सौर्य दैनिक,२०७४ साल चैत १३ गते |
गोरखापत्र दैनिक, २०७४ साल चैत १३ गते |
गोरखापत्र दैनिक, २०७४ साल चैत १३ गते |
==========================================
लालबन्दी,
चैत - १२, २०७४ ।
सर्लाहीको लालबन्दीमा ‘समकालीन नेपाली आख्यानमा तराई/मधेशको योगदान’ विषयक विचार गोष्ठी गरिएको छ । प्रदेश नम्बर–२, सर्लाहीको लालबन्दीमा नेपाल प्रज्ञा–प्रतिष्ठानको आख्यान विभाग र स्थानीय संस्था बाँके–बागमती सेवा समाजद्वारा संयुक्त रुपमा विचार गोष्ठीको आयोजना गरिएको हो ।
समकालीन नेपाली आख्यान साहित्यमा तराई/मधेशको अवस्था र योगदानका बारेमा विमर्श गर्ने उद्देश्यले आयोजित उक्त गोष्ठीमा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका आख्यान विभाग प्रमुख प्राज्ञ मातृका पोखरेलले समकालीन नेपाली आख्यान साहित्यमा तराई/मधेशको योगदान निकै महत्वपूर्ण रहेको बताए ।
उहाँले नेपाल आख्यान साहित्यलाई समृद्ध बनाउनमा तराई/मधेशको योगदानको चर्चा जति गरे पनि अधुरै रहने उल्लेख गर्दै आख्यान विभागले ‘नेपाली कथा कोश’ र ‘नेपाली उपन्यास कोश’को तयारी गरिरहेको सुनाए । प्राज्ञ पोखरेलले प्रत्येक स्थानीय तहले भाषा, साहित्य, कला र संस्कृतिका लागि योजना बनाएरै काम गनुपर्नेमा जोड दिए ।
प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग सदस्य प्राज्ञ शशी लुमुम्बूले राष्ट्रको समृद्धिमा साहित्यको ठूलो भूमिका रहने उल्लेख गरे । उनले भाषा, साहित्य, कला र संस्कृतिको विकासले मात्रै राष्ट्रको समग्र विकास सम्भव छ हुने धारणा व्यक्त गरे । गाउँ–गाउँमा साहित्यिक कार्यक्रम आयोजना गरिनुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा लालबन्दी नगरपालिकाकी उपमेयर शान्ति लामाले साहित्यले मानिसको आत्मा शुद्धि गराउनुका साथै सोचमा सकारात्मक परिवर्तन ल्याउने धारणा व्यक्त गरिन । लालबन्दीमा यस्तो कार्यक्रम हुनु गर्वको विषय भएको उल्लेख गर्दै उपमेयर लामाले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, सम्वद्र्धन एवम् समृद्धिका लागि नगरपालिकाले आवश्यक बजेट विनियोजन गरेको जानकारी गराइन ।
कार्यक्रममा साहित्यकार विवश पौडेलले ‘समकालीन नेपाली आख्यानमा तराई/मधेशको योगदान’ विषयक गोष्ठीपत्र प्रस्तुत गरेका थिए । गोष्ठीपत्रमा उहाँले समकालीन नेपाली आख्यानमा तराई/मधेशको योगदान उल्लेखनीय रहेको चर्चा गरे ।
पौडलको गोष्ठीपत्रमाथि साहित्यकार गोपाल अश्क र कृष्ण दाहालले समीक्षा गर्दै गोष्ठीपत्रमा धेरै कुरा छुटेको बताए । अश्कले गोष्ठीपत्रले योगदानभन्दा पनि सर्भेक्षण गरेको भन्दै आवश्यक सुधार गर्न सुझाब दिए ।
बाँके–बागमती सेवा समाजका सचिव नवराज सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका सदस्य परशुराम घिमिरे ‘निदान’, कवि सुवेदी र सुमन घिमिरेले सर्लाहीको साहित्यिक अवस्था र आयोजित गोष्ठीका बारेमा प्रकाश पारेका थिए ।
उक्त अवसरमा अतिथि कवि टीका चाम्लिङ, भाष्कर काजी, जीवन आचार्य, डिल्लीरमण भट्टराई, ध्रवराज गिरी ‘रोदन’, कुमार कुसुम, सुमित्रा आचार्य, रामनरेश महतो र टीका श्रेष्ठले कविता, गीत तथा गजल सुनाएका थिए ।
http://www.milapnews.com बाट साभार
======================================
कार्यपत्र
‘समकालीन नेपाली आख्यानमा तराई मधेशको योगदान’
विवश पौडेल
नेपाल प्रज्ञा प्रतिष्ठान र बाँके–वागमती सेवा समाजद्वारा २०७४ चैत्र १० गते सर्लाहीको लालबन्दीमा आयोजित ‘समकालीन नेपाली आख्यानमा तराई÷मधेशको योगदान’ विषयक गोष्ठीमा विवश पौडेलद्वारा प्रस्तुत गरिएको कार्यपत्र ।
नेपाली कथाको बिगत निक्कै लामो छ । त्यसको इतिहासभन्दा पनि तराई मधेशमा जन्मिएर वा तराई मधेशलाई कर्मथलो बनाएर वा तराई मधेशका विषयलाई समेटेर नेपाली आख्यान अन्तर्गतको कथा उपविधामा कलम चलाउने सर्जकको मात्र प्रस्तुत कार्यपत्रमा सङ्क्षिप्त जानकारी समेटिएको छ । सूचनाको अभाव, छोटो समय, अपर्याप्त तथ्याङ्क जस्ता कारणले गर्दा प्रस्तुत कार्यपत्र पूर्ण आंशिक छ । आगामी कार्यपत्रमा सम्भव भएसम्म सम्पूर्ण आख्यानकारलाई समेटिने प्रयास गरिनेछ । यो कार्यपत्र नेपाल प्रज्ञा प्रतिष्ठान र बाँके बागमती सेवा समाजद्वारा आयोजित कार्यक्रमको प्रस्तुतिका लागि तयार पारिएको हो । यसमा रहेका त्रुटिलाई अन्य कार्यपत्रमा सच्याइने छ ।
विषय प्रवेश :
संस्कृतको ‘कथ्’ धातुमा ‘अ’ प्रत्यय लागेर ‘कथ’ बनेपछि ‘आ’ प्रत्यय लागि कथा बन्दछ । कथाको शाब्दिक अर्थ जो कसैबाट भनिन्छ हो । पूर्वीय वाङ्मयमा कथाको बीज विक्रमको लगभग २५ सय वर्ष पूर्व ऋग्वेदमा पाइने यम यमीको कथा, माधवी र गालवको कथाहरुमा पाइन्छ । पश्चिममा कथा परम्पराको सर्वप्राचीन नमुना ‘दुई दाजुभाइ’ (इ.पू. ३००–४०० बीच) लाई मानिन्छ । क्राइस्टको २५ सय वर्षभन्दा पूर्व विकसित मिश्रको सभ्यतासँग सम्बन्धी क्रिस्तानहरुको धार्मिक ग्रन्थ ‘न्यू रेस्टामेन्ट’ आख्यानका प्रारम्भिक उदाहरण हुन् ।
पूर्वीय विद्वानको मतमा कथाका केही परिभाषा हेर्दा -
‘सत्य घटनामा आधारित आख्यान कथा हो’ – भामह
‘सत्यम्, शिवम् र सुन्दरम् अभिव्यक्त गर्ने आख्यान कथा हो ।’ – महाभारत
‘कुनै एउटा पात्रका जीवनको सङ्कटमय घटनालाई कलापूर्ण रीतिले लेख्नु नै कथा रचना हो ।’
– गुरुप्रसाद मैनाली
पाश्चात्य विद्वानका दृष्टिमा कथा
“बीस मिनेटमा पढिसकिने कुनै पनि सङ्क्षिप्त आख्यान कथा हो ।” एच.वी वेल्स
‘कथा भनेको मनुष्य जीवनको गति र अनुभूतिको सशक्त र उज्यालो पक्षको आस्थापूर्ण उद्घाटन हो ।’
–म्याक्सिम गोर्की
कथा कुनै पनि निश्चित संरचनामा आबद्ध प्रभान्वितिपूर्ण कल्पनात्मक सङ्क्षिप्त आकारको साहित्यको आख्यानात्मक गद्य रुप हो । यसका स्थापित मूल्य मान्यताका साथै युग अनुसारको मूल्य मान्यतालाई उत्कृट संवेदनाका साथ स्वतः पूर्ण एवम् तीव्रताका साथ प्रभावशाली रुपमा अभिव्यक्त गरिन्छ ।
उद्देश्यका आधारमा कथाहरु घटना प्रधान, चरित्र प्रधान, विचार प्रधान, समस्यामूलक, शैली प्रधान, प्रयोगवादी हुन्छन् भने विषयगत आधारमा सामाजिक कथा, मनोवैज्ञानिक कथा, प्रगतिवादी कथा, अस्तित्ववादी कथा, ऐतिहासिक कथा, धार्मिक कथा र दार्शनिक कथा हुन्छन् भने अझै घोत्लिएर हेर्दा दन्त्य कथा, लोककथा, परीकथा, पौराणिककथा, प्रेमकथा, काल्पनिक कथा, युद्ध र द्वन्द्वका कथा, हाल आएर विज्ञान कथा र फेसबुक कथा समेत लेखिन थालेका छन् ।
कथाको रचनाविधान वा तŒवलाई हेर्दा कथाभित्र कथावस्तु, कथोपकथन, चरित्र चित्रण दृष्टिविन्दु, देश, काल र वातावरण वा परिवेश, भाषाशैली र सारवस्तु अनिवार्य हुन्छ ।
समकालीन आख्यानमा तराई मधेशको योगदान :
तराई मधेश नेपालको दक्षिणतर्फको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको समथर भूभाग हो । यसमा २२ जिल्ला समेटिएका छन् भने जनसङ्ख्या हिमाल र पहाडको तुलनामा बढी छ, साथै बाक्लो आवादी पनि छ । भौतिक पूर्वाधारले सम्पन्न यो क्षेत्र अन्नको पनि भण्डार रहेकोले बसोवास बढी भएको हो । चारकोसे झाडी र घना जङ्गलले ढाकिएको यो क्षेत्रमा हाल विविध कारणले जङ्गल मासिँदै जानु भने सन्ततिका लागि दुर्भाग्य नै हो । विभिन्न जातजातिका समुदायको मिश्रित बसोवास भएको यो क्षेत्रमा भाषा पनि विभिन्न छन् । सरकारी कामकाजको भाषा देवनागरिक लिपिमा लेखिएको नेपाली भाषा माध्यम भाषा भएकोले यो क्षेत्रमा बसोवास गर्ने अन्य भाषाभाषीका समुदायले पनि नेपाली भाषालाई बोलीचालीको भाषाका रुपमा प्रयोग गर्न थालेका छन् भने नेपाली भाषामा कलम चलाउने लेखकको पनि कमी छैन । साहित्य सिर्जनाको उर्वर क्षेत्रका रुपमा चिनिएको यो भौगोलिक क्षेत्रमा आख्यान साहित्यमा कलम चलाउनेको सङ्ख्या यति नै छ भनेर किटान गर्न कठिन छ । अत्यन्त छोटो समय, अपर्याप्त सञ्चार र प्राविधिक समस्याका कारण यो कार्यपत्र तयार पार्दा थुप्रै्र आख्यानकार र तिनका आख्यानलाई समेट्न सकिएन तर आगामी कार्यपत्रमा भने निरन्तर समेटिने प्रयास गरिने छ ।
उद्देश्य :
१. आख्यानकारको खोजी गरी आख्यानका कथा विधाको क्षेत्र पहिल्याउनु ।
२. तराई मधेशले कथा क्षेत्रमा पु¥याएको योगदानको सङ्क्षिप्त चर्चा गर्नु ।
३. अन्य भाषाभाषीका व्यक्तिको नेपाली भाषाप्रतिको प्रेम दर्शाउनु ।
४. कथामा समेटिएको परिवेशलाई बुझ्नु ।
५. वर्तमान कथाको अवस्थालाई चिन्तन गरी कथाको क्षेत्र र प्रयोगमा नयाँ कोसेढुङ्गा स्थापित गर्ने प्रयास गर्नु ।
सीमाहरु :
१. यो कार्यपत्रमा तराई÷मधेशका जम्मा आठवटा जिल्ला अर्थात् हालको दुई नम्वर प्रदेशका आख्यानकार र तिनीहरुको आख्यानमात्र समेटिएको छ ।
२. आख्यानका विभिन्न क्षेत्र उपन्यास, नियात्रा र कथा मध्ये कथा उप विधालाई मात्र समेटिएको छ ।
३. पत्रपत्रिका र आख्यानकार नै तिथिमितिमा अनविज्ञ देखिएकोले फुटकर कथाको तिथिमिति उल्लेख गरिएको छैन साथै पत्रपत्रिकाको योगदानलाई नसमेटी व्यक्तिको योगदानलाई मात्र समेटिएको छ ।
४. प्राथमिक र द्वितीय दुवै तथ्याङ्कका स्रोतको प्रयोग गरिएको भए पनि समयको अभावले पूर्ण गर्न सकिएको छैन ।
५. यो कार्यपत्रले दुई नम्बर प्रदेशका सम्पूर्ण कथाकार र तिनका कथालाई समेट्न सकेको छैन, त्यसैले यो आंशिक पूर्ण रहेको छ ।
६. वि.सं. २००७ साल पछिका कथाहरु मात्र समेटिएको छ ।
७. यस कार्यपत्रमा यस क्षेत्रमा प्रचलित मैथिली, भोजपुरी तथा बज्जिका भाषा र तिनका साहित्य प्रचलित रहे पनि खस नेपाली भाषाका साहित्यकारहरुलाई मात्र समेटिएको छ ।
तराई मधेशका विषयलाई समेटिएर लेखिएका आख्यान र आख्यानकार ः
तराई मधेशमा जन्मेर, तराई मधेशलाई कार्यथलो बनाएर वा तराई मधेशलाई बुझेर तराई मधेशका विषयमा कलम चलाउने आख्यानकारहरु थुप्रै छन् । विश्वेश्वरप्रसाद कोइराला, नयनराज पाण्डे, परशु प्रधान, राजव, नारायण तिवारी, तृष्णा कुँवर, रामबाबु उपाध्याय, ध.च. गोतामे, धु्रवचन्द्र गौतम, मुरारी अधिकारी, भवानी भिक्षु, इन्दिरा मधुश्री, मनु ब्राजाकी, राजेश्वर नेपाली, जगदीश घिमिरे, डा. धीरेन्द्र, रमेश झा, रत्नमणि नेपाल, रमेश रञ्जन, महेशविक्रम शाह, राजेन्द्र पराजुली, धीरकुमार श्रेष्ठ, कृष्ण धरावासी, सीता पाण्डे, विवश पोखरेल, इन्दिरा प्रसार्इं, किशोर पहाडी, प्रदीप नेपाल, चन्द्रप्रसाद भट्टराई, डा. ऋषिराज बराल, हरि अधिकारी, गोरखबहादुर सिंह, पुष्पप्रसाद खरेल, बनमाली निराकार, राममणि पोखरेल, सनत रेग्मी, विनोद दीक्षित, भाउपन्थी, मुरारी अधिकारी, मदनमणि दीक्षित तथा रमेश विकल जस्ता थुप्रै आख्यानकारले तराई मधेशलाई समेटेर कथा उपन्यास लेखेका छन् ।
पटक पटकको परिवर्तनले पनि खासै विकासको फड्को नमारेको तराई मधेशले २०६३ को मधेश आन्दोलनपछि झन् अन्योल सिर्जना ग¥यो । पहाडी र मधेशी समुदाय भनी भेदभाव सृजना गरियो । यसरी नेपाली–नेपाली आफूमा लड्नु राम्रो होइन भन्दै आपसी सद्भाव फैलाउने कथा लेखेका नेपाल रत्न डा. राजेन्द्र विमलका कथा जलाइयो र उहाँमाथि हमला गरियो । विस्तारै आन्दोलन मत्थर हुँदै जाँदा अन्य धेरै कथाकारले कथा लेखे ।
जमिन्दारी प्रथा, छुवाछुत, बोक्सा–बोक्सी र दाइजो प्रथाले गालेको मधेश, मधेश आन्दोलनले झन थिलथिलो भयो । उत्तरका मधेशी दक्षिण र दक्षिणका पहाडी उत्तर भाग्नु पर्नेसम्मको अवस्थालाई डा. विमलले सान्त्वनाका शब्द र मलहम लगाउने काम कथा मार्फत गरे । एकातिर जग्गाको भाउ आकाशिनु, अर्कोतिर शिक्षाक्षेत्र डामाडोल हुनु दुवै कुरा मधेशका लागि अभिषाप भए । बेरोजगारको पीडा एकातिर वैदेशिक रोजगारले भित्र्याएको विकृति अर्कोतिर गुणस्तरहीन शिक्षा अर्कोतिर यस्ता कुराले नराम्रो प्रभाव रहेको मधेशलाई ०६३ को आन्दोलनले राजनैतिक परिवर्तन ल्याए पनि टाठाबाटाले नै सत्ता हत्याएको यथार्थ डा. विमलले कथामा उतारे ।
माथि उल्लिखित कथाकारहरुले तराई मधेशको पृष्ठभूमि, परिवेश, सीमान्तकृत निमुखा र पिछडिएका पात्र, स्थानीय भाषा र शोषण, उत्पीडन, पीडा र विसंगतिलाई उजागर गरी कथा लेखे । भवानी भिक्षुको हारजीतबाट सुरु भएर डा. राजेन्द्र विमलको ‘ऐंजेरु’ कथासम्म आइपुग्दा कथामा तराई मधेश धेरै समेटिएको पाइन्छ । रमेश विकलको ‘पल्ला घरको छत’ कथामा तराईको सामन्ती शोषणको सजीव चित्रण छ भने डा. धीरेन्द्रको ‘ठूलो माछा र सानो माछा’ कथाले धनीले गरिबलाई शोषण गरेको यथार्थ छ । जुन तराई मधेशमा अझै हुँदैछ । मनु ब्राजाकीले ‘गुरु चेला र माकुराको जालो’, कथामा पञ्चायतकालीन तराईका जनताले भोग्नु परेको पीडा छ । ‘धनिया’ कथामा बच्चा र आमाको किनबेच हुने खराव प्रचलन छ भने विनोद दीक्षितको मेरो देश तिमीले देख्यौ ? कथाले जनताका पीडा अझसम्म उस्तै रहेको तीतो यथार्थ समेटेको छ । मुसहर बस्तीका कथा, बादी जनमत, सुखिया र सालको पोथ्रा, जुनेली रातको सपना, प्रेमको एउटा कथा, कदमलाल तत्माको गीत, घुम्तीको मान्छे जस्ता कथा तराई–मधेशकै परिवेशमा छन् ।
आफू खुसी विवाह गरेमा बाबुले मार्ने र आमा बाबुको रोजाईमा विहे गरे पति, सासु, ससुराले दाइजोको निहुँमा जिउँदै जलाउने समस्याले संलग्न मानव अधिकारको धज्जी उडाइरहेको तीतो यथार्थ विद्यमान छ । देशभरी डढेलो झैँ फैलिएको दाइजो प्रथालाई भने कथाले त्यति समेटन सकेको देखिँदैन अन्तमा भन्नु पर्दा नेपाली आख्यानले तराई मधेशका विविध पाटालाई समेटेका छन् ।
कथाकार र तिनका कथाहरु :
डा. धु्रवचन्द्र गौतम : वि.सं. २००० साल पुष २ गते रक्सौलमा जन्मिएका डा. धु्रवचन्द्र गौतमले विद्यावारिधी सम्मको अध्ययन गरेका छन् । वि.सं. (२०५२–२०५६) सम्म नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव समेत रहेका उनी वि.सं. (२०३५–२०५१) सम्म त्रिविमा प्राध्यापन पेशामा सङ्लग्न गौतमले मदन पुरस्कार, नारायणी वाङ्मय पुरस्कार, गङ्की बसुन्धरा पुरस्कार, सरस्वती पुरस्कार प्राप्त गरेका छन् । विभिन्न उपन्यासका लेखक गौतमको ‘एक यात्रा अनुभूति’ शीर्षकको कथा वि.सं. २००९ सालको ‘रुपरेखा’ पत्रिकामा प्रकाशित छ । गौतमले वङ्गलादेशका समकालीन कथाहरुको नेपालीमा अनुवाद गरेका छन् । उनका अँध्यारो द्वीपमा (२०३५), गौतमका प्रतिनिधि कथाहरु (२०४४), संरक्षण (२०४८) कथा सङ्ग्रहहरु प्रकाशित छ । नेपाली साहित्यमै अतुलनीय योगदान पु¥याएका गौतमलाई कथा र तराई मधेशमा मात्र सोभित गर्न सकिन्न ।
मनु ब्राजाकी : वि.सं. १९९९ साउन १९ गते महोत्तरीको औरहीमा जन्मिएका मनु ब्राजाकी (चेतमानसिंह भण्डारी) वि.सं. २०७४ मा अस्ताए । आई.ए. सम्मको औपचारिक अध्ययन पूरा गरेका मनुले मैनाली कथा पुरस्कार (२०३९), साझा पुरस्कार (२०४६), गङ्गालक्ष्मी पुरस्कार (२०५२) प्राप्त गरेका छन् । गजलका सशक्त हस्तीका रुपमा देखिएका मनुका अवमूल्यन (२०३९) आकाशको फूल (२०३८), तिम्री स्वास्नी र म (२०४६) र भविष्यमा यात्रा (२०५२) जस्ता कथा सङ्ग्रह प्रकाशित छन् । सामाजिक यथार्थवादी र मनोवैज्ञानिक कथाकार ब्राजाकीका कथामा विकृति विसङ्गतिका चित्रणका साथै जातिप्रेम, स्वाभिमान, देशभक्ति, रतिरागात्मक–यौनमनोविश्लेषणको चित्रण पाइन्छ । तराईको एउटा कुनामा जन्मेर नेपाली साहित्यलाई धनी बनाउने ब्राजाकीलाई तराई मधेशको एक सशक्त कथाकार (आख्यानकार) का रुपमा लिइन्छ ।
प्रेमा शाह : मानिसको अचेतन मनमा यौन अतृप्तिले जन्माएका समस्यालाई मूल विषयका रुपमा कथामा चित्रण गर्ने कथाकार प्रेमा शाह (वि.सं. २००३–२०७४) को जन्मथलो पर्साको वीरगञ्ज हो भने कर्मथलो सर्लाहीको जुटपानी हो । वि.सं. २०१६ सालमा शारदा पत्रिकामा ‘प्रतिकथा’ शीर्षकको पहिलो कथा प्रकाशित गरेकी शाहको पहेँलो गुलाफ (२०२३) र विषयान्तर (२०२८) कथा सङ्ग्रह प्रकाशित छन् । मनु र भँगेरी र केही कथा, इन्द्रधनुष, जिन्की र जोकर, मन्टुको बज्यैको कथा, पटारो, रङ्गीचङ्गी कथाहरु र राम्रो कार्य उनका बालकथा सङ्ग्रह हुन् । २०४५ सालको मैनाली कथा पुरस्कार प्राप्त गरेकी शाह तराई मधेशको विशेष गरी प्रदेश नं. २ को एक मात्र नारी कथाकार हुन् । उनको आख्यान क्षेत्रको योगदान अविष्मरणीय छ । पतिसँगको सम्वन्ध विच्छेद पछि छोरी जल शाहको रेखदेख गरी एक्लै सम्पूर्ण जीवन निर्वाह गरेकी शाह कलात्मक भाषा, नवीन शैली, तथा विम्ब र प्रतीकको प्रयोग गरी अतियथार्थवादी, अस्तित्ववादी र विसङ्गतिका कथा लेख्ने विशिष्ट नारी कथाकार हुन् ।
डा. राजेन्द्र विमल ः वि.सं. २००३ साल चैत्र १३ गते जनकपुर, धनुषाको देवदिहामा कुशेश्वर लाभ र शुसिलादेवीका सन्तानका रुपमा जन्मिएका राजेन्द्र विमलका चारवटा सन्तान छन् । बनारस हिन्दू विश्वविद्यालयबाट भाषा विज्ञानमा विद्यावारिधी गरी लामो समयसम्म त्रि.वि. मा अध्यापन गरेका सहप्राध्यापक डा. राजेन्द्र विमलले तराईमा जन्मेर, हुर्केर, नेपाली भाषामा कथा लेख्ने, राष्ट्रिय छवि भएका एक सशक्त कथाकार हुन् । समयका आँखा र राजेन्द्र विमलका कथाहरु कथा सङ्ग्रह प्रकाशित गरेका विमलका रातो पासपोर्ट, विद्रोह, जूनकारीको चिहान, केराको फूल, किन काम्छ अमारो, रधिया विमर्श र रसिक बूढो बहुचर्चित कथाहरु हुन् । जगदम्बा श्री, राष्ट्रिय प्रतिभा, आदिकवि भातुभक्त आचार्य, कूलचन्द्र कोइराला, विद्यापति कोष, रिमाल सम्मान र कलाश्री पुरस्कार प्राप्त डा. विमलका प्रत्येक कथामा छुट्टै शैली शिल्प र वादको प्रयोग छ । प्रायः आञ्चलिक सुस्केरा समेटिने डा. विमल समकालीन स्वर र परिवर्तित राजनीतिक घटनाले निम्त्याएको विषय परिस्थितिलाई समेटी कथा लेख्ने सिद्धहस्त कथाकार हुन् । नेपालमै कथा क्षेत्रमा महत्वपूर्ण स्थान हाँसिल गरेका यस्ता व्यक्तिलाई क्षेत्रमा सीमित पार्नु राम्रो त होइन, तर वर्तमान समयमा तराई मधेशमा कथा हाक्ने एक्ला व्यक्ति डा. राजेन्द्र विमल हुन् भन्न सकिन्छ ।
गोपाल अश्क : वि.सं. २०१८ असोज १० गते पर्साको भेडपारीमा सुरज शाह सोनार र रामपतियादेवीका पुत्रका रुपमा जन्मिएका अश्कले त्रिविबाट हिन्दीमा एमएसम्मको अध्ययन गरेका छन् । चारजना छोराछोरीका पिता अस्कको मातृभाषा नेपाली नभए पनि नेपाली भाषालाई माया गर्ने र नेपाली भाषामा कथा लेख्ने कथाकार हुन् । अंकुश पत्रिकामा छापिएको ‘रात परेपछि’ उनको पहिलो प्रकाशित कथा हो । ‘गोपाल अस्कका कथाहरु’ उनको प्रकाशित कथा सङ्ग्रह हो । राम पियारी पोइल गई, मरिरहेको मान्छे, भोलिको चिन्तामा आहत वर्तमान, बदलिएको लक्ष्मण, सेवा निवृत्ति पछिका दिनहरु, निरिहता, आँखाभरि आँसु, चारैतिर अँध्यारो, आँसुको फूल, परिवर्तन, घुर्की, परिवेश, भाउजूको पसल, ऊ, उसको श्रीमान् र सेक्सट्वाय, डर, थकित, थकित सम्बन्ध, त्यो रात नआइदिए हुन्थ्यो, चमरटोली, त्यो एकरातलाई सम्झिदा, उनका चर्चित कथाहरु हुन् । राष्ट्रिय प्रतिभा पुरस्कार, लोक साहित्य साझा पुरस्कार, महाकवि देवकोटा साहित्य पुरस्कार, गङ्की बसुन्धरा पुरस्कार, यति साहित्य पुरस्कार, गजलश्री सम्मान, मधेशरत्न, भोजपुरीरत्न, जस्ता पुरस्कार प्राप्त गरिसकेका अश्कका कथामा सामाजिक यथार्थवादी चित्रण पाइन्छ । उनका कथामा प्राय ःपारिवारिक विषयवस्तु समेटिएका पाइन्छ् । अश्कको मातृभाषा नेपाली नभए पनि नेपाली भाषामा कथा लख्ने सशक्त प्रतिभा हुन् ।
देवराज पौडेल : वि.सं. २०२८ साल पुस ९ गते मणिराम पौडेल र भक्तभञ्जरी पौडेलका पुत्रका रुपमा रामेछापको सैपुमा जन्मिएका देवराज पौडेलको सम्पूर्ण जीवन सर्लाहीको हरिभवनमा व्यतित भइरहेको छ । वाणिज्य संकायमा स्नाकोत्तर र शिक्षा शास्त्र संकायमा स्नाकोत्तरको अध्ययन गरी मा.वि. शिक्षकका रुपमा कार्यरत पौडेलका विवेचना, विश्लेषण, दुई छोराछोरी छन् भने पत्नी मीना शर्मा न्यौपाने पनि मा.वि. शिक्षिकाकै रुपमा कार्यरत छिन् । दुई दशकभन्दा अगाडिदेखि कथा क्षेत्रमा कलम चलाएका पौडेलका साधना, साप्ताहिक, उपहार, नवविकल्प, उद्बोधन, र्मिरर्मिरे, सुधारस, गोलसिमल, साधना जस्ता पत्रिकामा कथाहरु प्रकाशित छन् । औषधि, त्यो तिहार, दिदी आउँछे भने म बिहे गर्छु, फेसन, आमा बन्ने रहर, टाइपिष्ट जस्ता कथाहरु उनका चर्चित कथा हुन् । लघुकथा समेत लेख्ने कथाकार पौडेलका तीन दर्जनभन्दा बढी अप्रकाशित लघुकथाहरु छन् भने दुई दर्जनभन्दा बढी कथाहरु छन् । निकट भविष्यमै संग्रहका रुपमा उनका एकराते बाबु, मानवीय सम्वेदना, पलाएको मन, वीर्य दान, सडककी छोरी, परस्त्री, ऊ र ममा फरक, धिपधिपे आगोले खाएर जन्मेकी कल्पना, दाइजो, छोरो, खुँडी, आमाको माया, जात फर्कियो तथा भन्न नमिल्ने कुरा प्रकाशित हुने छन् । समाजका विकृति र विसंगति र यथार्थतालाई जस्ताको तस्तै कथामा उतार्ने कथाकार पौडेल एक सफल कथाकार हुन् । तराई मधेशमा उनको कथाका क्षेत्रमा महत्वपूर्ण योगदान छ भन्न सकिन्छ ।
कार्तिकेय घिमिरे : वि.सं. २०३३ साल पुस ३ गते कृष्णप्रसाद घिमिरे र दुर्गादेवी सुबेदी घिमिरेका सुपुत्र कार्तिकेय घिमिरे एक सफल कथाकार हुन् । उनले बालकथामा कलम चलाएका छन् । आम सञ्चार र पत्रकारितामा स्नाकोत्तर तहसम्मको अध्ययन गरेका घिमिरेले पिस मिडिया बाल पत्रकारिता पुरस्कार–२०६२, बालहितकारी पुरस्कार–२०६४, कविताराम बालसाहित्य प्रवद्र्धन पुरस्कार–२०६५, नुरगङ्गा बालसाहित्य पुरस्कार–२०६५, पारिजात बालसाहित्य पाण्डुलिपि विशेष सम्मान–२०६५, न्यू आइडियल जिलेट सम्मान–२०६७, शेरा फिल्स् बाल साहित्य सम्मान–२०६९, वर्षका उत्कृष्ट बालसाहित्य लेखक पुरस्कार–२०७३, जनमत बालसाहित्य सम्मान–२०७४, राष्ट्रिय बालसाहित्य पुरस्कार–२०७४ प्राप्त गरिसकेका छन् । कार्तिकेय घिमिरेको प्रथम प्रकाशित साहित्यिक रचना कथा ‘एउटा जिन्दगीको’ हो जुन रचना साहित्यिक द्वैमासिक पत्रिकामा वि.सं. २०५३ मा छापिएको थियो । उनको पहिलो कृति बुद्धिमान् छोरी हो, जुन वि.सं. २०५३ मै प्रकाशित भएको थियो । उनका अन्य प्रकाशित कृतिहरुमध्ये फुच्चे बन्यो राजा–२०५५, मेरी सानी राधा–२०५६, भ्यागुताको प्रजातन्त्र, नयन हरायो आदि चर्चित बालकथा संग्रहहरु हुन् । बाल साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष रहेका घिमिरे केटाकेटी मिडिया, केटाकेटी अनलाइन डटकम डिजिटल बालपत्रिका, बुक आर्ट नेपाल, किशोरा साहित्य पुरस्कार, मनोरमा जफा अन्तर्राष्ट्रिय बाल पुरस्कार कोष, माता दुर्गादेवी बालसाहित्य लेखक पुरस्कार, जमर्को बालसाहित्य तथा बालपत्रिका पुरस्कार समिति जस्ता संस्थामा समेत महत्वपूर्ण पदमा आसिन छन् । नेपालकै उच्चकोटीका बालकथाकार घिमिरेको तराई मधेशलाई मात्र हेर्ने हो भने एकल साम्राज्य नै छ भन्दा फरक पर्दैन ।
लीलाराज दाहाल : वि.सं. २०३२ साल कार्तिक ५ गते पिता रामप्रसाद उपाध्याय दाहाल माता माण्डवी दाहालको कोखबाट सर्लाहीको परवानीपुरमा जन्मिएका लीलाराज दाहाल एक सशक्त कथाकार हुन् । उनका विभिन्न पत्रपत्रिकामा गरी ७० भन्दा बढी कथाहरु प्रकाशन भएका छन् । रचना, मधुपर्क, अभिव्यक्ति, शिवपुरी सन्देश, समस्ती, मिरमिरे, शब्द संयोजन, गरिमा जस्ता पत्रिकामा प्रशस्त कथा छापिएका कथाकार दाहाल विगत दुई दशकदेखि निरन्तर कथा लेखनमा छन् । उनका फर्सीको बियाँ, आफन्त, मनको हुकुम, बिना निष्कर्ष, मनको टुक्रा, आवेदन, गिद्द, कार्यकर्ता, लोग्ने, सपना, ठूलामान्छेहरु, सहयात्री, छोरो रोयो होला, घाउ, घुर, नौ दिनजति भयो, महत्वपूर्ण कथाहरु हुन् । सामाजिक परिवेश र यथार्थवादलाई समेटेर कथा लेख्ने कथाकार लीलाराज दाहालले अंग्रेजी विषयमा स्नातक तहसम्मको अध्ययन गरेका छन् । सरकारी न्याय सेवामा कार्यरत दाहाल कथा लेखनमा कहिल्यै नथाक्ने यात्री हुन् । तराई मधेशका आठ वटा जिल्लालाई हेर्ने हो भने युवा पुस्तामा लीलाराज दाहाल एकमात्र कथाकार हुन् भन्दा फरक पर्दैन ।
रमेश समर्थन : वि.सं. २०१७ सालमा तीर्थप्रसाद उपाध्याय र तुलसा उपाध्यायका सन्तानका रुपमा पाल्पामा जन्मिएका रमेश समर्थन वि.सं. २०४२ साल भदौ १ गतेदेखि २०७२ साल मंसिर २२ गतेसम्म रौतहटमा बसेका हुन् र उनका सम्पूर्ण कृतिहरु रौतहटमै सृजना भएका कारण उनलाई तराई मधेशका कथाकारका रुपमा चिनिन्छ । दुईवटा छोरा र पत्नी मञ्जु ढकालको उनको परिवार उनलाई साहित्य सृजनामा स्वतन्त्रता दिने परिवारभित्र पर्दछ । व्याकरणमा आचार्य र नेपालीमा एम्.ए., बि.एड्.सम्मको अध्ययन गरेका समर्थनले मावि प्रथम श्रेणीबाट अवकाश प्राप्त गरेका हुन् । उनका दर्जनौं कथाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । सगर, निसार, रचना, जनमत, छर्ना, नवप्रज्ञापन, ज्ञानगङ्गा जस्ता पत्रिकामा उनका जुनेली, कृष्णे, गौरी, उसको कट्टु, अतृप्त, मोटे कार्की, नसच्यायएको कथा, सिंहको शिकार, कुकुरदेखि सावधान, काँचो धागो, अनि, पेटीको जीवन, कुँजो मरेछ, भोलेबा जस्ता कथाहरु प्रकाशित छन् भने दर्जनौं कथाहरु अप्रकाशित छन् । लीला लेखनमा समेत कलम चलाउने समर्थनका कथाहरुमा सामाजिक यथार्थता देखिन्छ । पाल्पामा जन्मे पनि सम्पूर्ण जागिरे जीवन रौतहटमा बिताएका र त्यसैमा बसेर कथा लेखेका रमेश समर्थनलाई तराई मधेशका दरिला कथाकारका रुपमा चिनिन्छ ।
तराई मधेशमा जन्मिएर वा तराई मधेशलाई नै कर्मथलो बनाएर कथा लेख्ने कथाकारहरुलाई यसरी क्रमशः प्रस्तुत गरिन्छ :
विवश पौडेल : सर्लाही, सुधारस, सर्लाही आवाज, जनवकालत र अवसरमा प्रकाशित कथाहरु, सानो बाबु, फुटेको ऐना, माइक्रोप्रोसेसर सर, त्यो फेरि फर्कला, बिहेको निम्तो ।
विवेक पोखरेल :
: सर्लाही सुमित्राको खोजी र उनको खोजीमा प्रकाशित फुटकर कथा
माधवप्रसाद गौतम : बारा, कलैया, प्रकाशित कथा ः मेघिया
अमर त्यागी : बारा, सुत्र कथा सङ्ग्रह प्रकाशित
भीमचन्द्र थापा : वीरगञ्ज पर्सा, फुटकर कथा प्रकाशित
रमेश गोर्खाली : वीरगञ्ज पर्सा, तिमी मेरो गीत गाऊ कथा संग्रह प्रकाशित
जुनु क्षेत्री : बारा, फुटकर कथा प्रकाशित
दिनेश गुप्ताः पर्सा, क्यान्सरका साठी दिन र फुटकर कथा प्रकाशित
मुकुन्द आचार्य : बारा, कलैया विभिन्न पत्रपत्रिकामा कथाहरु प्रकाशित जसमध्ये, फूलमतिया
डा. विश्वम्वरकुमार शर्मा : पर्सा, फुटकर कथा प्रकाशित
चन्द्रकिशोर ः पर्सा, सम्भावानी युगे युगे र पाङ्ग्रो कथा प्रकाशित
विश्वराज अधिकारी : रौतहट गरुडा : रानीघाट, सूर्य र वहेलिया कथा संग्रह प्रकाशित
धर्मेन्द्र भट्टराई : बारा, फुटकर लघुकथा प्रकाशित
डा. शालिकराम उपाध्याय : फुटकर कथा प्रकाशित
धुस्वाँ सायमी : फुटकर कथा प्रकाशित
शीतल गिरी : रौतहट, गौर, तपोभूमि कथा सङ्ग्रह प्रकाशित
अच्युतप्रसाद खनाल : बारा फुटकर कथा प्रकाशित
रामभरोस कापडी ‘भ्रमर’ : धनुषा, फुटकर कथा प्रकाशित
तृष्णा भट्टराई : धनुषा, फुटकर कथा प्रकाशित
अयोध्याप्रसाद चौधरी : धनुषा, फुटकर कथा प्रकाशित
धु्रवराज गिरी ‘रोदन’ : महोत्तरी, बर्दिवास, गोलसिलम, गोलसिमल, नवकाँचुली लगायतका पत्रिकामा विभिन्न फुटकर कथा प्रकाशित
विनित ठाकुर : महोत्तरी, फुटकर कथा प्रकाशित
सरस्वती चौधरी : धनुषा, फुटकर कथा प्रकाशित
रमेश रञ्जन झा : धनुषा, फुटकर कथा प्रकाशित
रमेश पौडेल इस्माली : घाम घामजस्तो छैन, काठ जर्किन डी, कथा सङ्ग्रह प्रकाशित
रमेश अजिब रस्मी : महोत्तरी, बर्दिवास, विभिन्न पत्रपत्रिकामा कथाहरु प्रकाशित
सुमन घिमिरे : सर्लाही, लालबन्दी , नव काँचुली, गेलसिमल, लगायत पत्रिकामा फुटकर कथाहरु प्रकाशित
डा. लोकनारायण गिरी ः धनुषा, नेपालकै पहिलो लघुकथाकार, कसिङ्गर कथा संग्रह प्रकाशित
धीरेन्द्र प्रेमर्षी : सिराहा, गोबिन्दपुर ः काँक्राको बीउ, पाडो, खाली बोतल, सुकेको हरियाली जस्ता कथाहरु प्रकाशित
अर्जुन थापा : सर्लाही, कान्छो छोरो, समाज, दाइजो फुटकर कथा प्रकाशित
कुमार दाहाल : सर्लाही, स्यालको कथा, बिडम्वना, अंशवण्डा फुटकर कथा प्रकाशित
तराई मधेशमा नेपाली भाषाका अतिरिक्त मैथिली, भोजपुरी, वज्जिका र थारु भाषामा पनि विभिन्न कथाकारले कथा लेखेका छन् । विभिन्न पत्रपत्रिकामा प्रकाशित हुनका साथै कथा सङ्ग्रह पनि निकालिएका छन् । यस कार्यपत्रमा तराई मधेशका माथि उल्लेखित भाषाका कथाकारहरुको नामावली समेत समेटिएको छ :
भोजपुरी भाषा र कथाकार :
गोपाल अस्क, रामप्रसाद राय थारु, आनन्द गुप्ता, रामप्रसाद साह, दिनेश गुप्ता, वीडा सिंन्हा, डा. संगीता वर्मा, आइडी हुसेन, प. दीपनारायण मिश्र, नागेन्द्रप्रसाद कानु, शिवशंकरप्रसाद रौनियार, लक्ष्मण मधेशिया, भाग्यनाथ गुप्ता, मुकुन्द आचार्य, माधवप्रसाद गौतम, उमाशंकर द्वीवेदी दधी, भउचप्रसाद यादव, अनिता साह, राजेन्द्र वणवाल ।
मैथिली भाषा र कथाकार :
धिरेन्द्र, धुमकेतु, बासुदेव ठाकुर, जीवनाथ झा, लक्ष्मण शास्त्री, डा. राजेन्द्र विमल, रामभरोस कापडी, रोशन जनकपुरी, रमेश रञ्जन झा, डा. रेवतीरमण लाल, प्रदीप विहारी, राजेन्द्र ललन, करुणा झा, श्यामसुन्दर शशी, रामनारायण देव, रुपा झा, सुरेन्द्र लाभ, प्रेम विधेय ललन तथा सुनिल मल्लिक आदि ।
बज्जिका भाषा र कथाकार :
विन्दालाल साह, सञ्जय मित्र, संजय सुदामा, रेणु गुप्ता तथा समतोलिया देवी आदि ।
निष्कर्ष :
सर्वप्रथम आख्यानलाई कहिल्यै पनि एक विचारले, शैलीले, भाषा र शिल्पीले बाँधेन, त्यसैले भिन्नताहरु सधैं स्वीकार्य छन् । भिन्नताको उपस्थिति भनेको निश्चित विश्वास, एकरुपता वा अपरिवर्तनीयताबाट मुक्ति हो ।
एक दशक यताको नेपाली आख्यानमा नयाँ समयको चेतना प्रतिध्वन्ति हुन थालेको छ, केही नयाँ टेक्निकको प्रयोग हुन थालेको छ । नवीनताभित्र माथ्लो तहमा दार्शनिक आयामदेखि तल्लामा केही टेक्निक र मान्यताको प्रस्तुतिसम्म अनेक तहमा हुन्छ । त्यो अन्तरलाई अनुभूतिले मात्र पढ्न सकिन्छ । अघिका आख्यानलेखनका दृष्टिकोण, संरचना र शैलीसँग र अहिलेका टोन, शैली, वियावस्तुको तुलना गर्दा त्यो अन्तर देखा पर्दछ । यसमा तराई/मधेशको भावभूमिमा रचना गरिएका आख्यानात्मक विधा र तिनका सर्जकहरु समेत अछुतो अवस्थामा छैनन् । संवेदनशीलता सामाजिक जीवनभित्रका आयाम, राजनैतिक द्वन्द्व र तिनका चहराइरहेका घाउहरु, जातीय तथा भाषिक द्वन्द्व र त्यसमा छिमेकीमा चासोहरु, अपहेलित जनजीवतबाट निस्किएका विद्रोहात्मक स्वर, आञ्चलिकता जस्ता विशेषता नेपाली आख्यानात्मक विधामा तराई÷मधेशले पु¥याएको उच्चतम योगदान गहर्छ, जातीय, भाषिक, धर्म र संस्कृतिका विम्ब र मिथकलाई टिपेर नेपालीमा मिसाउँदै नेपाली आख्यानको क्षेत्रमा अतुलनीय योगदान पु¥याउन तराई÷मधेश निरन्तर अग्रसर रहेको पाइन्छ । पहिचान, स्वाभिमान र स्वतन्त्रताको जनलहर उरालिएको अवस्थामा स्वःपहिचान त्यागेर पर पहिचान अंगाल्ने राजनीतिक नेतृत्वप्रति धावा बोलिएतापनि आख्यानात्मक कृतिमा त्यसको स्पष्टता देखिन अझै नसकेको हो कि भन्ने ठम्याई यस पङ्तिकारको रहेको छ । तर समकालिन नेपाली आख्यानको श्रीवृद्धिमा तराई/मधेशले पु¥याएको योगदान भने अतुलनीय छ ।
सन्दर्भ सामाग्री :
प्रा. भोजराज ढुङ्गेल र दुर्गाप्रसाद दाहाल– नेपाली कथा र उपन्यास
डा. ऋषिराज बराल र कृष्णप्रसाद घिमिरे– नेपाली कथा भाग–३
प्रा.डा. दयाराम श्रेष्ठ, नेपाली कथा भाग–४
परशु प्रधान र नारायण तिवारी– तराई मधेशका कथा
प्रा.डा. केशवप्रसाद शर्मा, शालिकराम पौडेल, जगदीश गैरे, प्रेमप्रसाद तिवारी र विनोद खनाल–नेपाली गद्य, भाषा र साहित्य
डा. बुद्धराज खनिया, डा. रामकुमार अधिकारी, डा. मोहनप्रसाद भट्ट र विप्रहरि दाहाल, स्नातक अनिवार्य नेपाली
केशव सुबेदी, शालिकराम पौडेल र प्रेमप्रसाद तिवारी– अनिवार्य नेपाली
कार्यपत्र सम्वन्धी जानकारी दिनुहुने सर्जकहरुः–
डा. राजेन्द्र विमल, जनकपुर
डा. भागवत आचार्य, खोटाङ, हाल काठमाडौै,
डा. दुर्गाप्रसाद दाहाल, सिन्धुली, हाल काठमाडौं
गोपाल अस्क,
सुमनप्रसाद घिमिरे, जनज्योति बहुमुखी क्याम्पस, लालबन्दी, सर्लाही
डा. गोविन्दराज भट्टराई – उत्तर आधुनिक सिद्धान्तको पृष्ठभूमिमा नेपाली आख्यानोत्तर साहित्य –कार्यपत्र)
सन्तोष श्रेष्ठ– साप्तीको गजल साहित्य र सङ्गीतको सिंहावलोकन
000
नेपाल प्रज्ञा प्रतिष्ठान र बाँके–वागमती सेवा समाजद्वारा २०७४ चैत्र १० गते सर्लाहीको लालबन्दीमा आयोजित ‘समकालीन नेपाली आख्यानमा तराई/मधेशको योगदान’ विषयक गोष्ठीमा विवश पौडेलद्वारा प्रस्तुत गरिएको कार्यपत्र ।
(नेपाली कथाको बिगत निक्कै लामो छ । त्यसको इतिहासभन्दा पनि तराई मधेशमा जन्मिएर वा तराई मधेशलाई कर्मथलो बनाएर वा तराई मधेशका विषयलाई समेटेर नेपाली आख्यान अन्तर्गतको कथा उपविधामा कलम चलाउने सर्जकको मात्र प्रस्तुत कार्यपत्रमा सङ्क्षिप्त जानकारी समेटिएको छ । सूचनाको अभाव, छोटो समय, अपर्याप्त तथ्याङ्क जस्ता कारणले गर्दा प्रस्तुत कार्यपत्र पूर्ण आंशिक छ । आगामी कार्यपत्रमा सम्भव भएसम्म सम्पूर्ण आख्यानकारलाई समेटिने प्रयास गरिनेछ । यो कार्यपत्र नेपाल प्रज्ञा प्रतिष्ठान र बाँके बागमती सेवा समाजद्वारा आयोजित कार्यक्रमको प्रस्तुतिका लागि तयार पारिएको हो । यसमा रहेका त्रुटिलाई अन्य कार्यपत्रमा सच्याइने छ । - विवश पौडेल )
No comments:
Post a Comment