Friday, December 20, 2024

नेपाल प्रज्ञा–प्रतिष्ठानको ३८ औँ प्राज्ञ सभा सम्पन्न

 


काठमाडौँ, मङ्सिर २५  / नेपाल प्रज्ञा–प्रतिष्ठानको ३८ औँ प्राज्ञ सभा आइतवार सम्पन्न भएको छ । प्रज्ञा–प्रतिष्ठानका निमित्त कुलपति डा. जगमान गुरुङको सभाध्यक्षतामा प्राज्ञ सभा सम्पन्न भएको हो ।

३८ औँ प्राज्ञ सभाको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै निवर्तमान कुलपति गङ्गाप्रसाद उप्रेतीले आफ्नो कार्यकालमा सहयोग र सहकार्य गर्ने सबैलाई आभार व्यक्त गर्नुभयो । गर्नुपर्ने कामको दायित्व सम्बन्धित विभागको हुने भए पनि सबै विभाग, कुलपति र उपकुलपतिसहितको सहकार्य र छलफलबाट काम गर्ने राम्रो संस्कार बसेको उहाँले बताउनुभयो । छोटो समयमा महत्वपूर्ण कृति प्रकाशन गरेर सार्वजनिक गर्न सकेकोमा निमित्त कुलपति, निमित्त सदस्यसचिवसहित प्राज्ञ परिषद्लाई उहाँले बधाई दिनुभयो । प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् र सभाका सदस्यहरू, कर्मचारीहरू तथा सहयोगीहरूको सहकार्यमा आफ्नो नेतृत्वको टिमले काम गर्न सकेको उहाँको भनाइ थियो ।

नयाँ सरकार बनेसँगै प्रज्ञा–प्रतिष्ठानको मर्म नखलबलिने गरी नयाँ प्राज्ञ सभा र परिषद् गठन हुने उहाँले अपेक्षा गर्नुभयो । प्रज्ञा–प्रतिष्ठान गरिमामाय संस्थाको रूपमा रहेकाले नेपालको साहित्य प्रवद्र्धनमा आगामी दिनमा संवेदनशील बनी काम गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले नयाँ आउने टिमलाई काम गर्ने ठाउँ धेरै भएको उल्लेख गर्दै मात्र इच्छाशक्ति, क्षमता र योग्यता बोकेर आउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– “आगामी नयाँ नेतृत्वलाई मेरोे सम्पूर्ण सहयोग रहने छ ।”

पूर्व कुलपति बैरागी काइँलाले गणतन्त्र स्थापनापछिको तेस्रो प्राज्ञ परिषद्ले आयोजना गरेको ३८ औँ प्राज्ञ सभाको भव्य सफलताको शुभकामना व्यक्त गर्दै भन्नुभयो– “यो ज्ञान उत्पादन, निर्माण र वितरण गर्ने संस्था भएकोले अहिले जे जति काम भएका छन् सराहनीय छन् भन्ने मलाई लागेको छ ।” उहाँले नेपाल भौगोलिक आकारले सानो भए पनि ज्ञानगुनमाभने धनी रहेको उल्लेख गर्दै नेपालमा भएको विविधतालाई विश्वमा प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो ।
सभाका सभापतिसमेत रहनुभएका निमित्त कुलपति डा. जगमान गुरुङले प्रज्ञा–प्रतिष्ठानको आफ्नै ऐन र नियमावली भएकोले सोहीअनुसार नयाँ प्राज्ञ सभा परिषद् नबनुन्जेल निमित्तले काम गर्ने व्यवस्थाअनुसार नै सभा आयोजना गरिएको बताउनुभयो ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यले विभिन्न महत्वपूर्ण अध्धयन, अनुसन्धान र ग्रन्थहरूको प्रकाशनका लागि प्रज्ञा–प्रतिष्ठानलाई बधाई ज्ञापन गर्नुभयो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’ले नेपाल प्रज्ञा–प्रतिष्ठा वर्तमान प्राज्ञ परिषद् आफ्नो कार्यकालमा अतुलनीय काम गर्न सफल भएको बताउनुभयो ।

निमित्त सदस्य सचिव प्रा.डा. हेमनाथ पौडेलले सभाको औचित्य र सभाले यसअघि गरेका कामका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्रको विकास र प्रवद्र्धन गर्न प्रज्ञा–प्रतिष्ठान क्रियाशील रहेको बताउनुभयो । उहाँले वर्तमान प्राज्ञ परिषद्ले ३२१ ओटा अध्ययन, अनुसन्धान, २२७ ओटा गोष्ठी, सम्मेलन र कार्यशाला तथा ३८६ ओटा पुस्तक प्रकाशन र पुनः प्रकाशन भएको बताउनुभयो ।

सरकारको सहयोगमा मूल भवनको पुनर्निर्माण, प्रज्ञा आधुनिक छापाखाना सञ्चालन, भारत सरकारको सहयोगमा प्रज्ञा–पुस्तकालय भवन निर्माण गरिएको गरेको उहाँले जानकारी दिनुभयो । प्रज्ञा–प्रतिष्ठानलाई प्रशासनिक भवनको अभाव रहेकोले त्यो निर्माण गर्न पहल भइरहेको, महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर (कविकुञ्ज) लाई तोकिए भन्दा कम लागतमा महाकवि देवकोटा सङ्ग्रहालयका रूपमा निर्माण गरी सञ्चालनमा आएको, वेबसाइट पुनः डिजाइन गरी इबुक एप निर्माण गरिएको, प्रज्ञा नेपाली बृहत् शब्दकोशलाई एप निर्माण गरी निःशुल्क वितरण गरिएको पनि उहाँले जानकारी दिनुभयो । सातअटै प्रदेशका भूगोल र प्रकृतिका साथै त्यहाँ बस्ने जाति र तिनका भाषा, संस्कृति, इतिहास, कला, साहित्य, धर्म, दर्शन, परम्परा, सभ्यता, ज्ञान, विज्ञान आदि पक्षका स्थलगत अवलोकनसहित सातओटा आधिकारिक ग्रन्थ निर्माण गर्ने र तिनको सारसंक्षेपका रूपमा ‘नेपाल दर्पण’ तयार पार्ने क्रममा ‘मधेस दर्पण’ प्रकाशनको अन्तिम चरणमा रहेको उहँँले जानकारी दिनुभयो ।

नेपाली दर्शन, तस्बिरमा नेपाल, नेपालको सांस्कृतिक इतिहास, प्रज्ञा नेपाली बृहत शब्दकोश लगायतका पुस्तक तथा अनुसन्धान कृति प्रकाशन भइरहेको उहाँले बताउनुभयो । पूर्वकुलपति बैरागी काँइलाले ल्यापटपको कि थिचेर प्रज्ञा नेपाली बृहत शब्दकोश मोबाइल एप शुभारम्भ गर्नुभयो । मोबाइल एप प्राविधिक निर्माता नयाँ यात्रा प्रा.लि.का प्रमुख इन्जिनियर शिरिष पाण्डेले एपका बारेमा जानकारी दिनुभयो । उहाँले एन्ड्रोइड र एप्पल दुबै भर्सनमा यो एप तयार भएको बताउनुभएको थिभयो । इन्स्टल भइसकेपछि शब्द खोजेर अर्थ प्राप्त गर्न सकिने सरल र सहज किसिमले शब्दार्थ खोज्न सकिने उहाँले बताउनुभयो । शब्द र अर्थमा त्रुटी भए त्रुटी रिपोर्ट गर्न सकिने सुविधा पनि रहेको तथा अन्य केही सुझाव भए एप मार्फत नै दिन सकिने उहाँले जानकारी दिनुभयो ।

समारोहमा पूर्वउपकुलपति प्रा.डा. वासुदेव त्रिपाठी, पूर्वमन्त्री डा. मोदनाथ प्रश्रित, लोकसेवा आयोगका सदस्य तथा नेपाल प्रज्ञा–प्रतिष्ठान सेवा आयोगका अध्यक्ष दिनेश सिलवाल, भाषा आयोगका सदस्यहरू डा. अमर गिरी, मातृका पोखरेल, कृष्ण न्यौपाने, सांस्कृति संस्थानका निवर्तमान अध्यक्ष प्रेमनाथ अधिकारी, साझा प्रकाशनका सञ्चालक समिति सदस्य हरिप्रसाद भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा दर्शनशास्त्र विभागले तयार गरेको ‘नेपाली दर्शन’ ग्रन्थको पूर्वउपकुलपति प्रा.डा. त्रिपाठीले लोकार्पण गर्नुभयो । यसै गरी लोकवार्ता र बालसाहित्य विभागले तयार पारेको ‘नेपाली लोकवार्ता कोश’को निवर्तमान कुलपति उप्रेतीले लोकार्पण गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण प्राज्ञ सभा सदस्य शशी लुमुम्बूले गर्नुभएको थियो । कार्यक्रमका प्रतिवेदक आजको खबर डट कमका सम्पादक डिल्लीरमण सुवेदी रहनुभएको थियो ।
उद्घाटन सत्रको समानपछि बसेको प्राज्ञ सभाको बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ ।

000

https://sahityapost.com बाट साभार 

महाकवि लक्ष्मीप्रसाद देवकोटाको व्यक्तित्वचर्चा तथा रचनावाचन

 


काठमाडौँ, कात्तिक ४ / नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्मजयन्तीका अवसरमा महाकवि देवकोटाको व्यक्तित्वचर्चा तथा रचनावाचन कार्यक्रम आयोजना गरियो । प्रज्ञा–प्रतिष्ठानका निमित्त कुलपति डा. जगमान गरुङको अध्यक्षता र निवर्तमान कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्य रहेको कार्यक्रम पहिलो पटक महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय, मैतीदेवीमा आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि निवर्तमान कुलपति उप्रेतीले महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय सरकारका तर्फबाट निर्मित साहित्यकारहरूको पहिलो सङ्ग्रहालय भएको बताउनुभयो । उहाँले अनेकन बाधा अड्चनका बाबजुद सङ्ग्रहालय निर्माण गरिएको बताउनुभयो । उहाँले सङ्ग्रहालय निर्माण गरेर महाकवि देवकोटाका सामग्रीहरू सुरक्षित राख्न सकिएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले आम सर्जक, पाठक र दाताहरूको सहयोगबाट नै सङ्ग्रहालय निर्माण सम्भव भएको उल्लेख गर्नुभयो ।

विशिष्ट अतिथि पूर्व कुलपति बैरागी काइँलाले नेपाली वाङ्मयका क्षेत्रमा महाकवि देवकोटाको विशिष्ट योगदान रहेको उल्लेख गर्दै सङ्ग्रहालयको निर्माणले देवकोटाको योगदानलाई अमर तुल्याएको बताउनुभयो । उहाँले सङ्ग्रहालयलाई सबै कुराले पूर्ण गराउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका अध्यक्ष निमित्त कुलपति डा. गुरुङले पहिलो पटक महाकवि देवकोटा सङ्ग्रहालयमा महाकवि देवकोटाको जन्मजयन्ती कार्यक्रम मनाउन पाउँदा गौरव लागेको बताउनुभयो । उहाँले उपस्थित सबै पाहुनाहरूप्रति आभार प्रकट गर्नुभएको थियो ।

निवर्तमान सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय निर्माणका सम्बन्धमा प्रकाश पार्नुभएको थियो । उहाँले राम्रो काम गर्न खोज्दा बाधा गर्ने प्रवृत्ति देखिएको तर यसका बाबजुद निर्माण कार्य सम्पन्न गरिएको बताउनुभयो ।

कार्यक्रमको औचित्यमाथि प्रकाशसहित स्वागत मन्तव्य व्यक्त गर्दै निमित्त सदस्य सचिव प्रा.डा. हेमनाथ पौडेलले गत असोज २४ गते समुद्घाटन गरिएको सङ्ग्रहालयमा पहिलो पल्ट कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले यसअघि कवि, साहित्यकारहरूका जन्मजयन्ती कार्यक्रम प्रज्ञा–प्रतिष्ठानमै गरिँदै आएकामा अब देवकोटाको जन्मजयन्ती भने हरेक वर्ष सङ्ग्रहालयमै मनाइने बताउनुभयो ।

महाकवि देवकोटा सङ्ग्र्रहालय नेपाली सर्जकका लागि तीर्थस्थल भएको चर्चा गर्दै प्रा.डा. उषा ठाकुरले पन्त, प्रसाद, निराला र देवकोटाबिचको अन्तरसम्बन्धबारे चर्चा गर्नुभएको थियो ।

यसैगरी डा. देवी नेपालले देवकोटाले ‘कविताकाव्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको बहुआयमिक व्यक्तित्वको प्रतिबिम्बन’ विषयमा बोल्दै युगवाणीको सम्पादन गर्दा होस् या नेपाली साहित्य परिषद्का सभापति भएर काम गर्दा होस् उहाँले नेपाली साहित्यमा विशेष योगदान दिएको बताउनुभयो । उहाँले नेपाल प्रज्ञा–प्रतिष्ठानको परिकाल्पना गर्ने व्यक्तित्व नै महाकवि देवकोटा भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा ३० नं. वडाका अध्यक्ष दलबहादुर कार्की, महाकवि देकोटाकी सुपुत्री अम्बिकादेवी देवकोटा रिमाल, गोविन्द गिरी प्रेरणाले महाकवि देवकोटा र देवकोटा सङ्ग्रहालयका विभिन्न पक्षमाथि बोल्नुभएको थियो । कार्यक्रममा रामेश्वर राउत मातृदास, रेजिना आपगाई, बलराम दाहाल, देवु लुइटेल र मञ्जिला अनिलले देवकोटाका रचना वाचन गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण प्राज्ञ सभा सदस्य शशी लुमुम्बूले गर्नुभएको थियो ।

कार्यक्रममा प्राज्ञ परिषद्का सदस्यहरू, प्राज्ञ सभाका सदस्यहरू, पूर्व मन्त्री शान्ता मानवी, पूर्व राजदूतद्वय प्रा.डा. मोहनप्रसाद लोहनी, सुन्दरनाथ भट्टराई, भाषा आयोगका सदस्य मातृका पोखरेल, वरिष्ठ संस्कृतिविद् प्रा.डा. प्रेमकुमार खत्री, साझा प्रकाशनका महाप्रवन्धक प्रल्हाद पोखरेल, सांस्कृतिक संस्थानका निवर्तमान अध्यक्ष प्रेमनाथ अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

000

https://sahityapost.com बाट साभार 


Tuesday, December 25, 2018

निवर्तमान प्राज्ञ परिषद् पदाधिकारीहरूलाई स-सम्मान विदाई ।


काठमाडौं,
२०७५ पौष १३ ।


नेपाल प्रज्ञा–प्रतिष्ठान वर्तमान प्राज्ञ परिषद्ले निवर्तमान प्राज्ञ परिषद् पदाधिकारीहरूलाई स-सम्मान विदाई गरेको छ । विदाई समारोहमा प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ र सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले फूलमाला, सम्मानपत्र र मायाको चिनो समर्पण गरी निवर्तमान प्राज्ञ परिषद्का सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरी, प्राज्ञ परिषद् सदस्य मातृका पोखरेल र नर्मदेश्वरी सत्याललाई सम्मान गर्नुभएको थियो ।
विदाई समारोहमा अन्य प्राज्ञहरू भने व्यस्तताका कारण उपस्थित हुन सक्नुभएन । निवर्तमान प्राज्ञ परिषद्का कुलपति उप्रेतीसहित प्राज्ञ परिषद् सदस्य प्रा. दिनेशराज पन्त र प्रा.डा. उषा ठाकुर भने वर्तमान प्राज्ञ परिषद्मा पुनः अर्को कार्यकालका लागि मनोनित हुनभएको छ ।
समारोहमा कुलपति उप्रेतीले प्रज्ञा–प्रतिष्ठानको समग्र प्राज्ञिक उन्नयनका लागि निवर्तमान प्राज्ञ परिषद्का पदाधिकारीहरूले खेल्नुभएको भूमिका र पु¥याउनुभएको योगदानको मुक्त कण्ठले प्रशंसा गर्नुभएको थियो ।
कुलपतिले आगामी दिनमा पनि निवर्तमान प्राज्ञ परिषद्का पदाधिकारीबाट प्रतिष्ठानले रचनात्मक सहयोगको अपेक्षा गरेको बताउनुभयो । कार्यक्रममा उपकुलपति डा. गुरुङ र सदस्य सचिव प्रा. उपाध्यायले पनि बोल्नुभएको थियो ।
निवर्तमान सदस्य सचिव प्रा.डा. गिरीले वर्तमान प्राज्ञ परिषद्ले कुनै पनि प्राज्ञिक सहयोगका लागि सम्झेको खण्डमा सहयोगका लागि आफूहरू सदैव तयार रहेको बताउनुभएको थियो । कार्यक्रम तथा योजना महाशाखाका बुद्धि तिमिल्सिनाले सञ्चालन गर्नुभएको थियो ।
www.milapnews.com बाट साभार 
--------------------------------------------------