Sunday, February 14, 2016

" गणतन्त्रपछिका नेपाली कथाका प्रवृत्ति " विषयक गोष्ठी सम्पन्न

नेपाल प्रज्ञा - प्रतिष्ठान र अविरल साहित्य प्रतिष्ठानको सहकार्यमा २०७२ साल फागुन १ गते सिन्धुपाल्चोक जिल्लाको बाँडेगाउ - ४, सिपाधुसेनी, नयाँ पानीमा " गणतन्त्रपछिका नेपाली कथाका प्रवृत्ति " विषयक गोष्ठी सम्पन्न भयो । दुइ चरणमा सम्पन्न उक्त कार्यक्रमको पहिलो चरणमा अविरल साहित्य प्रतिष्ठानका अध्यक्ष यदुनाथ बसन्तपुरेको अध्यक्षतामा सम्पन्न भएको थियो। पहिलो चरणमा सम्पन्न उक्त कार्यक्रममा अविरल अङ्क - ५ को लोकार्पण प्रमुख अतिथि प्रा. राजेन्द्र सुवेदीले गर्नु भएको थियो । चर्चित छन्दकवि जगन्नाथ आचार्यले स्वागत मन्तव्य गर्नु गर्नु भएपछि कविहरु भुवनहरि सिग्देल, राम बहादुर पहाडी , श्रीराम राई , नारायण निरासी , श्याम बहादुर भाबुक र राज बहादुर बोगटीको कविता बाचन पछि प्रा.डा. कृष्ण प्रसाद घिमिरेले नेपाली कथाको समकालीन प्रवृत्तिका बारेमा संक्षिप्त मन्तव्य राख्नुभयो । नेपाल प्रज्ञा - प्रतिष्ठान, गध्य / आख्यान विभागका प्रमूख एवम् कार्यक्रमका विशिष्ट अतिथी मातृका पोखरेलले कार्यक्रमको औचित्यता र प्रमुख अतिथि राजेन्द्र सुवेदीले मन्तव्य राख्नु भएपछि पहिलो चरणको कार्यक्रम समापन भएको थियो ।

कार्यक्रमको दोश्रो चरणमा कविहरु भुवनहरि सिग्देल , चन्द्रप्रसाद नेउपाने, नारायण निरासी , ब्रह्मप्रिय प्रेमस्वरूप , बुद्धिप्रसाद तिम्सिना, नवराज दाहाल, शान्ति नेउपाने , श्रीराम राई , प्रतिक बराल , ठाकुर शर्मा , तुलसिहरी कोइराला , बैरागी जेठा, रचना आचार्य , बलराम घिमिरे , स्वतन्त्र ठुलदाइ , सिताराम आचार्य सागरले गीत प्रस्तुत गर्नु भएको थियो भने सरस्वती अधिकारी , महेश्वर सापकोटा , सरस्वती सापकोटा , रोशन सागरले गीतहरु प्रस्तुत गर्नुभएको थियो । समालोचक प्रा.डा. कृष्णप्रसाद घिमिरेले " गणतन्त्रपछिका नेपाली कथाका प्रवृत्ति " विषयक कार्यपत्रको प्रस्तुति पछि कार्यक्रमका विशिष्ट अतिथी मातृका पोखरेलको मन्तव्य पश्चात सभापति यदुनाथ बसन्तपुरेले उक्त कार्यक्रमको समापन गर्नुभएको थियो । औपचारिक कार्यक्रमको समापन पश्चात पनि कवि एवम् गीतकारहरुले धुनी बालेर आ-आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए ।

==============================================


कार्यपत्र 


गणतन्त्रपछिका नेपाली कथाका प्रवृत्ति


प्रा.डा. कृष्णप्रसाद घिमिरे

सारसङ्क्षेप

प्रस्तुत अवधारणा पत्रमा वि.सं. २०६२÷०६३ को जनआन्दोलन पछि नेपाली कथामा देखिएका मूल प्रवृत्तिलाई समेट्ने प्रयत्न भएको छ । सरकार, सशस्त्र द्वन्द्वरत पक्ष र अनमिनको बृहत् शान्ति सम्झौताबाट नेपाली राजनीतिमा देखिएको नयाँ तरङ्ग तथा चिन्तनलाई गणतन्त्रपछिका नेपाली कथाले कसरी चित्रण गरेका छन् ? त्यसको उत्खनन गरी अङ्कन गर्ने प्रयास भएको छ । यस सन्दर्भमा गणतन्त्र पछिको नेपाली कथा भन्नाले नेपाली भाषामा लेखिएका र व्यक्तिगत प्रयासमा प्राप्त तथ्यलाई मात्र आधार बनाइएको छ । दोस्रो जनआन्दोलनको समयपछि लेखिएका कथामा सामाजिक पक्षभित्र पर्ने प्रणय चेतना, द्वन्द्व सौन्दर्य, जागिरे मानसिकता, नारी समस्या तथा यौन सन्दर्भ र बहुलवादी चेतनाको निरन्तरता मुख्य रूपमा देखिएका छन् । त्यसमा पनि राष्ट्रिय सङ्घर्ष र द्वन्द्व एवं वर्ग सङ्घर्षको अभिव्यक्ति नै मुख्य रहेको पाइन्छ । यही गणतन्त्र पछिका चेतनालाई समसामयिक कथाका उदाहरणबाट प्रस्ट पार्ने प्रयत्न गरिएको छ । 

१. लोकतान्त्रिक गणतन्त्र 

नेपालको संविधानमा व्यवस्था भएअनुसार नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो । यसमा नेपाली जनताले पटक पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई सम्मान गरिएको छ (नेपालको संविधान–२०७२, प्रस्तावना) । लोकतान्त्रिक गणतन्त्रको प्राप्तिका निम्ति नेपाली जनता र नेपालका तत्कालीन सशक्त पार्टीहरूको भूमिका गौरवपूर्ण रहेको मानिन्छ । दोस्रो जनआन्दोलनमा नेपालको भू–भागमा अवस्थिति शिक्षित जनतामा साहित्यकारहरू स्वतः समावेश हुन्छन् । तिनीहरूका चेतनाले तत्कालीन र दीर्घकालीन परिस्थितिलाई साहित्यका विभिन्न विधाद्वारा प्रस्तुति दिएका हुन्छन् । त्यसमा कथाद्वारा गणतान्त्रिक चेतनाको उद्बोधन पनि गरिएको हुन्छ । त्यही चिन्तनलाई प्रवृत्तिका आधारमा निम्नानुसारले प्रस्तुत गर्न सकिन्छ :

२. लोकतान्त्रिक गणतन्त्रकालीन कथाकार 

नेपालमा गणतन्त्रको आगमन दोस्रो जनआन्दोलन वि.सं. २०६२÷०६३ बाट भएको हो । केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेदको अन्त्य गर्ने लक्ष्य आन्दोलनको भएअनुसार हाल नेपालको सार्वभौमसत्ता नेपाली जनतामा निहित रहेको छ । यसको प्राप्तिका लागि कथाकारहरू अग्रपङ्क्तिमा सृजनारत रहिरहेका छन् । गणतन्त्र पछिका कथाकाहरू मूलतः दुई धारमा विभक्त भएका छन् । एकथरीको चिन्तन गणतन्त्रद्वारा नै नेपाली समाजको उत्थान हुने भएकाले सशस्त्रद्वन्द्वको पक्षमा वकालत गरिरहेका छन् भने अर्काथरीको चिन्तन सशस्त्र द्वन्द्वको विपक्षमा रहेको छ । तिनीहरूले द्वन्द्वले निम्त्याएका विकृति र विसङ्गतिलाई देखाएर बहुदलीय चिन्तनद्वारा नै नेपाली समाजको उत्थान र भविष्य सुनिश्चित बनाउन सकिन्छ भन्ने रहेको छ । 

यी दुवैथरी कथाकारको लक्ष्य भने शोषणरहित वर्गविहीन नेपाली समाजको परिकल्पना हो । कतिपय आलोचकले यिनीलाई यथास्थितिवादी र परिवर्तनकारी कथाकार भनेर पनि चित्रण गरेका छन् । केही समालोचकहरूको धारणा बहुदलवादी वा उत्तरआधुनिकतावादी कथाकार भन्नेमा केन्द्रित छ भने केहीले यथास्थितिवादी र प्रगतिशील कथाकार गरी दुई वर्गमा छुट्याएको पनि पाइन्छ । समान्यतः गणतन्त्र पछिका कथाकारहरू नेपाली समाजमा रहेका अन्धविश्वास, कुरीति, कुसंस्कार तथा अर्धसामन्ति र अर्धउपनिवेशवादी चिन्तनका विकृतिहरूलाई तिरस्कार गर्नेमा एकमत देखिन्छन् । त्यसैले सामाजिक यथार्थवादी र समाजवादी यथार्थवादी कथाकारहरूको धार नै गणतन्त्रपछिका कथाको मूलधार हो । यी दुवै पक्षमा मनोविश्लेषणात्मक तथा नारीवादी एवम् प्रयोगशील कथाकारहरूको पनि उपस्थिति भेटिन्छ । 

गणतन्त्र पछिका कथाकारहरूमा पूर्व स्थापित र नयाँ कथाकार गरी दुई प्रकारका क्रियाशील रहेको देखिन्छ । पहिलादेखि नै कलम चलाइरहेका कथाकारहरूमा ऋषिराज बराल, मातृका पोखरेल, देविका तिमिल्सिना, शर्मिला खड्का, शरण राई, उपेन्द्र पागल, वनमाली निराकार, प्रदीप नेपाल, प्रदीप ज्ञवाली, धु्रवचन्द गौतम, इस्माली, विवेक बाबु, धु्रव सापकोटा, किशोर पहाडी, राजव, हरिहर खनाल, सिर्जना शर्मा, किशोर पहाडी, किशन थापा, रोशन थापा, रत्नमणि नेपाल, सीताराम नेपाल, नवराज रिजाल, कुमुद अधिकारी, कृष्ण अधिकारी, चन्द्रमणि अधिकारी, नवीन विभास, विजय चालिसे, ईल्या भट्टराई, निलम कार्की ‘निहारिका’, गोविन्द गिरी ‘प्रेरणा’, पद्मावती सिंह, परशु प्रधान, ध्रुवचन्द्र गौतम, तेजप्रकाश श्रेष्ठ, धु्रव मधिकर्मी, भाउपन्थी, माया ठकुरी, सनत रेग्मी, साधना प्रतीक्षा लगायतका करिब दुई सय जति कथाकारहरूको उपस्थिति देखिन्छ । नयाँ कथाकारहरूमा शिव प्रकाश, बखत बहादुर थापा, तुलसी थापा, प्रेम ओझा, सुविन भट्टराई, गङ्गा सुवेदी, गोविन्द सिंह रावत, कुमार नगरकोटी, दीपक जङ्ग हमाल, पवन आलोक, निरूपा प्रसून, विमलेन्द्र मिश्र, राजबाबु श्रेष्ठ, दिलीप शाह, डम्बर खतिवडा, मानसी, देवराज कार्की, भुवन त्रिपाठी, शशी थापा पण्डित, सुशीला प्रधानाङ्ग, सनत सापकोटा, कल्पना प्रधान, माधव सयपत्री, कृष्णप्रसाद घिमिरे, लक्ष्मणप्रसाद गौतम, विवश वस्ती, जेबी राई ‘रुमानी’ र गोविन्द कुसुम, सुकुम शर्मा लगायत छन् । लघु कथामा श्री ओम श्रेष्ठ, विनय कसजू, मोहनराज शर्मा, सुमन सौरभ, मणि लोहनी, नवराज रिजाल, पुष्करराज भट्ट आदि दर्जनौ कथाकारहरू गतिशील रहेका छन् । यी सबैका कथामा गणतन्त्रकालीन समयका प्रतिछापहरू प्रतिबिम्बित भएका छन् । 

३. गणतान्त्रिक चेतनाका उत्प्रेरक तत्व

गणतन्त्रकालीन नेपाली कथाका मुख्य तिनओटा उत्प्रेरक तत्त्व  रहेका छन् । ती हुन् : - राजनीतिक, आर्थिक र सामाजिक । वि.सं.२०५२ फागुन ७ गतेदेखि नेपालमा सशस्त्र द्वन्द्वको घोषणा भएको हो । त्यसमा राज्य पक्षले राजनीतिक समस्याको समाधान नखोजी अनावश्यक दमन गर्छ र अन्तर्राष्ट्रिय रूपमा माओवादी सङ्घर्षलाई मागी खाने भाँडो बनाएर प्रस्तुत गर्दछ । अर्कोतर्फ माओवादीद्वारा द्वैध शासनको सुरु गरिन्छ । दुवैतिरबाट सोझा नेपाली जनता मानव ढाल बन्छन् । सशस्त्र द्वन्द्वमा लागेकाहरूले आफ्नो रिस उठेका व्यक्तिलाई सुराकीका आरोपमा भौतिक कारवाही गर्दछन् । उनीहरूसँग हतियार भएका कारणले मनमा आक्रोश भए पनि नेपाली जनता मौन रहन्छन् । जनतालाई रोजीरोटीको समस्याभन्दा प्राण बचाउने र सुरक्षित रहने त्रासले आतङ्कित बनाएको हुन्छ । अन्तमा एमाले, माओवादी र काङ्ग्रेसको संयुक्त आन्दोलनबाट राजसंस्था फालिन्छ र २०६२÷०६३ को दोस्रो जनआन्दोलन पछि बृहत् शान्ति सम्झौताबाट नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना हुन्छ । यही राजनीतिक परिवेशबाट प्राप्त उपलब्धिलाई पहिलो उत्प्रेरक तŒवका रूपमा कथाकारले लिएको देखिन्छ ।

कथाकारहरूले दोस्रो र तेस्रो उत्प्रेरक तŒव आर्थिक र सामाजिक जीवनका परिदृश्यलाई बनाएका हुन्छन् । त्यसमा व्यक्तिका मानसिक अवस्थालाई पनि समावेश गरिएको हुन्छ । दोस्रो जनआन्दोलन पछि परिवर्तित सरकारबाट जनताले जे अपेक्षा राखेका हुन्छन्; त्यो चार–पाँच वर्ष बित्दा पनि प्राप्त हुने अभिलक्षण देखिँदैन । बोल्ने स्वतन्त्रता पाए पनि भोको पेट र कामविना खुम्चिएका हातलाई फैलिने अवस्था रहँदैन । काठमाडौंका बाँसबारी छालाजुत्ता कारखाना, हिमाल सिमेन्ट उद्योग र नवलपरासीको भृकुटी कागज कारखाना जस्ता उद्योगहरू बन्द गराउने तथा बेच्ने काम पहिला नै भइसकेको हुन्छ । हजारौं मजदुरहरूको रोजीरोटी खोसिन्छ । सरकारी स्वामित्वका उद्योगहरू डुबाएर निजीकरणको नाममा व्यक्ति मोटाउने काम हुँदा आम जनता महँगीको मारमा पर्दछन् । श्रमिकले आय आर्जन गर्ने वातावरण नहुँदा धेरै युवाहरू विदेशिन बाध्य हुन्छन् । यस्तो परिस्थितिमा बाँचेको नेपाली जनताको मानसिक, पारिवारिक र सामाजिक अवस्थाका साथै आर्थिक अवस्थाको चित्राङ्कन गणतन्त्र पछिका नेपाली कथामा हुन थालेको पाइन्छ ।

यही बेला २०७२ साल वैशाख १२ गते अर्थात् २५ अप्रिल २०१५ नेपालमा शनिबारको दिन दिउँसो ७.६ रिक्टर स्केलको भूकम्प जानु र त्यसका पराकम्पनले देशलाई क्षतविक्षत बनाउनु, नेपालको संविधान निर्माणमा देखिएका समस्याबाट तराई मधेशमा आन्दोलन हुनु, भारतले अघोषित नाकाबन्दी गर्नु लगायतका घटनावली देखिन्छन् । यसले आम नेपाली जनता मर्माहत र पीडित बन्दछन् । यी राष्ट्रिय अन्तर्राष्ट्रिय परिघटनाहरूले सचेत कथाकारलाई छुन्छ । कथाका पात्रद्वारा यसको समर्थन र विरोध गराइन्छ ।

आधुनिक नेपाली कथाले गणतन्त्रपछिका चेतनाका विविध पक्षलाई उद्घाटन गरिरहन्छ । देशलाई अप्ठ्यारो परेको बेला र राजनीतिमा सबै कुरा सह्य र पाच्य हुन्छ भन्ने मान्यतालाई वरण गर्दै नेपाली जनताले धेरै कुरा सहन्छन् । टाढाको कुरा देखेर अरुलाई भन्न सक्ने दृष्टि पाएका पौराणिक पात्र सञ्जय जस्ता बुद्धिजीवी समीक्षक, पत्रकार, साहित्यकार र चिन्तकहरू पनि मौन व्रत लिएर बस्दछन् । त्यसैको प्रतिफल वर्तमानको नेपाली सामाजिक र राजनीतिक स्थिति बन्दछ । यी सबै वर्तमानका गुण दोषणको आकलन गणतन्त्रकालीन नेपाली कथाको सामाजिक चेतनाद्वारा भइरहेको पाइन्छ । राजनीतिक परिवर्तनबाट सिर्जित सामाजिक मूल्य र मान्यतामा देखिएका अभिलक्षणहरू नै नेपाली कथामा पाइने सामाजिक चेतनाका उत्प्रेरक तŒवहरू बनेका देखिन्छन् । तिनै नेपाली कथामा प्रतिविम्बित सामाजिक चेतनाका विभिन्न प्रवृृृत्तिलाई यहाँ उल्लेख गरिएको छ । 
४. लोकतान्त्रिक गणतन्त्रकालीन कथाका प्रवृत्तिहरू 

दोस्रो जनआन्दोलनको उपलब्धिका रूपमा लोकतान्त्रिक गणतन्त्रलाई लिइन्छ । यसले समाज विकासको निर्माणमा महŒवपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिन्छ । चिन्तनको तहमा जातीय, लिङ्गीय, वर्गीय स्तरका कुनै पनि विभेद नरहने गरी अग्रगामी समाजको परिकल्पना यसमा गरिए तापनि संस्कारका कारणले व्यावहारिक तहमा त्यसो हुन सकेको देखिँदैन । त्यही कुराको उल्लेख गणतन्त्रकालीन कथामा प्रतिबिम्बित भएको पाइन्छ । 
तत्कालीन समाजको यथार्थबिम्ब साहित्यकारले प्रस्तुत गरिरहेका हुन्छन् । प्रस्तुत गर्ने ढाँचा यथार्थपरक, प्रगतिशील, मनोवैज्ञानिक, प्रयोगशील तथा काल्पनिक लगायत जस्तो पनि हुन सक्छ; तर त्यसले समाजको कुनै न कुनै सन्दर्भलाई जोडेको हुन्छ । गणतन्त्र पछिका कथाकारहरूले जनतामा विद्यमान रहेको मुख्य भावनालाई कथाबाट पस्कन चुकेका छैनन् । उनीहरूको सोचाइ जनभावना अनुसार नभएको हुँदा कतै निराशा, कतै व्यक्तिगत कुण्ठा र कतै आक्रोशका रूपमा पनि परिणत भएको देखिन्छ । तर जनताको जनजीविकाका सन्दर्भमा देखिने प्रचलनबाट कथाहरू टाढा रहेका छैनन् । उनीहरूले सामाजिक विसङ्गतिलाई कथाहरूमा खुलेरै चित्रण गरिएको देखिन्छ । 

४.१ प्रणय चेतनाको प्रस्तुति

गणतन्त्रकालीन कथाका प्रवृत्तिमा प्रणय चेतनाको प्रस्तुति सशक्त रूपमा प्रस्तुत भएको देखिन्छ । पचासको दशकमा अति न्यून रूपमा पाइने यस चिन्तनमा एक अर्काप्रतिको आकर्षणलाई नै केन्द्र बनाइएको हुन्छ । युवा–युवतीप्रति आकर्षित भएको वर्णन गर्ने परम्परागत परिपाटीमा केही भिन्नता थपिएको देखिन्छ । पहिले युवा युवतीप्रति आकर्षण भएको देखाइन्थ्यो भने अहिले युवतीहरू युवकप्रति आकर्षित भएको वर्णन हुन थालेको छ । वन्दना खालिङको ‘स्पर्श’ यस्तै कथा हो । यस कथामा सुजा नाम गरेकी पात्रले अरूण सरको स्पर्शलाई पटक–पटक यसरी सम्झेकी छ ः
मलाई उनका आशावादी विचारहरू मन पथ्र्यो, स्वावलम्बी हातहरू मन पथ्र्यो, प्रगतिवादी सोचहरू मन पथ्र्यो, अझ बढी उनको भावुकता मन पथ्र्यो, त्योभन्दा धेर उनको समग्रता मन पथ्र्यो, जहाँभित्र आफूलाई समाहित गरिरहूँ जस्तो ... ।

– वन्दना खालिङ, ‘स्पर्श’, आजका नेपाली कथा, (२०६८ : २५५) ।

कथाकार वन्दना खालिङले नारी मनको अवस्था, भाव संवेदना र आकाङ्क्षालाई ‘स्पर्श’ कथाद्वारा सघन रूपमा प्रस्तुत गरेकी छन् । उनको भाषामा सरसता देखिन्छ भने समसामयिक कथाकार अनमोलमणिको कथा कथनमा सरलता पाइन्छ । पेसागत कारणले गर्दा पनि भाषिक मिठासभन्दा सबैले बुझ्ने कथाको भाषामा उनले कथालाई प्रस्तुत गरेका हुन्छन् । उनको ‘नीलो रूमाल हराएपछि’ कथामा प्रणय चेतनाको प्रस्तुति यसरी गरिएको छ :

ऊ पिङ्क कलरको कुर्तामा थिई । यसले उसको सौन्दर्य निकै खुलेको थियो । उसको प्रेमी घ्यू कलरको सर्ट र त्यही कलरको पाइन्टमा आएको थियो । गहुँ गोरो ऊ पनि निकै ह्याण्डसम देखिएको थियो । चोइटिएको इँटाको टुक्राले ओत लिएर बसेको ठाउँमा विनासल्लाह सक्दो छिटोछिटो भुइँमा एकअर्काको नाम कोरेका थिए । अनि एक अर्कालाई हेरेर लजाएका थिए र फेरि एक अर्काको हत्केलामा नामको वर्णको पहिलो अक्षर लेखेको थिए । हत्केलामा निबले कोर्दा काउकुती लागेर उसले असहज महसुस गरेकी थिई ।

– अनमोलमणि, ‘नीलो रूमाल हराएपछि’, आजका नेपाली कथा, (२०६८ : १६) ।

यस कथामा अनमोलमणिले प्रेमलाई विषय बनाएका छन् । प्रेमीबाट विछोडिएकी प्रेमिकाले सम्झेको विगतलाई जीवन दर्शन बनाएर प्रस्तुत गरिएको छ । प्रेमविनाको जीवन र मायाविनाको संसार मानिसका लागि विरसिलो हुने भएकाले युवायुवतीको प्रणय चेतना मुख्य विषय बनेर यस समयका कथामा प्रस्तुत भएको पाइन्छ ।

४.२ द्वन्द्व सौन्दर्यको चित्रण

गणतान्त्रिक नेपाली कथाको एउटा सशक्त हाँगो द्वन्द्व सौन्दर्यको प्रस्तुतीकरणमा केन्द्रित देखिन्छ । पचासका दशकको मूल प्रवृत्ति बनेको द्वन्द्व सौन्दर्यलाई अन्य पाठक वा समीक्षकहरूले आलोचनात्मक यथार्थवादी बनेर स्वीकार गरेका छन् । माओवादी बनेर सङ्घर्ष गर्ने र राज्य पक्षलाई विरोधी मान्नेहरूले सशस्त्र द्वन्द्व र त्यहाँ हुने घटनालाई सौन्दर्यात्मक रूपमा ग्रहण गरेको पाइन्छ । उनीहरूको चिन्तनमा नै सशस्त्र सङ्घर्षलाई हेर्ने दृष्टिमा भिन्नता देखिन्छ ।

नेपाली कथामा सशस्त्र द्वन्द्वलाई दुई तरिकाले ग्रहण गरिएको छ । एक थरीको चिन्तनमा कलाहीन तरिकाले द्वन्द्वलाई चित्रण गर्ने धारणा पाइन्छ भने अर्को थरीले कलात्मक रूपबाट द्वन्द्वलाई विभिन्न विधामा प्रस्तुत गरेको देखिन्छ । कथालाई प्रस्तुतिको आधार बनाएर द्वन्द्व चित्रण गर्नेहरूमा ऋषिराज बराल, हरिहर खनाल, घनश्याम ढकाल, दिल साहनी, आदि देखिएका छन् । यसै धारामा नवीन विभास, नारायण ढकाल, मातृका पोखरेल, देविका तिमल्सििना लगायतले पनि आफ्नो धारणा कथाबाट प्रस्तुत गर्दै आएका छन् । यी सबै कथाकारको चिन्तन पुरानो राज्य सत्ताले जातीय, वर्गीय, लैङ्गिक क्षेत्रबाट अधिकांश जनतालाई पछाडि पारेको छ । त्यसका विरूद्ध सशस्त्र सङ्घर्ष गर्नु नेपाली जताको नैसर्गिक अधिकार हो भन्ने देखिन्छ । कथाकार दिल साहनी ‘क्यान्टोनमेन्ट’ कथामा यसरी सङ्घर्षको अवस्थालाई प्रस्तुत गर्दछन् :

कृषि बैंकमा बम विस्फोटको घटनालाई लिएर सुरक्षाकर्मीले उनलाई एक हप्ता जति हिरासतमा नै राखे । उनीहरूले कतिबेला प्रहरी थानामा त कति बेला व्यारेकमा पनि पु¥याए । केरकारको क्रममा ब्लेडले चिरेका, पिनले रोपेका, लाठीले हानेका, बुटले थिचेका घाउले अमरको शरीर क्षत विक्षत भैसकेको थियो । हात खुट्टा नचल्ने भैसकेका थिए । मुख सुनिएर नचिन्ने बनेको थियो । आँखा पुरिएका थिए । अघिल्ला दुईवटा दाँत झरेका थिए ।

– दिल साहनी, ‘क्यान्टोनमेन्ट’, जनघोष, (वर्ष १, अङ्क १, २०६४ : १६६) ।

एउटा विद्यालयको शिक्षक सोधपुछका लागि सेनाबाट लगिएर जुन अवस्थामा फर्किएको वर्णन यस कथामा गरिएको छ, त्यसले सशस्त्र द्वन्द्वको बेला निरपराध व्यक्तिले सेनाबाट पाउने दुःख र कष्टलाई विषय बनाउने अवस्थाको चित्रण गरेको छ । अमर पात्रको अवस्थालाई देखाउँदै सरकारी सेनाप्रति वितृष्णा फैलाउने र माओवादी जनयुद्धप्रति आस्था जगाउने काम यसमा देखाइन्छ । त्यही पिटाइले अमरपछि माओवादी जनयुद्धमा होमिएको तथा श्रीमती कमला, छोरी कविता र छोरो कपिल समेत छापामारको परिवार बनेको प्रस्तुत गरिन्छ । साहनीले ‘क्यान्टोमेन्ट’ कथाद्वारा नेपाली जनताले सशस्त्र सङ्घर्षमा गरेको त्याग र बलिदानको महत्तालाई चित्रण गरेका छन् । यस प्रवृत्तिका कथाले द्वन्द्वकालमा नेपाली नागरिकले शोकलाई शक्तिको रूपमा लिएको र बन्दुक बोकेर डाँडा, पाखा चहार्दा जनसेनाले राम्रो मानेको देखाएर सौन्दर्यको उत्खनन गरिएको छ । सशस्त्र द्वन्द्वको बेला माओवादीले प्रहरी र सेनालाई प्रहार गर्ने र उनीहरूले माओवादीलाई प्रहार गर्ने सामान्य घटना बनेको हुन्छ । त्यही क्रममा माओवादी पक्षधर साहित्यकारले प्रहरीको दोष देखाउने र जनमुक्ति सेनाको काम राम्रो भएको चित्रण गरेका हुन्छन् । 

माओवादीको सशस्त्र सङ्घर्षलाई कथाबाट द्वन्द्व सौन्दर्यको उद्घाटन गर्ने कथाकारमा ऋषिराज बराल र हरिहर खनालको नाम अग्र स्थानमा देखिन्छ । बराले ‘वनमान्छेको कथा’ (२०५४) सङ्ग्रहका प्रायः सबै कथामा पहिलेका मुखिया, जमिन्दार, शोषक सबै माओवादी सेनाको व्यवहारले त्रसित रहेको चित्रण गरेका छन् । बरालको यस सङ्ग्रहमा प्रकाशित ‘खत्री बालाई निद्रा लाग्दैन’ कथाले खत्री बालाई आफ्नै नोकर, चाकरबाट त्रसित भएर निद्रा नलागेको तथ्य प्रस्तुत गरेको छ । हरिहर खनाले ‘औँसीको रात’ (२०६५) कथामा पनि त्यही सन्त्रासमय जीवनको अभिव्यक्ति दिएका छन् ।

माओवादीबाट पीडित नेपाली जनताले मनमा डर–त्रास र भयलाई लिएर बाँचिरहेको उल्लेख कथाकार धु्रव सापकोटाले ‘अर्कै मान्छे’ कथामा गरेका छन् । माओवादीका लागि युद्ध राम्रो मानिए तापनि आम जनताका लागि भने मृत्युवरण गर्ने अभियान नै बनेको देखिन्छ ।

– त्यो चउरमा ऊ पुग्यो । त्यहाँ गाउँका सारा मान्छे जम्मा भएका थिए । थुप्रै लासहरूका वरिपरि तिनीहरू झुम्मिएका थिए । एउटै ठाउँमा यति धेरै लास एकैपटक उसले देखेको थिएन । यो दृश्य ज्यादै नै दिक्दार लाग्दो थियो । ऊ वीभत्स दृश्य हेरिरहेको थियो । आफैँलाई धिक्कारिरहेको थियो ऊ । आफैँलाई प्रश्न गरिरहेको थियो ऊ ।

– त्यो मङ्गली होइन ?’ टेलिभिजन र अखबारमा देखिएको अनुहार अहिले लासमा परिणत भएको थियो । अरुको सामुन्नेमा उसले प्रश्न राखेको थियो ।
– त्यो त मङ्गलीकी दिदीको हो ।’ नजिकै ती वीभत्स लासहरू हेरेर दिक्दार मानेर बसेका मान्छेमध्येको कसैले जवाफ दियो ।

– अनि ‘मङ्गली ?’ उसले प्रश्न ग¥यो ।

– थाहा छैन ।’ कसैले भन्यो ।

केही लासहरू टाउको काटिएका थिए । शरीर छोडेर टाउको काटेर लानुको रहस्य उसले बुझेन । यो क्रूरताको रहस्य उसले बुझ्नै सकेन । हतारमा होइन, फुर्सतमा आरामले काटेका टाउका कहाँ लगे होलान् ?

– धु्रव सापकोटा, ‘अर्कै मान्छे’, समकालीन नेपाली द्वन्द्वकथा, (२०६३ : ७१) ।

यस कथामा माओवादीले गाउँलेहरूलाई सखाप पारी टाउको काटेर लाने र युद्धमा सौन्दर्य देख्ने दुवै प्रवृत्तिको उल्लेख गरिएको छ । माओवादीले द्वन्द्वकालमा निरपराध गाउँले जनतालाई सुराकीको आरोप लगाएर अनावश्यक रूपमा मार्ने र धम्क्याउने गरेको सामाजिक चिन्तनलाई किशोर पहाडीले ‘आतङ्कको आँसु’ कथामा यसरी अभिव्यक्ति दिएका छन् :

उनको घरमुनिको ठूलो फुटबल खेल्ने चोरमा पुगेपछि एकजनाले भन्यो, “अग्निजी, यहाँ ठीक हुन्छ ।”
“ठीक छ, कामरेड !” अग्नि नामधारीले जवाफदियो । अनि त्यसपछि दुईजनाले च्याप्प अँट्ठ्याए उनलाई र अगिल्लाले चाहिँ उनको कपाल मुठ्यायो ।

– “हेर चेतदाइ ! तिमीलाई हामीले बूढा भनेर माया गरिराखेका थियौं ...” चेतदाइ डराएर काम्दै रहे । घोसेमुन्टो लगाएर चूप थिए । “बूढा भनेर छाडिराखेका थियौं तर चार दिनअघि तिमीलाई दुर्गा गणका सिपाहीका साथमा माथि चौतारामा हाँसीहाँसी कुरा गरिरहेको देख्यौं ।” “कुरा गरिरहेको ?...” थरथर काँपे चेतदाइ । कुनै बोली नै फुटेन । “चेतदाइ, तिमीले हाम्रो सुराकी गर्ने काम ग¥यौ । ...” सुराकी ? कहाँबाट सुराकी गर्नु ? ... कुरा गरेकोसम्म हो, त्यो पनि खालि भलाकुसारी मात्र । तर चेतदाइ यति डराएका थिए कि कुनै बोली नै फुटेन । उनीहरूले लगाएको झूटो आरोपलाई ‘होइन’ भन्नेसम्म पनि सामथ्र्य भएन ।

– किशोर पहाडी, ‘आतङ्कको आँसु’, समकालीन नेपाली द्वन्द्वकथा, (२०६३ : १२४–१२५)

४.३ जागिरे मानसिकताको प्रतिविम्बन

गणतन्त्रकालका नेपाली कथामा जागिरे मानसिकताको चित्राङ्कन सशक्त रूपमा भएको पाइन्छ । नेपाल सरकारका विभिन्न मन्त्रालय, विभाग र संस्थानहरूमा कार्यरत जागिरेहरू सबै एउटै सोचाइका हुँदैनन् । जागिरे मानसिकताका विभिन्न प्रवृत्ति हुन्छन् । यसमा ‘बलेको आगो ताप्नु’ भने झैँ पहिलो प्रवृत्तिमा उच्च ओहदामा बस्ने वा आफ्ना हाकिमको प्रशंसा गर्ने सर्वमान्य सिद्धान्त सबैमा पाइन्छ भने प्रमुखको नजिक हुन चाकरी, चाप्लुसी गर्ने र व्यक्तिगत फाइदा लिने दोस्रो प्रवृत्ति हुन्छ । तेस्रो प्रवृत्तिमा आफू अगाडि आउन वा प्रमुखको निकट बन्न अरुको अवगुण बखान गर्ने बानी देखिन्छ । चौंथो प्रवृत्तिमा पदमा रहँदा त्यो व्यक्तिलाई सर्वमान्य र सर्वस्व मान्ने, पदबाट हटेपछि केही नभएको पुङ्माङ ठान्ने धारणा पाइन्छ । पाँचौँ प्रवृत्तिमा व्यक्तिका नातेदार पत्ता लगाउने र उनीहरूको चाकरी गरी फोन गराएर आफ्नो काम फत्ते गर्ने देखिन्छ । छैटौँ प्रवृत्तिमा विदेश भ्रमण, तालिम, आदिमा आफ्नो मान्छेलाई पठाउने र कोसेली लिने प्रवृत्ति भेटिन्छ । सातौँ प्रवृत्तिमा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संस्थाको हितमा सही काम गर्ने प्रवृत्ति पनि पाइन्छ । 

यिनीहरू नै जागिरका सिलसिलामा देखिने प्रवृत्तिबाट राम्रा व्यक्तिको समयमा बढुवा नहुने, उपयुक्त व्यक्तिले तालिम लिन नपाउने, त्यसबाट हीनताग्रन्थिले ग्रसित भई असामान्य व्यवहार देखाउने प्रवृत्ति समेत जागिरे मानसिकतामा प्रतिविम्बित हुने प्रमुख प्रवृत्तिहरू हुन् । गणतन्त्र पछिका कथाकारले जागिरेको मानसिकता र अवस्था बुझेर तिनीहरूको विषयमा कथा लेख्ने गरेका छन् । यस्ता कथाकारहरूमा गोविन्द कुसुमको ‘रिटायर्ड लाइफ’ कथा पनि उद्धरणीय छ । 

ऋषिराज बरालको ‘बर्की नम्बर १३९९९’ कथा सङग्रहको ‘अलबम’ कथाले युगीन चेतनाको एउटा रूपलाई प्रस्तुत गरेको छ भने मातृका पोखरेलको ‘कालो चस्मा’ कथाले यथार्थ चित्रणमा सशक्तता थपेको छ । 
गणतन्त्र पछि राजनीति बढी भएर कर्मचारी तन्त्र नै असफल भएको धारणा राख्ने र निराशावादी चिन्तन प्रस्तुत गर्ने चलन पनि छ । अहिलेका कतिपय कर्मचारीमा पाइने मनोभावको सामाजिक सन्दर्भलाई किशन थापाले यसरी अभिव्यक्ति दिएका छन् :

जागिर साधारण, आफ्नो पालो आए पनि बढुवा नपाइने । पालो आउला, आउला भनेर वर्षौं बित्तै गए, तर...फेरि पालै मात्र कुर्ने काम भइरहेको थियो । निरशता ...स्वभाविक छ, आइहाल्छ । त्यसमाथि कनिष्ठहरू बरु माथिमाथि पुग्न थाल्थे । प्राइभेट हो, जे पनि चल्थ्यो । नातावाद, कृपावाद, जातिवाद । सबै सबै । मौलाउँदो दृश्य थियो । जो सीधा, उही मूर्ख । 

–किशन थापा, ‘मेरो कथा सकियो’, गरिमा, (२०६८ : २६) 

यस्तै राजनीति गरेर पदच्युत भएपछि व्यक्ति आफ्नो काम कर्तव्य र विगतका भोगाइको मानसिकतालाई भाउपन्थीले ‘सत्ताच्युत’ कथामा छर्लङ्ग्याएका छन् । ‘ऊ’ पात्रले गाउँको प्रधान पञ्च हुँदा पञ्चायती व्यवस्थामा गरेका दमन र अन्यायलाई बिर्सेर पुनः जनताले राज्यसत्ता दिन्छन् भन्ने कुरामा भ्रम राखेको देखिन्छ ।

४.४ नारी र नारीवादी चिन्तनको रेखाङ्कन

जनसङ्ख्याका हिसाबले आधी आकाश ढाक्ने नारीहरूको अवस्थालाई कथाको प्रवृत्ति बनाएर २०६० सालपछिका समसामयिक कथाहरूमा पुरुष र नारीहरू दुवैले विस्तृत उल्लेख गरेका छन् । यस समयका नारी कथाकारहरू हुन् ः 
अनामिका राई (शिलाङ), इल्या भट्टराई, उषा दीक्षित, कमला पराजुली, कमला सरूप, कुन्ता शर्मा, गीता केशरी, जलेश्वरी श्रेष्ठ, झमककुमारी घिमिरे, तोया गुरूङ, दिव्यानी रावल, वेदकुमारी न्यौपाने, निरूपा प्रसून, पुष्पलता आचार्य, बिरू सुब्बा (भारत), बेन्जु शर्मा, भारती खरेल, भुवन त्रिपाठी, मटिल्डा राई, ममता शर्मा नेपाल, मानसी, माधवी अधिकारी, माया ठकुरी, मीरा प्रधान ‘रेम’, यमुना राय, ललिता दोषी, लीला श्रेष्ठ सुब्बा, विन्द्या सुब्बा (दार्जिलिङ), शर्मिला खड्का, शारदा शर्मा, सङ्गीता स्वेच्छा, सञ्जु बजगाईं (बेलायत), साधना प्रतीक्षा, सीता अर्याल, सीता पाण्डे, सुधा त्रिपाठी, सुधा बस्नेत, सुलोचना मानन्धर, सृजना शर्मा, सृजना दिलपाली (भारत), हिरण्यकुमारी पाठक आदि ।

यी महिला कथाकारका प्रवृत्तिहरू समकालीन पुरष कथाकारहरूका भन्दा केही भिन्न पनि छन् । नारीको पीडा, प्रजननको अवस्था, समाजले नारीलाई हेर्ने आँखा, घरायसी समस्या (सासू–ससुरा), देवर–जेठाजु, (नन्द–आमाजू) आदिबाट गरिने व्यवहारको चोटिलो पोखाइ नारी कथाकारका कथामा सशक्त रूपले उपस्थित भएको पाइन्छ । यसैगरी नारीका मानसिक अवस्था, यौनप्रतिको धारणा, दोस्रो तहको नागरिक  भएर बाँच्नु पर्ने विवशतालाई घनीभूत संवेदनाका साथ प्रस्तुत गरिएको छ । समाजमा जतिसुकै नारी स्वतन्त्रता भने पनि पतिको इच्छा विपरीत कुनै काम गर्न नपाइने कठोर अनुशासनमा जकडिनु पर्दाको मार्मिक प्रस्तुतिले नारी भएर जन्मिनुको अन्तर्पीडालाई देखाएको हुन्छ ।

पुँजीवादी संस्कारअनुसार सानी हुँदा नारी बुबाआमाको अधीनमा, यौवनमा श्रीमान्को अधीनमा र वृद्धावस्थामा छोराका अधीनमा बस्नुपर्छ । त्यसैले ‘नास्ति स्वतन्त्र मर्हति’ स्त्री कहिल्यै स्वतन्त्र हुँदैन भन्ने कुत्सित परम्पराले गाँज्दा उनीहरू शिक्षा, स्वास्थ्य, जनजीविका जस्ता कुराबाट पनि टाढिएका छन् । त्यस्ता नारीको जल र पीडा लाभा बनेर निस्किरहेको अवस्थाको चित्रणले संवेदनाशून्य व्यक्ति (प्रशासन) लाई नछोए तापनि सचेत व्यक्तिलाई मर्माहित बनाइरहेको हुन्छ । यी कुराहरूमा नारी कथाकारको कलमबाट जति सशक्त रूपमा नारीका पीडा कथामा उत्रिएको देखिन्छ, त्यो अन्यत्र पाइँदैन ।

छिटपुट रूपमा परम्परित संस्कारमा आएका राम्रा चिन्तनलाई सामन्ती समाजले मिल्काइ दिएको छ । यत्र नार्यस्तु पूज्यन्ते, रमन्ते तत्र देवता अर्थात् जहाँ नारीको पूजा र सम्मान हुन्छ त्यहाँ देवता पनि खुसी हुन्छन्, वरदान दिन्छन् भन्ने कुरालाई व्यवहारमा प्रयोग गरिन्न । विदेशमा गएर कुक बन्न र भाँडा माझेर पैसा कमाउन लालायित पुरुषले आफ्नै घरमा आफूले खाएका भाँडा माझ््न र आफ्ना कपडा धुन सक्दैन । किन ? यो कुनै व्यक्तिको दोष होइन, सामाजिक व्यवस्था सञ्चालन गर्ने वर्गविशेष (पुँजीवादी) को चरित्र हो । समाजमा ठूलो भनाउँदाले जे काम जसरी गर्छन् त्यसैको अनुकरण अशिक्षित र अल्पशिक्षित समुदायले गरेको हुन्छ । यो भित्री मर्म नबुझी बिरूवाको जरामा पानी नराखेर पातमा पानी छर्कने कामले गर्दा सफलता हात लागेको देखिँदैन । यसले गर्दा नारीको आक्रोश कथामा पोखिन्छ, समालोचनामा भेटिन्छ तर व्यवहारमा लागु हुँदैन ।
पुँजीवादी र सामन्ती शासनका विकृतिहरूलाई बोकेर नेपाली समाज हिँडेको छ । त्यसबाट यहाँको सामाजिक चिन्तनमा महिलाहरूलाई अधिकारविहीन दोस्रो नागरिकका रूपमा लिने पुँजीवादी प्रवृत्ति पाइन्छ । ‘जसको ब्या’, उसैलाई न ‘ल्या’, भने झैँ नारीको बिहेको लागि स्वीकृति लिने चलन नेपाली समाजमा अद्यापि सर्वत्र पाइँदैन । त्यसैको फलस्वरूप अनमेल विवाहले गर्दा नारीको जीवन नर्क बनी अकाल मृत्युको मुखमा पुग्ने अवस्था आएको देखिन्छ । यसको उत्खनन कथाकार सुलोचना मानन्धरले ‘सत्य कथाकी नायिका’ कथामा गरेकी छन् । काठमाडौं चोभारकी शीला क्षत्री पढ्नमा तेज, विवेकी, आमालाई सघाउने र चारजना भाइबहिनीकी प्यारी भएर पनि बाबु सैनिक भएको हुँदा शीलालाई नसोधी समाजको कुरो मानेर बिहे गराउँदा दुष्कर जीवन बाँच्न विवश बनेकी छ । उसले पुनर्जीवन पाएर पनि अकालको मृत्यु किन वरण गरी ? कथाकार ‘म’ पात्र (सुमन) र जीवन सुब्बाले उसको जीवनका लागि गरेको त्याग कसरी निरर्थक भयो ? कथाकार लेख्छिन्, “त्यो कहाली लाग्दो सङ्क्रमणमा उसले कतिपल्ट अस्मिता गुमाउन बाध्य भई ! उसको बाटो कति कठोर भयो ? त्यो सबै सोध्नु र थाहा पाउनुको तुक पनि रहेन ।”

– सुलोचना मानन्धर, “सत्य कथाकी नायिका”, समकालीन साहित्य, (२०६७ ः १०३) 

प्रमुख नारी चरित्र शीलाले पति घरको ‘बौलाही’ भनेर पिटेको यातना सहन नसकी केटाको रूप धारण गरी रोग र चिन्ताले खग्रास भएर यस कथामा सरिता, विनिता र अनु बुन्नु पर्ने कारण नै नारीवादी चेतनाको अभिलक्षण हो ।

४.४.१ यौन मनोविश्लेषणको चित्राङ्कन

पूर्वीय र पाश्चात्य साहित्यमा यौनको प्रयोग सामान्य पुरुष र स्त्री बिचको शारीरिक सम्बन्धभन्दा पनि मानसिक विश्लेषणका क्रममा उल्लिखित भएको देखिन्छ । महर्षि वात्स्यायनले रचेको ‘कामशास्त्र’ पूर्वीय चिन्तको यौन सम्बन्धी महŒवपूर्ण ग्रन्थ हो । पश्चिममा फ्रायड, एडलर र जुङ्गद्वारा प्रतिपादित मनका तिन अवस्था; चेतन, अर्ध चेतन र अचेतन हुन् भने तिनलाई इड ९क्ष्म०, इगो ९क्ष्नय० र सुपर इवगो ९क्गउभच क्ष्नय० भनी मानवीय व्यक्तित्वको निर्माणमा अत्यधिक महŒव प्रदान गरिएको छ । यिनीहरूबाट निर्मित मनोग्रन्थि र मनोरचनालाई कथाको विषय बनाएर समसामयिक कथामा प्रस्तुत गरिन्छ । बी.पी. कोइराला, भिक्षु, गोठाले, विजय मल्ल, पोषण पाण्डे, पारिजात, प्रेमा शाह, कुमार नेपाल, पुष्कर लोहनी, सीता पाण्डे, कुमार नगरकोटी लगायतले यौनलाई कथामा प्रस्तुत गरेका छन् । व्यक्तिको शारीरिक व्यक्तित्वभन्दा मानसिक व्यक्तित्व, सामाजिक सांस्कृतिक परिवेशबाट निर्मित भएको हुन्छ । त्यसैलाई कथाकारले सूक्ष्म दृष्टिद्वारा कथामा प्रस्तुत गरिरहेको हुन्छ । तिनै कुराको समालोचना समीक्षकहरूले गरको हुन्छन् । ध्रुव सापकोटाको ‘चीत्कार’ कथामा वादी जातिको यौन व्यवसायलाई प्रस्तुत गरिएको छ । यस्तै मनोवैज्ञानिक कथा लेख्ने पोषण पाण्डेका भिनाजुको स्वेटर, कृष्णदासको भित्तेघडी जस्ता यौन मनोविज्ञानमा आधारित चर्चित कथाहरू हुन् । मानिसको अवचेतन मनमा रहेका यौन भावनाका कारण जन्मिने ईष्र्या ‘भिनाजुको स्वेटर’ मा अभिव्यक्त भएको छ भने कृष्णदासको भित्ते घडी मा आफ्नो यौन क्षुधा शान्त पार्न मानिस आफ्ना घरका सामान चोरेर श्रीमतीलाई आकर्षक र तरूनी नै बनाइराख्ने चाहनालाई कसरी पूरा गर्छन् भन्ने कुरालाई कलात्मकताका साथ प्रस्तुत गरिएको छ । सबै कुराको जड नै यौनलाई ठान्ने पुष्कर लोहनीका यौन कथाहरू पुस्तकाकारमा अहिलेसम्म नआए पनि पत्रपत्रिकातिर भने प्रशस्त छापिएका छन् । उनका कथाहरूमा यौनको मानसिक चित्रणभन्दा शारीरिक–क्रियाहरूको खुलमखुला चित्रण हुने हुनाले पाठक र समालोचकहरूले अश्लीलताको आरोप पनि लगाउने गरेको पाइएको छ । संयुक्त उपन्यास ‘आकाश विभाजित छ’ को उनले लेखेको अङ्श र ‘ओझेल परेको छाँया’ (मधुपर्क, वर्ष ५–६, अङ्क १२–१ कथा अङ्क) जस्ता कथा पढ्दा पाठकलाई सो आरोप सत्य हो जस्तो लाग्छ । उनको ‘उत्तेजित घेरा’ कथा यौन मनोविश्लेषण सम्बन्धी चित्रणमा केन्द्रित छ ।

नेपाली कथा साहित्यमा पारिजात, कुमार ज्ञवाली, मोहनराज शर्मा, नगेन्द्रराज शर्मा, धु्रवचन्द्र गौतम, कविताराम, बेञ्जु शर्मा, भागीरथी श्रेष्ठ, जैनेन्द्र जीवन, मधुवन पौडेल, किशोर पहाडी आदि धेरै कथाकारहरूले यौन मनोविश्लेषणको चित्राङ्कन गरेका छन् ।

४.५ बहुलवादी चेतनाको निरन्तरता

समसामायिक नेपाली कथामा बहुलवादी चेतनाको निरन्तरता पाइन्छ । बहुलवाद एकभन्दा बढी वादहरूको समष्टि रूप हो । बहुलवाद कुनै एकल वाद होइन, सबै वादहरूको समष्टि हो, अन्तर्मिश्रण हो । यसअन्तर्गत आयामिक कथा, कथाहीन कथा वा अकथा तथा स्वैरकाल्पनिक कथा मात्र नभएर नवीन शैली शिल्पमा प्रस्तुत भएका सामाजिक यथार्थवादी, मनोवैज्ञानिक, मनोविश्लेषणात्मक, अस्तित्ववादी तथा विसङ्गतिवादी कथाहरू पर्दछन् । कथ्य, विधागत स्वरूप र शैलीशिल्पमा आएको प्रयोगशीलता र कथाले प्रस्तुत गरेको नयाँ जीवन दृष्टिको समष्टि रूप नै बहुलवाद हो । यसमा कथानक तŒवको ह्रास, कथाहीनता, घटनाविहीनता तथा अकथात्मकता, नवीन भाषिक योजना, प्रतीक, विम्ब, पूर्वप्रसङ्ग, चेतनप्रवाह जस्ता कथाशिल्पको प्रयोग आदिप्रति कथाकारहरूको आग्रह रहेको देखिन्छ । बहुलवादी चेतनाका कथामा स्थापित सैद्धान्तिक मापदण्डको निर्वाहभन्दा पनि प्रयोगशीलता नै सामाजिक चेतनाको प्रतिरूप बनेको भेटिन्छ ।

मोहनराज शर्माको ‘बाटोमा भेटिएकी केटी’ (मधुपर्क’ २०६५, कथाविशेषाङ्क), कथाले त्यसको पुस्ट्याइँ गरेको छ । प्रस्तुत कथाले २०६२÷०६३ सालको दोस्रो जनआन्दोलनलाई देखाउने प्रयत्न गरेको छ । यसको घटनाक्रम त्रि.वि. छात्रावासको तीनकुनेदेखि बल्खु, कालीमाटी, कलङ्की हुँदै पुनः बल्खुबाट तीनकुने पुगी फर्कने क्रममा ‘म’ पात्र बनेको वेदव्यासले देवतीसँग गरेको प्रत्यक्ष संवादमा केन्द्रित रहेको छ । अङ्ग्रेजी दोस्रो वर्षमा पढ्ने देवतीले आफ्नो विषयमा जे कुरा जसरी भन्दछे; वेदव्यास त्यसैमा जीवनको सङ्गति र असङ्गति खोज्दै रुमल्लिएको बेला छात्रावासको गेटमा रामभरोस भेटिन्छ । उसले धरानमा प्रहरीको पिटाइ खाएर असन्तुलित र विक्षिप्त भएकी केटी नै देवती हो भनेपछि सिसमहल गल्र्यामगुर्लुम ढलेर चकनाचूर भए झैँ वेदव्यास र पाठकको अवस्था हुन्छ । कथाकार आफूले उभ्याएका पात्रको मानसिक द्वन्द्व र कौतूहलतालाई स्वैरकल्पनात्मक यथार्थले जसरी पुट दिइरहेको थियो, रामभरोसका कुराले त्यसलाई छताछुल्ल पारेर पोखिदिएको छ ।
राजनीतिक चेतनाले जन्माएको वर्ग र वर्ग सङ्घर्षको अभिव्यक्तिलाई कथामा विषय बनाएर प्रस्तुत गर्ने कथाकार रोशन थापा ‘नीरव’ को ‘असह्य’ कथा मार्मिक र हृदयविदारक देखिन्छ । यसमा ‘म’ पात्र बार वर्ष आठ महिना गाउँबाट टाढा रही गाउँ फर्कंदा जे कुरा देख्छ त्यसले उसको मानसिक अवस्था, शारीरिक विवशता र आफन्तहरूको विछोडलाई मात्र प्रस्तुत गरेको छैन । विश्वको युद्ध सम्बन्धी सम्पूर्ण नीतिनियमलाई तोडेर नृःशंस हत्यालाई अभिव्यक्ति दिएको छ ।

मानवअवशेष ।
मृत नै सही ।
को हुन् यिनी ?
पल्टाएँ । हेरेँ ।
ओह, हे भगवान् !
मेरी बहिनी । शान्ति । बहिनी । उर्फ – दुवै स्तन काटिएका वीभत्स ।
यो–कसरी–कसले ग¥यो ?
कुन अधम हिंस्रकले ग¥यो यो ?
मृतशरीरले के देओस्–जवाफ ?
म झकझकाउन पुग्छु – नग्न शरीर बोल्दैन ।
शरीरमा वीभत्सता ओढेको र आँखामा त्रास, घृणाको दह चित्रित थियो ।
– रोशन थापा ‘नीरव’, ‘असह्य’, समकालीन नेपाली द्वन्द्वकथा, (२०६३ ः १५७) ।
यस कथालाई गद्यकविता जस्तो प्रयोगशील शैली अवलम्बन गरी प्रस्तुत गरिएको छ ।

५. निष्कर्ष

गणतान्त्रिक नेपाली कथामा सामाजिक चेतना मूल प्राप्तिका रूपमा देखिएको छ । यसले युगीन सन्दर्भमा आएका नव चिन्तनलाई वैचारिक अभिव्यञ्जनाका सन्दर्भमा ग्रहण गरेको छ । बाह्य रूपमा राजनीतिक भोगाइ र त्यसमै आधारित चिन्तन रहेको समसामयिक कथासाहित्यमा परम्परागत रूढिका विरूद्ध शैक्षिक अवसर, आर्थिक अवसर र सामाजिक–सांस्कृतिक पुनर्जागरणका लागि समाजमा विद्यमान अनेक समस्याका कोणबाट कथा लेखिएका छन् । यी कथामा सामाजिक समस्यामाथि चिन्तन गर्ने क्रममा कतिपय कथाले नारी नै नारीका उत्थानमा बाधक भएको यथार्थप्रति गम्भीर प्रश्न उठाएका छन् भने बालमनोविज्ञान र बालअधिकारसँग सरोकार राख्ने स्वास्थ्य, शिक्षा जस्ता विषयमा पनि केही कथा लेखिएका छन् ।
बहुलवादी धारा र यसको निरन्तरतामा कथा लेख्ने प्रवृत्तिले उत्तरआधुनिक चिन्तनका पुरुष कथाका तुलनामा नारी कथाकारका कथा निकै थोरै देखिएका छन् । पर्यावरणीय र डायस्पोरिक चिन्तनका नारी कथाकारका कथाहरू ज्यादै न्यून सङ्ख्यामा छन् भने प्रविधि–संस्कृतिमा आएका नवीन चिन्तनहरू समसामयिक कथामा स्पष्ट देखिन्छन् । स्वैरकल्पना, मिथकको पुनर्सिर्जन र राजनीतिक चेतना समसामयिक कथाको विषय बनेको छ । राजनीतिक विषय र विश्वपरिवेश गणतन्त्र पछिका कथामा धेरै आएका छन् भने नारी र पुरुषको सम्बन्ध, दम्पत्य जीवनका कटुता, डायस्पोरिक चिन्तन, परम्पराप्रतिको विद्रोह र पारिवारिक तथा सामाजिक जीवनका समस्याहरू सामाजिक चेतनामा आएका छन् । वि.सं.२०६० को दशकपछि गणतन्त्रकालीन कथामा बहुलवादी चेतनाको विस्तार भएको देखिन्छ । पचासको दशकमा भने वर्गसङ्घर्ष र द्वन्द्वसौन्दर्यको उत्खनन बढी भएको पाइन्छ । अबका कथाले व्यवसाय र उत्पादनमुखी शिÔालाई मुख्य विषय बनाउनु समयको माग बनेको देखिन्छ । यसरी निचोडमा भन्दा सङ्घीय लोकतान्त्रिक गणतन्त्र पछिका कथामा जीवनका भोगाइहरूलाई विभिन्न सन्दर्भहरू दिँदै सामाजिक चेतनालाई मुखरित गरिएको छ । 



सन्दर्भ सामग्री सूची

अनमोलमणि (सम्पा.२०६८), आजका नेपाली कथा, (युवा स्रष्टाका उत्कृष्ट कथा), काठमाडौं: बी.एन. पुस्तक संसार प्रा.लि. ।
उपाध्याय, विमल (सम्पा.२०६४), मिर्मिरे, कथा विशेषाङ्क, वर्ष ३६, अङ्क १, वैशाख ।
किरण, प्रभाती (सम्पा.२०६७), समकालीन नेपाली कथाहरू, काठमाडौं: आकृतिक प्रकृति प्रकाशन प्रा.लि. माछापोखरी ।
गुरागाईं, लक्ष्मी (सम्पा., २०६५), मधुपर्क, कथा विशेषाङ्क, वर्ष ४१, अङ्क १, जेठ ।
गौतम, देवीप्रसाद र कृष्णप्रसाद घिमिरे (सम्पा.२०६८), आधुनिक नेपाली कथा, भाग–३, काठमाडौं:साझा प्रकाशन ।
गौतम, लक्ष्मणप्रसाद (सम्पा.२०६३), समकालीन नेपाली द्वन्द्वकथा, काठमाडौं :  पैरवी प्रकाशन ।
घिमिरे, कृष्णप्रसाद र अन्य (सम्पा.२०६३) साहित्यिक अभियान विगतदेखि वर्तमानसम्म, काठमाडौं : अभियान साहित्य प्रतिष्ठान ।
त्रिपाठी, गीता (२०६७), “समकालीन नेपाली कथामा नारी कलमको वैचारिक घनत्व”, नेपाल प्रज्ञा प्रतिष्ठानमा मिति २०६७ कात्र्तिक १२ गते प्रस्तुत कार्यपत्र ।
नेपालको संविधान–२०७२, कानूनी किताब खाना बबरमहल, काठमाडौं ।
मानन्धर, सुलोचना (२०६७), “सत्य कथाकी नायिका”, समकालीन साहित्य, त्रैमासिक, (वर्ष १, पूर्णाङ्क ६३, माघ–चैत्र), पृ.१०१–१०४ ।
श्रेष्ठ, दयाराम (२०६६), अभिनव कथाशास्त्र, काठमाडौं: पालुवा प्रकाशन ।

साहनी, दिल (२०६४), जनघोष, (प्रधान सम्पादक), मासिक, (वर्ष १, अङ्क १ माघ) र अन्य अङ्कहरू, बुटवल : जनघोष मासिक प्रकाशन परिवार ।






































































































































































































































=============================================================

नेपाल प्रज्ञा - प्रतिष्ठान र अविरल साहित्य प्रतिष्ठानको सहकार्यमा २०७२ साल फागुन १ गते १ बजे सिन्धुपाल्चोक जिल्लाको बाँडेगाउ - ४, सिपाधुसेनी, नयाँ पानीमा " गणतन्त्रपछिका नेपाली कथाका प्रवृत्ति " विषयक गोष्ठी मा चर्चित छन्दकवि जगन्नाथ आचार्य द्वारा प्रस्तुत कविता " कसौं है मोर्चा अब "



No comments:

Post a Comment