढेको हुनाले मौखिक लोकपरम्परा र दन्त्यपरम्पराहुँदै विकसित भएको विधा हो । नेपाली साहित्यको सन्दर्भमा पनि कथालाई यसरी नै लिन सकिन्छ । 

शक्तिबल्लभ अर्यालको  विराटपर्व (वि सं १८२७) देखि प्रारम्भ भएको नेपाली कथा शारदा (वि सं १९९१)को प्रकाशनसँगै आधुनिक युगमा प्रवेश गरेको हो । अनुवाद रूपान्तरणबाट थालिएको कथाले ज्ञवाली र सिंहका क्रमशः देवीको बली (१९८३) र अन्नपूर्णा (१९८४) हुँदै माध्यमिककालमा मौलिकताको सङ्केत देखाएको हो भने १९९१ सम्म आइपुग्दा भाषा, चरित्र, परिवेश तथा उद्देश्यजस्ता तात्विक सन्दर्भहरूको मौलिकतासँगै आधुनिक स्वरूप ग्रहण गरेको हो ।

समकालीनताको मुख्य विशेषता भन्नु नै युगीन चेतनालाई आत्मसात् गर्दै हिजोबाट सिकेर आजको परिवेशलाई कलापूर्ण आँखाले हेर्ने र भोलिसम्मको उज्यालो देख्न सक्ने वर्कतको प्राप्ति हो । आजसम्म बाँच्दैमा समकालीन हुनेभन्दा पनि सृजनामा आजको अभिव्यक्ति न्यूनतम सर्त हो । आजको कथाले आजकै सामाजिक, सांस्कृतिक जीवनलाई कलासौन्दर्यको चेतनाले हेर्नुपर्दछ । आजको सृजनामा आजकै विश्वपरिवेश देखिनुपर्छ । आजको समग्रता नै समकालीनताको द्योतक हो यसर्थमा । वर्तमान युगजीवन र परिस्थितिमाथिको भावनात्मक पर्यटन हो समकालीन कथा पनि । परम्परित आधारमै पनि आधुनिक नेपाली कथाको यात्रामा वि सं १९९२ देखि २०१९ सम्म यथार्थवादी युग, २०२० देखि २०३६ सम्म प्रयोगवादी युग तथा २०३७ देखि वर्तमानसम्म समकालीन युग मानिएको सन्दर्भमा समकालीनताभित्र वर्तमान परिवर्तित युगजीवन, मानवीय चेतनाको विकास र प्रवृत्ति, सभ्यताको नवीन मोड, विज्ञान र प्रविधिको प्रभाव, यान्त्रिकताजस्ता नूतन प्रयोगहरू कथामा स्थापित भएका छन् । झन्डै चारदशकको अवधिमा परम्परित प्रवृत्तिबाहेक आञ्चलिकता, डायस्पोरा, उत्तरआधुनिकता तथा साइबर सांस्कृतिक चेतनाजस्ता विशेषताहरू नेपाली कथामा संयोजित छन् । 

ग. संस्कृतिको स्वरूप र नेपाली कथामा संस्कृतिको सन्दर्भ

हाम्रो जीवनपद्दतिको अर्को नाम हो संस्कृति । समाज हाम्रो आधार हो भने संस्कार र संस्कृतिहरू हाम्रा अस्तित्वका परिचायक हुन् । संस्कृति शब्दभित्र संस्कारजन्य मानवीय क्रियाकलाप मात्र पर्छन् भन्ने बुझियो भने हाम्रो बुझाइ अपूर्ण हुनेछ । यसले त हाम्रो जीवनका धर्म, कला, साहित्य, सामाजिक संस्कारलगायतका समग्र प्रवृत्तिगत अभिलक्षणहरू आफूमा समाहित गरेको हुन्छ ।

संस्कृति भनेको कुनै राष्ट्र वा जातिको सामाजिक जीवन, राजनीति, अर्थव्यवस्था आदिमा प्रतिबिम्बित हुने र तिनका कलाकौशल तथा बौद्धिक विकास आदिमा प्रतिबिम्बित हुने सम्पूर्ण क्रियाकलापको परिस्कृत रूप, धेरै समयदेखि देशकाल सापेक्ष भई आन्तरिक वैचारिक तथा परम्परागत धारणाका रूपमा विकास हुँदै आएको र आचार विचार रहनसहन आदिका माध्यमले कुनै राष्ट्र समाज जाति आदिको स्वरूप खुट्टिने यावत मान्यता, भावना, चिन्तन मनन मौलिक अभिव्यक्तिहरू समेतको समूह वा साधन, कला, साहित्य, इतिहास, भाषा, धर्म, दर्शन आदि विभन्नि विषय वा मूल्य परम्पराको समष्टि नाम हो । (नेपाली बृहत् शब्दकोश, २०४० : १२८०) । हामी एकसयभन्दा बढी जातजातिको सद्भावयुक्त नेपाल–आँगनमा विश्वको धुरी सगरमाथासँग शान्तिका मन्त्रोच्चारक बुद्धका काखमा रमेका छौं । हाम्रो सर्वस्व भन्नु हाम्रै पहिचान त हो । जनताविनाको देश कल्पनाको विषय नै होइन, हुँदैन । मेची र कालीको सीमाभित्रको डेढलाखभन्दा पनि कम वर्गफीटको माटोको कथामात्र होइन हाम्रो इतिहास । वीर नेपाली पूर्खाको निशानी त सीमासम्बद्ध छ, तर हाम्रो सभ्यता र सांस्कृतिक वैभवले दुई खोलीको बालुवा र उत्तरदक्षिणका स्तम्भमात्र बोल्दैन अवश्य ।

हुन त हो नि, जनताको मौलिक संस्कृति एकीभूत भावनाको बहुमुखी जयगान हो, त्यही तिनको स्वाभिमान र अस्तित्वको मङ्गलगान । जाति राष्ट्र ‘म’ बाट ‘हामी’ अनि ‘मेरो’बाट ‘हाम्रो’ तर्फको संस्करणपछिको एकनाद हो । तिनको भाषा–भेष, रीतिरिवाज, परम्परा, आस्था आदिभित्रको वैविध्य एकताको सुन्दर रङ्गभित्र इन्द्रेणी चमक भरेर हाँसेको हुन्छ– संस्कृति । समाज गतिशीलताको. नैरन्तर्य पनि हो । हो, त्यही गतिशीलताले शिक्षा–चेतना, स्वास्थ्य–सावधानी, रोजगार–आधार आदिको सहकारी यात्रासँग सभ्यताको सुदीर्घ सोपानमा मानवीय जीवनका व्यष्टि पाइलाहरूलाई समष्टि अनुहार दिएर समृद्धिको शिखरतर्फ लम्काउँदै लाने हो । जब ती पाइलाहरूमा प्रगतिको एकीकृत परेड जम्छ, उत्सुक आँखाहरू शान्ति बोकेर सम्पन्नताको चुचुरोतर्फ एकोहोरिन्छन् अनि मात्र विजयको लक्ष्यभेदी यात्राले पूर्णता  पाउँछ ।  जव विजयी बनेर पाइला माटोप्रति झुक्छ आस्थाले, आमाको मुहार सम्झेर मातृभूमिलाई ढोग्छ श्रद्धाले, तब ऊभित्रको राष्ट्रप्रेम, ऊभित्रको राष्ट्रिय स्वार्थ गर्वले फुलेल बन्छ । हो, संस्कृति  सभ्यता र समृद्धिको पताका बनेर जनताको जीवनको यात्रामा लक्ष्यको शिखर जितेर तरङ्गित बनेको हुन्छ । विज्ञान, ज्ञान, प्रविधि आदि जीवनका सम्बल हुन्छन्, माटोको प्रेम हरेक समाजको उन्नतिमा प्राणवायु बन्न सक्छ । त्यो धागो हो मालिकाको, थुङ्गाहरूको दन्तेहार बन्छ सुन्दर  हार भनौं कि सूत्रधार जस्ले जनताको जीवनसँग राष्ट्रको जीवनको अमूर्त तर सुन्दर कलाकृति बनाएको हुन्छ छातीभरि, आँखाभरि ।

कुनै पनि देशको पहिचान त्यस देशको इतिहास र वर्तमान नै हो । हाम्रो सन्दर्भमा टिस्टा र काङ्गडासम्म टेकेर फर्किएका बहादुर पुर्खाका पाइलाको गाथाबाट हुर्किएको नेपाली वीरता र स्वाभिमानको सथरमाथा अनि स्वयम्भूको आँखामा फुलेर लुम्बिनीमा धप्किएको बुद्धको शातिदीपको अग्लो र उज्यालो समर्पण, सद्भाव र सहअस्तित्वको समग्र भावना–पुस्तक नै राष्ट्रियताको वेद बनेको छ संस्कृति ।

यसरी संस्कृतिलाई भौतिक र आत्मिक रूपमा हेर्न सकिन्छ । आत्मिक संस्कृति परम्परागत स्थापित संस्कृति हो भने समय क्रममा मानिसले वा मानव समाजले सृजना, निर्माण, उत्पादन वा आविस्कार गरेको भौतिक र चिन्तनगत संस्कृति निर्मित संस्कृति हो । आत्मिक संस्कृतिभित्र नै अनेक धार्मिक, जातीय वा क्षेत्रीय विश्वासका आधारमा विकसित धार्मिक शास्त्र, कर्मकाण्ड र अनुष्ठान लगायतका लोकाचार, सदाचार, साहित्य कला सङ्गीत र अन्य कलाकौशलहरू पनि पर्दछन् । सांस्कृतिक सन्दर्भलाई समाजको विकास र सभ्यताको क्रमिक यात्रासँग सहजताका साथ जोडेर हेर्न सकिन्छ ।

लोककथाबाट अघि बढेको नेपाली कथा नेपाली संस्कृतिका सुन्दर उपवनजस्तै बनेका छन् । आमाले नानी सुताउँदा सुनाएका हाउगुजीका कथा हुन् वा एकादेशबाट थालिने दन्त्यकथाहरू सबैमा हाम्रो सांस्कृतिक रङ्ग लछप्पै छ । वास्तवमा संस्कृति मान्छेले जन्मेको सांस्कृतिक परिवेशमा सिकेर सन्तान दरसन्तान हस्तान्तरण गर्दै आएको परम्परागत विषय हो । 
प्रकाशनयुगको थालनीमा, प्रारम्भकालीन तथा मध्यकालीन कथाहरूमा पनि नेपाली जीवन, समाज र संस्कृतिका ज्युँदा छाप देखिन्छन् । सूर्य विक्रम ज्ञवाली र रूपनारायण सिंहजस्ता कथाकारहरूबाट नयाँ बाटोमा लागेको नेपाली कथा १९९२ मा मैनाली र कोइरालामा आइपुग्छ ।  मैनालीको नासो र कोइरालाको चन्द्रवदनसँगै आरम्भ भएको आधुनिक कथापरम्परामा विविध प्रवृत्तिगत विशेषताहरू देखिँदै गए । यस सन्दर्भमा १९९४ मा प्रकाशित कथाकुसुमको प्रकाशन पनि नेपाली कथाको कोसेढुङ्गो बनेको छ । 

आदर्शोन्मुख यथार्थवादको बाटोबाट हिडेको नेपाली कथाको यो युग गुरुप्रसाद मैनाली, वि.पी. कोइराला, पुष्कर शमशेर, बालकृष्ण सम, गोविन्द गोठाले, भवानी भिक्षु, हृदयचन्द्र सिंह प्रधानका कथासँगै मनोविज्ञान र यौनमनोविज्ञान हुँदै प्रगतिवादसम्म आइपुग्दा हाम्रो समाजका बहुसांस्कृतिक छटायुक्त प्रस्तुतिका साथ ध्रुवचन्द्र गौतम, पारिजात, प्रेमा शाह, मनु ब्राजाकी, परशु प्रधान, भागीरथी श्रेष्ठ, खगेन्द्र सङ्ग्रौला, राजेन्द्र विमल, हरिहर खनाल, भाउपन्थी, ध्रुव सापकोटा, कुमार ज्ञवाली र प्रदीप नेपालहरूको शक्तिशाली कथा परम्परा प्रारम्भ भयो । कथाको परम्परामा समयसँगै त्यसपछिको पुस्तामा राजव, अशेष मल्ल, इस्माली, हरि अधिकारी, किशोर पहाडी, देवेन्द्रप्रताप शाह, नारायण ढकाल, कुन्ता शर्मा, गोपाल पराजुली, विजय चालिसे, अनिता तुलाधर, अविरल स्थापित, अविनाश श्रेष्ठ, रविमान लमजेल, लीला श्रेष्ठ सुब्बा, जगदिश घिमिरे, माया ठकुरी, सीता पाण्डे, मञ्जु काँचुली, डा. विष्णु राई, नविन विभास, पुण्य कार्की, रोहित दाहाल, घनश्याम ढकाल, हिरामणि दुखी, सि.पी. गजुरेल, ऋषिराज बराल, क्षितिज मगर, बेञ्जु शर्मा, सनत रेग्मी, विवश पोखरेल, महेश विक्रम शाह, नयनराज पाण्डे, अमर शाह, शारदा शर्मा, इन्दिरा प्रसाई, मातृका पोखरेल, उषा शेरचन, जलेश्वरी श्रेष्ठ, कृष्णराज सर्वहारी, गोपाल अश्क, श्याम शाह, अभय श्रेष्ठ, उपेन्द्र सुब्बा, उपेन्द्र पागल, भानु बोखिम, प्रेम नेपाली, पार्वती राई, फूलमान बल लगायतको संलग्नताले यसविधामा समृद्धिसँगै यो त्यो कोणबाट नेपाली सामाजिक परिवेश, यहाँको जीवनशैली, मानवीय जिजीविषा तथा तितामीठा परिघटनाहरूमा बाँचेको हाम्रो सांस्कृतिक धरातललाई नै कलाका माध्यमबाट सम्प्रेषण गरेको छ । अझ शङ्कर लामिछानेले सुरू गरेको विधा मिश्रण मानिने रचना कर्ममा उनी पछि विमल निभा, बुद्धि सागर र कुमार नगरकोटी आदि स्रष्टाहरू संलग्न छन्, जसले हाम्रो सांस्कृतिक नवीनता प्रष्ट पारेको छ ।

नेपाली भाषामा कथा लेख्ने लेखकहरू विभिन्न धार्मिक, जातीय, भाषिक, सांस्कृतिक र क्षेत्रीय परम्परा साथ आउँछन् र आफ्नो परम्परा र संस्कृति अनुसार नै रचना गर्छन् । उनीहरूले प्रयोग गर्ने बिम्ब प्रतीक, जीवन र प्राकृतिक चित्रणमा त्यस्तो मौलिकता स्पष्ट देखिन्छ कथाभित्र । यति हुँदा हुँदै पनि विषय, परिवेश, चरित्र तथा उद्देश्यजस्ता पक्षमा मूलतः नेपाली संस्कृतिकै कलात्मक प्रकाशनमा रमाइरहेका देखिन्छन् । नवीन प्रवृत्तिको प्रयोग, मानवीय चेतनाको विकास र आधुनिक जीवनशैलीका ऊहापोहहरू यस कालका कथाहरूमा स्रष्टाहरूले सम्प्रेषण गररिहेकै अवस्थामा पनि कथाभित्र नेपाली सामाजिक जीवन र नेपाली बहुसंस्कृतिको अन्तर्बाह्य चित्र आएकै हुन्छ ।

प्रवृत्तिगत रूपमा अतिसंक्षेपमा उल्लेख गर्दा आदर्शवादी, यथास्थितिवादी, प्रगतिवादी, नारीवादी तथा डायस्पोरिकजस्ता थुप्रै सांस्कृतिक अभिलक्षणले युक्त कथाहरू नेपाली साहित्यमा निरन्तर थपिँदै छन् । नासोमार्फत् मैनालीबाट थालिएको आदर्शवादी चेतनाले अभिप्रेरित नेपाली संस्कृतिको बाह्य परिदृश्यलाई विपी कोइराला, भवानी भिक्षु, विजय मल्ल आदिले मान्छेको सामान्यासामान्य मनोदशाको चित्रण र यौन मनोविज्ञानको प्रयोगबाट नेपाली कथामा रतिरागात्मक सन्दर्भलाई देखाएका छन् । नेपाली समाजको अदृष्ट सत्यको यस गभीर पाटामा पोषण पाण्डे, कुमार नेपाल, पुस्कर लोहनी, सीता पाण्डेहरूले कथाको माध्यमबाट भूमिका खेलेको देखिन्छ ।

२००६ सालबाट नेपाली कथामा प्रगतिशील सांस्कृतिक चेतनाले प्रवेश गरेको हो । पारिजात, हरिहर खनाल, खगेन्द्र सङ्ग्रौला, मनु ब्राजाकी, कुन्ता शर्मा, विजय चालिसे, राजव, नारायण ढकाल, इस्माली, ऋषिराज बराल, सि.पी. गजुरेल, घनश्याम ढकाल, हिरामणि दुखी, क्षितिज मगर, पुण्यप्रसाद खरेल, मातृका पोखरेल, अमर शाह, पुण्य कार्की, उपेन्द्र पागल लगायतका कथाहरू प्रगतिशील संस्कृतिमा आधारित छन् । मूलतः विकलको ‘लाहुरी भैंसी’ पारिजातको ‘मैले नजन्माएको छोरो’, खगेन्द्र सङ्ग्रौलाको ‘कुराउनीको रित्तो पेरूङ्गो’, नारायण ढकालको ‘इरफान अलि’, राजवको ‘क्रुर गद्य’, मनु ब्राजाकीको ‘भविष्य यात्रा’, राजेन्द्र विमलको ‘रामेछापको श्रवणकुमार’, इस्मालीको ‘काट जर्कीन डी’, ऋषिराज बरालको ‘किसान नगर’ र मातृका पोखरेलको ‘बाध्यता’ कथाले प्रगतिशील संस्कृति नेपाली कथामा आरोहण गरेको परम्पराको सूचना दिन्छ । सांस्कृतिक जागरणको सन्दर्भमा २००७ सालको राणा विरोधी आन्दोलन, ०२८–०२९ को झापाको माले आन्दोलन, ०५२ मा थालिएको भएको नेकपा माओवादीको हिंसात्मक युद्ध प्रगतिशील संस्कृतिको निर्माणमा अर्थपूर्ण प्रभाव पार्ने सन्दर्भहरु हुन् । वर्गप्रेम, द्वन्द्ववादी चेतना र प्रतिकार सामथ्र्य यस प्रवृत्तिका पहिचान हुन् जसले नेपाली संस्कृतिको स्वाभिमानको पक्षलाई काँधमा बोकेको छ । 

परम्परित धार्मिक चेतना र पुरुषवादी सांस्कृतिक निरङ्कुशताको कडा प्रतिरोधस्वरूप नारीवादी चेतना उठेको यस समयमा नारी संस्कृतिलाई कथामा पनि महत्व दिएको पाइन्छ । बीपी कोइराला, गोठाले, भिक्षु, पारिजात आदिले चरित्रगत भूमिकामा प्रविष्टि दिएको नारी विमर्श आज प्रेमा शाह, कुन्ता शर्मा, भागीरथी श्रेष्ठ, जलेश्वरी श्रेष्ठ, सृजना शर्मा, गङ्गा सुवेदी, शर्मिला खड्का, गीता केशरी, विजया शर्मा, अनिता तुलाधर, लीला श्रेष्ठ सुब्बा, भवानी छेत्री आदिका कथाहरूमा सांस्कृतिक जागरणकै शङ्खघोष गर्ने क्षमताका साथ उपस्थापित छन् ।

वर्तमानमा डायस्पोरिक संस्कृतिको विषय विमर्शमा छ । बाहिरी देशमा बसेर त्यहाँका जीवनभोगाइका आधारमा निर्माण भएको सांस्कृतिक चेतनाले कथामा पनि आफ्नो पहिचान दिन थालेको छ । यस मेसोका अभियन्ता कथाकारहरूमा होमनाथ सुवेदी, राजव, भारती पोखरेल र गोविन्द गिरी प्रेरणाका आदिका कथामा डायस्पोरा संस्कृति झल्केको छ । डायस्पोरिक संस्कृतिका दृष्टिले राजवका ‘किवुका’ र ‘वेविसीटर’ जस्ता कथा गोविन्द गिरीको ‘घोडा’ तथा अन्य कथाहरू र भारती पोखरेलका केही कथाहरू रोचक लाग्छन् । 

पूर्ववर्ती कथायुगमै स्थापित कतिपय कथाकारहरू लेखनमा निरन्तरतासँगै समकालीन चरणमा पनि उत्तिकै प्रभावी बनेका छन् । अकथा वा अधिआख्यानको प्रयोगमा ध्रुवचन्द्र गौतम र स्वैरकल्पनाको प्रयोगमा मोहनराज शर्माले नेतृत्व गरेका छन् । शर्मा र गौतमसँगै सरुभक्त, विनय कसजू तथा राजव आदि स्रष्टाले कथामा विज्ञान र प्रविधिजन्य पक्षलाई समेटेर प्रविधि–संस्कृतिको सामाजिक सम्बन्ध उल्लेख गरेका छन् ।
यसरी अतिसंक्षेपको अवलोकनबाट पनि हामी नेपाली कथापरम्परामा नेपाली संस्कृतिको सुन्दर हस्तक्षेप वा कलात्मक प्रभाव छ भन्ने कुरामा स्पष्ट हुन्छौं ।

घ. साइबर संस्कृति : सामान्य चिनारी
साइबर कल्चर, डिजिटल कल्चर तथा इलेक्ट्रोनिक कल्चर भनेर पनि सम्बोधन गरिने अंग्रेजी शब्दको मिलिजुली नेपाली नाम बनेको छ : साइबर संस्कृति ।

आजको विश्वमा सूचनाको सञ्जालले विश्वव्यापी परिवेश सृजना गरेको छ । परम्परागत संस्कृतिका ठाउँमा नयाँ र पुरानो दुबैको मिश्रणबाट नवीन मिसमासे संस्कृति बन्न पुगेको छ । राष्ट्रिय सीमा भत्काएर मानिसहरू अआफ्ना परम्परित सांस्कृतिक कृत्यहरूबाट विरत हुँदै धमाधम विश्वनागरिक भइरहेका छन् । कल्पनाको काँचे संसारमा न बन्धन, न मृत्यु न शासन, न सत्यासत्यको परीक्षण, मानिसहरू सुख र स्वतन्त्रताको खोजीमा एउटा नयाँ बिजुली–संस्कृतिमा समाहित भइरहेछन् । परम्परागत संरचना भत्काएर उत्तर आधुनिक समयचेतनाले अगाडि सारेको सैद्धान्तिक चिन्तनलाई साइबर संस्कृतिले पृष्ठपोषण गरेको छ । यसर्थ के भन्न सकिन्छ भने राष्ट्रियता, माटोका सीमाहरू, उमेर, लिङ्ग, पेसा, वर्ग, जात, धर्म र कर्मको व्यवधान पटक्कै नहुने आजको त्यही विश्वसंस्कृतिलाई साइबर संस्कृतिको रूपमा परिभाषित गरिएको हो । 

रोबोटमय संसार तथा प्राविधिक र यन्त्रमय जीवनशैली भित्र्याएर पुराना मूल्य र मान्यताहरू विस्थापन गराउने साइबर संस्कृतिको जरो कम्प्युटर नै हो । सन् १९५० तिर कम्प्युटरको सुरुवातको चरणमा इन्टरनेटलाई अर्पानेट भनिन्थ्यो । इन्जिनीयर तथा वैज्ञानिकहरूले मात्र कम्प्युटर प्रयोग गर्थे । सन् १९७२ मा रे टोमिलेसनले इमेलको विकास गरे भने १९८२ मा इन्टरनेटको विकास भएको हो । सन् १९९० मा बेलायती वैज्ञानिक टिम बन्र्स लीले  वेभसाइट बनाउने एचटिएमएल कोडको विकास गरेपछि इन्टरनेटको व्यापकता बढेर गयो । वर्तमानमा विश्वमा करोडौं वेभसाइटहरू क्रियाशील छन् । साइबर संस्कृतिको निर्माणमा इन्टरनेटको सार्वभौम सत्ता कायम देखिन्छ । यसका लागि आज अनलाइन सामाजिक सञ्जाल, वेभपेज र ब्लगिङको भूमिका उल्लेखनीय बन्न पुगेको छ ।  सन् १९९९मा बेलायतका स्टिभ र जुलीले विकास गरेको ‘फ्रेन्ड रियुनाइटेड’ पहिलो सामाजिक सञ्जालको साइट थियो । यसकै लहरमा क्रमशः आज फेसबुक, ट्विटर, ब्लगपेज, स्काइपजस्ता अनेकौं सञ्जालहरू अनवरत चलायमान छन् ।  नेपालमा चाहिँ साइबर संस्कृतिको विधाता इन्टरनेटको प्रयोग सन् १९९८ देखि हुन थालेको हो । (त्रिपाठी : ०७१)

शाब्दिक रूपमा अंग्रेजीको  साइबर तथा अंग्रेजीकै कल्चर शब्दको नेपाली रूपबाट ‘साइबर संस्कृति’ बनेको हो । साइबर नेटसँग सम्बद्ध साइबरले यन्त्रबाट सूचनाहरू प्रवाह गर्ने अर्थ राख्छ । अति संक्षेपमा सरल ढङ्गले भन्ने हो भने कम्प्युटरको प्रयोग र यसको सञ्जालले निर्माण गरेको यन्त्रनियन्त्रित अभौतिक (भर्चुअल) समाजमा बनेको संस्कृतिलाई नै हामी साइबर संस्कृति भन्दछौं । सन् १९६३ मा ‘द अक्सफोर्ड इङ्लिस डिक्सनरी’ले साइबर कल्चर शब्दको प्रारम्भिक प्रयोग गरेको बताउने साइबर संस्कृतिविद् ज्याकोबले यसलाई भौतिक पक्ष, सूचना सम्प्रेषणको पक्ष, मानवशास्त्रीय पक्ष तथा सृजनाको पक्ष गरी चार महत्वपूर्ण आधारमा वर्गीकरणसहित अध्ययन गरेको देखन्छि । साइबर संस्कृतिमा कम्प्युटर विज्ञान र यससँग सम्बन्धित साइबर प्रविधिविज्ञानसम्बद्ध हार्डवेयर र सफ्टवेयरको विकास र यसको प्रयोगको शैली, रोबोर्ट, कृत्रिम बौद्धिकता, कृत्रिम जीवन आदिको अध्ययन गरिन्छ । साइबर संस्कृति पदावलीले कम्प्युटर सञ्जालको प्रयोगद्वारा समाजमा स्थापित हुँदै गरेका मूल्यमान्यता र रहनसहनमार्फत् परिचित हुँदै गरेको संस्कृति बुझिन्छ भन्ने धारणा अध्येताहरूले राखेका छन् । (त्रिपाठी ः ०७१) वर्तमान उपयोगितावादी युगजीवनको विकसित सूचना र प्रविधिमा कान्छो सन्तानको रूपमा साइबर संस्कृतिले दुनियाँमा आफूलाई स्थापित गरेको छ । पुँजीवादी बजार र विज्ञापन संस्कृतिको चरम उपनिवेश बनेर सूचना–प्रविधिका माध्यमबाट प्राकृतिक सांस्कृतिक मानवीय मूल्यहरूलाई विस्थापित गरेर घरघरमा, विशेषतः नयाँपुस्ताका टाउकाटाउकामा सवार भएको नयाँ तार–बेतार संसारको एकल प्रवृत्तिको नाम बनेको छ  साइबर संस्कृति । यद्यपि हरेक विषयका सकारात्मक र नकारात्मक पाटाहरू हुन्छन्, विवेक मूल्याङ्ककनको हतियार हो । साइबर संस्कृति वर्तमानमा हाम्रो समाजका लागि पनि गुलियो र रङ्गिन आकर्षण बन्दै गएको यथार्थमा हामी सबै मौन समर्थक बन्नुको विकल्प पनि छैन ।

साइबर संस्कृतिभित्र प्रचलित पारिभाषिक शब्दावलीहरू मध्ये भर्चुअल रियालिटी, हाइपर रियालिटी, ग्लोबल भिलेज, भूमण्डलीकरण, साइबर स्पेस, साइबर नेटिक्स, साइबर पङ्क, साइबोर्ग, हाइपर टेक्स, परामानव, ह्याकर, साइबर विडो, सिमुलेसन, साइबर क्याफे, भाइरस, क्र्याकर, फ्रिक, साइबर क्राइम आदि पर्दछन् ।

ङ. समकालीन नेपाली कथामा साइबर संस्कृति : संक्षिप्त अनुशीलन

वास्तवमा प्रविधिको अतिशय विकासका कारण प्रविधि नै यस युगको संस्कृति बनेको छ । प्रविधि अन्तर्गत सूचना प्रविधिका क्षेत्रमा झनै अभूतपूर्व विकास भएको हुँदा साइबर प्रविधि नै साइबर संस्कृति बनेकोले त्यसको प्रत्यक्ष प्रभाव साहित्यमा पनि परेको छ । आजको नेपाली साहित्यमा पनि नेट, कम्प्युटर, भिडियो, विज्ञापन आदिको सघन प्रभाव परेको हुँदा साइबर झल्को दिने कृतिहरूको सङ्ख्या बढ्दो छ । यन्त्र मानव तथा तिनका अर्धमानवीय र अर्धयान्त्रिक गतिविधि भएका कृतिहरूले पनि नेपाली साहित्यमा साइबर संस्कृतिको प्रसार गरेका छन् । त्यसै गरी अहिलेका कृतिहरूमा प्रविधिसँग सम्बद्ध परोक्ष यथार्थ र अतिशय यथार्थको बढ्दो प्रयोगले पनि साहित्यमा साइबर संस्कृतिको सघनतातर्फ सङ्केत गर्छ । विद्युतीय सञ्चारको सञ्जालमा विशेषतः इन्टरनेटसँग जोडिएकाले साइबर भनेर परिभाषित गरिएको हो ।

अध्येताहरूले के स्पष्ट पारेका छन् भने नेपाली समाजमा कम्प्युटर, इन्टरनेट, मोबाइल जस्ता साइबरजन्य पक्षको प्रयोग नभइसकेको समयमा पनि कथाकारहरूले कल्पनाको आधारमा कथाहरूमा प्रविधि संस्कृतिको छिटपुट प्रयोग तिसको दशकबाट सुरु भएको हो । तर, समाजमा प्रत्यक्ष प्रयोगमा भएको साइबर संस्कृतिको यथार्थ स्वरूपलाई कथामा समेटेर लेख्ने कार्यको निरन्तरता भने साठीको दशकबाट भएको हो । पूर्ववर्ती चरणदेखि कथा लेख्न सुरु गरेर समकालीन चरण अन्तर्गत साइबर संस्कृति प्रयोग गरी कथा लेख्ने कथाकारमा कविताराम, मोहनराज शर्मा, पद्मावती सिंह, राजव, विजय चालिसे, अविनाश श्रेष्ठ आदि हुन् । (त्रिपाठी :०७१)  वि सं २०३६ मा प्रकाशित ‘यान्त्रिक यन्त्रणा’ कथामा कथाकार कवितारामले  ४०० वर्षपछिको समाजको कल्पना गरेर मानिसलाई यन्त्रको इसारामा चलाएर विज्ञान स्थापित प्राविधिक संस्कृतिलाई उजागर गरेका छन् । (पोखरेल : ००८, अनलाइन, अस्वीकृति डट कम) मोहनराज शर्माका साइबर संस्कृतिमा आधारित कथा भर्खर (२०६८) प्याँलो ख्याक (२०६८), अग्निमुख (२०६९), सात नम्बर बेन्च (२०६८) तथा राजवको डिजिटल चमकभित्र (सन् २०६४), अविनाश श्रेष्ठको नाङ्गो ( २०६४)  र पद्यावती सिँहको साइबर प्रेम ( ०६९) पनि  साइबर कथा नै हुन् । आख्यानकार सरुभक्तको ‘पदार्थहरूको गीत’ बमह्रवटा कथा सङ्कलित साइबर कथाकृति हो । यी सबै कथाहरूमा प्रमुख पात्र साइबोर्ग छन् । 

पाश्चात्य साहित्यमा पनि साइबर सृजना उति पुरानो भइसकेको देखिँदैन । दोस्रो विश्वयुद्धपछि मात्र यसको प्रारम्भ भएको पाइन्छ । युद्धपश्चात् नितान्त नयाँ विषयका रूपमा आरम्भ गरिएको देह र प्रविधिको सम्बन्ध सम्बन्धी सैद्धान्तिक विमर्शलाई यस दिशामा चालिएको प्राथमिक तथा झिनो प्रयास मानिन्छ । सन् १९८० मा कम्प्युटर क्रान्तिका फलस्वरूप साइबर साहित्यले प्रसारित हुने अवसर पाएको हो । सन् १९९० को मध्यतिर सूचनाप्रविधिको व्यापकतासँगै यसले स्थायित्व पाउनाका साथै प्राज्ञिक एवम् शैक्षिक क्षेत्रमा पनि महत्वपूर्ण भूमिका लिएको देखिन्छ । 

साइबर आख्यानको वैश्विक सन्दर्भ हेर्दा विलियम गिब्सनले निउरोमान्सर (सन् १९८४) साइबर पङ्क उपन्यासद्वारा क्रमशः यसको थालनी र उत्कर्षपूर्ण प्रयोग गरेका हुन् । नेपाली साहित्यमा पूर्णतया साइबर उपन्यासको पहिलो बान्कीका रूपमा जिरो कटेज (२०६८) देखा परेको छ । यसपछि अरू केही उपन्यासमा समेत यसको पूर्ण वा आंशिक प्रयोग भएको पाइन्छ जस्तै – रमेश पौडेलको द सुप्रिम ह्युमन उपन्यासमा पूर्णतः साइबर प्रयोग छ भने होमराज आचार्यको टुल्कु उपन्यासमा आंशिक साइबर प्रयोग छ । नेपाली साहित्यमा उपन्यासको तुलनामा कथामा साइबर संस्कृतिको बढी प्रयोग भएको देखिन्छ ।

समकालीन साइबर कथा लेख्ने कथाकारहरूमा अनमोलमणि, मनोज बोहोरा, सुषमा मानन्धर, इन्दिरा प्रासाईँ, लक्ष्मणप्रसाद गौतम, भारती गौतम, विद्या सापकोटा, गोविन्द बेल्बासे, बखतबहादुर थापा, शर्मिला खड्का, मिलन सङ्ग्रौला, दीपकजङ्ग हमाल, निर्मल ज्ञवाली, उदय गौतम, भुवन त्रिपाठी, राजेश नतांश, श्रीधर पौडेल, सुविसुधा, सुमन मञ्जरी, ऋषिराम पाण्डे, जनकराज भट्ट, विप्लवमान सिंह, सविना सिन्धु, होम सुवेदी, झलक सुवेदी, सविन सिंह, धीरजकुमार श्रेष्ठ, मणि लोहनी, सुमन घिमिरे, मिलन बगाले, क्रिस लेटाङ, हरि घिमिरे, विन्देश मगर, विभोर बराल, राजकुमार पण्डित क्षेत्री, सुधीर ख्ववि, महादेव अधिकारी, बिजु अधिकारी आदि पर्दछन् ।

आजको साइबर संस्कृतिका विविध आयामहरूलाई विषय, पात्र र परिवेशमा समायोजन गरेर कथा लेख्ने स्रष्टाहरूको  निकै लामो सूची बन्न पुग्छ । अतिसंक्षेपमा पूवोक्त केही चर्चित समकालीन कथाकार र तिनका साइबर संस्कृतिसम्बद्ध कथाकृतिको विवरणात्मकरूपमा प्रस्तुति यहाँ सान्दर्भिक हुने छ । 

साइबर संस्कृतिका विविध आयामहरूमा आधारित भएर लेखिएका समकालीन कथाहरूमा अनमोलमणिको टेस्ट्युब बेबी र मेरी प्रेमिका (०६६), मनोज बोहोराको ह्याकर (सन् ०१०), सुषमा मानन्धरको साइबर नशा (सन् ०१२), इन्दिरा प्रसाइँको त्यो रात (सन् ०१३), लक्ष्मणप्रसाद गौतमको उत्तर आधुनिक प्रेम पाँच(०६६), भारती गौतमको साइबर साइनु (०११), विद्या सापकोटाको नीलो तृष्णा(०११), गोविन्द बेल्बासेको दैलो लगाएको आवाज ( ०१०), बखतबहादुर थापाको कम्प्युटर आतङ्क(०६७) शर्मिला खड्काको फेसबुक वास्तविकता (०११), मिलन सङ्ग्रौलाको च्याट गर्ल(०१३), दीपकजङ्ग हमालको मार्लिन (०१२), निर्मल ज्ञवालीको भर्चुअल रियालिटी (०१३), उदय गौतमको अधुरो कुरा (०१३), भुवन त्रिपाठीको फेसबुक जोन (०१२) र प्रथम खगोलीय शिखर सम्मेलन(०१२), राजेश नतांशको फेसबुकको वास्तविक फेस (०६७), श्रीधर पौडेलको लिभिङ टुगेदर, सुविसुधाको बदलिँदो बादल र स्वास्नी मान्छे(०६७), सविना सिन्धुको समाचार वाचक, ऋषिराम पाण्डेको डायरी तथा विप्लवमान सिँहको कम्प्युटर कथाजस्ता कथाहरू कथासङ्ग्रह, अखबार र अनलाइन पत्रिकाहरूमा प्रकाशित भएका छन् । (त्रिपाठी : ०७१) पूर्वोक्त कथाहरूका माध्यमले स्रष्टाहरूले नेपाली समाजमा सघन बन्दै गएको साइबर संस्कृतिको राम्रो स्वरूप देखाएका छन् । 

यिनका अतिरिक्त होम सुवेदीको एसएमएस मोह, झलक सुवेदीको पुरानो प्रेमको नयाँ कथा, शर्मिला खड्काको इमेल नं तीन, सविन श्रेष्ठको मिसाइल त्राश, धीरजकुमार श्रेष्ठको बालुवाको घर, मणि लोहनीको शरीर दर्शन तथा सुमन घिमिरेको नोस्टाल्जिक इमेलजस्ता कथामा पनि साइबरजन्य चत्रिलाई प्राथमिकता दिइएको देखिन्छ । यसै गरी अनलाइन पत्रिकाहरूमा प्रकाशित मिलन बगाले, क्रिस लेटाङ, हरि घिमिरे, विन्देश मगर, विभोर बराल, राजकुमार पण्डित क्षेत्री, महादेव अधिकारी तथा विजु सुवेदीका क्रमशः सिपीको ढिपी(०१०), फेसबुक (०१३), उत्तरोत्तर स्खलन (०१३), परीक्षण(०१२), तस्वीर भइसकेको मानिस (०१२), फुर्वाको कम्प्युटर (०१२), स्काइपले गर्दा (०१३) तथा अत्याचारी फातुकजस्ता कथाहरू साइबर संस्कृतिमा आधारित छन् ।

खास गरी समकालीन नेपाली कथामा साइबर संस्कृतिको प्रभावलाई आत्मसात् गरेर कथालेखन गर्ने प्रभावी स्रष्टाहरूमा मोहनराज शर्मा, सरुभक्त, पद्मावती सिँह, राजव, अनमोलमणि, इन्दिरा प्रसाइँ, मनोज बोहोरा,उदय गौतम तथा सुषमा मानन्धर आदिको नाम लिन सकिन्छ । यी कथाकारहरूले आफ्ना कथासृजनामा साइबोर्गको सुष्ठु प्रयोगसँगै हाइपर रियालिटी र भर्चुअल संस्कृतिको प्राथमिकताका साथ उपयोग गरेर साइबर संस्कृतिको उत्कृष्ट प्रयोग गरेका छन् ।

च. जिज्ञासा र उत्सुकता : कथामा साइबर संस्कृतिका विशेषता : भरसँगै डर सँगै

माथि दृष्टान्तको रूपमा मात्र समकालीन साइबर–कथाहरू उल्लेख गरिए ता पनि यस्ता कथाहरूको अभिलक्षण मूलतः एकै प्रकृतिको हुन्छ । यस्ता कथामा समकालीन नेपाली समाजको जीवनशैली,चरित्र, दैनन्दिनी, परिवेश तथा समयचेतको प्रभावपूर्ण प्रस्तुति देखिन्छ । साइबर संसारमा प्रचलित सबै क्रियाकलापहरू, डायस्पोरिक वस्तुसन्दर्भ, अर्थगत बहुलता, भूमण्डलीकरण, विनिर्माणचेतना, संस्मरणात्मकता, प्रविधिप्रताडना, भुइँमान्छेका व्यथा, मानिसको वस्तुकरण तथा विज्ञापनजस्ता सकारात्मक–नकारात्मक प्रवृत्तिगत विशेषता नै यस्ता कथाको पहिचान बनेको देखिन्छ ।

यस्ता कथाहरूमा मूलतः सामाजिक सञ्जालहरूको प्रभाव व्यापक देखिन्छ, जहाँ फेसबुक, ट्वीटर, वाट्स एप, स्काइप, ट्याग, म्यासेन्जर, भाइरस, मेमोरी, ब्लग, वेभपेज, च्याटिङ, गुगल, याहु, अनलाइन, ह्याकिङ, इमेल, म्यासेज बक्स, साइबर स्पेस तथा भर्चुअलजस्ता शब्दहरूको प्रयोग गर्नु, च्याट गर्नु, इमेल गर्नु, अनलाइन बस्नु, नेटवर्किङ गर्नु, साइबर विडो बन्नु तथा साइबोर्ग चरित्र देखाउनुलाई नै मुख्य रीत मानिने हुनाले नै साइबर संस्कृतियुक्त यस्ता कथाको काल्पनिक मस्तसंसार बनेको हुन्छ ।

साइबर कथाहरूको सामाजिक प्रभाव पनि उसकै संस्कृतिबाट पोषित हुन्छ । थानथपना, पूजाआजा, दानधर्म, चाडपर्व र लोक संस्कारजस्ता कुरालाई साइबर समयचेतनाले डेटस्पायर मानेझैं प्रतीत हुन्छ । भूतप्रेत अब भाइरस बन्छ, प्रेमी साइबर विडो अनि फटाहा ह्याकर!

साइबर संस्कृतिको परिसीमा नै सिँगो पृथ्वी भएकोले भूमण्डलीकरणको प्रभाव यस्ताखाले कथाको विशेषताभित्र पर्छ । डायस्पोरिक चेतनाका प्राकृतिक सम्बाहक साइबर कथाहरू नै बनेका छन् । अब हुलाक र कटुवालभन्दा इमेल र म्यासेन्जरहरू बलिया बनिसके । अनलाइन कथा हजारौंले पढिसक्दा पनि छापा र साहित्यिक पत्रिकामा पठाएका कथा लाइनमा कुरिरहेका हुन्छन् । हो, तीव्र प्रवाह साइबर संस्कृतिको सकारात्मक पहिचान यही हो, जीवनभन्दा तीव्र! त्यसैले यस्तो प्रकृतिका कथाहरू पनि सूचनाप्रविधिमाथिको पूर्ण भरोसामा केन्द्रित देखिन्छन् । विवेकभन्दा बढी विश्वास छ बिजुलीमा आजको पुस्तालाई । दशमा पाँच जोड्न्पर्दा पनि क्यालकुलेटर निकाल्ने आजको युग । केही याद छैन, जे छ मोबाइल जान्दछ । आफू रित्तै गोजीबाट फोन गायब हुनासाथ सातो जान्छ, मरेजस्तो हुन्छ मान्छे । स्वास्नी र लोग्ने अआफ्ना प्रेमीहरूसँग घन्टौं भुलिरहन्छन् अनलाइनमा । एकआपसका सम्वादहरू कडा सेक्युरिटी कोडका तालाभित्र कैद हुन्छन् । अहो, साइबर संस्कृतिको यो उधुम, यो चटक! 

समकालीन कथामा साइबर–प्रभावलाई मूल्याङ्कन गर्दा सांस्कृतिक रूपमा पक्कै दुईप्रकृतिको प्रभाव स्पष्ट देख्न सकिन्छ ः सकारात्मक र नकारात्मक । प्रथमतः अधुनातन विश्वसमाजसँगको सामीप्य, पछिल्ला विज्ञान–प्रविधिका कोसेलीहरूको उपभोगबाट विश्वसभ्यतासँग परिचित हुने अवसर, शारीरिक बलमाथि बुद्धिको प्रतिस्थापनका नवीनतम युक्तिहरू, सहज र सरलताका साथ सूचना, ज्ञान, विज्ञापन र मनोरञ्जनको एकै बसाइमा प्राप्तिजस्ता अनेकौं सकारात्मक पक्षमाथि आफू हराएर यन्त्रको अवतारमा मस्तराम हुँदै मानसिक एकाकीपन र सामाजिक सम्बन्धहरूबाट स्खलनको डरलाग्लो रोगको डढेलो सल्कँदै गएको पक्ष चाहिँ भुल्नै नहुने बनेको छ । 

साइबरप्रविधिको प्रयोग गरेर अनलाइन छापिने कथाहरूमा मात्र नभएर आजका अन्य कथाहरूमा पनि समकालीन सूचनाप्रविधिको प्रयोग र असल–खराव प्रभावबारेको गभीर विमर्श पाइन्छ । आधुनिक साइबर संस्कृतिसँग राम्रै भिजेर यसका रसबसका अनुभूतिहरूलाई वस्तु, परिवेश र चरित्रका माध्यमले आफ्ना कथाहरूमा प्रयोग गर्ने केही समकालीन कथाकारहरूको नाम लिँदा मञ्जु काँचुली, विश्वम्भर चञ्चल, भाउपन्थी, सन्तोष भट्टराई, ध्रुव सापकोटा तथा किशोर पहाडी, मन्दिरा मधुश्रीलगायत थुप्रै स्रष्टा आउँछन् ।   

इमेल ठेगाना नभएको, मोबाइलसम्म नबोक्ने वा फेसबुक नचलाउने अथवा भनौं इन्टरनेटको सबैखाले उपभोगबाट टाढा रहेको स्रष्टाले पनि कालिदासले स्वर्गको बयान गरेझैं साइबर–संसारको काल्पनिक सन्दर्भ आफ्ना कथामा निकै प्रभावकारी रूपमा गर्नसक्ने सैद्धान्तिक अध्ययनबाट प्राप्त क्षमतालाई पनि प्रवृत्तिगत मूल्याङ्कनको एउटा पाटो मान्न सकिन्छ, तर साइबर–संसारको भुक्तभोगी स्रष्टाले कथामा सांस्कृतिक प्रभावको जीवन्त प्रस्तुति दिन्छ । प्रस्तुत सन्दर्भ नै प्रविधिको प्रयोगबाट स्थापित सांस्कृतिक चेतनासँग सम्बद्ध भएकोले पौरने ज्ञानभन्दा पौरिने कलालाई साइबर संस्कृतिले अङ्गीकार गर्छ ।

भर्चुअल दुनियाँको कथामा प्रविधिको समृद्धि र जनजीवनमा यसको प्रभावको रहस्य पाइनु स्वाभाविक हुन्छ । यस्ता कथाहरूमा समकालीन नेपाली कथाको प्रवाह र प्रभाव मात्र नभएर विश्वकथाका समकालीन प्रवृत्ति पनि पाइन्छन्, किनभने साइबरको दुनियाँ सबैको साझे दुनियाँ बनेको छ ।

अवास्तविक यथार्थ (भर्चुअल रियालिटी)–लाई आत्मा मान्ने साइबर संस्कृतिले सत्य र यथार्थलाई पनि अवास्तविक, भ्रमपूर्ण र काल्पनिक बनाएको (भट्टराई ः ०६४) हुनाले हामी निकै गम्भीर मोडमा उभिएका छौं आज । यो दुनियाँ जहाँ अवास्तव नै वास्तव लागिरहन्छ र जहाँ समाज, संगठन, सत्य, सम्वाद,सिकाइ, समर्थन, विरोध, माया, दया, दान, धर्म, बहादुरीजस्ता सम्पूर्ण मानवीय क्रियाकलापहरू नै भर्चुअल अथवा अवास्तव काँचे परिवेशमा सम्पादन गरिन्छन् । यसले आजको मानिसलाई परम्परा, नैतिकता, इमान र सक्रिय भौतिक संलग्नताबाट निकै टाढा पु¥याएरहेको छ । कथा पनि समाजकै प्रतिबिम्बन न हो, यसमा पनि आँखा र मनको सत्य जो उद्घाटित गर्छ स्रष्टाले । त्यसैले कथामा मात्र हैन समग्र साहित्यमा हस्तक्षेपका साथ उभिन लागेको साइबर–सुरसाबारे समीक्षकहरू पनि निकै चिन्तित हुँदै वस्तुसत्यको आँकलन गर्छन्—‘अब उप्रान्त हाम्रा सत्यहरू भर्चुअल हुने हुन् अवास्तविक । तर, हामी ती रबरका थुन चुसिरहन्छौं, दुध आउँदैन तापनि चुस्ताचुस्ता निदाउने छौं । निदाइरहेकै छन् सबै जगत् टिभी स्क्रिनमा डुबेको हेर्नु, कम्प्युटर स्क्रिनमा, ल्याप टपमा, डिभिडिमा एक्लै घन्टौं रमाएको, डुबेको, हराएको । अलिकति विश्वास छ, अलिकति अविश्वास, तर त्यसैले हामी तानिएका छौं ।’ (भट्टराई : ऐ.)

अबको युग सूचना र प्रविधिमैत्री अवश्य । हामी समयका उपहार फालेर समयकै परिहासका पात्र बन्न सक्दैनौं । आजका कथा त आधार मात्र हुन् समयको मूल्याङ्कनका लागि । हाम्रो साहित्य विश्वस्तरसम्म पुग्ने भ¥याङ यही हो । यसलाई सचेत ढङ्गले उपयोग गर्नुपर्छ । समाज रूढ मान्यताहरूबाट अलि ग्रस्त पनि छ हाम्रो । त्यसैले प्रविधिको उपयोगभन्दा बढी दुरुपयोगले हामी भीतप्राय छौं । चेतना मैनाचरी हैन, पिँजरामा हुर्केर गाउने, बोल्ने । अबका पुस्ता हाम्रा छोराछोरी, नातिनातिना मात्र रहेनन् बरु विश्वमानव–परिवारको एउटा अस्तित्वशाली सदस्य पनि हो । उसमा स्वत्व र अस्तित्वको विवेक परम्परा र हाम्रो माटोको आस्था हामीले दिनसक्नुपर्छ, बस् रुनु निरर्थक छ अब । सङ्कीर्ण विचारले हामीलाइ नै खान्छ । हामी पिरैपिरले झन् कमजोर बन्छौं । पुँजीवादका उपहार भनेर मात्र हैन विज्ञान र प्रविधिका उपहार मानेर, मानवीय चेतनाका उच्चतम उपलब्धी मानेर दुनियाासँगको हाम्रो सामाजिक सांस्कृतिक संयोजनले हाम्रै परिचय र पहिचान कायम गराउन सक्ने इरादाले आजका बिजुली–कर्मप्रति सकारात्मक बन्ने सन्देश लिन अपरिहार्य छ ।


सन्दर्भकृतिहरू

त्रिपाठी, भुवन : अनलाइनका नेपाली कथामा साइबर संस्कृतिको प्रयोग ः त्रि.वि., एमफिल (शोधपत्र), ०७१ ।
पोखरेल, बालकृष्ण (नि.) : वसहत् नेपाली शब्दकोश : नेप्रप्र, ०४० ।
बराल, ईश्वर (सं) : नेपाली साहित्यकोश : नेपाल प्रज्ञा प्रतिष्ठान, ०५५ ।
बराल, ऋषिराम (सं) : नेपाली कथा (भाग तीन) : साझा प्रकाशन, ०५५ ।
भट्टराई, गोविन्दराज : उत्तरआधुनिक विमर्श : मोडर्न बुक्स काठमाडौं, ०६४ ।
रेग्मी, सनत र भाउपन्थी (सं) : प्रज्ञा नेपाली आधुनिक कथा : नेप्रप्र, ०७० ।
शर्मा, मोहनराज : समकालीन समालोचना सिद्धान्त र प्रयोग, अक्सफोर्ड प्रकाशन, ०६३ ।
सुवेदी, पुरुषेत्तम : समकालीन नेपाली कथामा सांस्कृतिक चेतना : (०७२ असार १२ मा प्रस्तुत कार्यपत्र)



परिशिष्ट

साइबर संस्कृतिसम्बद्ध कथासृजनामा प्रयोग हुने केही विशेष शब्दहरू 

साइबर क्राइम इन्टरनेटको गलता उपयोग गरी व्यक्तिगत सूचनाहरू चोर्ने तथा साइबर प्रणालीलाई नै ध्वस्त पार्ने अपराध
साइबर क्याफे पैसा तिरेर इन्टरनेट उपभोग गर्न सकिने ठाउँ ।
फ्रिक टेलिफोन चोरीको प्रयासमा लागेको ।
भर्चुअल रियालिटी  अवास्तविक यथार्थलाई भर्चुअल रियालिटी भनिन्छ । परोक्ष भएकाले यो भ्रम हो, तर यसलाई यथार्थझैँ प्रस्तुत गरिन्छ । यसको औपचारिक उपस्थिति कति पनि हुँदैन ।
हाइपर रियालिटी साँच्चै लाग्ने तर छुन नसकिने यथार्थलाई अतिशय यथार्थ (हाइपर रियालिटी) भनिन्छ । यो श्रव्यदृश्य साधनद्वारा पर्दामा देखिने भए पनि यसलाई समात्न सकिँदैन ।
ग्लोबल भिलेज  विश्वगाउँ जुन स्वयंमा अवास्तविक हो । सन् १९६० मा मार्सल म्याकलुहानले ग्लोबल भिलेज (विश्वग्राम) को अवधारणा अघि सारेका हुन् । यसको तात्पर्य सूचना एवम् सञ्चारको प्राविधिक सञ्जाले विश्न नै एउटा गाउँ समान बन्नु हो । 
भूमण्डलीकरण व्यक्तिको जीवन र स्थानीय समुदायलाई विश्वव्यापी आर्थिक तथा सांस्कृतिक शक्तिद्वारा प्रभावित पार्ने प्रक्रियालाई भूमण्डलीकरण (ग्लोबलाइजेसन) भनिन्छ । 
साइबर स्पेस विद्युतीय सन्देश आदि कम्प्युटरहरूका माझ पठाउँदा रहने कम्प्युटरका पर्दापछिको काल्पनिक ठाउँ ।
साइबर नेटिक्स इलेक्ट्रोनिक नियन्त्रण प्रणाली र यान्त्रिक उपकरणहरूको अध्ययनका साथै तिनको तुलना जैविक प्रणालीसँग गर्ने विज्ञानलाई साइबर शास्त्र (साइबरनेटिक्स) भनिन्छ ।
साइबर पङ्क  विज्ञान आख्यानको एउटा भेद मानिने साइबर पङ्कलाई प्रविधि तथा कम्प्युटरद्वारा नियन्त्रण गरिएको कल्पित भावी संसारका बारेमा लेखिएको आख्यान मानिन्छ ।
साइबोर्ग  साइबर सिर्जनामा पाइने आंशिक मानव र आंशिक मेसिनजस्तो जीव हुन्छ । यस्ता पात्रमा जैविकता र यान्त्रिकताको मिश्रण गरिएको हुन्छ ।
हाइपर टेक्स  कम्प्युटर वा यन्त्रका माध्यमबाट मात्र लेख्न र पढ्न र देख्न सकिने पाठ । 
परामानव  प्रविधिको दोहन गरेर जीवनको प्रत्याशा तथा मानव शक्यता बढाउन खोज्ने व्यक्तिलाई परामानव (ट्रान्स ह्युमन) भनिन्छ ।
ह्याकर कम्प्युटरको प्रणाली वा सञ्जालमा बलात् छिरेर चोर्न सफल भई त्यसको प्रयोग आफ्ना हितका लागि गर्ने व्यक्ति ।
क्र्याकर कम्प्युटरको प्रणाली वा सञ्जालमा छिर्न र चोर्न असफल भए पनि त्यसलाई प्रभाव पार्ने व्यक्ति ।
सिमुलेसन वास्तविक यथार्थको अनुकृति वा नक्कल तयार पार्ने प्रक्रियालाई अनुरूपण (सिमुलेसन) हो । 
साइबर विडो अरू कसैका श्रीमतीहरूसँग इन्टरनेटमा बढीभन्दा बढी समय बिताउने बिबाहित मानिस ।

======================================


































































No comments:

Post a Comment