Wednesday, June 14, 2017

सिन्धुपाल्चोकको मेलम्चीमा विशेष लघुकथा गोष्ठी सम्पन्न ।

नेपाल प्रज्ञा - प्रतिष्ठान र लघुकथा समाजको संयुक्त आयोजनामा २०७४ साल असार ३ गते सिन्धुपाल्चोकको मेलम्चीमा विशेष लघुकथा गोष्ठी सम्पन्न भयो ।लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख आतिथ्य नेपाल प्रज्ञा - प्रतिष्ठानका प्राज्ञ परिषदका सदस्य एवम् गद्य / आख्यान विभाग प्रमुख मातृका पोखरेलले गर्नुभएको थियो ।

कार्यक्रमको औचित्य बारे कार्यक्रमका संयोजक डा. पुष्करराज भट्टले आफ्ना धारणाहरु राखिसकेपछि सुरु भएको उक्त गोष्ठीमा साहित्यकार ध्रुब मधिकर्मीले  ' समकालीन नेपाली लघुकथा लेखनको समस्या र चुनौती' शिर्षकको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।उक्त कार्यपत्रमाथी साहित्यकार स्नेह सायमीले टिप्पणी गर्नुभएको थियो । उक्त कार्यपत्र ममाथी सहभागीहरुका तर्फबाट बाट सरोज ढुंगाना ,सुरेश बुढाथोकी , हरिप्रसाद सापकोटाले पनि विचार हरु प्रस्तुत गर्नुभएको थियो । टिप्पणी र सुझावमाथी कार्यपत्र प्रस्तोता ध्रुव मधिकर्मीले आफ्ना भनाइ राख्नुभएको थियो ।

कार्यपत्रमाथीको छलफल पश्चात् वरिष्ठ आख्यानकार विनय कसजूको लघुकथा ' एम्बुलेन्सको देश ' लघुकथा बाचन गरेर बाचन कार्यक्रम सुरु गरियो । कार्यक्रममा नवराज गजुरेल ,पुष्कर राज भट्ट ,हरि सापकोटा ,डा . पुष्करराज भट्ट , सुन्दर शिरीष , सुमन सौरभ, रामबहादुर सुनार , गोपाल अस्क, रमेश चापागाईं, ध्रुव मधिकर्मी , दिपक राई ,स्नेह सायमी , धनकुमारी खनाल ,सरोज ढुंगाना , सुरेश बुढाथोकी , अमीत घिमिरे , डम्बर रसिक भारती , विजय नेपाल , निर्मल ढुंगाना लगायत श्रष्टाहरुले लघुकथा वाचन गर्नुभएको थियो ।

साहित्यकार डम्बर रसिक भारतीले संचालन गर्नुभएको उक्त कार्यक्रममा सरोज ढुंगानाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

========================================




गोरखापत्र दैनिक , वर्ष ११९, अङ्क ४४
२०७४ साल असार ५ गते सोमबार ।


=======================================


कार्यपत्र  


समसामयिक नेपाली लघुकथा लेखनको समस्या र चुनौती
 -  ध्रुव मधिकर्मी 



विषय परिचय 
आख्यान अन्तर्गतको एउटा विधा हो लघुकथा । तुलनात्मक रुपले सबैभन्दा छोटो आकारको रुपमा लेखिंदै आएको लघुकथा यता आएर निकै लेखिन थालेको र लोकप्रिय विधा मध्येमा पर्छ । आकारमा सानो, आजको व्यस्त समयमा छिट्टै अर्थात् क्षणभरमै पढिसिध्याइने र जीवनका भोगाइलाई विना कुनै व्याख्या र भूमिका प्रस्तुत गरिने भएकाले लघुकथा प्रभावकारी र पठनीय रहेको हो । नेपाली लघुकथा लेखनमा आएको तीव्रता र स्तरीयताको आग्रहका कारण यसबारे चर्चापरिचर्चा र व्याख्याविश्लेषण पनि समयसमयमा हुन थालेको छ । लेखकहरुको संख्या र संग्रह प्रकाशन दिनानुदिनजसो बढिरहेको सन्दर्भमा यस विधाप्रति धेरैको चासो र चिन्ता बढ्नु पनि उत्तिकै स्वाभाविक हो । पछिल्लो समयमा आएर लोकप्रिय र तीब्र गतिमा लेखन एवं प्रकाशनको विषयको रुपमा आएका कारण लघुकथा लेखन र यसका चुनौतीका बारेमा चिन्ता र चासो बढ्नुलाई यस विधाप्रतिको जागरुकताका रुपमा लिन उचित हुनेछ । अतः यस लेखमा समकालीन नेपाली लघुकथा लेखनको समस्या र यसका चुनौतीका बारेमा केही चर्चा र दृष्टिकोण प्रस्तुत गर्ने प्रयास गरिएको छ ।  
लघुकथाको परिचय 

आकारगत रुपले मात्र होइन लघुकथा विषय र प्रस्तुतिका दृष्टिले पनि मसिनो र सानो हुन्छ । कुनै एउटा दृश्य, घटना, क्षण वा अनुभूतिकै सेरोफेरोलाई खासै कुनै भूमिका वा पृष्ठभूमिमा सिधा प्रस्तुत गरिने कथात्मक रचना नै लघुकथा हो । कुनै विषय वा घटनालाई थोरै वा सारांशमा भन्नु मात्र लघुकथा होइन । लघुकथा कथाको संक्षिप्त स्वरुप पनि होइन । यो स्वयं एउटा पूरक र सम्पूर्ण रचना हो । प्रतीकात्मक संरचना र शिल्पले यसको प्रभावकारिता मापन गर्छ । यसको एउटा प्रमुख विशेषता हो छोटो आयामको घटना वा विषयलाई प्रभावकारिताका साथ तत्काल सम्प्रेषण गर्नु र एक झमटमै पाठकमा कौतूहल जगाएर तुष्टि दिनु ।  
आख्यान साहित्यको एउटा विधाको रुपमा आएको लघुकथा कथाजस्तै तर कथाको स्वरुप, आकार र विशेषता भन्दा भिन्नै तर कतिपय तत्वहरु समान भईकन पनि स्वतन्त्र रुपमा पहिचान बनाइरहेको विधा हो लघुकथा । यसो हेर्दा लघुकथा कथाको सानो वा संक्षिप्त रुप हो कि भन्ने लाग्न सक्छ नाउँको हिसाबले । तर कथा र लघुकथामा निकै भिन्नता छ – विषय आयाम र प्रस्तुतिका दृष्टिले । यस अर्थले पनि लघुकथाको छुट्टै परिचय बनेको हो । कथाको संक्षिप्त रुपबाट जोगिनुपर्ने र चुट्किला हुनबाट छुट्टिनुपर्ने भएकाले पनि लघुकथा साहित्यको एउटा गभ्भीर र चुनौतीपूर्ण विधा बनेको हो । 

नेपाली लघुकथाको विषय सन्दर्भ  

साहित्यमा जीवनका हरेकजसो पक्षको बारेमा लेखिएको हुन्छ । सामाजिक, आर्थिक, धार्मिक, राजनीतिक, इतिहास, दर्शन, शिक्षा, स्वास्थ्य, यौन, अपराध आदि कुनै पनि पक्षका आयाम र अन्तरकुन्तर बारे लेख्न सकिन्छ, लेखिएका पनि छन् । मान्छेले देखेभोगेका अनुभव र अनुभूतिलाई नै एउटा दृष्टिकोण बनाएर स्रष्टाले शिल्पयुक्त संरचनाको निर्माण गरेका हुन्छन् । घटना, विषय वा सन्दर्भलाई कतिपयले सहज रुपमा सर्लक्क प्रस्तुत गर्छन् भने कतिपयले प्रयोग, प्रतीकात्मक र स्वैरकल्पनात्मक संरचनाको सहयोग लिएका हुन्छन् ।
   
लघुकथामा पनि लिइने र अभिव्यक्त गरिने विषय तिनै हुन् जुन साहित्यका अन्य विधामा लिइएका हुन्छन् । विधागत भिन्नताले गर्दा त्यसको स्वरुप र प्रस्तुतिमा भिन्नता पाइने हो । स्रष्टाहरुले आफ्नो पहिचान र मौलिकताका दृष्टिले पनि विधामा धेरथोर परिवर्तनको प्रयास गरिरहन्छन् । ती नयाँ नयाँ प्रयोग र सम्भावनालाई निम्त्याउन उद्यत भइरहन्छन् जसले विधाको स्वरुपमा सामयिक हेरफेरको आधार निर्माण भइरहेको हुन्छ । साहित्यको विकास र विस्तारको लागि यो आवश्यक पनि छ । साहित्यमा परम्पराको मात्र निर्वाहले नयाँपनको आधार बन्दैन । त्यसमा परिमार्जन र परिष्कारले महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । त्यसैले नयाँपनको आग्रह नभएका र समकक्षीभन्दा पृथक हुन नसकेका स्रष्टाहरु पाठकका दृष्टिबाट क्रमशः ओझेलमा पर्न थाल्छन् । 

समकालीन नेपाली लघुकथामा प्रायः चलेको विषय राजनीतिक विकृति र विसंगतियुक्त सन्दर्भ नै हुन् । राजनीतिले जीवनका पाइलापाइलामा प्रभाव पारिरहेकाले नै साहित्यमा यसले व्यापकता पाएको हो । आजको समयमा राजनीति विना जीवनका कुनै पनि पक्ष चल्न नसक्ने अथवा राजनीतिको प्रभावमा यावत् विषयहरु प्रभावित हुने भएकाले सबैको ध्यान यसमा केन्द्रित भएका हुन् । समाज, मानवीय संवेदना, धर्म, संस्कार, शिक्षा, आजीविका, विकास, निर्माणकार्य आदि सम्पूर्ण क्षेत्रमा राजनीतिको व्यापक पहुँच छ । झन अहिलेको राजनीतिक संकट र संक्रमण जारी भइरहेको अवस्थामा त जीवनको हरेक क्षेत्रमा यसको व्यापक आग्रह र दुराग्रह रहने नै भयो ।   

साहित्यको कुनै पनि विधामा स्रष्टाहरुले बाँचिरहेको समय, परिवेश र भोगाइकै सन्दर्भहरु आउनु स्वाभाविक हो । लेखक वा श्रष्टाहरुलाई जुन चीजले विशेष प्रभाव पार्छ वा ऊ जुन परिवेशमा भोक्ता भएर बाँचिरहेको हुन्छ त्यसको यावत् चित्र र व्याख्या उसको साहित्यमा पनि अवश्य आउने नै भयो । लघुकथा मात्र यसको अपवाद हुने कुरै भएन । 

आज लेखकहरुले भोगिरहेको विषय भनेको मुलुकमा बढेको राजनीतिक विसंगति, नेताहरुको निरीहपन र अदूरदर्शिता, जनता दीनहीन अवस्थामा पुगेको, भ्रष्टाचारले व्यापक रुप लिएको, राष्ट्रियता कमजोर भइरहेको, चारैतिर व्याप्त फुट र लुटले जनता आजित भएको, चरम निराशा र हताशाले कुनै बेला भयावह विस्फोटको सम्भावना देखिएको, मानवीय मूल्यको ह्रास र भित्रभित्रै आक्रोशले आकार लिइरहेको आदि सन्दर्भ नै हुन् । यिनै सन्दर्भले नै आजका समकालीन लघुकथामा विभिन्न प्रकारले व्याप्ति पाएका छन् । राजनीतिक विषयका अतिरिक्त सामाजिक विखण्डन, यौन मनोविज्ञान, नारीमुक्तिको आग्रह, महिलामाथि भइरहेका यातना, हिंसा, समान अधिकारको लागि लडाइँ, चेतनाको विस्तार, सामाजिक अराजकता, विभेद, आर्थिक असमानता, बढ्दो बेरोजगारी र युवाहरुको विदेश पलायन, आदर्श र त्यागको ह्रासोन्मुख स्थिति आदि विषयमा पनि लघुकथाहरु लेखिएका छन् ।  

यस प्रकार विषयगत विविधता, प्रयोगशीलता र शिल्पगत बैशिष्ट्यले नेपाली लघुकथा आज लोकप्रिय विधा बन्नुका साथै स्तरीयतातर्फ उन्मुख पनि छ । आज कतिपय स्रष्टाहरु लघुकथाको क्षेत्रमा चर्चित र स्थापित छन् भने सम्भावनायुक्त नयाँ लघुकथाकारहरु देखापर्न थालेका छन् । 

लघुकथा लेखनको समस्या 

लघुकथा लेखन र प्रकाशनमा देखिएको उत्साह निश्चय पनि यस विधाको लागि सकारात्मक र उपलब्धि नै मान्नुपर्छ । पत्रपत्रिकाले लघुकथालाई विशेष स्थान दिनु, यस विधामाथि गोष्ठी, परिचर्चाहरु हुन थाल्नु , विधाकेन्द्रित संस्था लघुकथा समाजको गठन, लघुकथाको सिर्जना तथा प्रवद्र्धन गर्ने व्यक्तित्वलाई सम्मान र पुरस्कारको स्थापना, सामाजिक सञ्जाल फेसबुकमा लघुकथा कुनोको सञ्चालन, मधुपर्कजस्तो राष्ट्रिय साहित्यिकले दुई दुईपल्ट विशेषांक प्रकाशन गर्नु र लघुकथाको सैद्धान्तिक पक्षलाई लिएर नेपाल प्रज्ञा प्रतिष्ठानले कार्यपत्र लेखाएर कार्यक्रम गर्नु, राष्ट्रव्यापी रुपमा लघुकथा प्रतियोगिता गर्नु आदि गतिविधिको निरन्तरताले आज लघुकथा लेखन प्रतिष्ठाको विषय बन्न पुगेको छ । 

हिजोको दिनमा लघुकथालाई साहित्यको विधा मान्न समेत कठिन र परिभाषाहीन हुँदा यसको लेखनले तीव्रता नपाएको मात्र होइन यस विधामा आकर्षित स्रष्टाहरु नगण्य मात्र थिए भने आज विविध अवसरहरुका कारण यस विधामा असंख्य स्रष्टाहरु देखापरिरहेका छन् र यो क्रम जारी छ । हिजोका दिनमा लघुकथाप्रति समालोचकहरुको उदासीनता पनि उत्तिकै थियो भने लेखनबारे चर्चापरिचर्चा शून्यप्रायः नै थियो । आज त्यस्तो अवस्था छैन । लघुकथा लेख्नका लागि विषयको व्यापकता, यसबारे सैद्धान्तिक र प्रक्रियात्मक पुस्तक प्रकाशन, प्रचारप्रसारको अवसर, समालोचकहरुको उपस्थिति आदि कारणले आज यस विधाको उन्नयन र उपलब्धि उल्लेख्य मानिएको हो ।

लघुकथा लेखनको उपलब्धि र उन्नयनका साथै यस विधामा समस्या पनि देखिन थालेका छन् । समसामयिक विषयमाथि लेखिएका प्रायः लघुकथामा उही विषय र सन्दर्भ आउनाले नयाँपनको अभाव र फरकपना देखिन छोडेका छन् । प्रायः सबै लघुकथाकारले लिने विषय, सन्दर्भ, भोग्ने अनुभूतिमा समानता र प्रस्तुतिमा एकैखाले दृष्टिकोण पाइनुले नयाँपन वा पृथकपना देखिन छोडेका हुन् । 

लघुकथा लेखनमा देखिएको समस्यालाई दृष्टिगत गर्दा बूँदागत रुपमा यसप्रकार उल्लेख गर्न सकिन्छ । 

१, प्रायः सबैले राजनीतिक विकृति र विसंगतिलाई नै विषय बनाउनु । 
२, नेताहरुको सत्तालोलुप र भ्रष्ट चरित्रलाई मात्र विषयकेन्द्रित बनाउनु 
३, घटना र प्रसंगहरुको शिल्प संयोजनप्रति सचेत नहुनु 
४, सानो वा छोटो लेख्दैमा लघुकथा बन्छ भनेर जुनै विषयमा पनि लघुकथा लेख्नु 
५, कथाको विषयलाई लघुकथा बनाएर संक्षेपमा लेख्नु 
६, स्तरीयतालाई भन्दा संख्यात्मकतालाई ज्यादा ध्यान दिनु 
७, विषयको गहिराई र स्तरीयताको मापनबारे उदासिन हुनु 
८, नयाँ नयाँ प्रयोग र सम्भावनाको खोजमा नलाग्नु । 
लघुकथा लेखनको चुनौती 

लघुकथा लेखनको विकास र उपलब्धिका साथै यस विधामा चुनौती पनि थपिएका छन् । छोटो वा सानो आकारमा लेख्दैमा लघुकथा हुने होइन । सबै लघुकथा उत्कृष्ट र स्तरीय पनि हुन्न । थोरै शब्दमा धेरै कुरा भन्नसक्नु, विषयलाई गम्भीरढंगले प्रस्तुत गर्नु, नयाँ नयाँ विचार र दृष्टिकोण निर्माण गर्नु , अनुभूतिलाई हलका र चुट्किला हुनबाट जोगाएर सार्थक र भावपूर्ण तरिकाले मानक लघुकथा लेख्नु आजको चुनौती हो । 

लघुकथामा विषयवस्तुको प्रस्तुति र कथावस्तु भएर मात्र पुग्दैन । लघुकथामा त्यसको संयोजन, शैली, दृष्टिकोण, भाषा, शिल्प, शब्दको मितव्ययिता, प्रस्तुतिको ढाँचामा नयाँपन, बिम्ब र प्रतीकको सार्थक प्रयोग र कलात्मकताको ठूलो महत्व हुन्छ । लेखकले निजत्व र मौलिकताको पुरापुर ख्याल राखेर पुनरुक्तिबाट जोगिनु लघुकथा लेखनको चुनौती हो । 

१, विषयको पुनरुक्ति : समकालीन लेखकहरुले भोगेको समाज र परिवेश प्रायः सबैको एकै खालको हुने भएकाले तिनका रचनामा विषयको समानता देखिन्छ । यसले रचनामा नयाँपनको अभाव र पुनरुक्ति देखिन्छ । स्रष्टाले प्रत्येक लघुकथाको विषयमा विविधता र दृष्टिकोणमा मौलिकताको निर्वाह गर्नुपर्ने भएकाले विषयगत पुनरुक्ति लेखनको चुनौती बनेको हो ।

२, स्तरीयता : साहित्यको कुनै पनि विधामा लिइने विषय मानव जीवन र उसले भोग्ने अनुभव र अनुमान गर्ने संसारबाटै हो । यसमा लघुकथा मात्र अपवाद हुने कुरै भएन । तर विषयगत समानता भए पनि स्रष्टाले आफ्नो निजत्व र दृष्टिकोणमार्फत कुनै पनि विषयलाई स्तरीय रुप दिन सकिन्छ । अतः मानक र स्तरीय लघुकथा लेख्नु लेखकका लागि चुनौतीको विषय हो । 

३, चुट्किला हुनबाट जोगाउनु : आख्यानको सानो वा छोटो रुप भएकोले र तीब्र संवेगका साथ प्रभावकारी ढंगले प्रस्तुत गर्नुपर्ने लघुकथालाई चुट्किलाबाट जोगाउनु चुनौती जस्तै भएको छ । एक झमटमै पाठकमा कौतूहल जगाएर तत्काल तुष्टि दिनुपर्ने भएकोले लघुकथा कतै चुट्किला पो हुने हो कि भन्ने खतरातर्फ सचेतता आवश्यक छ । 

४, अध्ययनको आधार : अरुले लिएको विषयवस्तुसित मेल नहोस् भन्नेतर्फ सचेत हुन र नयाँ नयाँ विषयको खोजका लागि धेरैभन्दा धेरै लघुकथा र त्यस सम्बन्धी सामग्रीहरु अध्ययन गर्नुपर्ने हुन्छ । आफूले लेख्ने लघुकथाको मौलिकता, अरुको भन्दा फरक र त्यसको स्तरीयतातर्फको सचेतता चुनौतीको विषय हो । 

५, आफैलाई उछिन्नुपर्ने चुनौती : प्रत्येक लेखनमा आफैलाई नाध्नु र निरन्तर नयाँ नयाँ सोच र शैलीको लेखनतर्फ अग्रसर हुनु एउटा स्रष्टाका लागि अत्यन्त आवश्यक छ । एकै खालको विषय र शैलीमा अल्झिरहनु , नयाँपन दिन नसक्नु एउटा लेखकको लागि असान्दर्भिक हुँदै जानु हो । अतः लेखनमा आफै आफ्नो प्रतिद्धन्दी हो । 
६, प्रतिस्पर्धा : लघुकथा लेखनमा तीव्रतासंगै नयाँ लेखकहरुको संख्या पनि निकै वृद्धि भएको छ । त्यसमध्ये कतिले लेखनमा स्तरीयता र सम्भावना देखाएका छन् । लेखनको क्षेत्रमा यसप्रकार स्रष्टाहरुको संख्या बढ्नु सुखद पक्ष हो । यसका साथै लेखनमा यो समकालीनहरुका लागि थप चुनौतीको विषय पनि हो ।

७, मौलिकताको संकट : लेखनमा सबैले उही र उस्तै विषय लिने भएकाले मौलिकताको संकट देखापरेको हो । अतः उही र उस्तै विषय भए पनि स्रष्टाले त्यसलाई नयाँ दृष्टिकोण सहित सर्वथा भिन्न रुपमा प्रस्तुत गर्नु चुनौतीपूर्ण छ ।  

====================================








































































































































No comments:

Post a Comment