Monday, November 7, 2016

'नेपाली कथामा समाजवादी यथार्थवाद : प्रभाव र विकास' विषयक गोष्ठी सम्पन्न


नेपाल प्रज्ञा - प्रतिष्ठान गध्य / आख्यान विभागको आयोजनामा यही २०७३ साल कार्तिक २६ गते वरिष्ठ आख्यानकार रमेश विकलको ८८ औं जन्मजयन्तीका अवसरमा ' नेपाली कथामा समाजवादी यथार्थवाद : प्रभाव र विकास ' विषयक गोष्ठी सम्पन्न भयो । वरिष्ठ मार्क्सवादी सौन्दर्य चिन्तक मोहन बैध्य ' चैतन्य ' को  प्रमुख आतिथ्यमा सम्पन्न उक्त गोष्ठीमा समालोचक डा.प्रा. गोपिन्द्र पौडेलले  ' नेपाली कथामा समाजवादी यथार्थवाद : प्रभाव र विकास ' विषयको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत  कार्यपत्रमाथि वरिष्ठ मार्क्सवादी सौन्दर्य चिन्तक निनु चापागाईंले र समालोचक डा. हेमनाथ पौडेलले टिप्पणि गर्नु भएको थियो । 

वरिष्ठ आख्यानकार रमेश विकलको बारेमा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले विकलसँगका आफ्ना सहयात्राका संस्मरण सुनाउनुभयो । नेपाल प्रज्ञा - प्रतिष्ठानका उप-कुलपति विष्णुबिभू घिमिरेले स्वागत मन्तव्य राख्नु भएको उक्त  गोष्ठीमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मोहन बैध्य ' चैतन्य ' ले जनताले चाहेको अझै प्राप्त हुन सकेको छैन भन्नुभयो । उहाँले जनताले चाहेको कुरा प्राप्त गर्ने अभियानमा साहित्यकारहरुले प्रयत्न गर्नु पर्ने धारणा राख्नु भयो । 

गोष्ठीको सभापतित्व  नेपाल प्रज्ञा - प्रतिष्ठान गध्य / आख्यान विभागका प्रमुख मातृका पोखरेलले गर्नुभएको थियो भने कार्यक्रमको संचालन साहित्यकार बुद्धि तिमिल्सिनाले गर्नुभएको थियो । 



=======================================

कार्यपत्र


नेपाली कथामा समाजवादी यथार्थवाद : प्रभाव र विकास 

प्रा.डा. गोपीन्द्र पौडेल

१. विषयारम्भ 


नेपाली कथामा समाजवादी यथार्थवादी सिर्जन विधिको प्रयोग २००७ सालको राजनीतिक घटना पश्चात् भएको हो । नेपाली कथामा समाजवादी यथार्थवादी चिन्तन सिर्जनको प्रयोग तथा यसको विकास क्रममा देखिएका मोडहरुको बारेमा विवादित विषय प्रसङगहरु पनि हुनाले आवश्यक छलफल र बहस चलाइनु सान्दर्भिक नै देखिन्छ । नेपाली कथामा २००७ सालपछि मात्र समाजवादी यथार्थवादी लेखनको प्रभाव पर्नुका पछाडि पनि केही वस्तुगत कारणहरु रहेका छन् । आरम्भदेखि आजसम्म आइ पुग्दा समाजवादी यथार्थवादी नेपाली कथा निकै समृद्ध बनेको छ र उत्तरोत्तर यो गतिशील एवम् उर्जाशील रहेको छ । शीर्षकले सङ्केत गरे अनुसार प्रस्तुत कार्यपत्रमा समाजवादी यथार्थवादका बारेमा सामान्य चर्चा गर्दै समाजवादी यथार्थवादी कथा लेखनको पृष्ठभूमि तथा त्यही पृष्ठभूमि स्वरुप समाजवादी यथार्थवादी लेखन पूर्वको नेपाली कथा परम्पराको सर्वेक्षण गरेपछि नेपाली कथामा समाजवादी यथार्थवादको प्रभाव के कसरी परेको छ भन्ने विज्ञासा स्वरुप समाजवादी यथार्थवादको प्रभावका प्रेरक प्रसङ्गहरु खोतल्ने प्रयास भएको छ । तत्पश्चात् समाजवादी यथार्थवादी कथा लेखनको आरम्भ बिन्दु ठम्याउँदै यसको विकासका प्रमुख चरणको निरुपण गरि सकेपछि प्रत्येक चरणको परिचय, कथा लेखनको स्थिति र प्रवृत्तिको सर्वेक्षणात्मक एवम् सूच्यात्मक प्रस्तुति गरिएको छ । अन्त्यमा समग्र अध्ययनको सङ्क्षिप्त निष्कर्ष प्रस्तुत गरी कार्यपत्रको बिट मार्ने काम भएको छ ।


२. समाजवादी यथार्थवाद र नेपाली कथामा त्यसको प्रभाव 



प्रस्तुत कार्यपत्रको मुख्य उद्देश्य नेपाली कथामा समाजवादी यथार्थवादको प्रभाव र विकास प्रक्रियाको रेखाङ्कन गर्नु हुनाले नेपाली कथामा समाजवादी यथार्थवादको प्रभावका बारेमा अनुशीलन गर्नुपूर्व समाजवादी यथार्थवादको बारेमा पनि थोरै चर्चा गर्नु उपयुक्त देखिन्छ । त्यसपछि मात्र समाजवादी यथार्थवादी नेपाली कथा लेखनको पृष्ठभूमि, पृष्ठभूमि स्वरुप समाजवादी यथार्थवादीे लेखन पूर्वको नेपाली कथा परम्परा र त्यसपछि मात्र समाजवादी यथार्थवादको प्रभावका कारक÷प्रेरक प्रसङ्गहरुको चर्चा गर्नु उपयुक्त हुनेछ ।



२.१ तात्पर्य बोधका सन्दर्भमा समाजवादी यथार्थवाद 



समाजवादी यथार्थवाद यथार्थवादी आन्दोलनको नवीनतम् एवम् उच्चतम् प्राप्ति हो । अझ स्पस्ट रुपमा भन्दा समाजवादी यथार्थवाद ऐतिहासिक एवम् द्वन्द्वात्मक भौतिकवादी दर्शनमा आधारित साहित्यिक सिद्धान्त हो जसले कला साहित्यको समीक्षण र मूल्याङ्कन सम्बन्धी वस्तु तथ्यात्मक विधि अवलम्बन गर्छ । यथार्थवादी लेखन परम्परामा समाजवादी यथार्थवाद भन्दा पूर्व प्रभावशाली रहेको आलोचनात्मक यथार्थवाद आफ्नो समयको उन्नत साहित्यिक संस्करण थियो तापनि उत्तरोत्तर यसका सीमालाई आँैल्याउँदै समाजवादी यथार्थवादको उदय भएको हो । खास गरी आलोचनात्मक यथार्थवादले माक्र्सवादी दर्शनलाई आत्मसात् गर्न नसकि रहेको अवस्थामा माक्र्सवादी दर्शन चिन्तनलाई आत्मसात् गर्दै समाजवादी यथार्थवादको उदय भएको हो । समाजवादी यथार्थवादको नामकरण, यसमा विद्यमान सौन्दर्यपरक मूल्यको व्याख्या र प्रतिस्थापन, यसको उत्थान र विकासमा म्याक्सिम गोर्की लगायतका रुसी लेखकहरुको महत्त्वपूर्ण योगदान रहेको छ । तात्कालीन सन्दर्भमा आलोचनात्मक यथार्थवादका सीमालाई आँैल्याउँदै अनि माक्र्सवादका मूलभूत प्रस्थापनालाई समेट्दै सर्वप्रथम समाजवादी यथार्थवाद नामकरण र प्रवर्तन गर्ने चिन्तक म्याक्सिम गोर्की नै हुन् (मिश्र, सन् १९९२ : २५७) । उनले सन् १९३४ मा सम्पन्न रुसी लेखकहरुको प्रथम अधिवेसनमा समाजवादी यथार्थवादको औचित्यपरक अवधारणा प्रस्तुत गरेका हुन् । वस्तुतः समाजवादी यथार्थवाद भन्नु नै माक्र्सवादी यथार्थवाद हो भन्ने पनि बुझिन आउँछ ।



समाजवादी यथार्थवादले समाज र जीवन जगत्को वस्तुनिष्ठ एवम् कलात्मक प्रतिबिम्बनमा जोड दिनुका साथै समाज विकासका हरेक मोडमा देखिने व्यवधान अनि अन्तर्विरोध र त्यसबाट उत्पन्न परिस्थितिको ठोस व्याख्या एवम् विश्लेषण गर्दछ । यसका साथै समाजवादी यथार्थवादले समाजको ऐतिहासिक विकासका विभिन्न चरणको ठोस व्याख्या गर्दै भविष्यप्रति आशावादी दृष्टिकोण प्रस्तुत मात्र गर्दैन अपितु भविष्य प्राप्तिका लागि उत्प्रेरित समेत गर्दछ । समाजवादी यथार्थवादले कला साहित्य सम्बन्धी सौन्दर्यात्मक, ज्ञानात्मक तथा विचारधारात्मक पक्षको सम्यक् विवेचन गर्दै यी तिन वटा पक्ष भन्नु नै कलाका कार्य हुन् भन्ने वस्तुनिष्ठ धारणा प्रस्तुत गर्दै आएको छ । समाजवादी यथार्थवाद मूलतः पुरातन, यथास्थितिवादी, आदर्शवादी एवम् पुँजीवादी साहित्यिक मान्यताका प्रतिधु्रवमा स्थापित वैज्ञानिक विधिमा आधारित उन्नत साहित्यिक मान्यता हो जसले समाज विकासको आधारभूत प्रक्रियाका रुपमा वर्ग सङ्घर्षमा जोड दिन्छ । वर्गीय संरचनायुक्त समाजमा वर्ग सङ्घर्ष अपरिहार्य हुने हुँदा कला साहित्यमा पनि वर्ग सङ्घर्षको कलात्मक प्रतिबिम्बन सम्बन्धी व्याख्या समाजवादी यथार्थवादले गर्दछ । समाजवादी यथार्थवादले कलाकृतिमा जीवन सत्यको अन्वेषण गर्छ, त्यो सत्य भनेको यथास्थितिवादी एवम् स्थिर सत्य नभई गतिशील सत्य हो र सुन्दर भविष्य पछ्याउने क्रान्तिकारी आशावादमा आधारित सत्य हो । समाजवादी यथार्थवादले परिवर्तन सम्बन्धी यान्त्रिक एवम् सङ्कुचित धारणालाई आत्मसात् गर्दैन बरु समाज विकासको द्वन्द्ववादी मान्यतालाई आत्मसात् गर्दै सर्वहारा वर्गीय यथार्थको प्रतिबिम्बनमा विशेष चासो देखाउँछ । यसले मूलतः पुरानोको अन्त्य र नयाँको आमन्त्रण गर्दै त्यस निम्ति कला साहित्यमा उदात्त विचारको सम्प्रेषण हुनु पर्ने मान्यता राख्दछ ।



समाजवादी यथार्थवादले पुरातन सामन्ती एवम् पुँजीवादी विचारको कठोर आलोचना गर्दै कम्युनिष्ट विचार र राजनीतिको पक्षपोषण गर्नुका साथै सर्वहारा वर्गीय पक्षधरता तथा आम श्रमजीवी वर्गको उत्थानमा उत्प्रेरित गर्दछ । त्यसका साथै यसले वर्ग सङ्र्षका माध्यमबाट उत्पीडित जनताको उन्मुक्तिको सन्देश सम्प्रेषण गर्दछ । यसले रुपवादका माध्यमबाट साहित्यको भ्रष्टीकरण गर्ने रुपवादी लेखनको कठोर आलोचनाका साथ कला कृतिमा उन्नत सौन्दर्य मूल्यको खोजी र सुस्पष्ट व्याख्या समेत गरेको पाइन्छ । खासगरी ऐतिहासिक एवम् द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोणको अवलम्बन, वस्तुगत यथार्थप्रतिको निष्ठा एवम् क्रान्तिकारी भविष्यदृष्टिको अभिव्यञ्जना, कला कृतिमा सर्वहारा वर्गीय दृष्टिकोणको अपरिहार्यता, विगत, वर्तमान र भविष्यलाई निरन्तरता र कार्यकारण सम्बन्धका आधारमा व्याख्या गर्नु, यान्त्रिकता, कोरा काल्पनिकता र रुपवादी लेखनको विरोध र सौन्दर्य मूल्यको सम्प्रेषण, अन्तर्वस्तु र रुपका बिचमा द्वन्द्वात्मक सम्बन्ध देखाउनु, इतिहासका निर्माता जनता हुन् भन्ने मान्यतालाई सर्वोपरि ठान्दै कला साहित्य सिर्जनाका क्रममा आम उत्पीडित जनको उपस्थितिमा जोड दिनु, आम जनतामा आशा एवम् भरोसाको सम्प्रेषण गर्नु तथा सौन्दर्यात्मक, ज्ञानात्मक एवम् विचारधारात्मक पक्षलाई कलाका मुख्य कार्य ठान्नु समाजवादी यथार्थवादका मुख्य वैशिष्ट्य हुन् ।



२.२ समाजवादी यथार्थवादी कथा लेखनको पृष्ठभूमि 



माक्र्सवादले कला साहित्यलाई आर्थिक आधारमाथि खडा भएको बाह्य संरचना मान्ने गरेको परिप्रेक्ष्यमा उत्पादन इतिहाससित साहित्यको गहिरो सम्बन्ध देखिन्छ । विश्व साहित्यकै परिप्रेक्ष्यमा र विशेषतः समाजवादी यथार्थवादी साहित्यको अध्ययनका परिप्रेक्ष्यमा पृष्ठभूमि स्वरुप राजनीतिक, आर्थिक तथा सामाजिक सांस्कृतिक क्रियाकलापको अध्ययन हुने गरेको छ । वस्तुतः प्रस्तुत कार्यपत्र लेखनका क्रममा पनि नेपाली कथामा समाजवादी यथार्थवादको प्रभाव र विकास क्रमको अध्ययनका सन्दर्भमा राजनीतिक, आर्थिक, सामाजिक तथा साहित्यिक सांस्कृतिक वस्तुस्थितिको सङ्क्षिप्त चर्चा गर्नु सान्दर्भिक देखिन्छ ।



१) राजनीतिक पृष्ठभूमि



नेपालमा पृथ्वीनारायण शाहको एकीकरण अभियान पश्चात् विकेन्द्रित सामन्ती राज्य रजौटाहरुको अन्त्य भई केन्द्रीकृत सामन्ती व्यवस्थाको स्थापना हुन गयो । पृथ्वीनारायण शाहको एकीकरणसँगै लेख्य नेपाली साहित्यको आरम्भ हुनु सकारात्मक पक्ष भए पनि राजा र दरबारिया भारदारहरुको चरम स्वार्थ र षड्यन्त्रले नै प्रश्रय पायो भन्ने कुरा वि.सं. १८३४ देखि १९०३ सम्मका कुनै पनि प्रधानमन्त्री कालगतिले नमर्नुले पुष्टि मिल्छ (रावल, २०४७  :  ११) । उत्तरोत्तर दरबारिया षड्यन्त्र र हिंसा मौलाउँदै जाँदा वि.सं. १९०३ मा जङ्ग बहादुरद्वारा कोतको पटाङ्गिनी रक्तमुछेल बनाएर राणा शासनको जग बसालियो । राणाहरुले ब्रिटिस साम्राज्यवादको चाकरी गरेर आपूm सत्तामा टिकि रहन नेपालको राष्ट्रिय अस्मितालाई धरापमा पारेर गोरखा भर्ती सुरु गर्नु तथा ब्रिटिस महारानीको जन्म दिनमा नेपालमा २१ तोप पड्काउनु (रावल, २०४७  :  १२) ले उनीहरु देश र जनताप्रति अनुदार थिए भन्ने पुष्टि हुन्छ । राणा शासकहरुको अङ्ग्रेज भक्ति, निरङ्कुश प्रवृत्ति तथा विलासी जीवन शैलीका कारण त्यतिवेलाको नेपाली साहित्य पनि आमोद प्रमोदको भोगविलासतिर लहसिन पुग्यो । उत्तरोत्तर राणाहरु जति निरङ्कुश बन्दै थिए उति नै राणा विरोधी स्वर पनि ध्वनित हुन थाले । एकातिर राणा शासकहरु निरङ्कुश बन्दै जानु र अर्कोतिर उनीहरु आन्तरिक सङ्कटमा फस्दै जानु तथा प्रथम विश्वयुद्धपछिको नयाँ परिवेशका कारण वि.सं. १९९० को दशकसँगै राणा विरोधी स्वर मुखरित हुन थालेको पाइन्छ ।



एकातिर राणाहरुको दमनका साथै अध्ययनका क्रममा भारतमा पलायन भएका युवाहरु भारतमै बसेर राणा विरोधी गतिविधिमा संलग्न थिए भने अर्कोतिर देशभित्रै पनि राणाहरुका विरुद्ध सङ्गठित प्रयासको थालनी स्वरुप वि.सं. १९८८ मा प्रचण्ड गोरखा र वि.सं. १९९३ मा नेपाल प्रजापरिषद्को स्थापना भयो । नेपाल प्रजापरिषद्को अगुवाइमा राणा विरोधी राजनीतिक क्रियाकलाप हुन थालेपछि वि.सं. १९९७ मा गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिइयो । यस घटनाले राणा विरोधी आन्दोलन झन् तीव्र बन्दै गर्दा २००३ साल कार्तिकमा कलकत्तामा अखिल भारतीय नेपाली राष्ट्रिय काङ्ग्रेसको स्थापना भयो (के.सी., २०५६  :  ४४) जुन विदेशमा स्थापित पहिलो राणा विरोधी सङ्गठन मानिन्छ । पछि यसको नाम नेपाली राष्ट्रिय काङ्ग्रेस राखियो र २००५ सालमा नेपाली प्रजातन्त्र काङ्ग्रेसको स्थापना भएपछि यी दुवै संयुक्त भएर नेपाली काङ्ग्रेसको गठन भएको पाइन्छ    (देवकोटा, २०३६  :  ९—११) । २००६ सालमा माक्र्सवादी दर्शन चिन्तनको अनुसरण गर्ने राजनीतिक सङ्गठनका रुपमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भए लगत्तै २००७ सालमा भएको राणा विरोधी आन्दोलनको परिणाम स्वरुप राणा शासनको अन्त्य भए पनि त्रिपक्षीय दिल्ली संझौताका कारण राणाहरु पनि शासन सत्ताको हिस्सेदार बन्न पुगे । यही राजनीतिक पृष्ठभूमि र २००७ सालपछिको खुकुलो राजनीतिक परिवेशसँगै समाजवादी यथार्थवादी कथा लेखन (समग्र साहित्य समेत)को आरम्भ र उत्तरोत्तर विकास भएको हो ।



२) आर्थिक सामाजिक पृष्ठभूमि 



केन्द्रीकृत सामन्ती शासन व्यवस्थाको स्थापना भएपछि शासकरुको स्वार्थी मनोवृत्ति तथा दरबारिया स्वार्थ र षड्यन्त्रका कारण नेपाली जनताको आर्थिक तथा सामाजिक स्थिति खस्कन थालेको पाइन्छ । राणाहरुको उदयपूर्व र उदय पश्चात् नै शासकहरुको ध्यान शोषण केन्द्रित हुनु, राणा कालमा सामन्ती भूस्वामित्वका कारण जमिनको अधिकांश हिस्सा शासक, भारदार, राजपुरोहित, मुखिया, द्वारे आदिको कब्जामा हुनु तथा यिनै जमिनका मालिकले नै जनताबाट तिरो उठाएर आफ्नै भोगबिलासका निम्ति खर्च गर्नु (नेपाल कम्युनिष्ट पार्टीकोे घोषणा पत्र, सन् १९४९) ले जनतालाई दासको रुपमा व्यवहार गरेको पाइन्छ । अझ राणा प्रधानमन्त्री वीर समशेरका पालादेखि मुलुकको उब्जाउ भूमि राणा परिवारले बिर्ताका रुपमा आफ्नो नाउँमा बनाउनु (शर्मा,ः २०३३ ः १३८) ले त्यस बखतको अर्थतन्त्र शासकमुखी थियो भन्ने स्पष्ट हुन्छ । खेतीपाती र बन्द ब्यापारमा ह्रास आएको, उद्योग धन्दाको विकास हुन नसकेको र भएका केही जुट, कपडा र चिनी मिलहरु पनि भारतीय दलाल पुँजीपतिहरु–बिडला, सिन्धिया र चौधरियाहरुको नियन्त्रणमा रहनु (रावल, १०४७ ः २९) ले त्यति बेला जनताहरु देशी सामन्तका साथै विदेशी दलाल पुँजीपतिको शोषणबाट प्रताडित भएको बुझिन्छ ।



राणा शासकहरुको अङ्गे्रजसँगको साठँगाठँका कारण त्यति बेलाको सामाजिक अवस्था पनि अर्ध सामन्ती र अर्ध औपनिवेशिक प्रकृतिको हुनाले आम जनतामा त्यसको नकारात्मक प्रभाव पुर्न स्वाभाविक थियो । वस्तुतः नेपाली जनता राणाहरुको सामन्ती उत्पीडनका साथै अङ्ग्रेजहरुको साम्राज्यवादी उत्पीडनबाट पनि थङ्थिलिएका थिए भन्ने यथार्थ बोध पहिलो विश्वयुद्धमा हरतरहले ब्रिटेनलाई सहयोग गर्ने राणाहरुको नीति अनुरुप (पुष्पलाल, २०५४  १२) दुई लाख नेपाली युवाहरु ब्रिटेनको तर्फबाट युद्ध मोचार्मा सहभागी हुनुले प्राप्त गर्न सकिन्छ । यिनै नकारात्मक आर्थिक सामाजिक गतिविधिका बिचबाट जनमानसमा राणा विरोधी चेतनाको सञ्चार हुनु भने सकारात्मक पक्ष थियो । वस्तुतः वि.सं. १९९६ मा केही सचेत लेखकहरुले पुस्तकालय खोल्ने प्रयास गर्दा राणाहरुको उत्पीडनको शिकार भएका थिए जसलाई नेपालको इतिहासमा पुस्तकालय पर्वका नामले पुकारिन्छ । अर्थात्, लामो समयको दमित मानसिकताले उन्मुक्ति खोजिरहेको अवस्थामा २००७ सालको राजनीतिक परिवर्तनसँगै आर्थिक तथा सामाजिक अवस्थामा केही सुधार हुँदै गएको यसै पृष्ठभूमिमा सामाजवादी यथार्थवादी साहित्य सिर्जनातर्फको सचेत प्रयास थालिएको पाइन्छ ।



३) साहित्यिक सांस्कृतिक पृष्ठभूमि 



नेपाल एकीकरण अभियानसँगै आरम्भ भएको लेख्य नेपाली साहित्यको यात्रा सामन्ती कुरुपता तथा बितण्डा संस्कृतिका बिचबाट अगाडि बढेको पाइन्छ । वि.सं. १८७१–७२ को सुगौली सन्धिपूर्व राष्ट्रियताको भाव सुशेल्ने नेपाली साहित्यकारहरु (विशेषतः कविहरु) लाई सन्धिले ठुलो आघात पु¥याएको पाइन्छ । त्यसैको परिणाम नेपाली साहित्य भक्तिको मार्गतर्फ र उत्तरोत्तर शृङ्गारिक लेखन तर्फ प्रवृत्त हुन थाल्छ । अर्थात्, सामन्ती उत्पीडन र विसङ्गतिका बिरुद्ध कलम चलाउने साहस यतिबेलाका साहित्यकारले गर्न नसकेकै देखिन्छ । वि.सं. १९५८ मा गोरखापत्रको प्रकाशन तथा १९५८ मै गोर्खे खबर कागत् (दार्जिलिङ), १९६३ मा सुन्दरी (वनारस), १९६५ मा माधवी (वनारस) तथा १९७२ मा गोर्खाली (वनारस) आदिको प्रकाशनले लेखनमा गतिशीलता आए पनि निरङ्कुश सत्ता र शासकका विरुद्ध तात्कालीन साहित्यकारहरुले कलम चलाउने हिम्मत गरेनन् ।



मुलुकभित्र यस्तो स्थिति रहे पनि भारतका वनारस, दार्जिलिङ, देहारादुन आदि स्थानबाट जातीय एवम् शैक्षिक जागरणका स्वर सुनिन थालेपछि त्यसलाई थुमथुम्याउन चन्द्र समशेरले वि.सं. १९७० मा गोरखा भाषा प्रकाशिनी समितिको स्थापना गरे (शर्मा, २०३९  :  ८३) पनि नेपालभित्रबाटै १९७७ मा सुब्बा कृष्णलाल अधिकारीले परोक्ष रुपमा राणाहरुको विरोध गर्दै मकैको खेती नामक पुस्तक लेखे वापत कृष्णलाल अधिकारी र शम्भुप्रसाद लगायत नौ जनालाई नौ वर्ष कैद र जागिर खोसुवा गरिएको (शर्मा, २०३९  :  ८३) यस घटनालाई मकै पर्व भन्ने गरिन्छ । यसै वर्ष प्रकाशित धरणीधर कोइरालाको नैवेद्य कविता सङ्ग्रहले पनि जागरणको स्वर सुशेल्ने काम गरेको छ । त्यसपछि मुलुक बाहिरबाट प्रकाशित भएका गोर्खा संसार (१९८३), तरुण गोर्खा (१९८५), उदय (१९९४) आदि र देशभित्रबाट शारदा  (१९९१), उद्योग (१९९२), साहित्य स्रोत (२००४), युगवाणी (२००४) आदि पत्रिकाले जागरणमुखी स्वर सुशेल्नुका साथै नेपाली साहित्यलाई आधुनिकतातर्पm डो¥याउने प्रयत्न गरेका हुन् ।



वि.सं. १९९९ तिर भारतको दार्जिलिङमा सूर्य विक्रम ज्ञवाली, धरणीधर कोइराला, सन्तवीर लामा, सरदार निमा, डिल्ली रमण रेग्मी, विश्वेश्वर प्रसाद कोइराला, शङ्कर प्रसाद शर्मा आदि सर्जक चिन्तकहरु मिलेर अखिल नेपाल वर्ग महासभाको स्थापना गरेका थिए जसको उद्देश्य क्रान्तिकारी साहित्यको रचना र प्रचार प्रसार गर्नु थियो (उप्रेती, सन् १९४८  :  १४३–१४४) । यतिबेलै प्रगतिशील अध्ययन मण्डलको स्थापना भारतको कलकत्तामा भयो जसले क्रान्तिकारी साहित्यको उत्थानमा योगदान पु¥याएको पाइन्छ । २००७ सालको सङ्घारमा आइ पुग्दा लक्ष्मी प्रसाद देवकोटा, गोपाल प्रसाद रिमाल, गुरु प्रसाद मैनाली, पुष्कर समशेर, रमेश किल, विश्वेश्वर प्रसाद कोइराला आदिले फरक फरक वैचारिक प्रवृत्ति सहित आधुनिकतातर्फ पाइला चाल्दै थिए । वस्तुतः २००७ सालपूर्वका यिनै साहित्यिक सांस्कृतिक गतिविधिले समाजवादी यथार्थवादी साहित्य लेखनको आधारशीला निर्माण गरेको पाइन्छ ।



४) समाजवादी यथार्थवादी लेखनपूर्वको कथागत पृष्ठभूमि



सङ्क्षिप्त एवम् सघन संरचनायुक्त उदात्त विचार र उच्च कलामूल्यद्वारा आवेष्टित आख्यानात्मक गद्य रचना नै कथा हो । कथा बारेको यो सूत्रात्मक पहिचान आधुनिक कालमा मात्र स्थापित भएको पाइन्छ । आधुनिक कालपूर्व कथाकारमा कथा भन्ने सिप सामान्य रुपमा देखिए पनि कथाले आफ्नो मौलिक पहिचान प्राप्त गर्न नसकेकै देखिन्छ । आधुनिक कालमा प्रवेश गर्नुसँगै नेपाली कथाले मौलिक पहिचान र विधागत स्वायत्तता समेत प्राप्त गरेको पाइन्छ । साहित्यका अन्य विधामा जस्तै नेपाली कथामा पनि मुलुकमा विद्यमान राजनीतिक, आर्थिक, सामाजिक एवम् सांस्कृतिक गतिविधि र क्रियाकलापको प्रभाव पर्न गएको छ । सामाजिक राजनीतिक जीवनले पारेको प्रभाव र सिर्जन वैशिष्ट्यका आधारमा आरम्भदेखि वर्तमानसम्मको नेपाली कथाको विकास प्रक्रियालाई दुई काल खण्डमा विभाजन गरेर अध्ययन गर्न सकिन्छ ।


१) आधुनिक कालपूर्वको नेपाली कथा (१८२७—१९९१)
२) आधुनिक नेपाली कथा (१९९२— हालसम्म) 


१) आधुनिक कालपूर्वको नेपाली कथा (१८२७—१९९१)



आधुनिक कालपूर्वको नेपाली कथाको समयावधि झण्डै १६४ वर्षको रहेको छ । यस बिचमा राजनीतिक, आर्थिक एवम् सामाजिक सांस्कृतिक जीवनमा तात्त्विक परिवर्तन नभए पनि सामान्य रुपमा केही घटना र उतार चढाव देखिएका छन् । पृथ्वी नारायण शाहद्वारा केन्द्रीकृत सामन्ती सत्ताको स्थापना, १८७१—७२ को सुगौली सन्धि, वि.सं. १९०३ मा अनुदारवादी राणाहरुको उदय, राणा अङ्ग्रेज सम्बन्ध, सत्ता स्वार्थ जस्ता राजनीतिक प्रकृतिका घटना प्रक्रियासँगै सामन्ती भू–स्वामित्व, शासकमुखी अर्थतन्त्र (उर्वर भूमि राणाहरुले आफ्नो बनाउने प्रचलनका कारण), अङ्ग्रेजसँगको राणाहरुको साँठगाँठका कारण साम्राज्यवादी उत्पीडन जस्ता घटना प्रक्रियाहरु यस समयावधिमा देखिन्छन् । त्यसैगरी वि.सं. १९५८ मा गोरखापत्रको प्रकाशनसँगै मुलुकबाहिर (भारतका विभिन्न स्थाबाट) पत्रपत्रिकाको प्रकाशन हुनुले अनुकूल पारिवेशको काम गरेको पाइन्छ ।  यस समयावधिका कथामा संस्कृत एवम् फारसी स्रोतका आख्यानको प्रभाव प्रशस्त मात्रामा देख्न सकिन्छ । नीति उपदेशप्रतिको रुचि, मनोरञ्जनात्मकता, काल्पनिक विषयवस्तु तथा पात्र, यान्त्रिक संवाद, अति मानवीकृत घटना आदिका कारण यस समयावधिका कथा प्राचीन तथा मध्य युगीन प्रवृत्तिबाट मुक्त हुन सकेका छैनन् ।



नेपाली कथाको आरम्भ बिन्दुका रुपमा वि.सं. १८२७ मा शक्ति बल्लभ अर्यालद्वारा अनुदित महाभारत विराट पर्वलाई मान्ने गरिएको छ । यति बेला यही अनुवाद रुपान्तरणको प्रक्रियाले नै प्रश्रय पाएका कारण यही परम्परामा हास्यकदम्ब (१८३३) पिनासको कथा (१८७२) दशकुमार चरित (१८७५), बृहत्कथाटीका (१९०७), सत्रसेनको कथा (१९५५) आदि नाम मात्रका कथाहरु लेखिएको पाइन्छ । वि.सं. १९५८ पूर्वका यी कथामा समाज बोधका साथै कथागत संरचना न्यून मात्रा रहनुले अलौकिक आख्यानात्मक वृतान्त मात्र देख्न सकिन्छ । अनुदित परम्परामा सीमित हुनु, रहस्यात्मक एवम् विष्मयकारी घटना वृतान्तको समावेस हुनु तथा अति मावीकृत एवम् अलौकिक आदर्शको अनुसरण गरिनुले उपर्युल्लिखित कथामा मानव जीवन र तज्जन्य क्रियाकलापले प्रवेश पाएका छैनन् । अर्थात्, वि.सं. १९५८ पूर्वको कथा लेखन भनेको ऐतिहासिक विवरण मात्र हो, कथा लेखनको आरम्भ हो र सामाजिक सम्पृक्तता विनाको इतिहासको तन्काइ मात्र हो ।



वि.सं. १९५८ देखि गोरखापत्रको प्रकाशनले नेपाली कथामा थोरै भए पनि नयाँ बान्की देखाप¥यो । यस घटनाबाट नेपाली कथामा थोरै भए पनि सैद्धान्तिक चेतनाको सङ्केत देखिनुका साथै कथाले उपन्यासबाट पृथक भएर आफ्नो कला अनुशासनलाई अनुसरण गर्न खोजेको पाइन्छ । यसै सन्दर्भमा वि.सं. १९५८ पछिको नेपाली कथा परम्परालाई साहित्ये इतिहासकारहरुले माध्यमिक कालको संज्ञा दिएका छन् तापनि वि.सं. १९५८ पूर्वको कथा लेखन र उत्तरको कथा लेखनमा तत्त्विक भिन्नता भने पाइन्न् ।



गोरखापत्रको प्रकाशन पश्चात् नेपाली कथाले पाठकसम्म पुग्ने अवसर प्राप्त ग¥यो, यो यस समयावधिको महत्त्वपूर्ण उपलब्धि हो । यस समयावधिमा गोरखापत्रमा प्रकाशित विनासकाले विपरित बुद्धि (१९५९), उट्पट्याङ (१९५९), ठट्टावाज (१९६२), भूतलीला (१९६३), सुकुलगुण्डाको कहानी        (१९६९), हीराको औंठी (१९७०), स्वर्गको साँचो (१९७१) आदि कथाका साथै अन्य पत्रिकामा प्रकाशित पातिव्रत्य प्रभाव (१९६५), सुलोचना वृतान्त (१९६५–६६), उपन्यास (१९७२), देवीको बलि (१९८३), अन्नपूर्ण (१९८३), एउटा गरिब सार्कीकी छोरी (१९८६) आदि विशेष उल्लेख्य रहेका छन् । यस समयका कथामा थोरै भए पनि विधागत सचेतता, सामाजिक विषयवस्तुको प्रयोग, मानवीय पात्रको चयनतर्फको रुचि र मौलिकता देख्न सकिन्छ जुन प्राथमिक कालबाट माध्यमिक काललाई बेग्ल्याउने सीमा रेखा पनि हो र यस कालको कथा लेखनको प्राप्ति पनि हो । यसो भए तापनि यस काल खण्डका कथामा पनि विष्मयकारी घटनाको संयोजन, कृत्रिम परिवेशको निर्माण, उडन्ते पात्र, अयथार्थिक विषयवस्तु, हावादारी कथोपकथन, आध्यात्मिक चिन्तन आदिको चापले गर्दा मानवीय जीवन मूल्य समेटिएको छैन तथापि आधुनिक नेपाली कथा लेखनका लागि यसलाई पृष्ठभूमि र आधार शीला मान्न सकिन्छ ।



२) आधुनिक काल (१९९२— हालसम्म) 



नेपाली कथामा आधुनिक कालको प्रचेष्टा आधुनिकता र यथार्थवादसँग गाँसिएको छ । नेपाली कथामा आधुनिक कालको आरम्भ यथार्थवादको समानान्तरमा भएको उल्लेखका साथ त्यसको श्रेय वि.सं. १९९१ देखि प्रकाशित हुन लागेको शारदा पत्रिकामा रहेको धारणा नेपाली साहित्यका इतिहास लेखक दयाराम श्रेष्ठको देखिन्छ (श्रेष्ठ, २०३९  ५) । तर, शारदाको प्रकाशन मात्र नेपाली कथालाई आधुनिक कालमा अवतरण गराउने मूल कारक तत्त्व नभएर राजनीतिक, आर्थिक तथा सामाजिक, सांस्कृतिक कारण बढी प्रभावी रहेका छन् । राणाहरुको उत्पीडन र उनीहरुका विरुद्ध उठेका विद्रोही स्वर, अङ्ग्रेज विरुद्धको भारतीय जनताको आन्दोलन, भारतीय भूमिबाट नेपालमा भित्रिंदै गरेको आधुनिक पाश्चात्य  चिन्तन र सिर्जन विधि अनि नेपाली स्रष्टामा १९९० को दशकपछि जागृत हुन थालेको साम्राज्यवाद तथा सामन्तवाद विरोधी चेतना जस्ता प्रसङ्ग नै नेपाली कथालाई आधुनिकतातर्फ डो¥याउन बढी जिम्मेवार देखिन्छन् । यसको तात्पर्य शारदाको भूमिकालाई न्यूनीकरण गर्नु पर्छ भन्ने चाहिँ होइन ।



वि.सं. १९९२ देखि नेपाली कथाले समाजबोध, यथार्थपरक पात्र, विषयवस्तु र घटनाको संयोजन, आधुनिक सिर्जन प्रवृत्ति र शिल्प प्रविधि जस्ता आधुनिक गुणलाई वरण गरेकै कारण वि.सं. १९९२ को शारदामा प्रकाशित गुरु प्रसाद मैनालीको ‘नासो’ कथाबाट नेपाली कथाले आधुनिक कालको सङ्घारमा टेकेको हो । नेपाली कथाले वरण गरेको यही आधुनिक प्रवृत्ति नै समाजवादी यथार्थवादी कथा लेखनको पृष्ठभूमि पनि हो ।



आरम्भिक अवस्थामा मैनाली र पुष्कर समशेरका कथामा सामाजिक विषयवस्तु, निम्न र निम्न मध्यम वर्गीय पात्रको प्रयोग तथा संरचनागत सुगठन भए पनि आदर्शवादप्रतिको आग्रहले गर्दा २००७ सालपूर्वको नेपाली कथाले आदर्शवाद र स्वच्छन्दतावादबाट मुक्ति पाउन नसकेकै देखिन्छ (चापागाईं र अन्य, २०४७  ५२) । यसो भए तापनि वि.सं. २००४ देखि युगवाणीको प्रकाशन हुन थालेपछि भने नेपाली कथामा आलोचनात्मक स्वर मुखरित हुन थालेको र यही क्रममा हृदय चन्द्रसिंह प्रधान, लक्ष्मी प्रसाद देवकोटा, शङ्कर कोइराला, गोविन्द बहादुर मल्ल गोठाले, दौलत विक्रम विष्ट आदिले यस प्रवृत्तिको पक्षपोषण गर्दै कथा लेखनमा क्रियाशील भएको पाइन्छ । उत्तरोत्तर नेपाली कथामा आलोचनात्मक यथार्थवादी स्वर मुखरित हुँदै जाँदा सामाजिक विषयवस्तुको चयन, निम्न मध्यम वर्गीय जीवनका पात्रको प्रस्तुति, समाजमा विद्यमान विषमता र शोषण वृत्तिको आलोचना तथा शिल्पगत परिष्कार हुँदै आएको पाइन्छ ।  २००७ सालपूर्व समाजवादी यथार्थवादी कथा लेखनका चेष्टा नभए पनि समाजवादी यथार्थवादी कथा लेखनका लागि पृष्ठभूमि भने निर्माण भएको पाइन्छ ।



२००७ सालपछि नेपाली राजनीतिक र सामाजिक जीवनमा देखिएको खुकुलोपन, आधुनिक मूल्य मान्यता सहितको सिर्जन विधि, प्रत्यक्ष वा परोक्ष रुपमा पश्चिमी जगत्सितको सम्बन्ध, साहित्य सिर्जनाका निम्ति दार्शनिक, राजनीतिक एवम् सैद्धान्तिक मूल्यको अनुसरण, साहित्य सिर्जनाका क्रममा सौन्दर्यात्मक, संज्ञानात्मक एवम् विचारधारात्मक मूल्यको खोजी तथा नेपाली समाजको वर्गीय चरित्र एवम् वैशिष्ट्य अनुरुप नेपाली कथामा आधुनिकताका लक्षणहरु स्पष्ट हुन थाले । परिणामतः नेपाली कथामा यथार्थवादी लेखन, आलोचनात्मक यथार्थवादी लेखन, समाजवादी यथार्थवादी वा प्रगतिवादी लेखनका साथै मनोविश्लेषणात्मक, विसङ्गतिवादी, अस्तित्ववादी तथा रुपवादी लेखनले पनि मौलाउने अवसर पायो । २००७ साल पश्चात् सशक्त रुपमा क्रियाशील रहेको समाजवादी यथार्थवादी वा प्रगतिवादी कथा लेखन विशिष्ट पहिचान र स्पष्ट घोषणा सहित उत्तरोत्तर उर्वर बन्दै समानान्तर कथा धाराको प्रतिधु्रवमा स्थापित हुन पुगेको छ । वि.सं. २००७ पछिको यही सेरोफेरोबाट समाजवादी यथार्थवादी कथा लेखन गतिशील रहेकाले आधुनिक कालको कथा लेखनबारेमा थप चर्चा गरि रहनु आवश्यक देखिन्न ।



२.३ नेपाली कथामा समाजवादी यथार्थवादको प्रभावका कारणहरु 



नेपाली कथामा समाजवादी यथार्थवादको प्रभावका सन्दर्भमा आवश्यक पृष्ठभूमिको चर्चा गरि सकेपछि अन्य घटना प्रसङ्गको पनि चर्चा गर्नु आवश्यक ठानिएको छ । माथि उल्लेख गरिएको पृष्ठभूमिका अतिरिक्त अन्य केही वस्तुगत कारणहरु २००७ सालको आसपासमा विद्यमान देखिन्छन् जसले समाजवादी यथार्थवादी कथा सिर्जना (समग्र साहित्य समेत) लाई उत्प्रेरित गरेका छन् । यस सन्दर्भमा २००७ सालको आन्दोलन र दिल्ली संझौता, नेपाल कम्युनिष्ट पार्टीको स्थापना, सामूहिक एवम् संस्थागत प्रयास, बाह्य मुलुकको प्रभाव, उच्च वैचारिक एवम् उन्नत सौन्दर्य मूल्यको खोजी आदि नै समाजवादी यथार्थवादी साहित्य लेखनका उत्प्रेरक प्रसङ्ग हुनाले प्रभावस्वरुप तिनको सङ्क्षिप्त चर्चा आवश्यक देखिन्छ ।



१) राणा विरोधी आन्दोलन र २००७ सालको दिल्ली संझौता 



विश्वका उत्पीडित राष्ट्रहरु समाजवादतिर फड्को मारि रहेका बेला नेपालमा राणा शासनको अन्त्य अनिवार्य नै थियो । एकातिर बाह्य जगत्सित नेपालको खुला सम्बन्ध स्थापित हुँदै थियो भने अर्कोतिर विभिन्न कारणले निर्वासित रहेका युवाहरु पनि राजनीतिक रुपमा सङ्गठित हुँदै थिए । गोर्खाली फौजको छाउनी भएको देहरादूनमा ठाकुर चन्दन सिंहले सन् १९२१ मा गोर्खा लीगको गठन गरी गोरखा संसार र तरुण गोरखाको प्रकाशन आरम्भ गरेको र कलकत्तामा हिमाञ्चल विद्यार्थी सङ्घ गठन गरी    (ढुङ्गेल, २०४२  :  ३७–४८) राणा विरोधी आन्दोलनमा महत्त्वपूर्ण योगदान पु¥याएका हुन् । त्यसपछि प्रचण्ड गोर्खा, प्रजापरिषद् तथा महावीर स्कूलको स्थापनाले राणा विरोधी चेतना र आन्दोलनमा नयाँ आयाम थपेको पाइन्छ । १९९७ सालको सहिद पर्व हुँदै सन् १९४१ मा गठन भएको अखिल नेपाल वर्ग महासभाले रक्तपात कमिटीको गठन गरेको र त्यसको सम्पर्क रुसी बोल्सेविकहरुसँग थियो भन्ने पनि बुझिन्छ (उप्रेती, सन् १९८४  :  २४३–२४४) । खास गरी नेपाली काङ्ग्रेसको नेतृत्वमा राणा विरोधी आन्दोलन भए पनि त्यो संझौतामा टुङ्गिएपछि राणाहरुको एकलौटी शासनको अन्त्य त भयो तर उनीहरु पनि शासन सत्ताका हिस्सेदार बन्न पुगे ।



राणा, काङ्ग्रेस र भारतीय विस्तारवादका बिचमा संझौता भए पश्चात् एकथरि सामन्त वर्गबाट अर्कोथरि सामन्त वर्गमा सत्ता हस्तान्तरण भएको त्यस घटनाले जन अपेक्षाको कुठराघात भएको पाइन्छ । उक्त त्रिपक्षीय संझौताबाट स्वयम् नेपाली काङ्ग्रेसभित्रै पनि तीव्र असन्तुष्टि थियो भन्ने कुरा डिल्लीरमण रेग्मीको अभिव्यक्तिबाट थाहा पाइन्छ । रेग्मी भन्छन्  “हालै भएको संझौता जनताका वास्तविक प्रतिनिधिसँग सल्लाह नगरी भएकाले जनइच्छाको बिल्कुलै विरुद्धमा छ” (देवकोटा, २०३६  :  ५२) । नेपाल कम्युनिष्ट पार्टीले स्थापना कालमै जनपक्षीय भाग राखी आन्दोलनलाई अगाडि बढाउने लक्ष्य राखेको भए पनि नेपाली काङ्ग्रेसले सड्यन्त्रमूलक ढङ्गले संझौता परस्त नीति लिएपछि (दीर्घ बहादुर, २०३४  :  ८) सन् १९५० मा असमान सन्धिको सर्वत्र विरोध हुन थाल्यो । यसो भए तापनि २००७ सालको परिवर्तन पश्चात् नयाँ सोच र चिन्तनको लहर देखिनु यसको धनात्मक पक्ष हो भने संझौताका कारण जनअपेक्षा फलीभूत हुन नसक्नु ऋणात्मक पक्ष हो । राणा विरोधी आन्दोलन र संझौताले मूलतः दुई पक्ष उजागर हुन पुगे । पहिलो, साहित्यकारहरुका लागि खुकुलो एवम् अनुकूल परिवेश निर्माण भयो र दोस्रो, साहित्यकारहरुमा सामन्तवाद तथा साम्राज्यवाद विरोधी चेतना जागृत भयो । वस्तुतः तात्कालीन अवस्थामा साहित्यकारहरुले लामो समयदेखि गुम्सिएको मानसिकताबाट अग्रगामी दिशा पकड्दै समयानुकूल परिवपर्तनधर्मी चेतनाको सम्प्रेषण गर्न थाले । अर्थात्, समाजवादी यथार्थवादी कथा लेखनका लागि राणा विरोधी आन्दोलन र २००७ सालको संझौताले महत्त्वपूर्ण आधारशीला निर्माण गरेको हो । अझ स्पष्ट रुपमा भन्दा नेपाली कथामा समाजवादी यथार्थवादको प्रभाव र उत्तरोत्तर विकासका सन्दर्भमा राणा विरोधी आन्दोलन र २००७ सालको दिल्ली संझौता महत्त्वपूर्ण प्रेरक घटना हो भन्न सकिन्छ ।



२) नेपाल कम्युनिष्ट पार्टीको स्थापना 



नेपालको राजनीतिक इतिहासमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना एक युगान्तकारी घटना थियो । नेपाल कम्युष्टि पार्टीको स्नापना राष्ट्रिय तथा अन्तर्राष्टिय घटना प्रक्रियाका सपेक्षतामा नेपाली समाजको माग थियो र अनिवार्य आवश्यकता थियो । कम्युनिष्ट पार्टीको स्थापनाका सन्दर्भमा आन्तरिक र बाह्य दुई कारण औंल्याइएको पाइन्छ । पहिलो, नेपाल कम्युनिष्ट पार्टीको घोषणा पत्रमा देशीय सामन्तवाद र विदेशी साम्राज्यवादको साठँगाठँले जन आन्दोलनलाई आफ्नो स्वार्थको निम्ति प्रयोग गर्न लागेकाले त्यसको विरोध स्वरुप नेपाल कम्युपिष्ट पार्टीको स्थापना भएको उल्लेख गरिएको छ (नेपाल कम्युनिष्ट पार्टीको घोषणापत्र, सन् १९४९) । दोस्रो, बाह्य कारणको रुपमा डि.पी. अधिकारी र हिरण्यलाल श्रेष्ठले चिनियाँ क्रान्तिको सफलता पश्चात् नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको उल्लेख गरेका छन् भने श्रीभद्र शर्माले पनि नेपाल कम्युनिष्ट पार्टीको स्थापनामा बाह्य कारणतर्फ सङ्केत गरेका छन् । जेहोस्, आन्तरिक वा बाह्य जुनसुकै कारण बलशाली भए पनि खासमा दोस्रो विश्वयुद्धपछि विश्वव्यापी रुपमा देखा परेको समाजवादी क्रान्तिको लहर, भारतीय स्वतन्त्रता आन्दोलन तथा देशमा निरङ्कुश राणा शासनको बिरोधमा उठेको जन लहरले गर्दा नेपाल कम्युनिष्ट पार्टीको स्थापनाको लागि अनुकूल वातावरण सिर्जना भएको वास्तविकतालाई अस्वीकार गर्न सकिन्न ।



सन् १९४१ मा गठित अखिल नेपाल वर्ग महासभा र त्यसैको मातहतमा गठित रक्त पात कमिटीले क्रान्तिकारी विचारको सम्प्रेषण गर्ने उद्देश्य अनुरुप गणतन्त्र नेपाल जिन्दावादको नारा अगाडि सार्नुले (रावल, २०४७ : १७) नेपालमा साम्यवादी विचारको उद्बोधन हुन थालेको पाइन्छ । जेहोस्, यी यस्तै कारण र पृष्ठभूमि अनि मुलुकको ऐतिहासिक आवश्यकता अनुरुप वि.सं. २००६ भदौ ३०   (सेप्टेम्बर १५, १९४९) मा भारतको औद्योगिक सहर कलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापनाको घोषणा पत्र जारी गरियो । यसका संस्थापक सदस्यहरुमा पुष्पलाल श्रेष्ठ, नर बहादुर क्रमाचार्य, निरञ्जन गोविन्द बैद्य, नारायण विलास र मोतीदेवी (विवादित) आदि रहेको बुझिन्छ । यो घटना नेपालको राजनीतिक इतिहासमा सर्वाधिक महत्त्वको त हुँदै हो थप नेपालमा समाजवादी यथार्थवादी साहित्य सिर्जनाका लागि पनि महत्त्वपूर्ण दार्शनिक, राजनीतिक एवम् वैचारिक आधार र ऊर्जा समेत हो । यही राजनीतिक सङ्गठन, शक्ति र आन्दोलनको जगमा नेपालमा समाजवादी आन्दोलनका उत्कर्ष रुपहरु देखापर्नुका साथै समाजवादी यथार्थवादी साहित्य लेखन पनि उत्तरोत्तर समृद्धिको दिशातिर अगाडि बढि रहेको कुरा हाम्रा सामु छर्लङ्गै छ ।



३) सामूहिक एवम् सङ्गठित प्रयासको भूमिका 



समाजवादी यथार्थवादी वा प्रगतिवादी आन्दोलनलाई उत्प्रेरित गर्ने उद्देश्य अनुरुप २००७ सालपूर्व र पछि सामूहिक प्रयत्नमा स्थापित विभिन्न सङ्घ संस्था तथा प्रकाशन संस्थाको पनि महत्त्वपूण भूमिका रहेको छ । २००७ सालपूर्व नै विहारीलाल नाम गरेका एक जना व्यक्तिले गोर्कीको आमा उपन्यास लगायतका माक्र्सवादी पुस्तकहरु क्रान्तिकारीहरुका बिचमा वितरण गरी (रावल, २०४७ ः ३०) माक्र्सवादी साहित्यको प्रचार गरेको बुझिन्छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापनापूर्व नै प्रगतिशील अध्ययन मण्डलको स्थापना, २००४ मा साहित्य स्रोत पत्रिकाको प्रकाशन, २००५ सालमा सक्सौलमा जनप्रकाशनालयको स्थापना हुनु तथा २००७ भदौ ९ गते श्याम प्रसाद शर्मा नख्खु जेलमा रहँदा उनकै अगुवाइमा जन साहित्य मण्डल को स्थापना हुनु ( शर्मा, २०३८ ः ४१–४४) जस्ता प्रक्रियाले समाजवादी यथार्थवादी लेखनमा रुचि राख्ने स्रष्टालाई उत्साहित बनाएको पाइन्छ । २००८ सालमा वीरगञ्जमा सेवा सदन नामक संस्था खोलियो र त्यसकै नामबाट सेवा पत्रिकाको प्रकाशन गरियो जसलाई प्रगतिशील फाँटको प्रथम तथा ऐतिहासिक पाइला मानिन्छ  (प्रभात, २०६३ ः २८) । २००६ सालमा राजनीतिक सङ्गठनका रुपमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भइ सकेको र २००७ सालमा निरङ्कुश राणाहरुको पनि अन्त्य भइ सकेको अवस्थामा कला साहित्यका क्षेत्रमा पनि एउटा राष्ट्रिय स्तरको नेतृत्वदायी सङ्गठनको आवश्यकता बोध हुनु स्वभाविक थियो ।



सिङ्गो प्रगतिशील आन्दोलनका साथै प्रगतिवादी आन्दोलनलाई नेतृत्व गर्न एउटा राष्ट्रिय स्तरको सङ्गठनको आवश्यकता बोध भए अनुरुप श्याम प्रसाद शर्माको अग्रसरतामा वि.सं. २००९ असोज (२०५२ सेप्टेम्बर) मा प्रगतिशील लेखक सङ्घको स्थापना भएको र लगत्तै यस संस्थाले ‘निवेदन’ शीर्षकको पर्चा प्रकाशित गरी जनवादी साहित्यको प्रचार प्रसार गर्नु तथा तरुण लेखहरुलाई सङ्गठित गरी देशको उन्नतितर्फ लाग्नुलाई संस्थाको उद्देश्य रहेको (प्रभात, २०६३ ः ३१) प्रष्ट पारिएको छ । प्रगतिशील लखेक सङ्घको स्थापनाको आसपासमा स्थापित प्रगतिशील प्रकाशन मण्डल, जन सांस्कृतिक सभा चैनपुरका साथै जनयुग (२००९), जनविकास (२०१०), जन साहित्य (२०११) आदि संस्था र पत्रिका पनि सामूहिक एवम् सङ्गठित प्रयासका दृष्टान्त हुन् । वस्तुतः समाजवादी यथार्थवादी साहित्यिक आन्दोलनलाई उत्प्रेरित गर्ने तथा ठोस दिशा निर्देश गर्ने सन्दर्भमा प्रगतिशील लेखक सङ्घको केन्द्रीय भूमिका रहेको छ भने त्यसपूर्व स्थापित विभिन्न सङ्घ संस्था तथा पत्रपत्रिकाको योगदानलाई पनि अवमूल्यन गर्न सकिन्न । त्यसैगरी श्याम प्रसाद शर्माद्वारा लिखित पहिलो सौन्दर्यशास्त्रीय पुस्तक लेखक कसरी बन्ने?को युद्ध प्रसाद मिश्रद्वारा विमोचन गराई सार्वजनिक गरिनु (प्रभात, २०६३ ः ३४) ले पनि समाजवादी यथार्थवादी आन्दोलनलाई थप ऊर्जा प्रदान गरेको पाइन्छ ।




४) उच्च वैचारिक एवम् उन्नत सौन्दर्य मूल्यको खोजी 


१०४ वर्षसम्मको अनुदार प्रकृतिको राणा शासनको अन्त्य भएपछि नेपाली राजनीतिक आर्थिक, सामाजिक तथा साहित्यिक सांस्कृतिक चिन्तन र मूल्यमा पनि परिवर्तन आउनु र साहित्य सिर्जनामा पाश्चात्य चिन्तन र सौन्दर्य मूल्यको प्रभाव पर्नु स्वाभाविक थियो । २००६ सालमा सामाजवादी यथार्थवादी चेतनाको बाहक नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएपछि सिर्जनामा उच्च उदात्त वैचारिक मूल्यको खोजी हुनुसँगै पुरातन मूल्य र विचारको विस्थापन हुनु अनिवार्य जस्तै थियो । नवीन वैचारिक मूल्यको स्थापनाका खातिर कम्युनिष्ट पार्टीको परेड गीत समेत प्रकाशमा आएको पाइन्छ । जस्तै  : 


पहाड–पर्वत, खोलानाला, जग्गा–जमिन सबको 
मालिक हामी, दास बनौं किन, हिस्स्सा सबमा सबको 
नास गरौं यो राणाशाही, ध्वस्त गरौं यो तानाशाही 
जाऔं क्रान्ति गरौं, अब क्रान्ति गरौं (पुष्पलाल, २०५४  :  १२५)


२००७ सालको परिवर्तनसँगै साहित्य ‘कसका लागि’ र ‘किन’ भन्ने बहसले कला साहित्यको प्रयोजनको खोजी हुनुसँगै साहित्यमा वर्गीय चिन्तन र वर्गीय पक्षधरताको प्रतिबिम्बन हुन थाल्यो । त्यसैको परिणाम कला सिर्जनाका क्षेत्रमा समाजवादी यथार्थवादी  आदर्शलाई स्वीकार गर्ने प्रयत्न पनि हुन थाल्यो       (चापागाई, २०५१ ः : २६) । २००८ सालमा कृष्णचन्द्र सिंह प्रधानले आप्mनै कविता कृति भञ्ज्याङ निरैको भूमिकामा प्रगतिवादका बारेमा गरेको व्याख्या नेपाली साहित्यका परिप्रेक्ष्यमा प्रगतिवादको घोषणा पत्र मानिनु (अधिकारी, २०५६  :  ९१) तथा २००९ सालमा श्याम प्रसाद शर्माले लेखक कसरी बल्ने? नामक पुस्तक लेखेर सिर्जनात्मक सिप र सौन्दर्य मूल्यको महत्त्वमाथि प्रकाश पार्नुले पनि समाजवादी यथार्थवादी कथा लेखनलाई ऊर्जा प्रदान गरेको पाइन्छ । वस्तुतः नेपाली साहित्यकारहरु २००७ सालपूर्वको सङ्कीर्ण मानसिकताबाट माथि उठेर सामन्तवाद तथा सम्राज्यवाद विरोधी आन्दोलनमा सक्रिय हुनुका साथै सिर्जनमा पनि सामन्तवाद तथा साम्राज्यवाद विरोधी चेतना सम्प्रेषित हुन थालेको र समय सापेक्ष रुपमा मौलाउँदै गरेको उदात्त विचार तथा उन्नत सौन्दर्यचेतबाट सम्बल प्राप्त गर्दै नेपाली कथामा समाजवादी यथार्थवादको प्रभाव, प्रयोग र विकास सबल रुपमा भएको पाइन्छ ।



५) बाह्य मुलुकको प्रभाव 



नेपालको समाजवादी यथार्थवादी कथा लेखन (समग्र साहित्य लेखन समेत)ले बाह्य मुलुकबाट पनि प्रभाव र प्रेरणा प्राप्त गरेको बुझिन्छ । खास गरी रुसी समाजवादी क्रान्ति, चिनियाँ जनवादी क्रान्तिका साथै भारतीय प्रगतिवादी आन्दोलन र तत्सम्बन्धी गतिविधिबाट नेपाली समाजवादी यथार्थवादी साहित्यिक आन्दोलनले प्रभाव र प्रेरणा ग्रहण गरेको पाइन्छ । २००७ सालपूर्व राणाहरुको दमनका कारण भारतमा निर्वासित भएका युवाहरु तथा भारतमा बसेर अध्ययन गर्ने विद्यार्थीहरुले त्यहीँबाट नेपालमा राजनीतिक एवम् साहित्यिक गतिविधि सञ्चालन गरेको परिप्रेक्ष्यमा पनि नेपाली समाजवादी यथार्थवादी साहित्यिक आन्दोलन प्रभावित भएको बुझिन्छ । भारतमा सन् १९३५ मा स्थापित प्रगतिशील लेखक सङ्घ र प्रेमचन्दका कथा, उपन्यासको प्रभाव पनि नेपाली बौद्धिक पाठकमा परेको (बराल, २०४८  :  १२६) तथा २००७ सालपूर्व नै विहारीलाल नाम गरेका व्यक्तिले गोर्कीको आमा, राल्फ पक्सको कम्युनिज्म, थोमस पेनको राइट्स अफ मेन लगायतका क्रान्तिकारी पुस्तक ल्याएर बौद्धिक समुदाय माझ सामूहिक छलफल गराउने गरेको उल्लेख पाइनु (के.सी., २९५६  :  ३८) जस्ता गतिविधिले समाजवादी यथार्थवादी लेखनलाई उत्प्रेरित गरेको पाइनछ । गोर्कीको विश्व प्रसिद्ध उपन्यास आमा त्यति बेला पनि नेपालका गाउँ गाउँमा पुगि सकेको थियो भन्ने उल्लेख गोविन्द भट्टले गर्नुले (भट्ट, २०४०  :  १२–१३) पनि बाह्य मुलुकको प्रभावलाई पुष्टि गर्छ ।



रुस, चिन लगायतका मुलुकमा विद्यमान राजनीतिक आन्दोलन र गतिविधिको प्रभाव नेपाली जन मानसमा पर्न नदिने राणाहरुको प्रयास पनि तात्कालीन भौतिक परिस्थितिका कारण निरर्थक साबित भयो । खास गरी दोस्रो विश्वयुद्धमा अङ्ग्रेजको पक्षमा लड्न गएका नेपाली सैनिकले नै स्वदेश फर्केर  आउँदा रुसी समाजवादी क्रान्तिको प्रचार प्रसार गरेको (पुष्पलाल, २०५४  :  १७५) परिप्रेक्ष्यमा पनि त्यसले नेपाली समाजवादी यथार्थवादी आन्दोलनलाई सहयोग पु¥याएको पाइन्छ । रुसी र चिनीयाँ क्रान्तिपछिको विश्व समाजवादी र साम्राज्यवादी गरी दुई खेमामा विभक्त भएको परिप्रेक्ष्यमा नेपाली जनताको सम्बन्धचाहिँ समाजवादी खेमासँग हुनुले (पुष्पलालः २०५४  :  १९२) पनि समाजवादी यथार्थवादी लेखन सिर्जनलाई थप सहयोग पुगेको पाइन्छ । नेपाली जनमानसमा जागरणको लहर सिर्जना गर्ने स्रोतका रुपमा एकातिर भारतको वनारस थियो भने अर्कोतिर भारतीय स्वतन्त्रता आन्दोलनको पनि उल्लेख्य भूमिका रहेकै थियो । यस परिप्रेक्ष्यमा बाह्य मुलुकको प्रभाव र प्रेरणाबाट आवश्यक सिर्जन आधार प्राप्त गर्दै नेपाली कथा समाजवादी यथार्थवादी सिर्जन विधि अनुरुप उत्तरोत्तर समृद्ध बन्दै गएको पाइन्छ ।



३. समाजवादी यथार्थवादी नेपाली कथाको आरम्भ बिन्दु 



वि.सं. २००६ मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना तथा २००७ सालपछि संसदीय व्यवस्थाको प्रादुर्भाव हुनुले राजनीतिक, सामाजिक जीवनका साथै साहित्य सिर्जनामा पनि त्यसको सकारात्मक प्रभाव पर्न गई नयाँ संभावनाको खोजी हुन थाल्यो । २००७ सालपूर्व पुष्कर समशेर, गोविन्द बहादुर मल्ल गोठाले, लक्ष्मी प्रसाद देवकोटा, हृदय चन्द्रसिंह प्रधान, शङ्कर कोइराला आदिका कथामा समाज चेत प्रवल रुपमा देखिए पनि समाजवादी यथार्थवादी चिन्तनले प्रवेश पाउन सकेन । यद्यपि २००७ सालपूर्वको कथाले समाजवादी यथार्थवादी कथा लेखनका लागि पृष्ठभूमिको काम भने गरेकै हो । २००६ सालको शारदामा प्रकाशित रमेश विकलको ‘गरिब’ शीर्षकको कथाबाट प्रगतिवादी नेपाली कथा लेखनको आरम्भ भएको हो भन्ने धारणा देवी प्रसाद गौतमको देखिन्छ (गौतम, २०५४  :  २४)। तर, २००७ सालको राजनीतिक परिवर्तन तथा २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएपछि मात्र समाजवादी यथार्थवादी कथा लेखनका लागि अनुकूल परिवेशको निर्माण भएको सन्दर्भमा आलोचनात्मक यथार्थवादी स्तरसम्म सीमित भएको विकलको उक्त कथालाई समाजवादी यथार्थवादी भन्न मिल्दैन । लामो समयको कथा सिर्जनाका क्रममा पनि आर्थिक विषमतालाई कारण सहित विश्लेषण गर्ने सैद्धान्तिक दृष्टिकोण नभएका (अर्याल, २०४९  :  ५१) तथा जीवन जगत्प्रति कुनै विशिष्ट र सुसङ्गत दृष्टिकोण नभएका     (सङग्रौला, २०५०  :  ८९) विकलको पहिलो कथामै (त्यो पनि २००७ सालपूर्व) समाजवादी यथार्थवादी चेत मुखरित हुनु संभव देखिन्न । आलोचनात्मक यथार्थवादको आयामसम्म विस्तार भएको उनको ‘गरिब’ कथाले शोषणको भारमा पिल्सिएका मान बहादुर जस्ता पीडित पात्रलाई मुखियाहरुका बिरुद्ध सङ्घर्ष गर्ने होइन पलायन हुने स्वीकृति दिएको छ । वस्तुतः नेपाली कथामा समाजवादी यथार्थवादको बीजाधान २००७ सालपछि मात्र भएको (चापागाई निनु, २०४७  :  ५४) र त्यस निम्ति हृदयचन्द्र सिंह प्रधान र विकलका कथाले पृष्ठभूमिको काम गरेका (श्रेष्ठ, २०३९  :  १२) भन्ने मतका आधारमा पनि विकलको उक्त कथालाई समाजवादी यथार्थवादी कथा लेखनको आरम्भ बिन्दु मान्न सकिन्न ।



प्रगतिवादी वा समाजवादी यथार्थवादी साहित्यिक आन्दोलनलाई टेवा पु¥याउने उद्देश्य अनुरुप २००८ सालमा सेवा पत्रिकाको प्रकाशन आरम्भ भई यसको दोस्रो अङ्कमा सेवाको घोषणा शीर्षकको सम्पादकीयमा भोका नाङ्गा जनताको सेवामा समर्पित हुने वचन बद्धता व्यक्त हुनु सकारात्मक पक्ष भए पनि सेवाको पहिलो र दोस्रो अङ्कका कथामा भने समाजवादी यथार्थवादी चेत मुखरित भएको छैन । यसको तात्पर्य समाजवादी यथार्थवादी नेपाली कथाको आरम्भ बिन्दु ठम्याउने सन्दर्भमा २००९ साललाई नै पर्खनु पर्ने स्थिति विद्यमान देखिन्छ । २००९ साल जेठमा सेवाको तेस्रो अङ्कमा प्रकाशित भवानी प्रसाद शर्माको ‘यो अत्याचार हो’ रमेश विकलको ‘आँसुले भिजेको हाँसो’ र जनक बहादुर क्रमाचार्यको ‘नारीत्वको क्रय’ शीर्षकका कथाबाट समाजवादी यथार्थवादी कथा लेखनको पहिलो आरम्भ भएको हो भन्न सकिन्छ । त्यसैगरी २००९ सालमा नै प्रगतिशील प्रकाशन मण्डल काशीबाट कामरेड जाने होइन? नामक कथा सङ्गालो प्रकाशित भयो जसमा गोविन्द प्रसाद लोहनी, भवानी प्रसाद शर्मा, जगत् मोहन अधिकारी, नारायण चन्द्र गौतम र कुमारी कान्ति देवीका कथा सङ्कलित छन् । “आज हाम्लाई देशमा नयाँ विचारधारा फैलाउनु छ, नयाँ दुष्टिकोण ल्याउनु छ त्यसैले हाम्रो साहित्यमा जनवादी प्रगतिशील दृष्टिकोण हुनु आवश्यक छ (लोहनी र अन्य, सन् १९५२ ः ३) भन्ने उद्घोषका साथ प्रकाशित यस सङ्कलनभित्रका कथामा विचार पक्ष सबल नै भए पनि कथा कलाका दृष्टिले यी अत्यन्त कमजोर छन् । त्यसपछि २००९ सालमै श्री शर्मा (भवानी प्रसाद शर्मा) को आत्मज्वाला कथा सङ्ग्रह पनि प्रकाशमा आएको देखिन्छ ।



यसरी २००९ सालमा नै समाजवादी यथार्थवादी कथा प्रकाशन स्रोतका दृष्टिले सेवामा प्रकाशित तिन कथा, कामरेड जाने होइनमा सङ्कलित आठ कथा र श्री शर्माको आत्मज्वाला मा सङ्गृहीत आठटा कथा देखिए पनि २००९ सालको जेठमा सेवा (१ ः ३) मा प्रकाशित भवानी प्रसाद शर्माको ‘यो अत्याचार हो’ रमेश विकलको ‘आसुले भिजेको हासो’ र जनक बहादुर क्रमाचार्यको ‘नारीत्वको क्रय’लाई नै समाजवादी यथार्थवादी नेपाली कथाको आरम्भ बिन्दु मान्नु पर्ने हुन्छ । जहाँसम्म कथा कलाको सबाल छ यी तिनै स्रोतका कथा अत्यन्त कमजोर छन् । अझ भवानी प्रसाद शर्माका कथा भन्नु नाम मात्रका कथा हुन् जसमा आख्यान तत्त्वको समेत अभाव रहेको छ । यसो भए तापनि कामरेड जाने होइनमा प्रकाशित गोविन्द प्रसाद लोहनीको चलि आएको चलन र नारायण चन्द्र गौतमको ‘स्वर्गको प्रतिक्षा’ शीर्षकका कथा भने स्तरीय नै रहेका छन् । जेहोस्, समाजवादी यथार्थवादी कथाको आरम्भ कुनै्र एक स्रष्टा विशेषबाट नभई विभिन्न स्रष्टाको सामूहिक प्रयासबाट भएको देखिन्छ । त्यसपछि समाजवादी यथार्थवादी कथा एउटा पृथक तर समृद्ध धाराका रुपमा उत्तरोत्तर गतिशील बन्दै आएको छ ।



४. समाजवादी यथार्थवादी कथा परम्परा  :  प्रमुख चरणको निरुपण 



४.१ चरण विभाजनका आधार र औचित्य 



२००९ सालदेखि आरम्भ भएको समाजवादी यथार्थवादी कथाका विभिन्न आरोह अवरोह देखिएका छन् । अध्ययन र मूल्याङ्कनलाई सरल, सुलभ र वस्तुनिष्ठ बनाउनका लागि सिङ्गो साहित्य वा कुनै विधा विशेषको चरण विभाजन अपरिहार्य भए पनि त्यो कार्य त्यति सहज भने छैन ।



समाजवादी यथार्थवादले समग्र साहित्य वा विधा विशेषको काल वा चरण विभाजन गर्दा समाज विकासका विभिन्न चरणमा विद्यमान आर्थिक, राजनीतिक तथा सामाजिक सांस्कृतिक सम्बन्धलाई महत्त्व दिने गर्छ । कुनै स्रष्टा विशेष वा ऐतिहासिक पात्र विशेषलाई चरण विभाजनको आधार बनाउनु भन्दा पनि समाज विकासको वस्तुगत स्थितिलाई आधार बनाएर चरण विभाजन गर्नु बढी उपयुक्त देखिन्छ । जहाँसम्म समाजवादी यथार्थवादी कथा परम्पराको चरण विभाजनको सबाल छ त्यसमा पनि समाज र जीवनका हरेक पक्षलाई प्रभावित गर्ने ऐतिहासिक घटना सन्दर्भलाई आधार बनाउँदा नै सरल, वस्तुगत र प्रामाणिक हुने गर्दछ ।



२००७ सालमा राणा शासनको अन्त्य र संसदीय व्यवस्थाको स्थापना भएपछि समाजवादी यथार्थवादी कथा लेखनका लागि केही खुकुलो परिवेश निर्माण भए पनि एकातिर दिल्ली संझौताका कारण त्यसका उपलब्धिहरुको विश्वसनीयतामाथि शङ्का उठ्न थाल्नु र अर्कोतिर तात्कालीन सरकारले कम्युनिष्टहरुलाई दमन गर्ने नीति अख्तियार गर्नु (के.सी., २०५६  :  ९२–९३) ले त्यतिबेलाको जनवीवन त्यति सहज भने देखिन्न । २०१५ सालमा आम निर्वाचन सम्पन्न भएपछि २०१७ सालमा आएर जनताका सीमित अधिकार पनि खोसियो । अर्थात्, २०१७ साल पुस १ गतेको शाही कदमबाट नेपाली आकाशमा पुनः “पञ्चायत” नामको कालो बादल मडारियो । परिणाम स्वरुप यस घटनाले आर्थिक, सामाजिक एवम् साहित्यिक सांस्कृतिक क्रियाकलप पनि प्रभावित भए । जनताका सीमित अधिकारमा प्रतिबन्ध लगाएपछि समाजवादी यथार्थवादी धारा अन्तर्गत क्रियाशील कथा स्रष्टाहरुमध्ये धेरैले लेखनबाट विश्रान्ति लिए, कतिपय स्रष्टाले यथास्थितिको पक्षपोषण गर्न थाले भने सा¥है नगन्य स्रष्टा मात्र समाजवादी यथार्थवादी लेखनमा क्रियाशील रहे । खास गरी बिसको दसकपछि नयाँ पुस्ताका कथाकारहरु जमजमाउन थालेको पाइन्छ । २०३६ सालमा जनताको विरोधलाई थुमथुम्याउन जनमत सङ्ग्रह भए पनि परिणाम पञ्चायतकै पक्षमा पारेर पुनः एक दशक पञ्चायती निरङ्कुशता कायम रहे पनि २०४६ सालमा पञ्चायतको अवसान भयो । सुन्दर भविष्य प्राप्तितर्फ उद्यत जनताको चेतना र त्यसैका बलमा भएको जन आन्दोलका कारण पञ्चायतको अन्त्य भई बहुदलीय व्यवस्थाको पुर्नस्थापना भयो । तथापि सरकार ढाल्ने र बनाउने खेलमा उद्यत रहेको बहुदलीय व्यवस्थाले पनि जनताका अपेक्षा पुरा गर्न नसकेपछि नयाँ जनवादी राज्यसत्ताको स्थापनाका खातिर तात्कालीन नेकपा (माओवादी)को नेतृत्वमा २०५२ साल फागुन १ गतेबाट जनयुद्धको प्रारम्भ भयो । विभिन्न उतारचढावका बिच तात्कालीन शक्ति सन्तुलनका आधारमा २०६२ मा १२ बँुदे समझदारी तथा २०६३ सालमा शान्ति संझौता भएपछि मुलुक गणतन्त्रको सङ्घारमा पुगेको र संविधान सभाको निर्वाचन पश्चात् गणतन्त्रको घोषणा भएको पाइन्छ । क्रमशः देशी विदेशी प्रतिक्रियावादीहरुको चङ्गुलमा फस्दै गएको संविधान सभा चार वर्षपछि विघट्न गरेर अर्को संविधान सभाको नौटङ्की गरियो र त्यसले संविधान त बनायो तर संविधान निर्माण भए पश्चात् मुलुक झन् पछि झन् सङ्कटको भूमरीमा फस्दै गएको यथार्थलाई शायदै नकार्न सकिएला । वस्तुतः २००७ देखि वर्तमानसम्मका प्रमुख घटना सन्दर्भलाई यसरी प्रस्तुत गर्न सकिन्छ  : 


१) २००७ सालको राणा विरोधी आन्दोलन, दिल्ली संझौता र बहुदलीय व्यवस्थाको स्थापना 
२) २०१७ सालको निरङ्कुश शाही कदम स्वरुप निरङ्कुश पञ्चायती व्यवस्थाको घोषणा 
३) २०४६ सालको जनआन्दोलन र बहुदलीय व्यवस्थाको पुनस्र्थापना 
४) २०६३ सालको शान्ति संझौता र गणतन्त्रतर्फको यात्रा 


४.२ प्रमुख चरणहरुको निरुपण 



माथि उपशीर्षक ४.१ प्रस्तुत गरिएका प्रमुख घटना र तिनले निर्माण गरेका मोडका आधारमा समाजवादी यथार्थवादी नेपाली कथाको चरण विभाजन, सीमाङ्कन तथा नामाङ्कन गर्ने कार्य केही सरल बनेको छ । उपर्मुल्लिखित प्रमुख घटना सन्दर्भले समाजवादी यथार्थवादी नेपाली कथाको चरण विभाजनका आधार तयार पार्नुका साथै विभाजन सम्बन्धी औचित्यको पनि पुष्टि भएको छ । वस्तुतः चरण विभाजन सम्बन्धी तर्क सङ्गत एवम् वस्तुगत आधारको निर्माण उपर्युल्लिखित घटना प्रसङ्गबाट भएको हुनाले समाजवादी यथार्थवादी नेपाली कथाको चरण विभाजन, सीमाङ्कन र नामाङ्कन यसरी गर्न सकिन्छ  : 



१) प्रथम चण (२००९–२०१६) बहुदलीय वा संसदीय काल 

२) दोस्रो चरण (२०१७–२०४७) निरङ्कुश पञ्चायती काल 
३) तेस्रो चरण (२०४६–२०६२) बहुदलीय वा संसदीय काल 
४) चौथो चरण (२०६३– हालसम्म) शान्ति संझौता तथा गणतन्त्रोत्तर काल 


साहित्यलाई समाजको अभिन्न क्रियाकलापका रुपमा हेरिने माक्र्सवादी मान्यता अनुसार यो वर्गीकरणलाई वस्तुवादी मान्न सकिन्छ । यसले समाजवादी यथार्थवादी कथा सिर्जना सम्बन्धी प्रवृत्ति तथा चेतनाको पनि प्रतिनिधित्व गर्नुका साथै सिर्जन प्रक्रियामा देखिएका आरोह अवरोहको पनि वस्तुनिष्ठ व्याख्यामा सघाउ पु¥याउने तथा अध्ययनलाई सरल बनाउने अपेक्षा गर्न सकिन्छ ।




५. चरणगत परिचय र प्रवृत्तिको रेखाङ्कन
५.१ पहिलो चरणको कथा लेखन  :  परिचय र प्रवृत्ति
१) सिर्जनात्मक परिवेश र पृष्ठभूमि 


२००७ सालको धोकापूर्ण दिल्ली संझौताका कारण एकातिर नेपालको आन्तरिक मामिलामा बढ्दो भारतीय हस्तक्षेप अनि अर्कोतिर नेपाली काङ्ग्रेसले आप्mनै पार्टीका क्रान्तिकारी व्यक्ति र कम्युनिष्ट क्रान्तिकारीहरुलाई गिरफ्तार गर्नु तथा २००८ सालमा दिल्ली संझौताको विरोध गर्दा चिनिया काजी सहिद हुनु र के.आई. सिंहको विद्रोह पश्चात् कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाइनु (के.सी. २०५६  :  ९३) जस्ता घटनाले एकातिर शासकहरुको उत्पीडन अनि अर्कोतिर कम्युनिष्टहरुको प्रभाव बढेको सङ्केत मिल्छ । मात्रिका प्रसाद कोइरालाले एकातिर नेपाल प्रजातन्त्रका निम्ति योग्य छैन भन्नु र अर्कोतिर उनी प्रधानमन्त्री भएको नेपाली काङ्ग्रेसको एकलौटी सरकारले पहिलो पटक २००९ सालमा ब्रिटिस सरकारलाई धरान र तौलीहवामा भर्तीकेन्द्र खोल्ने अनुमति दिई पुनः २०१५ सालमा १० वर्षको समय थपी पाँच सय सैनिक भर्ना गर्न पाउने संझौता गर्नु (देवकोटा, २०१६  :  १६६–६८) ले नेपाली काङ्ग्रेस राष्ट्रघाती कार्यमा उद्यत हुँदै गएको पाइन्छ । २०१० सालमा धनगढीमा किसान विद्रोह हुँदा उक्त विद्रोहलाई ‘लुटेराहरुको डप्फा ’ भन्ने संज्ञा दिई भारतीय सेनाको सहयोगले भीमदत्त पन्तको हत्या गर्नुले (अधिकारी, २०५६  :   ८४) यति बेलाको राजनीतिक जीवनमा नकारात्मक पाटाहरु छरप्रष्टै देखिन्छन् । यिनै नकारात्मक पक्ष र पाटाको तीव्र आलोचना र भण्डाफोर यति बेलाका कथामा पाउन सकिन्छ ।



साहित्यिक सांस्कृतिक परिवेशको प्रसङ्ग उठाउँदा भने केही सन्तोष गर्ने कार्यहरु भएका छन् । श्याम प्रसाद शर्मा जेलबाट छुटेपछि प्रगतिशील लेखक सङ्घको गठन हुनु, २०१२ सालमा सङ्खुवासभाको चैनपुरमा जन सांस्कृतिक सभाको स्थापना हुनुका साथै ‘सेवा’ (२०१८), जनयुग       (२००९), प्रगति (२०१०), डाँफे चरी (२०१०), जन साहित्य’(२०११), छात्रवाणी (२०१२), नौलो पाइलो   (२०१३) सन्देश (२०१४) आदि पत्र पत्रिकाले यतिवेलाको कथा लेखनलाई ऊर्जा प्रदान गरेका छन् । यिनमा पनि सेवा, छात्रबाणी, नौलो पाइलो, सन्देश पत्रिकाको महत्त्वपूर्ण योगदान रहेको छ । वस्तुतः यस चरणको समाजवादी यथार्थवादी कथाले उपर्युल्लिखित पृष्ठाधार प्राप्त गर्दै निरन्तर क्रियाशील रहेको पाइन्छ ।



२) सिर्जनात्मक स्थिति 


२००९ सालदेखि थालिएको समाजावदी यथार्थवादी कथा परम्परा सुरुका वर्षमा परिमाणका दृष्टिले निकै उर्वर मानिन्छ । एकातिर २००७ सालपूर्वको गुम्सिएको मानसिकता अनि अर्कोतिर २००७ सालको दिल्ली संझौता र अभिव्यक्ति लागि अनुकूल परिवेशका कारण मुलुकभित्र र बाहिरबाट कथा लेख्नेहरुको घुइँचो नै लाग्यो । २००९ साल जेठको सेवा (१ ः ३) मा प्रकाशित भवानी प्रसाद शर्माको ‘यो अत्याचार हो’ रमेश विकलको ‘आँसुले भिजेको हाँसो’ र जनक बहादुर क्रमाचार्यको ‘नारीत्वको क्रय’ शीर्षकका कथाबाट सुरु भएको समाजवादी यथार्थवादी कथा लेखनले आरम्भका पाँच वर्षमा नै निकै फड्को मार्न पुगे पनि समाजवादी यथार्थवादी सिर्जन विधि र त्यसको मूल मर्मलाई पकडेको स्थिति भने होइन । वस्तुतः समाजवादी यथार्थवादी लेखनको आरम्भिक चरणका रचनाहरु समाजवादी आदर्श बोक्ने सर्वहारा साहित्य त थिए तर पूर्ण समाजवादी यथार्थवादी भई सकेका थिएनन् भन्ने निनु चापागाईको धारणा (चापागाई, २०५१  :  ८९) कथा लेखनका सन्दर्भमा पनि लागु हुन्छ । यसो भए तापनि यतिवेलाका कथाकारको समाजवादी आदर्शप्रति अटल आस्था र विश्वास देख्न सकिन्छ । २००७ सालपछिको खुकुलो परिवेशलाई उपयोग गर्दे तात्कालीन शासकहरुद्वारा थोपरिएका दिल्ली संझौता, गोरखा भर्ती केन्द्र, क्रान्तिकारीहरुमाथिको दमन तथा मुखिया र सामन्तहरुद्वारा हुने शोषण उत्पीदन लगायतका सिसङ्गति र बिब्ल्याँटाको कठोर आलोचना गर्ने तथा उन्मुक्तिको अभिव्यञ्जना दिने साहस यतिबेलाका कथाकारले गरेका छन् ।


यस समयावधिका क्रियाशील कथा स्रष्टाको सूची लामो भए पनि केही प्रमुख कथाकारहरुमा रमेश विकल, बालकृष्ण पोखरेल, भवानी प्रसाद शर्मा, देवमणि ढकाल, गोविन्द प्रसाद लोहनी, कृष्ण प्रसाद सर्वहारा, तारानाथ शर्मा, चूढामणि रेग्मी, माधव भण्डारी, डी.पी. अधिकारी, शशीकला शर्मा, वीरेन्द्र खुँजेली, कोसराज शर्मा, जय प्रसाद ढकाल, भागवत प्रसाद श्रेष्ठ, बल्लभ मणि दाहाल, यज्ञ प्रसाद आचार्य, पाशाङ् गोपर्मा, गोपाल चन्द्र गौतम, गणेश प्रसाद भण्डारी, मदन कृष्ण प्रसाँइ, जगदीश नेपाली, दुर्वासा उपाध्याय, भीम प्रसाद ढकाल, बलराम उपाध्याय, श्याम अधिकारी आदि उल्लेख्य रहेका छन् । उपर्युल्लिखित कथाकारहरुमध्ये अधिकांशले सङ्ग्रह नै प्रकाशित गरेका छन् भने केही कथाकारले सामूहिक सङ्कलन प्रकाशित गरेका छन् । केही कथाकार भने विभिन्न पत्र पत्रिकामा मात्रै सीमित पनि छन् । जेहोस्, यतिबेलाका कथाकारको उपस्थिति र सक्रियता भने सह्रानीय नै रहेको छ ।



यस समयाबधिका कथा सङ्ग्रह र सङ्कलन पनि झण्डै दुई दर्जन जति रहेका छन् । ती सङ्ग्रहरु धेरै त सामूहिक सङ्कलनका रुपमा रहेका छन् भने केही एकल स्रष्टाका सङ्ग्रह पनि प्रकाशित छन् । भवानी प्रसाद शर्माका आत्मज्वाला (२००९) र नानी (२०१३), गोविन्द प्रसाद लोहनीको नेतृत्वको भोक (२०१०), चूडामणि रेग्मीको पहिलो यात्रा (२०१२), कृष्ण प्रसाद सर्वहाराका दुई छेस्का सलाई (२०१३ ÷ र दरबारकी केटी (२०१८), शशीकला शर्माको उसको सुरुवाल (२०१९), पाशाङ्गोपर्माको नौगेडी      (२०२०), तारानाथ शर्माको दुई पोका चुरा (२०१६), आदि प्रमुख रहेका छन् । त्यसै गरी सामूहकि सङ्कलनका रुपमा प्रकाशित कथा सङ्ग्रहहरुमा प्रगतिशील प्रकाशन मण्डल काशीद्वारा प्रकाशित कामरेड जाने होइन ? (२००९), भवानी प्रसाद शर्मा र पाशाङ गोपर्माद्वारा सम्पादित तथा जनयुग प्रकाशनद्वारा प्रकाशित नभाग (२०११), जनयुग प्रकाशनद्वारा प्रकाशित गाउँको सन्देश (२०११), देवमणि ढकाल र वीरेन्द्र खुँजेलीद्वारा सम्पादित भेट (२०११), जगदीश नेपालीद्वारा सम्पादित आदर्श श्री (२०११), बालकृष्ण पोखरेल रुपावासीद्वारा सम्पादित तथा प्रकाशित कालो भूत (२०११), कोसराज रेग्मी र अन्यद्वारा सम्पादित को अटेरी ? (२०११), तारानाथ शर्मा र वीरेन्द्र खुँजेलीद्वारा सम्पादित बल्दो दियो (२०१३), ‘नेपाली कथा साहित्य’ (२०५८, दो.सं) मा सङ्कलित चूडामणि रेग्मी र माधव भण्डारीका कथाहरु आदि  उल्लेख्य रहेका छन् । त्यसै गरी यस समयावधिमा छात्रबाणी, नौलो पाइलो, छात्रदूत लगायतका पत्रिकामा झण्डै नौ दर्जन बढी कथा प्रकाशित भएका छन् । कथा सङ्ग्रह प्रकाशनका दृष्टिले सबै भन्दा धेरै कथा सङ्ग्रह २०११ सालमा देखिन्छन् । यस वर्षमा जम्मा छ वटा कथा सङ्ग्रह प्रकाशित भएका छन् ।



यस चरणका समाजवादी यथार्थवादी कथाले नेपाली ग्रामीण जीवनमा व्याप्त शोषण उत्पीडन, गरिबी, विपन्नता प्रशासनिक उत्पीडन गाउँले सामन्त, मुखिया, जिम्माल आदिको शोषण, षड्यन्त्र र धोकाको साथै गाउँले किसान, मजदूर, सुकुमबासीमाथि हुने अन्याय र अत्याचारलाई विषय सामग्रीका रुपमा उपयोग गर्दै यी यस्ता विषयको सघन प्रस्तुतिमा रुचि देखाएका छन् । रमेश विकलको ‘लाहुरी भैंसी’, कोसराज रेग्मीको ‘हरे बौलाहा’, माधव भण्डारीको ‘खेतीको फल’, बल्लभमणि दाहालको ‘देवे भुजेल’, शशीकला शर्माको ‘बिजोक’, मुक्ति प्रसाद काफ्लेको ‘धोका’ आदि कथाले यस प्रवृत्तिको प्रतिनिधित्व र्गछन् । त्यसै गरी नेपाली समाजमा विद्यमान बाल बिबाह, बहुबिबाह, अनमेल बिबाह जस्ता समस्याका साथै नारीहरुमाथि हुने शोषण उत्पीडन, घरेलु हिंसा तथा नारी जागरण र उन्मुक्तिका पक्षमा पनि यस चरणका कथाकारले गहिरो अभिरुचि देखाएका छन् । नारी विषयक विभिन्न समस्याको यथार्थपरक अभिव्यञ्जना दिने कथाहरुमा तारानार्थ शर्माको ‘स्वच्छ रातको कालो इतिहास’, कृष्ण प्रसाद सर्वहाराको ‘दरबारकी केटी’, चूडामणि रेग्मीको ‘वेश्या’, दुर्वासा उपाध्यायको ‘सिन्दुरको टीको’,, भीम प्रसाद ढकालको विद्रोह, भवानी प्रसाद शर्माको ‘नानी’, विन्दु प्रसाद लोहनकिो ‘ठूली’ आदि उल्लेख्य देखिन्छन् । पासाङ् गोपर्माको ‘वनकी बूढेनी’ देवमणि ढकालको ‘रीत’, तथा टेक बहादुर कार्कीको ‘विरामी भूत’ जस्ता कथाले सामन्ती आडम्बरको उपजका रुपमा नेपाली समाजमा विद्यमान सामाजिक बितण्डा, अन्ध परम्परा, जातपात तथा अछुत प्रथाको तीव्र आलोचना एवम् भण्डाफोर गरेका छन् भने डी.पी. अधिकारकिो ‘माउसुली’, तारानाथ शर्माको ‘अपमान’ र कृष्ण प्रसाद सर्वहाराको ‘दुई छेस्का सलाई’, शीर्षकका कथाले आयातीत छाडा संस्कृतिको विरोध र मानवीय मूल्यको सम्प्रेषण तथा लेखकीय समस्या प्रस्तुत गरेका छन् । त्यसरी नै एकातिर मदन कृष्ण प्रसाईँको ‘गडेर संझे त स्वाभाविकै हो’, गणेश प्रसाद भण्डारीको ‘चोर’, श्याम प्रसाद अधिकारीको ‘साह्रो गाह्रो र छेको भाँजो’ जस्ता कथाले विषम आर्थिक अवस्था, विपन्नता र पीडाग्रस्त जीवन भोगाइको चित्रण गरेका छन् भने देवमणि ढकालको ‘सार्की’ यज्ञ प्रसाद आचार्यको ‘चतुरे सार्की’ गोविन्द प्रसाद लोहनीको ‘नुनको सोझो’ कृष्ण प्रसाद सर्वहाराको ‘तोर्मे’ आदि कथाले दलित, उत्पीडित, मगन्ते, भरिया र नोकर चाकारहरुमाथि हुने अमानवीय शोषण, कठोर उत्पीडन तथा उनीहरुका दारुण अवस्थाको चित्रण गरेका छन् । त्यस्तै यस चरणका कथामा प्रणय सम्बन्धी विषय प्रसङ्ग पनि मुखरित भएका छन् । चूडामणि रेग्मीको ‘गोडा भए जुत्ताको के खाँचो’ र माधव भण्डारीको ‘साँचो प्रेम’ कथाले स्वार्थी एवम् आशक्तिपूर्ण प्रमेका विपरित वर्गीय एवम् उदात्त प्रमेको अभिव्यक्ति दिएका छन् ।



यस चरणका कथाले अङ्गिकार गरेको विषय प्रसङ्को अर्को महत्त्वपूर्ण पाटो भनेको २००७ सालमा भएको धोकापूर्ण दिल्ली संझौताको विरोध र आमूल परिवर्तनको अभिव्यञ्जना हो । धोकापूर्ण दिल्ली संझौता र निरन्तर सङ्घर्षका माध्यमबाट उन्मुक्तिको अभिव्यञ्जना दिने कथाहरुमा देवमणि ढकालको ‘कालो भूत’, चूडामणि रेग्मीको ‘स्वतन्त्रता’, सूर्यलालको ‘चक्रब्यूह’, भागवत प्रसाद श्रेष्ठको ‘रमेशको धोको’, बालकृष्ण पोखरेलको ‘सोधाइ र जवाफ’, गोविन्द प्रसाद लोहनीको ‘चलि आएको चलन’ आदि रहेका छन् । त्यसै गरी यस चरणका कथाको अर्को महत्त्वपूर्ण वैशिष्ट्य भनेको गोरखा भर्तीकेन्द्र लगायत विदेशी भर्तीकेन्द्र मार्फत नेपाली युवाहरुलाई बलिको बोका बनाउने तथा नेपाली चेलीहरुको बिचल्ली गराउने प्रवृत्तिको तीव्र भण्डाफोर गर्ने कथाको सूचीमा बालकृष्ण पोखरेलको ‘सपना’ गोपाल चन्द्र गौतमको ‘सानी’, जगदीश नेपालीको ‘चौतारो’ आदि रहेका छन् ।



यस चरणका समाजवादी यथार्थवादी कथामा यथार्थका प्रतिनिधि पाटा र पक्षको चयन हुनुका साथै विचारको उदात्तीकरण समेत भएको छ । विचारको प्रस्तुतिमा स्पष्टता र गतिशीलता हुनु यस चरणका कथाको सकारात्मक पाटो भए पनि भाषा तथा शिल्प सम्बन्धी परिष्कारको अभाव खटकँदो पक्ष हो । मानव समाज र जीवनलाई कथा कलामा सजाउने धैर्यता भन्दा पनि पोखिनुको हतार यस चरणका कथाकारमा देखिन्छ । वस्तु र कलाको सन्तुलन संयोजनका दृष्टिले बालकृष्ण पोदरेलको सोधाई र जवाफ देवमणि ढकालको ‘कालो भूत’, तारानाथ शर्माका ‘स्वच्छ रातको कालो इतिहास’ गोविन्द प्रसाद लोहनीको ‘चलि आएको चलन’ आदि सफल कथा मानिन्छन् ।

३) कथागत प्रवृत्ति यस चरणको कथा लेखनका खास खास प्रवृत्तिलाई बुँदागत रुपमा यसरी प्रस्तुत गर्न सकिन्छ  : 

* नेपाली ग्रामीण जीवनमा व्याप्त विषमता, शोषण, उत्पीडन तथा विभेदकारी सामाजिक संरचनाको आलोचना र विरोध, 
* नेपाली समाजमा विद्यमान विसङ्गति, सामाजिक रुढि र अन्धविश्वास, सरकारी निकाय एवम् प्रशासन संयन्त्रद्वारा हुने थिचोमिचोको तीव्र आलोचना, 
* दिल्ली संझौता र गोरखा भर्तीकेन्द्र लगायत साम्राज्यवादी युद्ध आतङ्क आदिलाई कथा लेखनको विषयवस्तु बनाइनु,
*  महिलामाथि हुने विभेद, घरेलु हिंसा असमान वैवाहिक सम्बन्ध, नारीहरुको बेच बिखनको तीव्र विरोध एवम् नारी अस्मिताको रक्षा र उन्मुक्तिको अभिव्यञ्जनामा रुचि देखाउनु,
* दलित, उत्पीडित तथा नोकर चाकरमाथि हुने शोषण उत्पीडनको विरोध र उन्मुक्तिको अभिव्यञ्जना, 
* गरिबी, बेरोजगारी, विषमता तथा पुरातन संस्कृतिको आलोचना तथा उन्नत संस्कृति र उदात्त मानवीय मूल्य स्थापनाको आग्रह,
*  समाजवादी यथार्थवादी मर्म अनुरुप तात्कालीन वेथिति, विसङ्गति लगायत सरकारी र प्रशासनिक कुकृत्यको भण्डाफोर गर्दै अग्रगामी चिन्तन र उन्मुक्तिको अभिव्यञ्जना दिनु, 
* निम्न र निम्न मध्यम वर्गीय नेपाली जीवनका पात्रको चयन, 
*  रैखिक कथानक ढाँचा, परिपुष्ट कथानक, तात्क्षणिक एवम् परावर्तित कथा रेखीय संरचना, 
*  समाजवादी यथार्थवादी कथाको वैशिष्ट्य अनुरुप बाह्य द्वन्द्वको प्रस्तुति, 
* अधिकांशतः बाह्य सर्वज्ञाता दृष्टिबिन्दुको साथै अंशतः आन्तरिक केन्द्रीय र परिधीपय अनि बाह्य सीमित दृष्टिबिन्दुको प्रयोग, 
* अधिकांश कथामा अपरिष्कृत भाषा र अन्य कतिपयमा पोखिनु हतार, 
* अधिकांशतः वर्णनात्मक एवम् समाख्यानात्मक विधि तथा न्यून रुपमा संवादात्मक विधिको प्रयोग, 
* बाह्य वस्तुगत परिवेशको चयन तथा वर्णनमा रुचि, 
* गाउँ तथा सहरको कुनै स्थान विशेषलाई कार्यपीठिका बनाउनु, 
* विम्ब, प्रवीक, अलङ्कारको प्रयोगमा सामान्य रुचि आदि ।


५.२ दोस्रो सरणको कथा लेखन  :  परिचय र प्रवृत्ति 


१) सिर्जनात्मक परिवेश र पृष्ठभूमि 

२०१७ देखि २०४५ सम्मको समयावधि भन्नु समाजवादी यथार्थवादी कथा लेखनको दोस्रो चरण हो । यद्यपि २०३५-०३६ को विद्यार्थी सङ्घर्ष र जनमत सङ्ग्रहको नौटङ्कीलाई आधार मानेर यस चरणलाई दुई उपचरणमा विभाजन गर्न सकिने स्थिति भए पनि अहिलेलाई निरङ्कुश राजतन्त्रद्वारा संरक्षित पञ्चायती काल खण्डलाई दोस्रो चरण भनेर अध्ययन गरिएको छ । २०१६ सालसम्म नेपाली जनताले प्राप्त गरेका सीमित अधिकार पनि २०१७ सालको शाही कदमबाट अपहरण गरेर सोही वर्षको पुस २२ गते सम्पूर्ण पार्टीहरुमाथि प्रतिबन्ध लगाइएपछि (देवकोटा, २०३३  :  ६९५) सिङ्गो मुलुक निरङ्कुशताको कालरात्रीमा प्रवेश ग¥यो । त्यतिबेला सहरमा पुँजीवादी संस्कृतिले चलखेल गर्ने अवसर पाएको भए पनि गाउँ गाउँमा सामन्ती प्रथा कायमै रहनु, सामाजिक सुधारका नामामा २०२१ सालमा नयाँ मुलुकी ऐन लागु गरिए पनि त्यसको चार महिना नपुग्दै मुलुकी ऐनले ‘छुवाछुत प्रथालाई हटाएको छैन’ भन्ने स्पष्टिकरण दिनु, २०२१ सालमै भूमिसुधार कार्यक्रम ल्याइए पनि भूमि जति सामन्तका परिवारका नाममा वितरण गरिनु (पुष्पलाल, २०४५  :  २१४) ले सामन्ती प्रथालाई नै संरक्षण दिएको पाइन्छ । २०२४ सालमा ल्याइएको ‘गाउँफर्क राष्ट्रिय अभियान’ले पञ्चायती व्यवस्थालाई झनै निरङ्कुश बनाउदै लगेको पाइन्छ ।

यी यस्ता नकारात्मक पक्षका विपरित यस समयावधिमा सकारात्मक पक्ष पनि प्रशस्तै देखिन्छन् । २०२२ सालमा अ.ने.रा.स्व.वि.यु. को स्थापना, २०२६ सालमा ने.वि. सङ्घको स्थापना, २०२८ जेठ २ गते जमिनदार कर्ण बहादुर गौतमको हत्या गरेर (गुरुङ  :  २०५५  :  ४८–४९) सुरु भएको झापा विद्रोह, २०३२ सालको विद्यार्थी आन्दोलन, २०३६ को विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहको घोषणा स्वरुप पञ्चायती व्यवस्थामा आएको सङ्कट हुँदै २०४५।०४६ को जनआन्दोलनले पञ्चायत व्यवस्थाको अवसान भई बहुदलीय व्यवस्थाको पुनस्र्थापना भयो ।

माथि उल्लेख गरिएको राजनीतिक सामाजिक परिवेश जस्तै साहित्यिक सांस्कृतिक परिवेशका पनि नकारात्मक एवम् सकारात्मक पाटा रहेका छन् । जसको प्रभाव यस चरणको सामाजवादी यथार्थवादी कथामा पर्न गएको छ । २०१७ सालपछि नेपाली साहित्यमा प्रयोगवादी लेखन, आयमिक लेखनदेखि राल्फा, अस्वीकृत जमात, अमलेख, बुटपालिस हुँदै लीला लेखनसम्मको विसङ्गतिवादी अस्तित्ववादी, भाषावादी, रुपवादी एवम् अराजक लेनलाई नव चेतनावादी धाराको संज्ञा दिंदै विश्व संस्कृतिको नेपालीकरण भनिए पनि (श्रेष्ठ, २०५९  :  १३–२७) यो लेखन पुरातन एवम् पतनशील भएकै कारण यसले पाठकको मन जित्न सकेन । २०१७ सालको निरङ्कुश कदम अनि यो नकारात्मक पक्षका विरुद्ध कलम उठाउन नसक्दा २०१७ सालपूर्व समाजवादी यथार्थवादी धारामा कलम चलाउँदै आएका कतिपय कथा स्रष्टाले लेखनबाट नै विश्रान्ति लिन पुगे भने तारानाथ शर्मा, डी.पी. अधिकारी, कृष्ण चन्द्र सिंह प्रधान लगायतका कतिपय स्रष्टा खुलेरै प्रगतिवादी लेखनको विरोध र निरङ्कुश सत्ताको पृष्ठपोषण गर्न पुगे (पुष्पलाल, २०५४  :  १३७) । आत्मकथात्मकता, यौन कुष्ठाको भ्रामक र अतिशयोक्तिपूर्ण विस्तार अविष्यप्रति अनास्था र पलायन निस्सारताबोध आदिमा निर्लिप्त हुने प्रवृत्तिले मौलाउने अवसर पायो । यद्यपि २०३५ सालपछि यो प्रवृत्तिमा धेरै ह्रास आएको पाइन्छ ।

उपर्युल्लिखित नकारात्मक पक्षका विपरित थुप्रै सकारात्मक पक्ष र पाटाहरु पनि यस चरणमा देखिएका छन् । निश्चय पनि २०१७ सालपछिका केही वर्ष समाजवादी यथार्थवादी कथा लेखनका दृष्टिले शून्य प्राय देखिन्छन् । यस समयावधिमा मुलुकका विभिन्न स्थानबाट प्रकाशित हुन थालेका बिहान, युगभाषा, भानु, लालुपात, पञ्चामृत, लहर, नौलो राँको, सङ्कल्प, मुक्तिज्वाला, प्रकाशपुञ्ज, नौलो हाँक, सुस्केरा, विगुल, हिमाली आवाज, झटारो, युगधारा, मातृभूमि, हातेमालो, सङ्गम सुधा, आँधीखोला, जनचेतना, लालटिन, नयाँ सिर्जना, जयन्ती आदि पत्रिकाले समाजवादी यथार्थवादी कथा लेखनलाई प्रोत्साहित गरेका छन् । त्यसरी नै रुसी तथा चिनियाँ साहित्यको नेपालीमा अनुवाद हुन थाल्नु प्रगतिशील पुस्तक भण्डार तथा गुनिलो प्रकाशन जस्ता प्रकाशन संस्थाको स्थापना हुनुु, २०२५ सालतिर रेलिमै सांस्कृतिक मण्डलको स्थापना तथा साहित्य सङ्गम (आठराई), नेपाली साहित्य परिषद (झापा) र साहित्य सेवा समिति (सनिश्चरे) को आयोजनामा भएको संयुक्त सम्मेलनमा– ‘वर्तमान नेपाली साहित्य र जनजीवनमा त्यसको असर, प्रगतिशील साहित्य त्यसका समस्या र समाधान’ अनि ‘अन्तर्राष्ट्रय जगत्मा नेपाली साहित्यको भूमिका’ विषयक कार्यपत्र समेत प्रस्तुत हुनु (अर्याल, २०६३  :  ६२), २०२८ मा वनारसमा युद्ध प्रसाद मिश्रको अध्यक्षतामा क्रान्तिकारी जनवादी सांस्कृति मोर्चा गठन हुनु (अर्याल, २०६३  :  ६९), २०३६ सालमा प्रलेसको पुनर्गठन र २०४४ सालमा प्रथम राष्ट्रिय सम्मेलन, २०३९ साहित्य सन्ध्या (राजविराज हुँदै काठमाडौंमा सञ्चालित), २०४५ देखि संचालित प्रतिभा प्रवाह जस्ता मासिक कार्यक्रमले पनि यस चरणको समाजवादी यथार्थवादी कथा लेखनलाई अनुकूल सिर्जन आधार प्रदान गरेको पाइन्छ । अर्थात्, उपर्युल्लिखित प्रतिकूल परिवेशसँग पौंठेजोरी खेल्दै अनि अनुकूल परिवेशलाई उपयोग गर्दै यस चरणको समाजवादी यथार्थवादी कथा लेखन गुणात्मक फड्को मार्ने दिशातिर अग्रसर देखिन्छ ।


२) सिर्जनात्मक स्थिति 

२०१७ सालपछि निरङ्कुश राजतन्त्रको अधिनस्थ पञ्चायती काल रात्रीको आरम्भ भएपछि झण्डै सात वर्ष अर्थात् २०२३ सालसम्म समाजवादी यथार्थवादी नेपाली कथा सङ्कटको भूमरीमा फस्न पुग्यो । २०१७ सालपूर्व क्रियाशील सबैजसो कथा स्रष्टाको पलायन र बिसर्जन अनि प्रतिकूल परिवेशका कारण नयाँ स्रष्टाको आगमन नहुँदा २०२३ सम्मकै समाजवादी यथार्थवादी कथा लेखन शून्य प्राय रहन गयो । २०२३ सम्मको रिक्ततालाई थोरै भए पनि निरन्तरताको कडीमा जोड्ने काम शान्तदास मानन्धर तथा द्रोणाचार्य क्षेत्रीले गरेका भए पनि सार र रुपमा समेत समाजवादी यथार्थवादको मर्मलाई फकड्दै कथा लेख्ने सन्दर्भमा खगेन्द्र सङ्ग्रौलालाई नै पर्खनु पर्ने स्थिति देखा प¥यो । अर्थात्, माथि उल्लेख गरिएको परिवेश र पृष्ठभूमिको प्रत्यक्ष प्रभाव कथा लेखनमा परेको पाइन्छ ।

केही समय समाजवादी यथार्थवादी कथा लेखनमा सन्नाटा छाए पनि उत्तरोत्तर यो धारा गतिशील बन्दै गरेको स्थिति हो । शान्तदास मानन्धर, द्रोणचार्य क्षेत्रीले निरन्तरतालाई जोड्ने काम गरे पनि समाजवादी यथार्थवादी मूल्य र सिर्जन विधिलाई आत्मसात् गर्दै २०२३ सालमा ‘अव्यक्त प्रेम भिजेको रुमाल’ (बिहानः ३  :  ५) कथा लिएर खगेन्द्र सङ्ग्रौलाको आगमन हुन्छ । यद्यपि यसपूर्वको समाजवादी यथार्थवादी कथा धाराको नेतृत्व रमेश विकलले गरेको र २०२३ सालपछि विकलको उत्तराधिकारीका रुपमा खगेन्द्र सङ्ग्रौलाको आगमन भएको हो भन्ने गोरला (अर्थात्, रविलाल अधिकारी) को तर्क देखिन्छ (गोरलाः २०४६ : ४३) तर, यथार्थ त्यस्तो होइन । विकल कथा पारखी हुन्, आख्यान पुरुष हुन् तापनि कुनै पनि काल खण्डको कथा लेखनलाई उनले नेतृत्व गरेको स्थिति होइन । बरु, पहिलो चरणमा विद्यमान रहेको स्वतस्फूर्त एवम् सामूहिक नेतृत्वका विपरित दास्रो चरणको कथा लेखनलाई खग्रेन्द्र सङ्ग्रौलाले नेतृत्व गरेको चाहिं पक्कै हो । सङ्ग्रौलाकै पछि पछि हरिहर खनाल लगायतका कथाकारहरु एक पछि अर्कोै देखिदंै आएका छन् । यस चरणको कथा लेखनको मूल वैशिष्ट्य भनेकै निरङ्कुश पञ्चायती व्यवस्थाले सिर्जना गरेका विसङ्गति, वेथिति र बितण्डा प्रवृत्तिको लेथ्नो काठ्नु रहेको छ ।

यस चरणको कथा लेखन उत्तरोत्तर हराभरा हुँदै आएको छ । सुरुमा जुन प्रकृतिको नियास्रोपन देखियो त्यो धेरैसमय टिकेन । वस्तुतः झण्डै १५० भन्दा बढी कथाकारले समाजवादी यथार्थवादी कथामा कलम चलाएका छन् । दृष्टान्त स्वरुप केही प्रमुख कथाकारहरुको नाम उल्लेख गर्नु पर्दा खगेन्द्र सङ्ग्रौला, हरिहर खनाल, विनय कुमार कसजू, इस्माली, तीर्थ न्यौपाने, नारायण ढकाल, मदन हिमाक्षी, शङ्कर चौलागाईँ, धनमान श्रेष्ठ, पुष्पनाथ शर्मा, सरोज वली, कपिल लामिछाने केदार प्रधान, कृष्ण पाख्रिन, शेषरमण खनाल द्रोणचार्य क्षेत्री, उपेन्द्र कार्की, शान्तदास मानन्धर, सुन्दर जोशी, रामहरि पौड्याल, भाष्कर, माधव भण्डारी, चूडामणि रेग्मी, नरेश शाक्य, गङ्गा प्रसाद उप्रेती, हीराधन दुःखी, वसन्त सिटौला, राम विनय, सोमनाथ घिमिरे, दामोदर घिमिरे, गणेश रसिक, वासुदेव सुवेदी, मदन मोहन जोशी, नरेन्द्र खड्का, विजय कुवँर, कर्णाद महर्षि, राम काजी पौंजु, माधव ढकाल, अम्मु मेहन, राम प्रसाद अधिकारी, धर्मवीर समीर, रघु पन्त, भीम उदास, लोकमणि आचार्य, दिल साहनी, खिल बहादुर भावुक, होम सुवेदी, गोविन्द विकल, पुण्य प्रसाद खरेल आदिको नाम उल्लेख गर्न सकिन्छ भने यस चरणको उत्तराद्र्ध अर्थात् २०३५ पछि समाजवादी यथार्थवादी कथा लेखनमा सक्रिय रहेका कथाकारहरुमा ऋषिराज बराल, घनश्याम ढकाल, सन्जय थापा, हरि गोविन्द लुइँटेल, जनक प्रसाद हुँमागाई, भक्त बहादुर नेपाली, पूर्ण विराम, तारा गाउँले, विजय चालिसे, निमानन्द रिजाल, हरिहर सविता, सि.पी. गजुरेल, हरि प्रसाद भण्डारी आदि उल्लेखय रहेका छन् ।

यस समयावधिमा सामूहिक कथा सङ्ग्रहका साथै व्यक्ति स्रष्टाका सङ्ग्रह समेत प्रकाशित भएका छन् । केही प्रमुख कथा सङ्ग्रहहरुमा शान्तदास मानन्धरको मरुभूमिमा एक राज्य (२०२०), द्रोणाचार्य क्षेत्रीको नुनिला आँसु (२०२३), नरेश शाक्यको सम्पादनमा संयुक्त कथा सङ्ग्रह आक्रोश (२०२४), कृष्ण पोखरेल र शङ्कर चौलागाईको सम्पादनमा नौ नौला कथा (२०२६), गणेश सिकको एउटा सारङ्गीभित्र (२०२७), दामोदर घिमिरेको माटोको मायाँ, (२०२९) पुष्पनाथ शर्माको चप्लेटी ढुङ्गा (२०३२), पारिजातका सडक र प्रतिभा (आंशिक कथा २०३२) र साल्गीको बलात्कृत आँशु (२०४४), तीर्थ न्यौपानेको सम्पादनमा अरुणिमा (२०३४), नन्दराम लम्सालको विसर्ग (२०३४), चूडामणि रेग्मीको भूमरी (२०३६), र चाबी (आंशिंक २०५६) खगेन्द्र सङ्ग्रौलाका नलेखिएको इतिहास (२०३६), सेतेको संसार (२०४१), र हाँडी घोप्टेको जितबाजी (२०४१) हरिहर खनालका अजम्मरी गाउँ (२०३७), आकाश छुने डाँडोमुनि (२०३८), देश परदेश (२०४६) र बमको छिर्का (आंशिक २०४७) ऋषिराज बरालको गाउँको कथा भन्छ हैत (२०४२), विनय कुमार कसजूका पशुतन्त्र (२०३९) र लिस्नो (आंशिक २०५३), माधव भण्डारीको माधव भण्डारीका कथाहरु (२०४०), भाष्करको पिचासको कसौंडी (२०४२), राजवको समय पीडा (२०४५), घनश्याम ढकालको भरिया र यात्री (२०४६), मदन मोहन जोशीको भरियाको कथा (२०४८), नारायण ढकालको शहरयन्त्र (२०५०) र इतर जिल्लाबासी (आंशिक २०५०) सञ्जय थापाका सुर्जेमानको बाल्यकाल (२०४०), किसोर सुर्जेमान (२०४१), सुर्जेमानको जेल यात्रा (२०४३), कथाभित्रका नारी अनुहारहरु (२०४७), रामहरि पौडेलको सल्ला सुसाइदिन्छ (२०४१) सरोज वलीको मुटु छुने कथा (२०५०) इस्मालीको माछो माछो म्यागुतो (२०५२), आदि तिन दर्जन बढी कथा सङ्ग्रह यस चरणमा प्रकाशित देखिन्छन् ।

यस चरणका समाजवादी यथार्थवादी कथाले पञ्चायत कालीन निरङ्कुश शासन सत्ताद्वारा सिर्जित सामन्ती उत्पीडन, ग्रामीण जीवनमा विद्यमान शोषण उत्पीडनका विभिन्न बान्की, किसान, मजदूर दलित तथा सुकुमबासीका समस्या, नारीमाथि हुने उत्पीडन, प्रशासनिक क्षेत्रका विकृति, राजनीतिक बितण्डा, सामाजिक, शैक्षिक एवम् आर्थिक विषमता र विसङ्गति, साम्राज्यवादी हस्तक्षेप र राष्ट्रिय स्वाधीनता जस्ता अनेक पक्षलाई विषयालम्बन बनाएका छन् । वर्गीय चिन्तन, पक्षधरता र वर्ग सङ्घर्षका माध्यमबाट परिवर्तनधर्मी चेतनाको सम्प्रेषण गर्ने सुन्दर जोशीको ‘आङ्माया’ कृष्ण पोखरेलको ‘जाग्नु ! जाग्नु ! जाग्नु !’, खगेन्द्र सङ्ग्रौलाका ‘गाउँले बतास’ र ‘सेतेको संसार’ ऋषिराज बरालको ‘गाउँको कथा भन्छु है त’, पारिजातको ‘एउटा गाउँमा’ इस्मालीको ‘हामी एक छौं’, घनश्याम ढकालको ‘जन आन्दोलनको पूर्वसन्ध्या’मा आदि कथा रहेका छन् भने हीराधन दुखीको ‘चुच्चे ढुङ्गा’ कृष्ण पोखरेलको ‘भ्यालखान बहादुरकी आमा’, शेषरमण खनालको ‘मुट्ठीभित्रको इच्छा’ शङ्कर चौलागाईको ‘उसले फर्कनु प¥या’े, गणेश रसिकको ‘सिङ्गो जिन्दगी बोकेको हस्ताक्षर’, खगेन्द्र सङ्ग्रौलाको ‘डाँडावारि डाँडापारि’, ऋषिराज बरालको ‘श्रीकृष्ण लीला’, हरिगोविन्द खुइँटेलको ‘बन्द आँखा’, सरोज वलीको ‘छेउ लागेर हिड्नु पर्छ’ लगायतका कथाले नेपाली ग्रामीण जीवनमा व्याप्त शोषण उत्पीडनको विभिन्न रुपका साथै त्यसको परिणतिको एउटा पक्ष स्वरुप बसाइ सर्नु पर्ने र विदेशिनु पर्ने बाध्यताको चित्रण गरेका छन् । त्यसै गरी यस चरणका कथाकारले नारीमाथि हुने शोषण उत्पीडनका विभिन्न बान्की र नारी अस्मिताको रक्षा अनि उन्मुक्तिको अभिव्यञ्जनामा रुचि देखाएका छन् । त्यस्ता कथा दृष्टान्तका रुपमा हरिहर खनालको ‘कालो बादलभित्रको जून’ सुन्दर जोशीको ‘मेरी कलाकार बहिनी’ खगेन्द्र सङ्ग्रौलाका ‘इन्साफको खोजीमा’ र ‘लासको मोल’ पारिजातका ‘साल्गीको बलात्कृत आँसु’ र ‘नैकापे सर्किनी’, इस्मालीको ‘आड’, ऋषिराज बरालका ‘सुन्तली अर्थात सुन्दरी’ र ‘भीमान खोला’, पुन्य प्रसाद खरेलको ‘पवित्रा’ आदिलाई प्रस्तुत गर्न सकिन्छ ।

यस चरणका सामाजवादी यथार्थवादी कथाले सर्वहारा वर्गीय किसान, मजदूर, सुकुमबासीका साथै दलित उत्पीडतिमाथि हुने शोषण उत्पीडन र थिचोमिचोका साथै उन्मुक्तिकामी चेतना समेत सम्प्रेषण गरेका छन् । त्यस्ता कथाहरुमा राजवको ‘छ मन धानको सङ्केत’, विजय कुवँरको ‘ओर्गानी भौजी’, हरिहर खनालको ‘अजम्मरी गाउँ’, पारिजातको ‘सिटीहलको बूढो ज्यामीसँग’, खगेन्द्र सङ्ग्रौलाका ‘निकाला’ र ‘खरानीमुनिको आगो’, ऋषिराज बरालको ‘किसान नगर’, इस्मालीको ‘एउटा यस्तो संसार’, सोमनाथ घिमिरेको ‘निमा’, विनय कुमार कसजूको ‘भकुण्डो‘ आदि रहेका छन् । त्यसैगरी सामन्ती स्वार्थ, राजनीतिक बितण्डा अनि स्वार्थ र षड्यन्त्रको प्रतिविम्बन गर्ने कथाहरुको सूचीमा खगेन्द्र सङ्ग्रौलाका ‘नलेखिएको इतिहास’ र ‘एका देशको एउटा कथा’, नारायण ढकालको ‘छद्मभेषी’, विनय कुमार कसजूको ‘दयालु सेठ’, ऋषिराज बरालको ‘बयान’ घनश्याम ढकालको ‘चुनाब’ इस्मालीको ‘कुहिरोभित्रको घाम’, हरिगोविन्द लुइँटेलको ‘तथाकथित’, हरिहर खनालको ‘देश परदेश’, पुन्य खरेलको ‘दोमासीको विजय’, आदि रहेका छन् भने राजवको ‘हाफ क्या वि’, विनय कुमार कसजूको ‘मोल र मर्मत’, बासुदेव सुवेदीको ‘दाउरोका पुर्जी’, हरिहर दखनालको ‘एउटा पुरानु कथा’, हरिगोविन्द लुर्इँटेलको ‘वनमारा झार’ पुन्य खरेलको ‘खुसीको दिन’ आदि कथाले कर्मचारी प्रशासन एवम् पुलिस प्रशासनभित्रका बेथितिको भण्डाफोर गरेका छन् । त्यसरी नै हरिहर खनालको ‘बमको छिर्का’, कृष्ण पाख्रीनको ‘युद्ध ! युद्ध !!’, मदन हिमाक्षीको ‘सङ्घर्ष’ शिव श्रेष्ठको ‘ऊ थुनुवामै छ’, घनश्याम ढकालको ‘देश द्रोही’, हरिहर खनालको ‘नीलो सुन’, इस्मालीको ‘एउटा चिठी समुद्रपारिको साथीलाई’, आदि कथामा साम्राज्यवादी युद्धआतङ्कको विरोध र राष्ट्रिय स्वाभिमानको महिमा गान पाउन सकिन्छ भने खगेन्द्र सङ्ग्रौलाको ‘तमोर नदीको किनारै किनार’, केदार प्रधानको ‘विउँझाइ’, तीर्थ न्यौपानेको ‘भरिया’, कुन्ता शर्माको ‘माग्ने बालकहरु’ नारायण ढकालको ‘निषिद्ध’ हरिहर खनालको ‘एउटा विज्ञापन योग्यताका’े इस्मालीको ‘कृपात्र’ आदि कथामा माग्ने तथा भरियाको दयनीय अवस्था अनि बेरोजगारीको चित्रण पाउन सकिन्छ । त्यसो त खगेन्द्र सङ्ग्रौलाको ‘ढाक्न सक्दैन कहिल्यै कालो बादलले सूर्यलाई’ मदन हिमाक्षीको ‘पहिरो जाने पहाडमुन्तिर’, इस्मालीको ‘चलन’ हरिहर खनालको ‘बैना बट्टा’ शीर्षकका कथाले साहित्यिक, सांस्कृतिक एवम् शैक्षिक क्षेत्रका विसङ्गति र बितण्डा प्रवृत्तिको कठोर आलोचना गरेका छन् ।


३) कथागत प्रवृत्ति 

यस चरणको समाजवादी यथार्थवादी कथा लेखनका खास खास प्रवृत्तिलाई तलका बुँदामा प्रस्तुत गर्न सकिन्छ  : 

* निरङ्कुश पञ्चायती व्यवस्थाद्वारा सिर्जित समग्र विसङ्गति र बेथितिलाई विषयालम्बन बनाउनु, 
* तात्कालीन अवस्थाका बेथिति, वैषम्य र विरुपावस्थाप्रति प्रहार गर्दै सुन्दर भविष्य प्राप्तिका लागि परिवर्तनधर्मी चेतनाको सम्प्रेषण गर्नु,
* ग्रामीण जीवनमा व्याप्त शोषण उत्पीडानका विभिन्न रुपको चिरफार गर्दै सामतामूलक समाज निर्माणका लागि उत्पीडित जनलाई सचेत गराउनु,
* नारीमाथि हुने सबै प्रकारका शोषण र उत्पीडनको उजागर गर्दै वर्गीय उनमुक्तिका माध्यमबाट नै नारी मुक्ति संभव छ भन्ने सन्देश दिनु,
* किसान, मजदूर, सुकुमबासी, भरिया, मगन्ते, निम्न वैतनिक कर्मचारी लगायत उत्पीडित जनका विभिन्न समस्याको प्रस्तुतिका साथ समाधान स्वरुप वर्गीय उन्मुक्तिका लागि अभिप्रेरित गर्नु, 
* राजनीतिक बितण्डा, सामन्ती स्थार्थ, षड्यन्त्र र भ्रष्ट प्रवृत्तिको लेथ्नु काढ्नु, 
* साम्राज्यवादी युद्धआतङ्क र हस्तक्षेपको विरोध गर्दै राष्ट्रिय स्वाभिमानको रक्षका खातिर सचेत रहन उत्प्रेरित गर्नु, 
* नेपाली जीवनका सापेक्षतामा सर्वहारा वर्गीय क्रान्तिकारी तथा संभ्रान्त वर्गीय यथास्थितिवादी पात्रको चयन, 
* सामाजिक, सांस्कृतिक, साहित्यिक तथा शैक्षिक लगायत समाज र युग जीवनका समग्र क्षेत्रका विसङ्गतिको आलोचनामा रुचि देखाउनु, 
* रैखिक ढाँचाका तात्क्षणिक र परावर्तित रेखीय कथा संरचना, 
* प्रायजसो कथामा मानव पात्र, गतिशील पात्र र वर्गीय पात्रको चयन, 
* पहिलो चरणका तुलनामा संरचनागत एवम् भाषा शिल्पगत परिष्कार, 
* अधिकांशतः समाख्यानात्मक तथा अंशतः सम्वादात्मक विधिका कथा लेखनमा रुचि, 
* आन्तरिक केन्द्रीय, बाह्य सर्वज्ञाता एवम् सीमित दृष्टिविन्दुको प्रयोग, 
* आन्तरिक मनोगत परिवेशका तुलनामा बाह्य वस्तुगत परिवेशको अधिकता, 
* समाजवादी यथार्थवादी कथा लेखनका वैशिष्ट्य अनुरुप आन्तरिक भन्दा बाह्य द्वन्द्वको प्रस्तुति, 
* विशेषतः गाउँ र अंशतः सहरलाई कार्यपीठिका बनाइनु, 
* बिम्ब, प्रतीक, अलङ्कारका साथै उखान टुक्का, दृष्टान्तको प्रयोगद्वारा स्वाभाविक रुपविन्यास । 


५.३ तेस्रो चरणको कथा लेखन  :  परिचय र प्रवृति
१) सिर्जनात्मक परिवेश र पृष्ठभूमि 

२०४६ देखि २०६३ सम्मको झण्डै १७ वर्षको समयावधि भनेको नेपालको इतिहासमा युगान्तकारी घटनाहरुका बिच निरन्तर गतिशील, निरन्तर द्वन्द्वशील अनि उतारचढावका बिच गुज्रेको समय हो । २०४६ सालको जनआन्दोलन, पञ्चायतको अवसान, २०४७ को अन्तरिम संविधान, २०४८ को आमनिर्वाच, नेपाली काङ्ग्रेसको एकमना सरकार, २०५१ मा मध्यावधि निर्वाचन, एमालेको नौ महिने सरकार हुँदै झण्डै पाँच वर्ष व्यतित भइ सक्दा पनि जनताका अपेक्षामा तुषारपात भयो । राजनीतिक पार्टी र नितका नेताहरु उल्टै जनविरोधी गतिविधिमा संलग्न हुन पुगे । परिणामतः आम उत्पीडित जनताको मुक्तिका खातिर २०५२ साल फागुनदेखि तात्कालीन नेकपा (माओवादी) को नेतृत्वमा दीर्घकालीन जनयुद्ध आरम्भ भएपछि त्यसले एकातिर आम उत्पीडित जन समुदायका बिचमा आशाका किरणको सन्चार ग¥यो भने अर्कोतिर यथास्थिवादी राज्यसत्ता र त्यसका पृष्ठपोषकहरु थर्कमान हुने पुगे । यस युगान्तकारी घटनाले राजनीतिक, सामाजिक तथा साहित्यिक सांस्कृतिक क्रियाकलापहरु पनि प्रत्यक्ष वा परोक्ष रुपमा प्रभावित भए । यस तात्पर्यमा २०५१÷२०५२ लाई आधार मानेर तेस्रो चरणलाई दुई उपचरणमा वर्गीकरण गर्न सकिने प्रशस्त आधार भए पनि अहिलेलाई त्यसो गरिएको छैन । त्यसपछि माओवादीको उक्त कदमबाट अत्तालिएको राज्यसत्ताले जनयुद्धको पूर्वसन्ध्यामा रोमियो अप्रेसन र जनयुद्ध आरम्भ भएपछि किलो शेरा टु हुँदै उत्तरोत्तर जनहत्या र राज्यआतङ्कलाई बढवा दिन थाल्यो । सरकार र माओवादीका बिच २०५८ र २०६० मा भएका असफल वार्ता, २०६२ मा भएको १२ बुँदे समझदारी हुँदै २०६३ को शान्ति संझौता पश्चात् मुलुक थोरै भए पनि अग्रगमनको दिशातिर उन्मुख हुने सङ्केत त देखिए तर यथार्थ जीवन भोगाइ भने त्यस्तो रहेन ।


निश्चितै रुपमा उपर्युल्लिखित राजनीतिक यात्राबाट मुलुकको सामाजिक, सांस्कृतिक तथा साहित्यिक परिवेश पनि प्रभावित भएकै हो । तात्कालीन सत्ताले सांस्कृतिक कर्मीहरुको हत्या शृङ्खला बढाउन थाल्यो । २०५३ सालमा प्रथम सांस्कृतिक सहिद मस्तबहादुर विष्ट, २०५५ सालमा अनेकोटमा च्याङ्वा लामा लगायतका आठ जना कलाकारको हत्या हुँदै २०५९ जेठमा महान् सांस्कृतिक कर्र्मी कृष्ण सेन ‘इच्छुक’को हत्या जस्ता क्रुरतम घटनाहरु घटित भएका छन् । यी नकारात्मक पक्षका विपरित अघिल्लो चरणमा स्थापित र क्रियाशील प्रतिभा प्रवाह, साहित्य सन्ध्याको निरन्तरता, अखिल नेपाल जन सांस्कृतिक सङ्घ, राष्ट्रिय जनसांस्कृतिक मन्च एवम् इन्द्रणी सांस्कृतिक सामाजका गतिविधि, प्रलेसका दोस्रो (२०४८) तेस्रो (२०५०) तथा चौथो (२०५२) राष्ट्रिय सम्मेलन र यसले सन्चालन गरेका विभिन्न गोष्ठीहरुले पनि समाजवादी यथार्थवादी कथा लेखनलाई ऊर्जा प्रदान गरेका हुन् । त्यसै गरी अघिल्लो चरणमै प्रकाशन आरम्भ भएका र थप यस समयावधिमा प्रकाशन हुन थालेका वेदना, लहर, विगुल, आलोचना, कलम, विपुल, जुही, तन्नेरी, इन्द्रेणी, जनसाहित्य, नौलो कोसेली लगायतका साहित्यिक पत्रिकाले पनि यस चरणको कथा लेखनका लागि अनुकूल परिवेश निर्माण गरेका छन् भने यिनमा पनि २०४९ देखि प्रकाशन आरम्भ भएको कलम पत्रिकाले निर्वाह गरेको ऐतिहासिक दायित्व (गौतम, ५९ ः ९७) लाई विशेष महत्त्वका साथ हेरिनु पर्छ । उपर्युलिखित सिर्जनात्मक परिवेश र पृष्ठभूमि प्राप्त गरेर यस चरणको समाजवादी यथार्थवादी कथा लेखन अगाडि बढेको पाइन्छ ।


२) सिर्जनात्मक स्थिति 

२०४६ सालपछि समाजवादी यथार्थवादी कथा लेखनका लागि अनुकूल परिवेश निर्माण भएकै कारण एकातिर अघिल्लो चरणमा कथा लेख्ने कथा स्रष्टाले निरन्तरता दिएका छन् भने अर्कोतर्फ नयाँ पुस्ताका कथा स्रष्टाको आगमन र क्रियाशीलता पनि निकै प्रशंसनीय रहेको छ । त्यसो त दोस्रो चरणमा समाजवादी यथार्थवादी कथा लेखनमा निष्ठापूर्वक सक्रिय रहेका केही कथाकारमा विचलन पनि देख्न सकिन्छ भने अधिकांश कथाकारहरुले उदात्त विचार र सुन्दर कथाशिल्पको संयोजन गरेर समाजवादी यथार्थवादी सिर्जन विधिलाई निष्ठपूर्वक आत्मसात् गरि रहेको स्थिति पनि देख्न सकिन्छ । वस्तुतः दोस्रो चरणमै कथा लेखनमा आफ्नो पहिचान बनाएका खगेन्द्र सङ्ग्रौला, हरिहर खनाल, इस्माली, ऋषिराज बराल, विनय कुमार कसजू, घनश्याम ढकाल, नारायण ढकाल, राजव, देवमणि ढकाल, पारिजात, कन्ता शर्मा, उपेन्द्र कार्की, नरेश शाक्य, भाष्कर, माधव भण्डारी, पुष्पनाथ शर्मा, चूडमणि रेग्मी, गणेश रसिक, सरोज वली, मदन मोहन जोशी, दिल साहनी, पुन्य प्रसाद खरेल, सन्जय थापा, देविका तिमिल्सिना, गोविन्द विकल, भीम उदास, अम्मु मेहन, कपिल लामिछाने, वसन्त सिटौला, हीराधन दुखी, कर्णाद महर्षि, अनिल श्रेष्ठ, हरि प्रसाद भण्डारी, तारा गाउँले, ऋषि वस्ताकोटी, हरिहर सबिता, शिव ढकाल, शार्दूल भट्टराई आदिका साथै २०४६ पछि र खास गरी जनयुद्धको प्रक्रियासँगै कथा लेखनमा सक्रिय रहेका नयाँ पुस्ताका कथाकारहरुमा सी.पी. गजुरेल, मात्रिका पोखरेल, रोहित दाहाल, चन्द्रमान कन्दङ्वा, केशरी अम्गाई, नकुल सिलवाल, नवराज रिजाल, नवीन विभास, पुन्य कार्की, प्रदीप ज्ञवाली, अभय श्रेष्ठ, सुधा त्रिपाठी, विवश वस्ती, अनिल श्रेष्ठ, नर पल्लव, हीरामणि दुखी, गङ्गा श्रेष्ठ, हरिमाया भेटवाल, सरला रेग्मी, सौगात आचार्य, झक्कु प्रसाद पुन, कमल निओल, क्षितिज मगर, अशोक सुवेदी, सरल सहयात्री, शशीकिरण, परशुराम कोइराला, पृथ्वी बहादुर सिंह, होम सुवेदी, सौरभ किरण श्रेष्ठ, कमल फुयाँल, टीकाराम उदासी, भक्त बहादुर नेपाली, नारायण तिमिल्सिना, भरत गैरीपिप्ली पञ्च कुमारी परियार, जयन्ती स्पन्दन, नर्मदेश्वरी सत्याल, राम विनय पोषरमण चापागाईँ, गोपाल ढकाल, अगिव वनेपाली, भागवत आचार्य, अनिल पौडेल, आत्माराम शर्मा, पाण्डवराज कार्की, गोपाल मैनाली, राजाराम राउत, सुलोचना मानन्धर, पुष्कराज भट्ट, धन कुमारी सुनार, के.एल. पीडित, अरुण खतिवडा, शेषमणि आचार्य, नेत्र घिमिरे, गुरुदत्त ज्ञवाली, शङ्कर थापा, दुर्गा अधिकारी, अनिल विरही, शङ्कर विक, जय वान्तवा, महेन्द्र महक, आदर्श खतिवडा, मीन प्रसाद लामिछाने, मणि शर्मा, खगेश्वर भण्डारी, पदम प्रसाद शर्मा, टीकाराम उदासी, कृष्णराज सर्वहारी आदि सक्रिय रहेका छन् ।

यस समयावधिमा विभिन्न पत्रपत्रिकामा प्रशस्तै फुटकर कथा प्रकाशित हुनुका साथै कथा सङ्ग्रहको पनि उल्लेख्य प्रकाशन भएको छ । परिमाण र गुण दुवै दृष्टिले यस चरणको समाजवादी यथार्थवादी कथा लेखन निकै प्रभावी मानिन्छ । यस समयावधिमा पुरानो र नयाँ पुस्ताका कथाकारको उदाहरणीय सम्मिलन हुन पुगेको छ । वस्तुततः यस चरणमा खगेन्द्र संङ्ग्रौलाका हस्तक्षेप (२०५३) मइ दिवस (२०५४), हरिहर खनालका विगत आगत (२०५५), देशभित्र देश खोज्दै (२०६०) र विघटन (२०६४), ऋषिराज बरालका बयान (२०५२), वनमान्छेको कथा (२०५४), सैन्य उपहार (२०५८), पैयुँ फुल्न थालेपछि (२०६३), चूडामणि रेग्मीको चाबी (२०५३), घनश्याम ढकालका सहिद मानचित्रमा नपरेको सहिद (२०४८), समर्पणको बाटोमा (२०५१) र आजको महाभारत (२०५५), इस्मालीको घाम घाम जस्तो छैन (२०५८), काट जर्किन डी (२०६४) र इस्मालीका प्रतिनिधि कथाहरु (२०६७), विनय कुमार कसजूका लिस्नो (आंशिक २०५३) र थोपाथोपा, नारायण ढकालका इरफान अलि (आंशिक २०५१), र बहिर्गमन (२०६०), पारिजातको बधशाला जाँदा आउँदा (२०५९), राजवका इतर जिल्लाबासी (आंशिक २०५०), कङ्गन खित्का (२०५५) र क्यापिटल हिल (२०६५), उपेन्द्र कार्कीको न्याय गोलीले मर्दैन, सञ्जय थापा (प्रदीप नेपाल)का परोपकार यात्रा (२०५०), बेचिएका चेलीहरु , धरहराको सहर (२०६२) र बाघमारेको लाल सलाम (२०६४), देविका तिमिल्सिनाको सीमाहीन सीमा (२०५१), देवमणि ढकालको बिझेको काँडो (२०६०), हरि प्रसाद भण्डारीको चिराग (आंशिक (२०४७) र अविरल यात्रा (२०६३), दिल साहनीको खरानी गाउँ (२०५७), पुन्य प्रसाद खरेलको पुनर्बाहली (२०५४), मताने साईलो (२०५७) र द्वन्द्व र धुवाँ (२०६४), हरिगोविन्द लुईँटेलको समय र पोखरी (२०५६), कृष्ण प्रसाद प्रजापतिको एक जुट होऊँ (२०४८), चन्द्रमान कन्दङ्वाको राल्फा वस्ती, लीला श्रेष्ठको फकल्याण्ड , भक्त बहादुर नेपालीको सुन वर्षने देश, सौरभ किरण श्रेष्ठको कथा हुजरबाको (२०६०), अन्जान विरहीको अन्जान बिरहीका कथाहरु (२०५५), नकुल सिलवाल तिमी रोएर म रोएको (२०५१), विवश वस्तीका नखनिएको खाडल (२०५४), अब उकालो चढिंदैन (२०६१) र यसरी नै आरु फुल्छ (२०६५), कपिल लामिछानेको अन्यथा (२०५४), मात्रिका पोखरेलको सन्त्रस्त आँखाहरु (२०६१), पुन्य कार्कीका मखमली (२०५७) र मध्य रातमा (२०६०), नवराज रिजालका अदृश्य पीडा (२०५७) र भूतको घरभित्र (२०५९), गङ्गा श्रेष्ठको महासमरका यात्रीहरु (२०५५), रोहित दाहालको स्पातले बनेका मान्छेहरु (२०५६), नवीन विभासको आधा बाटो हिडेपछि (२०५७), केशरी अम्मागाईको सुकेको मुढा (२०६०)े, सी.पी. गजुरेलको प्रतिरोध (२०६०), पृथ्वी बहादुर सिंहो लाहुरे (२०६०), कुसुम ज्ञवालीको सहिदले बिर्सेको गाउँ (२०६१), होम सुवेदीको मर्माहत (२०६२), अशोक सुवेदीका नयाँ वस्ती (२०६२) र मैले रोजेको बाटो (२०६२), झक्कु प्रसाद पुनको अभ्यस्त सिपाही (२०६२), कमल निओलको नयाँ इतिहास (२०६३), हरिमाया भेटवालको दोस्रो दर्जा (२०६३),सरल सहयात्रीको क्रान्तिका कथाहरु (२०६४), लेकाली खड्का (सम्पाः) को विद्रोहको आवाजहरु (२०६५), सौगात आचार्यको सङ्कल्प यात्रा (२०६६), क्षितिज मगरको सुनछहरीको ऐनामा (२०६५) आदि कथा सङ्ग्रह प्रकाशित देखिन्छन् ।


यस चरणमा आइ सकेपछि लेखनमाा निरन्तरता भए पनि केही कथाकारमा वैचारिक विचलन देखिन थाल्यो र यस चरणको अन्त्यसम्म आइ पुग्दा विचलनमुखी त्यस प्रवृत्तिले यथार्थको भ्रष्टीकरण गर्न पुग्यो । खास गरी चालिसको दसकको अन्त्य र पचासको दशकको आरम्भसँगै समाजवादी यथार्थवादी लेखनबाट विचलन उन्मुख हुने कथा स्रष्टाहरुमा नारायण ढकाल, प्रदीप नेपाल, राजव, देविका तिमिल्सिना, पुन्य प्रसाद खरेल (अलि पछि) आदि उल्लेख्य हुन सक्छन् । यी कथाकारहरु समाजवादी यथार्थवादका मूलभूत प्रस्थापनालाई छोड्दै उत्तरोत्तर यथार्थको विद्रपीकरण गर्ने दिशामा सक्रिय रहँदै आएका छन् । यी कथाकारहरुको लेखनमा विचलन आएको र उनीहरु पलायन हुँदै गएको उल्लेख समालोचक राजेन्द्र सुवेदीले गरेका छन् (सुवेदी, २०५३  : ५०) । उपर्युल्लिखि कथाकारका सन्दर्भमा ताराकान्त पाण्डेयले यो प्रवृत्तिलाई विचलनका साथै राजनीतिक पदावलीको प्रयोग गरेर ‘साहित्यिक संशोधकवाद वा ‘साहित्यिक समन्वयवाद’ भन्ने टिप्पणी गरेका छन् (पाण्डेय, २०५३  : १५१) । माक्र्सवादी सौन्दर्यशास्त्रले अवलम्बन गरेको सर्वहारा वर्गीय पक्षधरता, वर्ग सङ्घर्ष, साङ्गठनिक पक्षधरता, विचारधारात्मक कार्य एवम् भविष्य प्राप्तिको चेष्टाप्रति उदासिन बन्दै अराजक चिन्तन र सिर्जन विधिको अवलम्बन गर्ने सङ्केत कथाकार नारायण ढकाल स्वयम्ले दिएका छन् । आप्mनो कथा सङ्ग्रह इरफान अलिको भूमिकामा नारायण ढकाल लेख्छन्– “माक्र्सवादी सौनदर्यशास्त्र मेरो रचना कर्मको वैचारिक आदर्श हो । तर म यान्त्रिक रुपमा यसलाई अङ्गिकार गर्न चाहन्न । मानिसलाई सीमित र निर्देशित लक्ष्मण रेखाभित्र परिभाषित गर्न हुँदैन । त्यसैले तिनीहरु कतै सकारात्क र कतै नकारात्मक रुपमा आएका छन् (ढकाल, २०५१  :  ग) । यो भनेको माक्र्सवादी कला अनुशासनबाट विचलन हो र पलायन नै हो । वस्तुतः ढकाल लगायतका यी कथाकार समाजवादी यथार्थवादी चिन्तन र सिर्जन विधिबाट पलायन हुँदै यथार्थको विद्रूपीकरण गर्ने दिशातर्फ उन्मुख देखिन्छन् । नारायण ढकालको ‘आत्महन्ता’ प्रदीप नेपालको ‘डाक्टर्नी आमा’, पुन्य प्रसाद खरेलको ‘अति भएपछि’ जस्ता कथालाई विद्रूपीकरणको दृष्टान्त स्वरुप प्रस्तुत गर्न सकिन्छ । यी कथाकारहरुमा पनि प्रदीप नेपाल कथामा यथार्थको विद्रूपीकरण गर्ने स्रष्टाहरुमा अग्र पङ्क्तिमा पर्छन् ।


२०४६ देखि २०६३ सम्मको यो समयावधि भनेको समाजवादी यथार्थवादी कथा लेखनका लागि अत्यन्त अनुकूल परिवेश मानिन्छ । एकातिर २०४६ यता बहुदलीय व्यवस्थाको स्थापना भएपछि जन जीवन कष्टकर भए पनि सिर्जन परिवेश अनुकूल हुनु तथा अर्कोतिर २०५२ सालपछि माओवादी जनयुद्ध सुरु भएपछि वर्ग सङ्घर्ष र यसको प्रक्रियाप्रति आस्थावान् स्रष्टाका लागि विषय सामग्रीको अभाव नहुनुले पनि कथा सिर्जनका दृष्टिले यो समयावधि अत्यन्त उर्वर रहन गयो । वस्तुतः यस समयावधिमा वर्ग सङ्घर्षको सघन प्रक्रिया स्वरुप वीरता, साहस र बलिदानको महिमागान प्रस्तुत गरिएका कथा दृष्टान्त दिनु पर्दा ऋषिराज बरालको ‘अब लडाईं सुरु भयो’, घनश्याम ढकालको ‘विकास भित्रको गोली’, कमल निओलको ‘नयाँ इतिहास’, रोहित दाहालको ‘छापामारले कार्वाही ग¥यो’, पुन्य कार्कीको ‘यानीमाया’, सौगात आचार्यको ‘कथाभित्रको कथा’, सरल सहयात्रीको ‘विजयको गीत’, क्षितिज मगरको ‘राता तारा’ आदि उल्लेख गर्न सकिन्छ भने उदात्त विचार, वर्ग सङ्घर्षप्रति आस्था र उन्मुक्तिको अभिव्यञ्जना दिने कथा दृष्टान्तका रुपमा ऋषिराज बरालको ‘मैले उसको नाम स्वास्तिका राखि दिएँ’, घनश्याम ढकालको ‘आखिरी बाटो’, सी.पी. गजुरेलको ‘नयाँ खालका मान्छेहरु’, गङ्गा श्रेष्ठको ‘सुन्तलीले रोजेको बाटो’ दिल साहनीको ‘लाल सिपाही’, भवानी पाण्डेयको ‘छोरी’, हीरामणि दुःखीको ‘नयाँ जीवनको सुरुवात’, नवीन विभासको ‘प्रतीक्षा’, लेकाली खड्काको ‘गुराँस फुल्दा’, कमल निओलको ‘युद्धकालकी आमा’, राजु क्षेत्रीको ‘युद्ध गाथा’, सरला रेग्मीको ‘विद्रोहका ज्वालाहरु’ आदि उल्लेख्य हुन सक्छन् । त्यसैगरी जनयुद्धको सघन प्रक्रियाका सन्दर्भमा युद्ध कौशल, चाुतर्य र संयमको प्रतिविम्बन गर्ने कथाहरुमा ऋषिराज बरालको ‘उसको नाम सङ्ग्राम सिंह थियो’, घनश्याम ढकालका ‘मनभित्र फुलेको लाली गुराँस’, सौगात आचार्यको ‘इच्छाशक्ति’, सी.पी. गजुरेलको ‘हर्कजीतको सपना’, पुन्य कार्कीको ‘मछलीवाला’, पूर्णविरामको ‘धन्यवाद नेप्टे सार्की’, शशीकरणको ‘सक्कली मुठभेड’ आदि रहेका छन् भने जनयुद्धको पूर्वसन्ध्या र जनयुद्धको अवधिभर राज्यद्वारा चलाइएको आतङ्क, दमन र हत्याको विरोध स्वरुप लेखिएका कथाको सूचीमा खगेन्द्र सङ्ग्रौलाको ‘कुराउनीको रित्तो पेरुङ्गो’, हरिहर खनालको ‘थवाङ्को आकाशमुनि’, घनश्याम ढकालको ‘आतङ्कवादी’, सी.पी. गजुरेलको ‘सङ्कटकाल’, मात्रिका पोखरेलको ‘पश्चिमतिर’, नवीन विभासको ‘बादलभित्र’, हीरामणि दुःखीको ‘अस्तु’, टीकाराम उदासीको ‘थाप्लेचौर’, गोविन्द वर्तमानको ‘अँध्यारोमा अजामील’, धनेश्वर पोखरलेको ‘सहिदकी आमा’, रोहित दाहालको ‘पर्खाल आतङ्क’, विवश वस्तीको ‘भीर मौरीको मह’, शशीकिरणको ‘पूmलमती घर फर्कनै पाइन’, आदि रहेका छन् । त्यसै गरी खगेन्द्र सङग्रौलाको ‘भन भैरवनाथ भन’, हरिहर खनालको ‘ओत’, घनश्याम ढकालको ‘विजयोत्सव’, हरिगोविन्द लुइँटेलको ‘एक साँझ’, पुन्य प्रसाद खरेलको ‘पुनर्बहाली’, इस्मालीको ‘रेजा’, अनिल श्रेष्ठको ‘प्रजातन्त्र र पागल’, विवश वस्तीको ‘भाडसाबसित जवाफ छैन’, विनोद सेनको ‘नमरेको आशा’, रोहित दाहालको ‘विडम्बना’, पुन्य कार्कीको ‘दिल्लीको यात्रा’, ऋषिराज बरालको ‘पछवरिया टोल’, पुन्य गौतमको ‘सङ्कल्प’, आदि कथाले बहुदलीय व्यवस्था अन्तर्गत गरिने चुनाबी नौटङ्की, लगायत बहुदलीय व्यवस्था सिर्जित विसङ्गत अवस्थाको कटु आलोचना गरेका छन् भने खगेन्द्र सङ्ग्रौलाको ‘बलिदानको भ¥याङ मास्तिर’, इस्मालीको ‘संस्कार’, ऋषिराज बरालको ‘कामरेडको सपना र धनमायाको सत्य कथा’, घनश्याम ढकालको ‘कामरेड मुखिया’, हरिगोविन्द लुइँटेलको ‘हवस् त लालसलाम’, दिल साहनीको ‘कामरेड जगबहादुृर’, पुन्य खरेलको ‘मखुण्डो’ आदि कथाले कम्युनिष्ट पार्टी, क्रान्तिकारी व्यक्ति तथा सर्वहारा वर्गीय पक्षधरताको वकालत गर्नेहरुमा देखिएको वैचारिक विचलनको कठोर आलोचना गरेका छन् । यस चरणका कथाले असमान सन्धि संझौताको विरोध, राष्ट्रिय स्वनाभिमानप्रतिको चिन्ता र विदेशिनु पर्ने पीडाको अभिव्यक्ति पनि दिएका छन् । त्यस्ता कथाहरुमा हरिहर खनालको ‘निलो सुन’, खगेन्द्र सङ्ग्रौलाको ‘नकटो दोर्जेको सालिक’, सरल सहयात्रीको ‘दुई मृत्यु’, लीला श्रेष्ठको ‘फकल्याण्ड’, कुसुम ज्ञवालीको ‘भ्यालेनटाइन डे’, अशोक सुवेदीको ‘मेरी बहिनी’, विनय कुमार कसजूको ‘विकासे भाले’ , अनिल श्रेष्ठको ‘विभाजित आकाश’, घनश्याम ढकालको ‘पट्टामा अनुवाद भएको जिन्दगी’, भाष्करको ‘यहाँ पनि उस्तै हुँदा रहेछन्’ आदि उल्लेख्य हुन सक्छन् भने आन्दोलनका सहिदहरुप्रति अनास्था र उपेक्षा भावको कटु आलोचना गर्नै कथाहरुको सूचीमा हरिहर खनालको ‘चौंतिसौं सहिद’, घनश्याम ढकालको ‘सहिद मानचित्रमा नपरेको सहिद’, खगेन्द्र सङ्ग्रौलाको ‘सहिद’ विवश वस्तीको ‘सहिद दिवसले जन्माएको सहिद’, ऋषिराज बरालको ‘फलामको मान्छे’, अनिल श्रेष्ठको ‘ऊ अझै जीवित छ’ आदि रहेका छन् । त्यसरी नै नारीहरुमाथि हुने सबै प्रकारका उत्पीडनको विरोध र नारी अस्मिताको रक्षाको प्रतिबिम्बन गर्ने हरिहर खनालको ‘विगत आवगत’, विवश वस्तीको ‘माडसाब र गाउँ’, इस्मालीको ‘सङ्क्रमण’, अनिल श्रेष्ठको ‘मृत्युसँगै बाचेको जीवन’ अनि दलित उत्पीडित र विपन्न वर्गीय सुकुमबासीमाथि हुने अन्याय र उत्पीडनको आलोचना गर्ने कथाहरुमा इस्मालीको ‘बाटो’ खगेन्द्र सङ्ग्रौलाको ‘सङ्ग्राम बहादुर सार्की’, रोहित दाहालको ‘अब गाउँ बिउँझियो’, घनश्याम ढकालको ‘एउटा विद्रोह’, पुन्य कार्कीको ‘फाटेको स्वीटर’, हरिहर खनालको ‘अजम्मरी गाउँ’, अनिल श्रेष्ठको ‘घाइते विपनाहरु’ आदि उल्लेख्य रहेका छन् ।


३) कथागत प्रवृत्ति 

यस चरणको कथा लेखनका खास खास प्रवृत्तिलाई बुँदागत रुपमा यसरी समेट्न सकिन्छ  : 

* यथास्थितिको आलोचना, वर्ग सङ्घर्षको प्रतिविम्बन र भविष्य प्राप्तिको चेष्टा, 
* वीरता, साहस र बलिदानको महिमागान,
* क्रान्तिकारी आदर्श, उदात्त विचार र उन्मुक्तिको अभिव्यञ्जना, 
* युद्धकौशल, चातुर्य र संयमको प्रतिविम्बन,
*राज्यद्धारा चलाइएको जनहत्या र राज्यआतङ्को कटु आलोचना तथा तीव्र विरोध, 
* बहुदलीय व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विसङ्गति, विद्रुपता तथा विषमताको आलोचना,
* कम्युनिष्ट पार्टी तथा व्यक्ति राजनीतिज्ञमा देखिएको विचलन तथा भडकाउ वृत्तिप्रति असन्तुष्टिको स्वर,
* विदेशी अतिक्रमणको विरोध र राष्ट्रिय स्वाभिमानप्रतिको चिन्ता 
* सहिदप्रति अनास्था र उपेक्षा भावको विरोध तथा सहिदहरुप्रति गहिरो आस्थाभावको सम्प्रेषण,
* नारीहरुमाथि हुने सबै प्रकारका उत्पीडन र विभेदको कटु आलोचना तथा नारी अस्मिताको रक्षाका खातिर अन्मुक्तिको अभिव्यञ्जना,
* विपन्न वर्गीय दलित, उत्पीडितमाथि हुने शोषण तथा थिचोमिचोको विरोध,
* सहरीया जीवन परिवेशका साथै कथामा गाउँले जीवनका वैषम्य र वेथितिको प्रस्तुति,
* कथामा दर्शन एवम् राजनीतिको प्रवेश,
* विषयगत एवम् प्रस्तुति शैली संरचनागत विविधता,
* उत्तरोत्तर लघु आयामका कथा (लघु कथा) लेखनमा रुचि, 
* अधिकतम रुपमा रैखिक ढाँचाका कथाको प्रस्तुुति,
* आख्यानात्मक संरचना अनुरुप आदि, मध्य र अन्त्यको तार्किक विन्यास,
* तात्क्षणिक रेखीय कथानकको विकास र विन्यास,
* मध्यम प्रकृतिको कथानक विस्तार, अंशमा पोखिनुको हतार,
* निम्न मध्यम तथा निम्न वर्गीय जीवनका उच्च उदात्त एवम् गतिशील पात्रको चयन र प्रारुपीकरण, 
* नारी पात्रको उदात्तीकरणका साथ त्यागी एवम् सङ्घर्षशील नारी पात्रको चयनमा रुचि,
* अधिकांशतः समाख्यानात्मक एवम् अंशतः नाटकीय विधिको प्रयोग,
* अधिकांशतः तृतीय पुरुष शैली र सर्वज्ञाता दृष्टिबिन्दुका कथा लेखनको अभ्यास,
* गाउँ तथा सहर दुवैलाई कार्यपीढिका बनाइनु,
* सन्देश, कथ्य, सारवस्तु, विचार तथा भावस्वरुप वर्तमानको आलोचना तथा सङ्घर्षका माध्यमबाट उन्मुक्ति एवम् भविष्य प्राप्तिको अभिव्यञ्जना,
* विविधतायुक्त परिष्कृृत भाषाशैली, काव्यात्मक, आलङ्कारिक (सामान्य रुपमा) भाषाका साथै स्वेैरकल्पनाको प्रयोग,
* रुपविन्यासका तहमा सरल, सम्प्रेष्य रुपमा उखान टुक्का, दृष्टान्त, सूक्ति आदिको प्रयोग,


५.४ चौथो चरणको कथा लेखन  :  परिचय प्रवृति
१) सिर्जनात्मक परिवेश र पृष्ठभूमि 

२०६३ मङ्सिर ५ गतेको शान्ति संझौता पश्चात् मुलुकमा फरक परिवेशको निर्माण त भयो तर त्यसपछि न मुलुकमा शान्ति र अमनचयन कायम भयो न जनजीविका सम्बन्धी यावत समस्याको समाधान नै भयो । त्यति बेलादेखि वर्तमानसम्मको एक दशकको समयावधिमा राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक जीवनलाई प्रभावित गर्ने दर्जन बढी घटना प्रक्रिया घटित भएका छन् । २०६४ चैतमा पहिलो संविधान सभाको निर्वाचन, २०६५ जेठमा गणतन्त्रको घोषणा र निरङ्कुश राजतन्त्रको विधिवत् समाप्ति, नेपाली सेना र माओवादी सेनाको विधिसम्मत समायोजन नभई माओवादी सैन्य दस्तालाई विसर्जन, विखण्डन र पलायन गरिनु, पहिलो संविधान सभा साम्राज्यवादीहरुको चङ्गुलमा फसी अकर्मण्य साबित हुनु र त्यसको विघटन हुनु, साठीको दशकको अन्त्य र सत्तरीको दशकको आरम्भका बिचमा दस वर्षे जनयुद्धको नेतृत्व गरेको क्रान्तिकारी पार्टी (माओवादी)मा टुटफुट हुँदै आधा दर्जन बढी चिरा पर्नु, जनयुद्धका सहिद तथा वेपत्ता परिवार जनप्रतिको उपेक्षा, खिलराज रेग्मी नेतृत्वको अप्राकृतिक सरकार गठन र त्यस सरकारद्वारा आप्राकृतिक दोस्रो संविधान सभाको चुनाबी नौटङ्की सम्पन्न हुनु, २०७२ वैशाखको विनासकारी भूकम्प, २०७२ असोजमा संविधानको घोषणा, विमति स्वरुप मधेस आन्दोलन, भारतीय विस्तारवादद्वारा अघोषित नाकाबन्दी, चरम अभाव, भ्रष्टाचार र कालो बजारीले खुलेआम बैधता प्राप्त गर्नु र त्यसलाई नियन्त्रण गर्न सरकार पूर्णतः असफल हुनु तथा यी समस्त प्राकृतिक÷अप्राकृतिक घटना प्रक्रियाबाट जन जीवन अत्यन्त कष्टकर बन्दै गइ रहेको नियति हाम्रा सामु प्रस्टै छ । मुलुकमा लुटको साम्राज्य विद्यमान छ, न्यायको आवाज बुलन्द गर्ने सडकमा सन्नाटा छाएको छ र समग्रमा भन्दा यस समयावधिको मुलुकको जीवन परिवेश उत्तरोत्तर सङ्कटमा लुटपुटिएको छ । वस्तुतः यति वेलाको सिर्जना पनि उत्तरोत्तर सङ्कटमा फस्दो छ ।

शान्ति संझौता पश्चात् पनि क्रान्तिकारी शक्ति र आम जन मानसमा थोरै आशा र भरोसा बाँकी थियो, त्यो पनि उत्तरोत्तर चरम निराशामा परिणत हुन पुग्यो । सत्ताको मौजामा चत्तुर र चाकरहरु चरम स्वार्थमा निर्लिप्त भए, क्रान्तिकारी शक्ति र व्यक्ति पाखा लगाइए, हजारौं हजार युवाहरु प्लायन भएर खाडी मुलुकको तातो बालुवामा हेलिन पुगे । यी यस्ता नकारात्मक पक्ष र पाटाहरुका विपरित शान्ति प्रक्रियामा आइ सकेपछि पनि विभिन्न पत्रपत्रिकाको प्रकाशन, जनयुद्धका अनुभूतिको सङ्कलन स्वरुप सिर्जना गरिएका साहित्यिक कृतिको प्रकाशन भने उत्साहजनक रुपमा हुन थाल्यो । अखिल नेपाल लेखक सङ्घको पहलमा दस वर्षे जनयुद्धको प्रतिविम्बन गर्ने साहित्यको मूल्याङ्कनका रुपमा माक्र्सवादी साहित्य र जनयुद्धको सौन्दर्य प्रकाशित भयो जुन यस चरणको महत्त्वपूर्ण उपलब्धि थियो । त्यसै गरी काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न स्थानबाट पुराना र नयाँ पत्रपत्रिकाहरु –कलम, वेदना, जनसंस्कृति, प्रवर्तक, नयाँ यथाथर्, साहित्य सन्ध्या, जनघोष, उद्घोष ,पहल, शब्द संयोजन, शृङ्खला, गण्डकी सङ्गम, नौलो बिहानी, प्रलेस, फित्कौली आदिले पनि समाजवादी यथार्थवादी कथा लेखनका लागि अनुकूल वातावरण निर्माण गरेका छन् । त्यसै गरी प्रतिभा प्रवाह, साहित्य सन्ध्याका टुट अटुट शृङ्खला पनि यस समयमा कायमै रहे । यसो भए तापनि उत्तरोत्तर सङ्कटमा फस्दै गरेको सामाजिक राजनीतिक परिवेशका कारण समाजवादी यथार्थवादी नेपाली कथाले पनि ठोस दिशा र गति लिन नसकेको वास्तविकतालाई लुकाउन सकिन्न ।

२) सिर्जनात्मक स्थिति

यस चरणमा नयाँ पुस्ताका कथाकारको आगमन खासै भएको छैन । दोस्रो र तेस्रो चरणमा क्रियाशील स्रष्ठाहरुको नै बढी भन्दा बढी क्रियाशीलता रहन गयो । कथा लेखनका दृष्टिले नारायण ढकाल, प्रदिप नेपाल, राजव प्रभृत्ति कथाकारहरु तेस्रो चरणको आरम्भसँगै समाजवादी यथार्थवादी कथा लेखन सम्बन्धी मूलभूत प्रस्थापनाबाट विचलित हुनु तथा तेस्रो चरणको मध्यतिर आइपुग्दा खगेन्द्र सङ्गौला आख्यानेतर गद्य लेखनतर्फ प्रवृत्त हुनुले दोस्रो चरणदेखि कथा लेख्दै आएका अग्रज पुस्ताका यी कथाकारको यस चरणमा उल्लेख्य क्रियाशीलता रहन सकेन । वस्तुतः यस चरणमा क्रियाशील अन्य कथाकारहरुको उल्लेख तेस्रो चरणमा भइ सकेकाले यहाँ नामोल्लेख गरि रहनु आवश्यक देखिन्न ।

उपलब्ध तथ्याङ्कका आधारमा भन्नु पर्दा यस चरणमा प्रकाशित कथा सङ्ग्रह पनि न्यून सङ्ख्यामा रहेका छन् । यस चरण्मा प्रकाशित प्रमुख कथा सङ्ग्रहहरुमा कमल निओलको भोको रात (२०६५), मातृका पोखरेलको घाम झुल्किनु अघि (२०६७), विवस वस्तीका यस पटक फुलेनछ गुराँस (२०६७), र तला (२०६९), केशरी अम्मागाईको सपनाको दाह संस्कार (२०६८), अभय श्रेष्ठको तेस्रो किनारा(२०६८), दिल साहनीको क्यान्टोनमेन्ट (२०६७) र शिलाङका कथा (२०६९), रमेश प्रसाद चौलागाईको दमन र प्रतिरोध (२०६८), हीरामणि दुःखीको युद्धका कथाहरु (२०६७), सरला रेग्मीको लाल विधवा (२०६७), भीम क्षेत्रीका समय र मान्छे (२०७०) तृष्णा र तृप्ति (२०७०), नर पल्लवको उज्यालेको खोज (२०७१), ऋषिराज बरालको ऋषिराज बरालका प्रतिनिधि कथाहरु (२०६७) र बर्की नम्बर १३९९९ (२०७१), नारायण मरासिनीको हेड्सरका कथाहरु (२०७१), हरिहर खनालको युद्धको पीडा (२०७२) आदि रहेका छन् ।

यस चरणको कथा लेखन निरन्तरतामा रहेको र पुग नपुग एक दसकको मात्र समयावधि व्यतीत भइ रहेको अवस्थामा यस चरणका समग्र प्रवृत्तिको निरुपण संवभ देखिन्न । एकातिर केही हदसम्म अघिल्लो (तेस्रो) चरणका प्रवृत्तिले नै निरन्तरता पाइ रहेको स्थिति हो भने अर्कोतिर परिवर्तित परिवेश र घटना क्रम अनुरुप नवीनतम् प्रवृत्तिका सङ्केत पनि देखिन थालेका छन् । वस्तुतः अघिल्लो चरणकै कथा लेखनका प्रवृत्तिलाई निरन्तरता दिदैं जनहत्या र राज्यआतङ्कको विरोध गर्ने, सहिद तथा वेपत्ता परिवारजनप्रति सम्वेदनशील बन्दै सद्भाव प्रकट गर्ने अनि वीरता साहस र बलिदानको महिमगान प्रस्तुत गर्ने कथाहरुको सूचीमा ऋषिराज बरालको ‘अल्बम’ र ‘बर्की नंम्बर १३९९९’ मात्रिका पोखरेलको ‘घाम झुल्किनुअघि’, घनश्याम ढकालको ‘पछुता’े, शशीकिरणको ‘उडान’ टीकाराम उदासीको ‘थाप्लेचौर’ हीरामणि दुःखीको ‘सहिदकी आमा’ घनश्याम ढकालको ‘पीडा प्रतीक्षाको, हरिहर खनालको ‘सपना र सहिद’ र ‘क्यान्टोनमेन्ट’ नारायण मरासिनीको ‘आतङ्ककारीको मृत्यु’ , उदय बहादुर चलाउनेको ‘समर यात्रा’ आदि रहेका छन् । यस अतिरिक्त यस चरणमा आइ सकेपछि र खास गरी शान्ति प्रक्रियापछि उत्तरोत्तर निराशाको बादल मडारिन थाल्नु, क्रान्तिकारी पार्टीमा विखण्डन, विसर्जन र पलायनको स्थिति सिर्जना हुनु, आम जनमानसमा सञ्चार भएको आशा र भरोशामा तुषारपात हुनु जस्ता प्रवृत्तिको प्रतिविम्बन गर्ने कथाहरुमा ऋषिराज बरालको ‘अर्थात् टीकारामहरु’, ‘बाँसुरीवादक’, ‘अर्को गन्तव्य’, ‘अविनास÷अविनासहरु’ कमल निओलको ‘युद्धको गाथा र मान्छेको कथा’, गङ्गा श्रेष्ठको ‘लिम्बुनी आम’ै, प्रभात चलाउनेको ‘सडकमा छाडिएको सांझ’, नारायण अधिकारीको ‘पश्चाताप’ आदि रहेका छन् । त्यसै गरी यस चरणका कथामा खाडी मुलुकका साथै अन्य मुलुकमा पलायन हुनु पर्ने बाध्यात्मक स्थितिको प्रत्यङ्कन पनि भएको छ । आन्दोलन सङ्कटमा पर्नु, सरकार जनताप्रति गैर जिम्मेवार हुनु तथा जीवीकोपार्जनका समस्या जस्ता कारणबाट विदेशिनु पर्ने बाध्यात्मक स्थितिको चित्रण गर्ने कथाहरुमा हरिहर खनालका ‘डाइभर्सिटी भिसा’, ‘अमेरिकामा बुद्ध’ र ‘सर्कस –सर्कस’ केशरी अम्मागाईका ‘विवशता’, ‘भिजिट भिसा’, र ‘फेरि अर्को सपना ढल्यो’ आदि उल्लेख्य रहेका छन् ।

३) कथागत प्रवृत्ति 

यस चरणको कथा लेखन निरन्तरतामा हुनाले अहिले नै किटानी साथ प्रवृत्तिको निरुपण गर्नु त्यति वस्तुसम्मत देखिन्न । मुलुकमा विद्यमान परिस्थिति, त्यसले सामाजिक जीवनमा पारेको प्रभाव तथा कथा लेखनमा त्यसको प्रतिविम्बन के कसरी हुँदै जाला र यस चरणको समग्र समाजवादी यथार्थवादी कथा लेखनले समय सीमा तथा सिर्जना वैशिष्ट्यका साथ के कस्तो आकार ग्रहण गर्ला भन्ने जिज्ञासा बाँकी नै छन् । यस तात्पर्यमा सिङ्गो चरणको कथागत प्रवृत्ति भन्दा पनि अहिलेसम्मको कथा लेखनलाई आधार बनाएर यसले सङ्केत गरेका केही प्रवृत्तिलाई बुँदागत रुपमा यसरी प्रस्तुत गर्न सकिन्छ  : 

* वीरता, साहस र वलिदानका गाथाको प्रस्तुतिमा निरन्तरता 
* जनहत्या र राज्य आतङ्कको विरोध र भण्डाफोर
* सहिद तथा वेपत्ता परिवार जनप्रति सहानुभूतिशील हुँदै सम्मान एवम् आदरभावको प्रस्तुति, 
* क्रान्तिकारी पार्टीमा मौलाएको विखण्डन, विसर्जन एवम् पलायन वृत्तिको कटु आलोचना,
* बेरोजागार हुनुका कारण, जीविकोपार्जनका लागि विदेशिनु पर्ने नियति र विवशताको चित्रण,
* सरकार र सरोकारवाला नियकायसँग सम्बन्धित वेथिति र विसङ्गतिको आलोचना,
* रैखिक ढाँचाको कथानक विन्यासमा रुचि,
*पात्रका अन्तर कुन्तरको सूक्ष्म अन्वेषण तथा वस्तुगत अवस्थाको प्रत्यङ्कन ,
*वर्गीय एवम् गतिशील पात्रका माध्यमबाट जीवनका जटिलताको अनुशीलन,
* समारव्यानात्मक एवम् संवादात्मक विधि तथा कथन पद्धति,
*अधिकतम रुपमा बाह्य द्वन्द्वको प्रस्तुति र अंशतः आन्तरिक द्वन्द्वको प्रस्तुति,
* बाह्य वस्तुगत एवम् आन्तरिक मनोगत परिवेशको साथमा घटना शृङ्खलाको विकास र विस्तार,
* अधिकांशतः बाह्य सर्वज्ञाता एवम् अंशतः बाह्य सीमित एवम् आन्तरिक दृष्टिविन्दुको प्रयोग,
* बाह्य बनोट एवम् आन्तरिक बुनोटका सन्दर्भमा परिपक्वता नदेखिनु,
* सामान्यतया बिम्बात्मक, आलङ्कारिक एवम् स्वैरकल्पनात्मक कथा लेखनमा रुचि,
* अपेक्षाकृत रुपमा सबल एवम् सघन संरचनाको निर्माण हुन नसक्नु,
* भाषिक विन्यासमा निखरोपन आउन नसक्नु ( विशेषत  :  नयाँ पुस्ताका कथाकारमा कथामा),
* सङ्घर्षमय जीवनका जीवन्त अनुभूतिको आख्यानीकरण गर्ने सतत् प्रयास ।

६. निष्कर्ष

नेपाली कथामा समाजवादी यथार्थवाद  :  प्रभाव र विकास विषयमा प्रस्तुत गरिएको यस कार्यपत्रबाट प्राप्त निष्कर्षलाई तलका बुँदामा समेट्ने प्रयास गरिएको छ  :  

१) वि.सं १८२७ देखि आरम्भ भएको लेख्य नेपाली कथा परम्पराले झण्डै १८० वर्षको समयावधि व्यतित गरेपछि मात्र समाजवादी यथार्थवादी कथा लेखनको आरम्भ एवम् विकास भएको पाइन्छ । 

२) समाजवादी यथार्थवादी नेपाली कथाको खास आरभ्म २००९ साल जेठको सेवा (१  :  ३) मा प्रकाशित भवानी प्रसाद शर्माको यो ‘अत्याचार’ हो, रमेश विकलको ‘आँसुले भिजेको हाँसो’ र जनक बहादुर क्रमाचार्यको ‘नारीत्वको क्रय’ शीर्षकका कथाबाट भएको हो भने यसै वर्ष प्रकाशित सामूहिक सङ्कलन कामरेड जाने होइन ? र श्री शर्मा (भवानी प्रसाद शर्मा) को आत्मज्वाला कथा सङ्ग्रहलाई पनि आरम्भ बिन्दु मान्न सकिन्छ । 

३) झन्डै १८० वषको नेपाली कथा परम्पराका साथै राजनीतिक, सामाजिक, आर्थिक एवम् साहित्यिक सांस्कृतिक पृष्ठभूमि र सिर्जन आधार प्राप्त गर्दै समाजवादी यथार्थवादी कथा लेखनको आरम्भ र उत्तरोत्तर विकास भएको हो ।

४) उपर्युल्लिखित पृष्ठभूमिका साथै राणा विरोधी आन्दोलन र २००७ सालको दिल्ली संझौता, नेपाल कम्प्युनिष्ट पार्टीको स्थापना, सामूहिक एवम् सङ्गठित प्रयासको भूमिका, बाह्य मुलुकको प्रभाव तथा उच्च वैचारिक एवम् उन्नत सौन्दर्य मूल्यको खोजी जस्ता घटना प्रक्रियाको प्रभाव स्वरुप २००९ सालबाट समाजवादी यथार्थवादी कथा लेखनको आरम्भ भएको हो । 

५) नेपाली समाज विकासको वस्तुगत आधार एवम् सिर्जन वैशिष्टयका आधारमा समाजवादी यथार्थवादी नेपाली कथाको आरम्भदेखि वर्तमानसम्मको यात्रालाई मोटामोटी रुपमा पहिलो चरण (२००९–२०१६), दोस्रो चरण (२०१७–२०४५), तेस्रो चरण (२०४६–२०६३ र चौथो चरण (२०६४ –हालसम्म )भनेर प्रमुख चार चरणमा वर्गीकरण गर्न सकिन्छ । 

६) पहिलो चरणको कथा लेखनमा समाजवादी यथार्थवादी मूल्यको अनुसरण र शिल्पगत परिष्कार भन्दा पनि आवेग , आक्रोश र पोखिनुको हतार देखिन्छ । यस चरणका कथामा नेपाली ग्रामीण जीवनमा व्याप्त शोषण उत्पीडनको आलोचना, दिल्ली संझौता, गोरखा भर्तीकेन्द्र र साम्राज्यवादी उत्पीडनको विरोध, बसाइ सराइ, विदेशिनु पर्ने समस्या तथा नारी विषयक विभिन्न समस्याको प्रस्तुति पाउन सकिन्छ । यस चरणमा सामूहिक सङ्कलन तथा व्यक्ति स्रष्टाका झण्डै दुई दर्जन बढी कथा सङ्ग्रह प्रकाशित देखिन्छन् । 

७) दोस्रो चरणको आरम्भतिर समाजवादी यथार्थवादी कथा लेखनमा केही सङ्कट देखिए पनि उत्तरोत्तर यस चरणको कथा लेखन गुणात्मक एवम् परिमाणात्मक रुपमा सबल बन्दै समाजवादी यथार्थवादी मूल्यबोध तथा परिष्कृत शिल्प संरचनाका दृष्टिले पनि प्रभावी रहेको छ । यस चरणका समाजवादी यथार्थवादी कथाले निरङ्कुश पञ्चायती व्यवस्थाद्वारा सिर्जित विसङ्गति, ग्रामीण जीवनका विषमता र वेथिति, राजनीतिक, आर्थिक, सामाजिक एवम् सांस्कृतिक बितण्डा तथा साम्राज्यवादी युद्धआतङ्क र राष्ट्रिय स्वाभीमानलाई विषयालम्वन बनाएका छन् । 

८) समाजवादी यथार्थवादी कथा लेखनको तेस्रो चरण भन्नु परिमाणात्मक एवम् गुणात्मक दृष्टिले परिष्कृत एवम् उन्नत कथा लेखनको समय हो । यस चरणमा पुरानो पुस्ताका कथाकारको निरन्तरताका साथै नयाँ पुस्ताका कथा स्रष्टाको पनि उल्लेख्य क्रियाशीलता रहनुका साथै दुवै पुस्ताका कथाकारले उदात्त विचार र उन्नत चेतनाको सम्प्रेषण गर्दै कथा मार्फत जनयुद्धको सघन प्रक्रियामा विद्यमान वीरता, साहस र वलिदानको महिमागान प्रस्तुत गर्नुका साथै जनहत्या र राज्य आतङ्कको विरोधमा विशेष रुचि देखाएका छन् । त्यसरी नै यस चरणका कथाकाले बहुदलीय व्यवस्थाद्वारा सिर्जित राजनीतिक, सामाजिक विसङ्गति र विरुपावस्थाप्रति विरोध र विमतिका स्वर सुशेल्ने काम गरेका छन् । 

१०) २००९ सालदेखि आरम्भ भएको समाजवादी यथार्थवादी कथाले कथा कला सम्बन्धी सर्व स्वीकृत सौन्दर्य मूल्य र उदात्त चेतनालाई आत्मसात् गर्दै जीवन जगत्का वैविध्यको प्रस्तुतिका साथ उत्तरोत्तर समृद्ध एवम् सशक्त कथाधाराको प्रतिष्ठा प्राप्त गरेको छ ।

११) पहिलो चरणको कथा लेखन आदर्श प्रेरित एवम् आवेगात्मक रहेको र चौथो चरणको कथा लेखनले निश्चित आकार ग्रहण गरि नसकेको स्थितिमा दोस्रो र तेस्रो चरणको कथा लेखन बढी प्रभावी रहेको छ भने यी दुई चरणमा पनि तेस्रो चरणको कथा लेखन परिमाणात्मक एवम् गुणात्मक दुवै दृष्टिले बढी सबल र समृद्ध रहेको छ । 

सन्दर्भ ग्रन्थ सूची 

अधिकारी, रविलाल (२०५६), प्रगतिवादी नेपाली समालोचना, पोखरा  :  लेकाली प्रकाशन । 
अर्याल, मुरारी (२०४९), माक्र्सवादी सौन्दर्य विधान र आलोचना, काठमाडौं  :  सृष्टि प्रकाशन । 
उप्रेती, प्रेम आर (सन् १९४८), नेपाल अ स्माल नेशन इन द भर्टेक्स अफ इन्टरनेशनल कन्ल्फिक्ट (१९००–१९५०), काठमाडौं  :  पुगो मि । 
के.सी., सुरेन्द्र (२०५६), नेपालमा कम्युनिष्ट आन्दोलनको इतिहास, दो.सं., काठमाडौं  :  विद्यार्थी पुस्तक भण्डार ।
गुरुङ, लीलाचक्र (२०४५), “मेचीको साम्यवादी आन्दोलन  :  बीजारोपण र विकास” स्नातकोत्तर शोधपत्र त्रि.वि. ।
गोरला (२०५५), “आधुनिक नेपाली कथा र प्रगतिवाद”, वेदना (पू. ४५), पृ. ३४–४६ । 
गौतम, देवी प्रसाद (२०५४, सम्पा.), नेपाली कथा, काठमाडौं  :  नवीन प्रकाशन । 
चापागाईं, निनु र अन्य (२०४६,सम्पा.), प्रतिनिधि नेपाली कथाहरु, काठमाडौं  :  स्रष्टा प्रकाशन । 
चापागाईं निनु (२०५१), यथार्थवादी रचना दृष्टि र विवेचना, काठमाडौं  :  दिल वरदान र महिम चापागाईं ।
ढकाल, घनश्याम र अन्य (२०६७, सम्पा.) माक्र्सवादी साहित्य र जनयुद्धको सौन्दर्य, काठमाडौं  :  अखिल नेपाल लेखक सङ्घ । 
ढकाल, नारायण (२०५१), “भूमिका” इरफान अली, काठमाडौंः लहर प्रकाशन । 
ढुङ्गेल, विपिनदेव (२०४२), “समाज सेवी पत्रकार ठाकुर चन्दन सिंह” गरिमा (३२, साउन), 
पृ. ३७–४८) ।
दीर्घ बहादुर (२०४०), “नेपालमा साम्यवादी आन्दोलनको सङ्क्षिप्त इतिहास”, ज्वाला (११  :  ३२), पृ. ८ । 
देवकोटा, ग्रिष्म बहादुर (२०३३), नेपालको राजनीतिक दर्पण, दो.स., काठमाडौं  :  भट्टराई बन्धु । 
........................... (२०३६), नेपालको राजनीतिक दर्पण, प्रथम भाग, दो.स., काठमाडौं  :  ध्रुव कुमार देवकोटा । 
नेपाल कम्युनिष्ट पार्टीको घोषणापत्र सन् १९४९ (२०४०), “पुनर्मुद्रण”, युगधारा (माघ– १४)
पुष्पलाल (२०५४), छानिएका रचनाहरु, भाग– १, काठमाडौंः पुष्पलाल स्मृति प्रतिष्ठान । 
पुष्पलाल, (२०५४), छानिएका रचनाहरु, भाग तिन, काठमाडौं  :  पुष्पलाल स्मृति प्रतिष्ठान । 
पौडेल, गोपीन्द्र (२०५९), सौन्दर्यबोध र समीक्षा विविध, काठमाडौं  :  उर्मिला पौडेल । 
.......................... (२०६२), “प्रगतिवादी नेपाली कथाका प्रवृत्ति” विद्यावारिधि शोध प्रबन्ध, त्रि.वि. । 
......................... (२०७०) नेपाली कथामा २००७ सालको प्रभाव, काठमाडौं  :  उर्मिला पौडेल । 
........................ (२०७०) कथाको सिंहावलोकन, काठमाडौं  :  प्रज्वल पौडेल-प्रताप पौडेल । 
प्रभात, विष्णु (२०६३), प्रलेसको सङ्क्षिप्त इतिहास, काठमाडौं  :  विवेक सिर्जनशील प्रकाशन । 
बराल, ऋषिराज (२०४८), “प्रगतिवादी नेपाली उपन्यासका मूल प्रवृत्ति”, विद्यावारिधि शोध प्रबन्ध, त्रि.वि. । 
भट्ट, गोविन्द (२०४०), “म्याक्सिम गोर्की, हाम्रो गाउँ र नेपाली साहित्य”, आगमन (२  :  २), पृ. १२–१३ । 
मिश्र, शिव कुमार (सन् १९९२), माक्र्सवादी साहित्य चिन्तनः इतिहास र सिद्धान्त भोपालः मध्य प्रदेश हिन्दी ग्रन्थ अकादमी । 
रावल, भीम (२०४७), नेपालमा साम्यवादी आन्दोलन  :  उद्भव र विकास, काठमाडौं  :  पैरवी प्रकाशन । 
लोहनी, गोविन्द प्रसाद र अन्य (सन्१९५२, सम्पा.), कामरेड जाने होइन?, काशी  :  प्रगतिशील प्रकाशन मण्डल ।
शर्मा, तारानाथ (२०३९), नेपाली साहित्यको इतिहास, दो.सं. काठमाडौं  :  सङ्कल्प प्रकाशन । 
शर्मा, बालचन्द्र (२०३३), नेपालको ऐतिहासिक रुपरेखा, वाराणासी  :  कृष्ण कुमारी देवी । 
श्रेष्ठ, दयाराम (२०३९, सम्पा.), पच्चिस वर्षका नेपाली कथा, काठमाडौं  :  नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
....................... (२०५९), “नेपाली कथा साहित्यको विकास क्रम र वर्तमान सन्दर्भ” समकालीन साहित्य (१२  :  ४), पृ. १३—२७ । 
श्रेष्ठ, दयाराम र मोहनराज शर्मा, नेपाली साहित्यको सङ्क्षिप्त इतिहास, पां.सं., काठमाडौंः 
साझा प्रकाशन ।
श्याम प्रसाद (२०३८), थुनुवाको डायरी, काठमाडौं  :  लालिमा प्रकाशन । 
सङ्ग्रौला, खगेन्द्र (२०५०), “रमेश विकल  :  मेरा असल सहयात्री विफल नेता”, समकालीन साहित्य 
(३  :  २) पृ. ८७—९५ ।
सुवेदी, राजेन्द्र (२०५३), “यथार्थवादी नेपाली कथा परम्परा र समसामयिक कथ्य” कमल (४  :  २–३) पृ. ४७ । 

==================================






















































































































No comments:

Post a Comment