एकै थलोमा ११ भाषाका कविता
हेटौंडा / २०७३ असोज ८ गते / साहित्यिक गतिविधि बाक्लै हुने गरेको मकवानपुरमा बहुभाषाभाषीका कविता विरलै सुन्न पाइन्छ । हरेक साता साहित्यक कार्यक्रम भएपनि नेपाली भाषामा लेखिएका कविता मात्र वाचन हुने गरेको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान र साहित्य संगम मकवानपुरले शनिबार आयोजना गरेको कार्यक्रममा भने धेरै भाषाका कविता सुन्ने अवसर साहित्यप्रेमीले पाए । संगमको प्रेक्षायलमा भएको कार्यक्रममा ११ भाषामा कविता वाचन भएको थियो ।
संगमको २५२ औं साहित्य विशेषको अवसरमा प्रतिष्ठान र संगमको आयोजनामा भएको बहुभाषिक कवि र आख्यान गोष्ठीमा सहभागी कविले ११ वटा भाषामा कविता वाचन गरेका हुन ।
कार्यक्रममा वाचन भएका अधिकांश कविता नेपाली भाषाका भएपनि केशव तौजलेले नेवारी, निमेष निखिलले हिनदी, निरा शर्माले मैथली, यश लामाले तामाङ, चन्द्रमान चेपाङले चेपाङ, विवश माझीले माझी, मनोज ढकालले जापनिज, हेमन्ती थापा मगरले मगर, उदय अधिकारी र निरञ्जीवी लामिछानेले अंग्रेजी र देवराज तिवारीले थारु भाषाको कविता वाचन गरेका थिए । कार्यक्रममा तीन दर्जन भन्दा धेरै कविता वाचन भएको थियो ।
कार्यक्रममा साहित्यकार डिआर पोखरेलले ‘नेपाली उपन्यासमा गणतान्त्रिक चेत’ विषयक कार्यपत्र पेश गरेका थिए । उनको कार्यपत्र माथि साहित्यकार आन्नदराम पौडेल, निमेष निखिल र उदय अधिकारीले टिप्पणी गरेका थिए । कार्यक्रममा नाटककार तुल्सी थापाले अन्तरभाषिक सम्वन्धको बारेमा चर्चा गरेका थिए ।
सांस्कृतिक, सामाजीक तथा भाषिक पहिचानको मुद्दाहरु उठिरहेका समयमा बहुभाषिक कविता गोष्ठि आयोजना हुनु र त्यसमा बिभिन्न भाषाका कविहरुले आफ्नो मौलिक भाषामा कविता वाचन गर्नुले राष्ट्रलाई भाषिक एकता र एक सुत्रमा बा“ध्न मद्दत गर्ने कुरा सम्पूर्ण कवि तथा सहभागिहले ब्यक्त गरेका थिए ।
संगमका अध्यक्ष सुवास खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ मातृका पोखरेल रहेका थिए । कार्यक्रममा साहित्यकार तुल्सी थापा, आरसी रिजाल, अप्सरा तिमल्सिनालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
===========================================
नेपाली उपन्यासमा गणतान्त्रिक चेत
- डि.आर.पोखरेल
१. विषय प्रवेश
उपन्यास अध्ययनको सिलसिलामा प्रस्तुत नेपाली उपन्यासमा गणतान्त्रिक चेत अलग खालको शीर्षक देखिन्छ । तर मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेको आजको अवस्थामा भने प्रस्तुत शीर्षकमाथिको छलफलले ठुलो महङ्खव राख्दछ ।
विकासको द्वन्द्वात्मक नियम अनुसार नै पुरानो सत्ताको विकल्पमा पैदा भएको नयाँ चेतनाले नेपाली समाजमा प्रभाव पार्दै ल्याएको हो । स्वतन्त्रताको चाहना, स्वाधीनताको चाहना, देशभक्तिको भावना, मानवीयताको भावना, प्रजातन्त्र र समाजवादको आकाङ्क्षा लगायत जातीय पहिचान, वर्गीयता, लैङ्गिकता, धार्मिकता, प्रादेशिकता, भाषा र विकास आदि कुराहरूकै आलोकमा गणतान्त्रिक चेतको विकास हुँदै आएको हो । ‘रोम एक दिनमा बनेको होइन’ भने जस्तै नेपाली समाजमा गणतान्त्रिक चेतना पनि छुमन्तर गरी पैदा भएको होइन, यो क्रमशः विकास हुँदै आएको हो ।
गणतान्त्रिक चेतनाको वाहक वा सूत्रधार भने यहाँका राजनीतिक पार्टीहरू हुन्, मूलतः वामपन्थी पार्टीहरू हुन् । पार्टीमा रहेको यो चेतना साहित्यको क्षेत्रमा पनि विस्तारित भयो र यस क्षेत्रको तरलता संवेदनशीलताको मलिलो आधारशिलाबाट यसले आख्यान क्षेत्रमा खास गरी उपन्यास क्षेत्रमा तरङ्गित हुने अवसर प्राप्त ग¥यो ।
साहित्यका विभिन्न विधाहरूमध्ये उपन्यास वर्तमान समयको सर्वाधिक लोकप्रिय विधा
हो । यसलाई आधुनिक युगको महाकाव्य पनि भनिन्छ । वास्तवमै उपन्यास नयाँ समाजको नयाँ मान्छे र नयाँ यथार्थको उद्घाटन गर्ने विधा हो (बराल, २०५६ ः २) । यसमा नेपालको नयाँ यथार्थ (गणतान्त्रिक चेत) कसरी उद्घटित भएको छ ? यसको प्रस्तुति कसरी भएको छ ? भन्ने कुराको यथोचित अध्ययन र विश्लेषण गर्नु नै यस गोष्ठीपत्रको उद्देश्य रहेको छ ।
२. परिभाषा
२.१ गण र गणतन्त्र
‘गण’ ले आदिम कबिलायी मानिसहरूको समूहलाई जनाउँछ । ‘गण’ एकभन्दा बढी वंशहरू (कुलहरू) सम्मिलित भएर बनेको वंशभन्दा ठुलो र फराकिलो मानिसहरूको ऐतिहासिक ऐक्यताको एउटा रूप हो (आफनासयेभ, सन् १९७७: ३०४) । यस शब्दबाट गणदेवता गणपति, गणतन्त्र आदि शब्दहरू पनि बनेका छन् । तर गणतन्त्र, ‘गण’ र ‘तन्त्र’ दुई पदहरू मिलेर बनेको जस्तो देखिन्छ । अङ्ग्रेजीमा यसलाई रिपब्लिक भनिएको पाइन्छ । ‘रिपब्लिक’ शब्द ल्याटिन शब्द …republicaÚ बाट बनेको र यसको अर्थ ‘लोक कार्य’ हो (इन्साइक्लोपेडिया ब्रिटानिका, सन् १९७१: १९२) ।
गणतन्त्र आदिम कालको राज्य व्यवस्थालाई जनाउने शब्द हो । त्यतिखेर यसले कबिलायी एकता, सामूहिकता, राजारहित निर्वाचित शासकदलबाट शासन र सबैको समुन्नतिको अर्थ बोकेको थियो । तर आज भने गणतन्त्र, प्रजातन्त्र वा लोकतन्त्रको समकक्षी अर्थसहित राजारहित शासन व्यवस्थाको अर्थ बोकेर आएको देखिन्छ । नेपालमा राजतन्त्रको अन्त्य गरी २०६५ जेठ १५ गते गणतन्त्रको घोषणा भएको हो । नेपालको संविधानको धारा ४, उपधारा १ मा भनिएको छ :
“नेपाज राज्य : (१) नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्तासम्पन्न, धर्म निरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो ।”
(नेपालको संविधान, २०७२ : २) ।
यसरी नेपालमा गणतन्त्रलाई लोकतान्त्रिक गणतन्त्र मानिएको छ । तर वास्तविकता के हो भने नेपालमा राजतन्त्रको समूल नष्ट गरिएर गणतन्त्र स्थापना गरिएको हो । त्यसकारण नेपालमा गणतन्त्र आउँदा उल्लिखित सबै विशेषताहरू बोकेर आएको छ । यसले स्वतन्त्रता, देशप्रेम, धर्म निरपेक्षता सङ्घीयता, समावेशिता, लोकतन्त्र र समाजवादको भावना बोकेर आएको छ ।
‘गणतन्त्र’ पुरानो धारणा हो । यो इ.पु. ६०० तिर नै अस्तित्वमा आइसकेको थियो । विश्वको पहिलो गणतन्त्र भारतको वैशाली (आजको मज्जफरपुर, बसाढ), गणतन्त्र थियो र यसपछि रोमको गणतन्त्र रहेको थियो -http://en.m.wikipedia.org_ । यसरी दासयुग र दासयुग अघिदेखि नै गणतन्त्रको धारणा रहँदै आएको छ । प्राचीन कालमा यो विश्वभरिकै प्रवृत्ति रहेको थियो । मध्यकालमा आएपछि निरपेक्ष राजतन्त्रको विकास भयो तैपनि केही राज्यहरू गणतान्त्रिक पद्धतिमै रहिरहेका थिए । युरोपमा खास गरी ग्रीक, एथेन्समा प्राचीनकालमा जुन नगर राज्यहरू थिए ती पनि गणतान्त्रिक बन्दै गए । पहिलेका नगर राज्यहरू ससाना स्वायत्त राज्यहरू थिए र ती एउटा नगरमा मात्र सीमित थिए । आज Vatican City (पहिले इटलीको अधीनमा) त्यसै एउटा नगर राज्य हो । यो नगर राज्यको नमुना अवशेष हो । बौद्ध साहित्य अनुसार नेपालमा पनि शाक्य र कोलीय दुई गणराज्यहरू बुद्धकालमा थिए ।
आज संसारभरिका २०६ वटा देशहरूमध्ये १४७ वटामा गणतान्त्रिक व्यवस्था रहेको उल्लेख पाइन्छ (http://en.m.wikipedia.org) । जसरी नेपाल २०६५ (सन् २००८) मा गणतान्त्रिक राज्य घोषणा भयो, त्यसरी नै यही वर्ष युरोपको एउटा देश कोसोभोमा गणतन्त्र घोषणा गरिएको थियो । यसरी गणतान्त्रिक राज्य बन्ने प्रक्रिया अहिले पनि चलिरहेको छ । नेपालभन्दा पछि पनि अफ्रिकी राष्ट्र दक्षिणी सुडान इजिप्टको अधीनबाट सन् २०११, जुलाईमा स्वतन्त्र भई गणतान्त्रिक बन्यो ।
२.२ उपन्यास
उपन्यास उप र न्यास दुई पदहरूको मिलनबाट बनेको छ । वास्तवमा ‘उप’ उपसर्ग हो । यसको अर्थ ‘नजिक’ हो । यस्तै ‘न्यास’ पदको अर्थ राख्नुसित सम्बन्धित छ । यसरी ‘उपन्यास’ को अर्थ ‘नजिक राख्नु’ भन्ने देखिन्छ । तर उपन्यास अङ्ग्रेजी ‘नोभल’ शब्दको नेपाली रूपान्तरण जस्तो हो । नोभल शब्द युनानी भाषाको ‘नोभस’ (नयाँ), इटालेली भाषाको ‘नोभला’ (सत्यानुरूपको काल्पनिक कथा) र फ्रान्सेली भाषाको ‘नोभले’ (कथा) बाट नोभल हुन आइपुगेको हो ।
उपन्यास एक लोकप्रिय विधा हो । आजको जटिल सामाजिक जीवनलाई समग्रतामा पुनःसिर्जन गर्ने सामथ्र्य उपन्यासमा रहेको छ । आज “उपन्यास सबै साहित्यिक सिद्धान्तहरूको प्रयोगशाला जस्तो भएको छ (बराल, २०५६ : १८) । यसो भएकाले उपन्यासमा विभिन्न विचारहरू, वादहरू, धाराहरू दृष्टिकोणहरूको प्रयोग हुने गरेको देखिन्छ । धाराका आधारमा आदर्शोन्मुख यथार्थवादी, स्वच्छन्दतावादी, सामाजिक यथार्थवादी, ऐतिहासिक यथार्थवादी, अतियथार्थवादी, आलोचनात्मक यथार्थवादी, नारीवादी प्रकृतवादी, मनोविश्लेषणवादी, विसङ्गतिवादी, अस्तित्ववादी, प्रयोगवादी, प्रगतिवादी र मिथकीय धारा गरी अनेक प्रकारहरू छुट्टिएका छन् । (बराल र एटम, २०५९ : ९५–१६२) ।
यसै गरी विषयवस्तुका आधारमा साहसिक, ऐतिहासिक, सांस्कृतिक, सामाजिक मनोवैज्ञानिक, राजनीतिक, आञ्चलिक, वैचारिक, वैज्ञानिक, जीवनीमूलक मिथकीय र जासुसी गरी विभिन्न विषयका आधारमा उपन्यासको वर्गीकरण भएको छ । यसरी नै कथानकका आधारमा घटनाप्रधान, चरित्रप्रधान, चित्रात्मक र नाटकीय गरी उपन्यासको वर्गीकरण गरिएको पाइन्छ । यसरी नै शैलीका आधारमा वर्णनात्मक, आत्मकथात्मक, पत्रात्मक, डायरी उपन्यास र चेतनप्रवाह शैलीका उपन्यास गरी वर्गीकरण भएको छ ।
यसरी नै अन्य ढङ्गले पनि उपन्यासलाई वर्गीकरण गरिएको पाइन्छ व्यङ्ग्यात्मक उपन्यास, जानकारीमूलक उपन्यास, छद्मभेषी उपन्यास, तार्किक उपन्यास, धारावाहिक उपन्यास, नयाँ उपन्यास, अधिउपन्यास -Metafiction_ र यस्तै गरी आयामका आधारमा लघु र वृहत् गरी दुई प्रकारका उपन्यासहरूको चर्चा गरिएको पाइन्छ ।
उपन्यासको अध्ययन चाहिँ संरचनात्मक तङ्खवहरूका आधारमा गरिन्छ । जस्तो कथानक (प्लट), चरित्र, पर्यावरण, दृष्टिविन्दु, सारवस्तु, भाषा, प्रतीक र बिम्ब, उद्देश्य आदि ।
तर हामी यहाँ उपन्यासको अध्ययन केवल यसमा प्रस्तुत भएको गणतान्त्रिक चेतका आधारमा गरिरहेका छौँ । संविधानले किटान गरेको नेपाल राज्यको स्वरूपमा जुन सङ्घीयता, समावेशिता, स्वतन्त्रता सार्वभौम सत्ता, धर्म निरपेक्षता, लोकतन्त्र र समाजवादका जुन कुराहरू छन्; यीमध्ये धेरै कुराहरू पुरानो सत्ताको चरित्रभित्र थिएन । राजतन्त्रात्मक व्यवस्थाको चरित्र थिएन । त्यहाँ सङ्घीयता थिएन (केन्द्रीयता थियो) त्यहाँ प्रादेशिकता थिएन (एकात्मक राज्य
थियो) । त्यहाँ धर्म निरपेक्षता थिएन (हिन्दु अधिराज्य थियो), त्यहाँ लोकतन्त्र थिएन (निरङ्कुश तन्त्र थियो), त्यहाँ समावेशिताको व्यापक व्याख्या थिएन (मनोमानी थियो) त्यहाँ लैङ्गिक सशक्तीकरण थिएन (लैङ्गिक विभेद थियो) । हो, यिनै गणतन्त्रका सारभूत कुराहरू ठहरिएका छन् नेपालमा । यी कुराहरूलाई त्यतिखेरका पार्टीहरू र बुद्धिजीवीहरूले सैद्धान्तिकीकरण गर्दै नेपालमा रहेका मुख्य समस्याहरू भनी जातीयता, वर्गीयता, धार्मिकता, लैङ्गिकता प्रादेशिकताका कुराहरू उठाएका थिए । यसमा भाषिक समस्या जोडिएको नपाइए पनि त्यो पनि नेपालको समस्या थियो र छ । हो यिनै समस्याहरू नेपाली उपन्यासहरूमा कहाँ, कसरी, अभिव्यक्त भएका छन् ? भन्ने कुरा नै आजको नेपाली उपन्यासमा गणतान्त्रिक चेतनाको अध्ययनका विषय हुन् ।
३. उपन्यासको विकासक्रम र गणतान्त्रिक चेत
साहित्यको विकासको आधार भाषा हो । नेपालमा लिच्छविकाल र मल्लकालमा सरकारी भाषाको रूपमा संस्कृत भाषाको प्रचलन थियो भन्ने कुरा त्यतिबेलाका अभिलेखहरूले जनाएका छन् । नेपाली भाषा त सिञ्जा क्षेत्रको लोक भाषाको रूपमा थियो । त्यतिखेर यसलाई खसभाषा भनिन्थ्यो । सिञ्जाक्षेत्रमा खसराज्य स्थापना भएपछि यस भाषालाई राज्य भाषाको रूपमा मान्यता प्रदान गरियो । यसपछि मात्र यस भाषामा अभिलेखहरू राखिन थालेका हुन् । खस सम्राट् अशोक मल्लका नाति आदित्य मल्लको संवत् १३७८ को शिलास्तम्भको अभिलेख नै नेपाली भाषाको पहिलो अभिलेख हो (अधिकारी, २०५३ ः १०१) । यस कुराको पुष्टि बालकृष्ण पोखरेलले आफ्नो पुस्तक पाँचसय वर्षमा गरेका छन् ।
हाम्रो भाषा साहित्यको पृष्ठभूमि यस प्रकार रहेको देखिन्छ । साहित्यको प्राथमिक काल नै १८२७ देखि यतालाई मानिएको छ । शक्तिवल्लभ अज्र्यालको अनूदित आख्यान कृति विराटपर्व (१८२७) र पृथ्वीनारायण शाहको आत्मकथात्मक एवं निबन्धात्मक कृति दिव्योपदेश (१७३१), नै नेपाली साहित्यका जगहरू हुन् । संवत् १८२७ देखि १९४५ सम्मको ११८ वर्षको समयावधिलाई आख्यान साहित्यको प्राथमिक काल भनिएको पाइन्छ । यसै गरी १९४६ देखि १९९० सम्मको समयावधिलाई मध्यकाल र १९९१ देखि यताको आजसम्मको समयलाई आधुनिक भनी आख्यानको काल विभाजन गरिएको छ (श्रेष्ठ र शर्मा, २०६२ : ९९) । प्राथमिक कालमा मौलिक कृतिहरू प्रकट नभएका र संस्कृत स्रोतबाट अनुवाद भएका, पुनःसिर्जन भएका आख्यानहरू र कथ्य भाषामा रहेका केही लोकआख्यानहरू रहेको देखिन्छ । आख्यानको निर्माणकाल १९४६ देखि १९९० सम्मलाई भनिएको छ र यस कालको सुरुमै रमाख्यान वीरसिक्का (१९४६) चर्चित रहेको पाइन्छ । यसपछि मौलिक कृति गिरीश वल्लभ जोशीको वीर चरित्र (१९६०) बाहिर आयो । तर यसले पनि वीरसिक्काकै बाटो लियो र मौलिक भए पनि यसको विशेषता चाहिँ रमाख्यानकै थियो । यसपछि त लामो समय मौलिक कृतिहरू आएनन् । यस कालखण्डमा अनूदित र पुनःसिर्जित आख्यान कृतिहरूकै बाहुल्य रहेको र संस्कृत, हिन्दी, उर्दू, फारसी र अरबी स्रोतबाट विभिन्न आख्यानहरू सुनकेसरा रानीको कथा, लालहीराको कथा, मधुमालतीको कथा, स्वस्थानी व्रत कथा, हरितालिका व्रतकथा, सत्यनाराण व्रतकथा जस्ता आख्यानहरूका अनुवाद र पुनःर्सिजन भएको देखिन्छ । तर यस कालका आख्यानहरूको उद्देश्य उपदेश दिनु र मनोरञ्जन प्रदान गर्नु रहेकाले सामाजिकतातर्फ केन्द्रित भएनन् । यस समयखण्डमा नेपालमा ठुलठुला हलचलहरू भए । बिर्ताहरण (१९६२), सतीप्रथा उन्मूलन (१९८०), दासप्रथा उन्मूलन, मकैको खेती काण्ड (१९७७) र महाभूकम्प (१९९०) आदि भयङ्कर ठुला घटनाहरू भए तर यी आख्यानका विषयवस्तु बनेनन् । त्यतिखेरका आख्यानहरू समाजकेन्द्री, मानवकेन्द्री थिएनन् । तिलस्मी, ऐयारी, मनोरञ्जनात्मक र अवस्तुवादी रचना थिए । त्यतिखेरका त पात्रहरू पनि मानवइतर हुन्थे । देव, देवी, भूतप्रेत, पशुपक्षी र अलौकिक किसिमका अद्भुत् चरित्रहरूको चित्रण हुन्थ्यो । यस प्रकारको रमाख्यानको युगलाई संवत् १९९१ का मौलिक र मानवकेन्द्री, समाजकेन्द्री उपन्यास रुद्रराज पाण्डेको रूपमती (१९९१) र विष्णुचरण श्रेष्ठको सुमती (१९९१) ले विदा दिएको देखिन्छ । यी दुवै उपन्यासले सामाजिकताको बाटो समाते । मानवकेन्द्री सोचलाई अघि तेस्र्याए । आख्यान साहित्यको विकासमा यो ठुलो फड्को थियो । तर यी दुवै उपन्यासले मानव समाजलाई आफ्नो विषयवस्तु बनाएका भए पनि तिनले त्यही सामाजिक परम्परालाई नै आदर्श ठाने । यी दुवै साहित्य धारामा लैनसिंह वाङ्देलको मुलुक बाहिर (२००५) ले नयाँ आयाम थप्यो । सामाजिक चिन्तनको वस्तुगत बाटो समात्यो । साहित्यको यथार्थवादी धाराको सूत्रपात यहीँबाट भयो । तर उनले सामाजिक यथार्थलाई सामाजिक द्वन्द्वको स्थितिबाट अलग्गै राखे । याथार्थिक तर द्वन्द्वरहित, जीवनको चित्रण गरे । यसलाई बसाइँ (२०१४) ले केही सच्च्यायो । धनी र गरिबको भेद र ठुलाबाट सानाको शोषण दोहनको पोल खोल्यो तर यसले पनि शोषण दमनमा परेको धनेहरूलाई गाउँबाट बसाइँ हिँड्ने मात्र बनायो । बसाइँ हिँड्दा यसलाई आफ्नै भाग्यको खेल ठान्यो । बैदार बुढा र नन्दे ढकालले शोषण र अन्याय ठानेनन् । समाजले पनि धनेलाई बसाइँ हिँडाउनु हुँदैन भनेर बोल्न सकेन । बैदार बुढा र नन्दे ढकालको दबाबमा गरिबहरूले मात्र होइन गाउँका अरू मानिसले पनि बोल्न सक्तैनथे । त्यसो भएकाले क्षेत्रीले पनि यथास्थितिको मात्र शोषण, दमन र अन्यायको चित्रण मात्र गरे ।
तर बसाइँभन्दा अघि नै सामाजिक अन्यायको विरुद्ध स्वास्नीमान्छे (२०११) मा पीडित स्वास्नीमान्छेहरूले पीडकहरू विरुद्ध सङ्गठन खोलेको र पीडकहरूलाई छानीछानी गोली ठोकेको विद्रोही चेतना हृदयचन्द्रसिंह प्रधानले प्रस्तुत गरेकै हुन् । त्यसकारण सामाजिक यथार्थको चित्रण गर्दा यथास्थितिवादी परम्परावादी ढङ्गले गर्ने कि गति र परिवर्तनको सामाजिक नियमहरूलाई उजागर गर्दै नयाँ चेतनाको उद्घाटन गर्ने यी दुई दृष्टिकोणका कुरा हुन् । एउटा स्रष्टाले कस्तो दृष्टिकोण राख्ने ? उसको स्वतन्त्रताको कुरो हो तर यथास्थिति मात्रै यथार्थ हो र आजका द्वन्द्वपूर्व सामाजिक सम्बन्धहरू र यसबाट निसृत सम्भावनाहरू भोलिका यथार्थ होइनन् भन्ने चाहिँ होइन ।
यथास्थितिमै रमाइरहेको भए आज नेपालमा लोकतन्त्र आउने थिएन । नेपालमा लोकतन्त्र ल्याउन कति वीरहरूले प्राणको आहुति गरे, कति अग्रजहरूले जीवनको कुर्बानी गरे । कति समाजसेवी, साहित्यसेवीहरूले आफ्नो जीवनलाई सङ्घर्षको दाउमा हाले । कति सहिद भए । कति जेलमा सडे । कतिको घरवास उठ्यो । त्यसै लोकतन्त्र आएको हो र ? त्यसै गणतन्त्र आएको हो र ? आख्यानकै क्षेत्रमा पनि मुक्तिनाथ तिम्सिना, हृदयचन्द्रसिंह प्रधान, डी.पी. अधिकारी, खगेन्द्र सङ्ग्रौला, पारिजातहरूले सामाजिक यथार्थलाई जुन दृष्टिकोणका साथ चित्रण गरे, सामाजिक अन्याय, राजनीतिक, आर्थिक, सांस्कृतिक क्षेत्रका, अत्याचार, शोषण दमन, भ्रष्टाचार र अव्यवस्था विरुद्ध जुन अभिव्यक्ति दिए, जुन विद्रोहको स्वर उचाले, जुन वस्तु चित्रण गरे त्यो यो समाजको लागि शिक्षाप्रद र प्रेरणादायी कुरा थियो र छ ।
नेपाली समाजमा विद्यमान विभिन्न प्रकारका समस्याहरूका कारण राजतन्त्र विरोधी र गणतन्त्रको समर्थनमा विचारहरू निर्मित भएका हुन् । सबभन्दा ठुलो समस्या वर्गीयताको समस्या थियो । गरिब र धनी शोषक र शोषित, उत्पीडक र उत्पीडितको बिचको खाल्डो फराकिँदै गएपछि र पुरानो सत्ताले गरिब वर्गको हित गर्नुको साटो यस वर्गमाथि शोषण दमन गर्ने सामन्ती वर्गको रक्षा गर्न थालेपछि वर्गीय समस्या बढेर गएको हो ।
अर्को नेपाल बहुजातीय बहुभाषिक, बहुसांस्कृतिक चरित्र भएका मुलुक भएर पनि शासक वर्गले एक भाषा नीति र एक धर्म, संस्कृतिको नीति लिएर राज्यलाई हिन्दु अधिराज्य घोषणा गर्नाले जनजाति राजतन्त्रको विरुद्ध केन्द्रीय एकात्मक सरकारको विरुद्ध सङ्घीयता र एक मधेसको नारा लिएर मैदानमा उत्रिएको स्थिति हो । यो प्रादेशिकताको समस्या गहन समस्याका रूपमा नेपालमा उठ्यो र उठिरहेको छ । तेस्रो समस्या लैङ्गिक विभेदको हो ।
यस्तै गरी भाषाको समस्या पनि छ । नेपाली भाषालाई मात्र जोड दिएर अरू राष्ट्रिय भाषाहरूको उपेक्षा हुन पुगेकाले भाषिक समस्या बढ्दै गएको देखिन्छ ।
राज्यका सामु खडा भएका यिनै समस्याहरूलाई सम्बोधन गर्ने क्रममा नै गणतन्त्रको चेतनाले विस्तार पाएको हो ।
जहाँसम्म नेपाली उपन्यासमा गणतान्त्रिक चेतको प्रश्न छ, त्यो सुरुमा जातीयता र लैङ्गिकताको चेतनाको रूपमा प्रस्तुत भएको पाइन्छ । संवत् २०११ सालमा प्रकाशित हृदयचन्द्रसिंह प्रधानको स्वास्नीमान्छे र मुक्तिनाथ तिम्सिनाको को अछुत ? यसका उदाहरणहरू हुन् । यसअघि यस प्रकारका चेतनाहरूको अभिव्यक्ति उपन्यासमा भएको देखिन्न । लैनसिंह वाङदेलको मुलुक बाहिर (२००५) ले नेपाली उपन्यास परम्परालाई यथार्थवादी धारामा त ल्यायो । पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्ध सेनामा भर्ना हुने र मुग्लान पस्ने नेपालीहरूको यथार्थ कथा त यसले प्रस्तुत ग¥यो तर द्वन्द्वरहित सामाजिक यथार्थको प्रस्तुति मात्र भयो । भिडमा फोटो खिचेको जस्तो भयो ।
संवत् २०१५ सालको आम निर्वाचनबाट बनेको संसदीय सरकारलाई २०१७ सालमा राजा महेन्द्रले कु गरेर ढालेपछि पञ्चायती तानाशाही व्यवस्था सुरु भयो । पार्टीहरू प्रतिबन्धित भए । जनताका हक अधिकारका आवाजहरू गुम्सिन थाले । पञ्चायती व्यवस्थाप्रतिको असन्तुष्टि अटेसमटेस हुन थाले र भित्रीरूपमा पार्टीहरू सक्रिय हुन थाले । डी.पी. अधिकारकिो आशमाया (२०२५), खगेन्द्र सङ्ग्रौलाको चेतनाको पहिलो डाक (२०२७), र डी.पी. अधिकारीकै धरती अझै बोल्दै छ (२०२७) मा सामन्ती शोषण, अन्याय अत्याचार पुलिस प्रशासनको दमन नीति र जनताको उर्लदै आएको विद्रोही चेतनाको प्रस्तुति भएको छ । नारी चेतना पनि यिनमा आए र आदिवासी किसानहरू माथिको अत्याचारको चित्रणले जातीय चेतना पनि यी उपन्यासहरूमा प्रकट हुन थाले । आदिवासी माझी जातिमाथिको शोषण र अन्यायको कथा त जगदीश घिमिरेको लिलाम (२०२६) मा पनि प्रकट भयो । उता वाङदेलको मुलुक बाहिर लीलबहादुर क्षेत्रीको बसाइँ (२०१४) बाट सुरु भएका नेपालीहरूको मुग्लानिया हुने रोग शिवकुमार राईको डाकबङ्गला (२०१३) गोविन्दराज भट्टराईको मुगलान (२०३१), डोरबहादुर विष्टको सोतला (२०३३) देखि कृष्ण धरावासीको शरणार्थी (२०५६) मा आएर अत्यन्त ठुलो पीडा र बिचल्लीको कहानीमा परिवर्तन भयो ।
यसरी नेपालीहरूमा एकातिर डायस्पोरिक चेतनाको पनि अभिवृद्धि हुँदै थियो भने सीमा समस्याहरूले नेपाली विद्वत् वर्गलाई राष्ट्रवादी चेतनातर्फ मोडिरहेको थियो ।
यही परिवेशमा साहित्य सिर्जनाले प्रगतिवादी धारा पक्रिदै गयो । खगेन्द्र र डी.पी.ले सुरु गरेको वर्गीय असन्तुष्टिको धारले २०३५ मा गएर स्पष्ट रूप लियो । पारिजातको पर्खालभित्र र बाहिर (२०३५) मार्फत पार्टी चेतना वा राजनीतिक चेतना स्पष्ट रूपमा बाहिर आयो । यसमा पार्टीका नेता रमेश पर्खालभित्र पर्छन् । क्युरी जस्ता युवाहरू अन्त्यमा विद्रोही भएर निस्कन्छ । उसले रोजेको बाटो (२०३५) का नायक मजदुर ज्ञानबहादुर एकदिन भूमिगत पार्टीको कार्यकता बन्छ र झोला बोकेर पार्टीको भूमिगत सङ्गठनको काममा हिँड्छ । पारिजातकै अनिदो पहाडसँगै (२०३९) मा त जनवर्गीय सङ्गठनहरू सडक सङ्घर्षमै उत्रिन्छन् । छात्र नेता लालबहादुर पञ्चायती सरकारको गोली लागेर सहिद हुन्छ । उता नेत्री सुवानीलाई पनि गोली लाग्छ । पञ्चायत विरोधी अभियान सङ्गठित हुन्छ । यसरी वर्गीय सङ्घर्षको उच्चरूप सडक सङ्घर्षको चित्रण पारिजातले गरेकी छिन् । राजतन्त्रात्मक निरङ्कुश पञ्चायती व्यवस्थाको विरुद्धमा यति सङ्गठित यति सशक्त यति वास्तविक सडक सङ्घर्षको चित्रण र यसको प्रयोग भएको चेतना यसअघि अरू उपन्यासमा प्रस्तुत भएको देखिन्न ।
अर्को औपन्यासिक प्रवृत्ति २०४७ सालपछि देखियो । बहुदलको प्राप्तिपछि खुला समाजमा आउँदा भूमिगत पार्टीहरूमा सैद्धान्तिक विचलन देखियो । तिनले सडकमा हुँदा लाएका नारा सदनमा गएपछि बिर्सिएर र सुविधा भोग, सत्ताभोगमा लगेर राष्ट्र र जनताप्रति उदासीन बन्दै गए । यही कुरालाई विषयवस्तु बनाएर २०४६ साल पछिका उपन्यासहरू प्रस्तुत हुन थाले । नयनराज पाण्डेको उलार (२०५३), इस्मालीको जिरो माइल (२०५६), भास्करको समर्पण (२०५७), के.पी. ढकालको, जुठेको नयाँ घर (२०५८), आहुतिको स्खलन (२०५९), पुण्यप्रसाद खरेलको दोसाँधको घाम (२०६२), लोकनाथ पोख्रेलको झस्को (२०६३) आदि उपन्यासहरूमा उच्च कम्युनिस्ट आदर्शको भाव र पूर्व आदर्शको विचलनप्रति खेद, व्यङ्ग्य, आक्रोश, घृणा र विद्रोहका भावहरू पोखिएका छन् ।
यही समयावधिमा नेकपा माओवादीले जनयुद्ध सुरु ग¥यो । यसले नेपाली समाजमा नयाँ नयाँ यथार्थहरूको सम्भावना खोल्यो । चुल्होचौकोमा रुमल्लिएका नारीवर्ग बन्दुक बोकेर युद्ध मोर्चाहरूमा देखिए । प्रहरी चौकीहरूमा आक्रमण हुन थाल्यो र गाउँ गाउँबाट प्रहरी चौकीहरू हटाइए । ब्यारेकहरूमा पनि आक्रमण हुन थाल्यो । आधार इलाकाहरू निर्मित भए, पुरानो सत्ताको विलोपन र नयाँसत्ताको स्थापना हुँदै आयो । थुप्रै वीर छोराछोरीले सहादत प्राप्त गरे । नेपालको इतिहासमा अपूर्वरूपमा जुन नयाँ यथार्थहरू देखिए, यसलाई उपन्यासहरूले उतार्न थाले ।
नेपाली उपन्यासमा गणतान्त्रिक चेतनाको विकासक्रममा नयाँ फड्काहरू देखिए । यसअघि प्रयोग नभएको ‘गणतन्त्र’ शब्द स्पष्ट रूपमा प्रयोग हुन थाल्यो । राजतन्त्र विरोधी चेतनाले एकाएक उचाइ लिन थाल्यो । ऋषिराज बरालको समरगाथा (२०६४) मा पहिलोचोटि ‘गणतन्त्र’ शब्दको प्रयोग भएको छ । गणतन्त्र शब्द सहित यसको भावलाई पनि समरगाथा ले प्रस्तुत गरेको छ । समरगाथा पछि रामचन्द्र भट्टराईको ज्वाला (२०६४), घनश्याम ढकालको रातो आकाश (२०६५), राजन मुकारुङको हेत्छाकुप्पा (२०६५) आदि उपन्यासहरूले गणतान्त्रिक चेतनालाई आफ्ना कथ्यहरूमा प्रयोग गरेका छन् ।
यसपछिका उपन्यासहरूमा रणेन्द्र बरालीको इतिहासको एक पैका (२०६६) मा पुर्तीघाट बैङ्क काण्डमा पक्राउ परेका सर्वहरावादी श्रमिक सङ्गठनका केन्द्रीय कार्यकर्ताहरूले प्रशासन समक्ष बयान दिँदै पार्टीले सशस्त्र क्रान्ति गरी सामन्ती सत्ता ध्वस्त गरेर सर्वहाराको शासन व्यवस्था ल्याउन बैङ्क लुटी हतियार खरिद गर्न लागेको बयान दिएका छन् (पृ. १७३) । युग पाठकको उर्गेनको घोडा (२०६६) मा उपन्यासको एक पात्र गाउँको तामाङ बुढा (आबा) ले तामाङ जातिलाई उपेक्षा गर्ने राजा काट्न जान्छु भनेको भनाइ प्रस्तुत गरिएको छ (पृ. २२५) साथै राजा नरहने र देश गणतन्त्र हुने कुराको पनि उल्लेख गरिएको छ (पृ. १७५) । कुमार शाहको मार्रा (२०६९) मा पनि गणतन्त्र शब्दको प्रयोग भएको छ (पृ. ७१), हर्क खडायतको देशले हारेको युद्ध (२०६९) मा सामन्ती व्यवस्था र केन्द्रीय राज्यसत्ता भत्काउने कुरा गरिएको छ (पृ. ५३) । प्रदीप नेपालको बर्बरिक (२०७०) मा बर्बरिक (मदन भण्डारी) ले राजालाई भेटेर राजा सचेत नभए राजतन्त्र समाप्त हुन्छ भनिएको कुरालाई दरबारियाहरूले मुद्दा बनाएको उल्लेख छ (पृ. ११४) । यसरी नै केशव पुडासैनी ‘विमल’ को अग्निपथ (२०७०), मा भनिएको छ ः “हेर्नुस् यत्रो क्रान्तिको उपलब्धिको रूपमा हामीले गणतन्त्र पायौँ, धर्म निरपेक्षता पायौँ, सङ्घीयता पायौँ, शान्ति प्रक्रियाको सफल अवतरण ग¥यौँ, संविधान सभा पायौँ, अब यी सबै उपलब्धिहरूको रक्षा गर्नु पर्छ भन्दै हिँडेका छन् दिग्विजय” (पृ. २९९) । दीपशिखाको रात फुलेको याम (२०७१) मा पनि ‘गणतन्त्र’ शब्द र यसको भाव दुवैको प्रस्तुति भएको छ, “राजाको शासन सकियो । यो गणतन्त्र हो जनताले ल्याएको ?” (पृ. २८५) ।आन्विका गिरीको मान्छेको रङ (२०७१) मा भनिएको छ ः “घोषणा त गणतन्त्रको हुनु पथ्र्यो” पृ. २७७ । यसै गरी धर्सो (२०७२) मा चाहिँ ‘राजतन्त्रको दियो निभ्यो” भनिएको छ (पृ. १६३) । औपन्यासिक कलाका हिसाबले पनि निकै राम्रो रहेको विष्णु भण्डारीको पहेँलो घाम (२०७२) मा स्पष्ट शब्दमा भनिएको छ : “के हाम्रै बलिदानले होइन गणतन्त्र आएको” (पृ.१५०) । यसरी २०६४ देखि गणतन्त्र शब्दको उपन्यासमा प्रयोग हुन थालेको र २०६४ देखि २०७२ सम्मका उपन्यासहरूमा ‘गणतन्त्र’ शब्द सहित गणतान्त्रिक चेतनाको प्रयोग भएको छ ।
४. अनुसन्धानको प्राप्ति
यस अनुसन्धानबाट निम्नअनुसारका प्राप्तिहरू भएका छन् ः
क) अलौकिक चेतनाबाट मानव र समाजकेन्द्री बनेका उपन्यास चेतना ।
ख) आदर्श (यथास्थितिको मूल्य) चेतनाबाट यथार्थकेन्द्री बनेका उपन्यास चेतना ।
ग) पारिवारिक, सामाजिक, जातीय र लैङ्गिक उपन्यास चेतना ।
घ) वर्गीय र विद्रोही (आलोचनात्मक) उपन्यास चेतना ।
ङ) क्रान्तिकारी, राजनीतिक र गणतान्त्रिक उपन्यास चेतना ।
५. कमी कमजोरी
यहाँ अध्ययन गरिएका यी उपन्यासहरूले अन्तर्वस्तुलाई नै बढी जोड दिएका छन् । उपन्यास र यसको संरचनात्मक सौन्दर्यप्रति त्यति ध्यान दिएका छ्रैनन् । अर्को यी उपन्यासलाई व्यापक स्तरमा पु¥याउन नसकेको, छपाइको स्तर पनि कमजोर रहेको र प्रकाशकविना नै स्वयं प्रकाशन गर्ने र बाँडेर सक्ने गरिएको, बजारमा प्रतिस्पर्धी बनाउन नसकिएको जस्ता प्राविधिक पक्षका कमी कमजोरी भने भन्नै नहुने गरी जमोट भएर बसेका देखिन्छन् ।
६. उपसंहार
गणतान्त्रिक चेतको प्रयोग गरिएका नेपाली उपन्यासहरू भनेका राजनीतिक क्षेत्रका उपन्यासहरू हुन् । साहित्य धाराका दृष्टिले यी उपनयासहरू सामाजिक यथार्थवादी, आलोचनात्मक यथार्थवादी र समाजवादी यथार्थवादी धाराका उपन्यासहरू हुन् । यीमध्ये पनि आलोचनात्मक यथार्थवादी र समाजवादी यथार्थवादी धाराका उपन्यासहरूले मात्र गणतान्त्रिक चेतलाई प्रयोग गर्ने साहस गरेका छन् । गणतान्त्रिक चेत भनेको राजतन्त्रविरोधी प्रजातान्त्रिक चेत हो । नेपालको राजतन्त्र निरङ्कुश एवं निरपेक्ष राजतन्त्र थियो । त्यसले जनसमूहलाई अधिकार विहीन बनाएर राखेको थियो । यस अवस्थामा गणतान्त्रिक चेत भएका उपन्यासहरूको सिर्जना गर्नु खतराले खाली थिएन ।
तर आज राज्यको संरचनामा ठुलो फेरबदल आएको छ र स्रष्टाहरूले अहिले पनि खुम्चिरहनु पर्छ भन्ने केही छ्रैन । अब यी उपन्यासले कला सौन्दर्यप्रति ध्यान दिनु र कृति प्रकाशन, बजार व्यवस्थापन, र प्रतिस्पर्धी बजारमा जान सक्ने गरेर आफ्नो सिर्जनालाई अगाडि बढाउनु र राज्यले सिर्जना क्षेत्रलाई महङ्खव दिएर यसलाई प्रेरणा प्रदान गर्नु जरुरी छ भन्ने सानो सुझाव सहित यी छ बुँदामा आधारित रहेको गोष्ठी–पत्रप्रति आफ्ना टिप्पणी, सुझाव, सल्लाह, आलोचना राखिदिनुहुन सबै सहभागी विद्वान् मित्रहरूप्रति हार्दिक अनुरोध गर्दै यस गोष्ठीपत्रको बिट मार्न चाहन्छु ।
सन्दर्भ सामग्री
१) अधिकारी, कृष्णराज, साहित्यिक अवलोकन, पोखरा ः गण्डकी साहित्य समाज, २०७१ ।
२) अधिकारी, सूर्यमणि, पश्चिम नेपालको खस अधिराज्य, काठमाडौं : त्रिभुवन विश्वविद्यालय, नेपाल एसियाली अनुसन्धान केन्द्र, २०५३ ।
३) अफ्नास्येभ, भिक्टर, दर्शनशास्त्रको प्रारम्भिक ज्ञान (अनु. कृष्णप्रसाद श्रेष्ठ), मस्को : प्रगति प्रकाशन, सन् १९७७ ।
४) चापागाई, निनु र मातृका पोखरेल (सम्पा.), वेदना, साहित्यिक त्रैमासिक पत्रिका, (वर्ष ३३, अङ्क १, पूर्णाङ्क ७२, २०६३), पृ. १–२७ ।
५) क्षेत्री, वामदेव, गणतन्त्र र नेपाली क्रान्ति, रूपन्देही ः श्रीमती शोभा घिमिरे, २०६५ ।
६) नेपालको संविधान, काठमाडौं : नेपाल सरकार, कानुन, न्याय संविधान सभा तथा संसदीय मामिला मन्त्रालय, कानुन किताब व्यवस्था समिति, २०७३ ।
७) पोखरेल, बालकृष्ण, पाँच सय वर्ष (पाँचौँ परिवर्धित संस्करण), ललितपुर : सा.प्र. २०६२ ।
८) प्रधान, कृष्णचन्द्र सिंह, नेपाली उपन्यास र उपन्यासकार (चौँ. संंस्क.), ललितपुर : साझा प्रकशन, २०६० ।
९) प्रधान, प्रतापचन्द्र, नेपाली उपन्यास परम्परा र पृष्ठभूमि, दार्जिलिङ : दीपा प्रकाशन, २०४० ।
१०) प्रभात, विष्णु (सम्पा.), साहित्यकार कलाकार परिचय कोश, काठमाडौं : नेपाल पज्ञा प्रतिष्ठान, २०७० ।
११) बराल, ऋषिराज, प्रगतिवाद र नेपाली उपन्यास, ललितपुर : साझा प्रकाशन, २०५८ ।
१२) बराल, कृष्णहरि र नेत्र एटम, उपन्यास सिद्धान्त र नेपाली उपन्यास (दो.संस्क.), ललितपुर : साझा प्रकाशन, २०५९ ।
१३) भट्टराई, गोविन्दराज, उत्तरआधुनिक ऐना, काठ : रत्न पुस्तक भण्डार, २०६२ ।
१४) श्रेष्ठ, डा. दयाराम र प्रा. मोहनराज शर्मा, नेपाली साहित्यको सङ्क्षिप्त इतिहास (आठौँ संस्क.), ललितपुर: साझा प्रकाशन, २०६३ ।
१५) सुवेदी, राजेन्द्र, नेपाली उपन्यास परम्परा र प्रवृत्ति (दो.संस्क.), ललितपुर : साझा प्रकाशन, २०६० ।
!^_ Encyclopedia Britanica, USA : Encyclopaedia Britanica Inc, Willam Bentoo Publishers, 1971.
No comments:
Post a Comment