वि.सं. २०७३ फागुन २७ गते इटहरिको वेतना सिमसारमा एक साहित्यिक कार्यक्रमको आयोजना भएको थियो । पूर्व सांसद हर्कमान तामाङको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा वेलवारी साहित्यिक विकास समिति आयोजक रहेको कार्यक्रमको सभाध्यक्ष सोही समितिकी अध्यक्ष रेखा सुवेदीले गर्नु भएको थियो । उक्त कार्यक्रममा विशेष अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ मातृका पोखरेल र नर्मदेश्वरी सत्याल हुनुहुन्थ्यो । यसैगरी अतिथिमा अनिल पौडेल, मोहन काफ्ले घनश्याम लामा गोपाल नेपाल, प्रा.डा. टङ्कप्रसाद न्यौपाने, सञ्जीव धिमाल देवी थुलुङ, दीपक न्यौपाने, गणेश लामा, प्रज्ञा–प्रतिष्ठानकी उपप्रमुख शशी चालिसे लगायत विभिन्न कवि गायकहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्राज्ञ नर्मदेश्वरी सत्यालले उद्देश्य मिल्दा संस्थासँग प्रज्ञा–प्रतिष्ठानले संयुक्त कार्यक्रम गर्न सक्नेछ भन्दै वेतना सिमसारको राजा रानी तालको अवलोकन गर्न पाएकोमा उक्त क्षेत्रको स्मरण निकाल्ने भनाइ राख्नुभयो । यसै गरी प्राज्ञ मातृका पोखरेलले साहित्यिक माहोल जोड्ने मौका वेलवारी साहित्य समितिले मिलाएकोमा धन्यवाद सहित प्रतिष्ठानले जुटाएको साधन र स्रोतबाट कार्यक्रम गर्नुपर्ने भनाइ राख्नुभयो । अर्का अतिथि प्रा.डा.टङ्क न्यौपानेले संस्कृतिको ज्ञान भाषामा आउनुपर्ने भनाइ राख्नुभयो भने पूर्व सांसद हर्कमान तामाङले प्रज्ञा–प्रतिष्ठान सबैको माउ संस्था हुनुपर्ने भन्दै जनताको विकासको निम्ति साहित्यको सिर्जना हुनु पर्ने बताउनुभयो । यसै गरी कवि अनिल पौडेलले कविता वाचनसहित मन्तव्य राख्नुभएको कार्यक्रम सञ्चालन इरान राईले गर्नुभएको थियो । प्रज्ञा–प्रतिष्ठानका उपप्रमुख शशी चालिसेले आफूलाई केही बोल्ने मौका दिनु भएकोमा आयोजक संस्थालाई धन्यवाद दिनुभएको कार्यक्रमको अन्त सभाध्यक्ष रेखा सुवेदीले गर्नुभयो ।
सोही अवसरमा अभिसा रिसाल, विमला लिम्बु, चन्द्र ढकाल झापाली, गणेश विक अकेला, गोपाल नेपाल, तारा पराजुली, मोहन काफ्ले, वादल देवी चाम्लिङ, तिला लेकाली, जेवी थुलुङ, मिलन घिमिरे र सञ्जीव धिमालले कविता, गीत र गजल वाचन गरी सुनाउनु भयो ।
वि.सं. २०७३ फागुन २८ गते शनिवार नेपाल प्रज्ञा–प्रतिष्ठानको हीरक जयन्तीको अवसरमा ‘नेपाल प्रज्ञा–प्रतिष्ठान र एकता परिवार श्री अन्तुको सहकार्यमा समालबुङ्ग सृजना प्रस्तुति कार्यक्रमको आयोजना भएको थियो जुद्धबहादुर खत्रीको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्राज्ञ मातृका पोखरेल र विशेष अतिथिमा प्राज्ञ नर्मदेश्वरी सत्याल हुनुहुन्थ्यो । यसैगरी अन्य अतिथिहरूमा प्रा.डा. टङ्क न्यौपाने, अनिल पौडेल, दिपक न्यौपाने, तीला गौतम, रेखा सुवेदी, टीका आत्रेय, सुन्दर कुलुप, कविता राई, सन्ध्या सुब्बा, गोपाल नेपाल, सन्तोष कोइराला, कृष्ण स्याङ्जो, देवान किराती, शशी चालिसे र डा.मदन सत्याल लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा अनील पौडेल, विमल वैद्य, कविता राई र रेखा सुवेदीले आफ्नाआफ्ना एकल रचना वाचन गरी सुनाउनु भयो । अतिथिलाई व्याज वितरण गरी सुरु भएको कार्यक्रममा लेप्चा जातिका नृत्य प्रस्तुत गरिएको थियो । सोही अवसरमा प्रमुख अतिथि प्राज्ञ पोखरेलले संसारमा कविताको शक्ति अन्य शक्तिभन्दा शक्तिशाली हुने भन्दै कवि अनिल पौडेलको कविताले आफूलाई कविता लेख्ने प्रेरणा मिलेको बताउनुभयो । कार्यक्रमका आयोजक कृष्ण स्याङ्जोले धन्यवाद सहित कृतज्ञता ज्ञापन गर्नुभएको समारोहको अन्त सभाध्यक्ष जुद्धबहादुर खत्रीले गर्नुभयो भने आयोजक मुन राज शर्माले कवि परिचय गराउनुका साथै सन्तोष खापुङ र विवसभद्र कोइरालले उपस्थित सबैलाई स्वागत गर्नुभएको कार्यक्रममा कार्यक्रमका संयोजक एकु घिमिरेले कार्यक्रमको उद्देश्य सहित शुभकामना मन्तव्य प्रस्तुत गर्नुभयो ।
वि.सं. २०७३ फागुन २९ गते आइतवार विहान नेपाल प्रज्ञा–प्रतिष्ठानकै हिरक महोत्सवको उपलक्ष्यमा गद्य÷आख्यान तथा बाल साहित्य र लोकवार्ता विभाग र एकता परिवार श्री अन्तुको सहकार्यमा आयोजित अन्तु डाँडामा अठार सिर्जना कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सभापतिमा अन्तु विकास केन्द्रका अध्यक्ष धन कुमार आले प्रमुख अतिथि प्राज्ञ नर्मदेश्वरी सत्याल र विशेष अतिथिमा प्राज्ञ मातृका पोखरेल हुनुहुन्थ्यो । त्यसै गरी अन्य अतिथिमा प्रा.डा. टङ्कप्रसाद न्यौपाने, कवि अनिल पौडेल, डा.मदनप्रसाद सत्याल, दीपक न्यौपाने लगायत संखुवासभा, धरान, झापा ‘इटहरी’का विभिन्न कविहरूको उपस्थिति रहेको थियो ।
एकु घिमिरेले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रा.डा.टङ्क न्यौपानेले केही समयपछि उक्त अन्तु डाँडालाई भारतले लैजान सक्ने भन्दै दुःख व्यक्त गर्नुभयो । उहाँले कवि कलाकार र नेताको बढी उपस्थिति गराउन सकेमा यस डाँडाको संरक्षण र संस्कृतिको जर्गेना हुसक्नेछ भन्दै आफ्ना कविता वाचन गर्नुभयो । यसैगरी प्रमुख अतिथि नर्मदेश्वरी सत्यालले प्रतिष्ठानबाट सद्भावका साथ अन्तु आइपुगेको र प्रकृतिले ल्याएको समस्यासँग कसैले माफी माग्नु नपर्ने भन्दै भुुइकुइरोदेखि बन्दसम्मको समस्यालाई झेल्दै भएको कार्यक्रमले आफूलाई अझ लेख्ने उर्जा मिलेको बताउनुका साथै बालकविता वाचन गर्नुभयो । उहाँले छाउपडीको मनन गर्ने मौका पाएको र यसलाई पुरुष जातिले अगुवाइ गरी व्यवहारमा परिवर्तन गर्नुपर्ने भनाइ राख्नु भयो ।
समालुङ्ग मा.वि.का प्राध्यापक नरेन्द्र बहादुर खत्रीले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै मेची गा.वि.स.लाली खर्क नभई २६ नं. र सिद्धिकी दुईवटा यसक्षेत्रलाई मुहान भएको भनाइ राख्नुभयो । उहाँले अन्तु र समालुङ्गको समाधानको निम्ति प्रज्ञाले कलम चलाओस् भन्ने अपेक्षाका साथ आफ्ना भनाइको अन्त गर्नुभयो । यसै गरी सभाध्यक्ष धन कुमार आलेले पर्यटन विकासको निम्ति अगाडि बढाउन सकिने भनाइका साथ अन्त गर्नुभएको सभामा वेलवारी साहित्य समाजका अध्यक्ष रेखा सुवेदी ने.प्र.प्र.का कवि शशी चालिसे, टीका आत्रेय पौडेल, तीला लेकाली, जनगायक कवि गोपाल नेपाल, धनजीत पराजुली, सन्तोष कोइराला, राम कोइराला, सुन्दर कल्प, राजकुमार अनिश्चित, विवस वलीभद्र कोइराला, प्रकाश थाम्सुहाङ, देवान किराती सन्जोग लिम्बु, मुन राज शर्मा, धन जित राई, विमल वैद्य आदिले आ–आफ्ना गजल गीत र कविता प्रस्तुत गर्नुभएको थियो । यसैगरी एकता परिवार श्री अन्तुका राम घिमिरे, रुद्र घिमिरे, गन्जु क्षेत्री, देव बहादुर प्रधान, कृष्ण तामाङको सक्रियतामा कार्यक्रमको आयोजना भएको थियो ।
कार्यक्रमकै सिलसीलामा सोही दिन दिउँसो अन्तु पोखरी परिसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान र एकता परिवार श्री अन्तुको सहकार्यमा आख्यान तथा वाल साहित्य गोष्ठी सम्पन्न भएको थियो । कार्यक्रमका सभाध्यक्ष रुद्र घिमिरे प्रमुख अतिथि प्रा.डा. टङ्क न्यौपाने विशेष अतिथि प्राज्ञद्वय मातृका पोखरेल र नर्मदेश्वरी सत्याल अतिथिहरूमा विभिन्न सङ्घ संस्थाबाट अन्तु पोखरी परिसरमा उपस्थिति हुनु हुने विद्वान् विदूषिको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । अम्बा, अदुवा अम्रिसो, ओलन, अकवरे र अलैचीले प्रख्यात इलामको अन्तु पोखरी परिसरमा भएको आख्यान र बालसाहित्यसम्बन्धी गोष्ठी कार्यक्रममा स्मारिका निकाल्नु पर्ने भनाइ राख्नुभयो । सागर सुवेदीले प्रस्तुत गर्नुभएको कार्यपत्र “नेपाली उपन्यासमा समाजवाद” र एकु घिमिरेले प्रस्तुत गर्नुभएको कार्यपत्र “नाटक तथा एकाङ्कीले बाल सिकाइमा पार्ने प्रभाव” नामक कार्यपत्रको टिप्पणी दिपक न्यौपानेले गर्नुभयो ।
सोही अवसरमा टिप्पणीकार न्यौपानेले विद्या र विधि स्पष्ट नभएको समयमा कार्यपत्रले पाठ्य विकास केन्द्रलाई सहयोग पु¥याउने विचार व्यक्त गर्नुभयो । विशिष्ट अतिथि मातृका पोखरेलले वि.सं. २००९ सालमै इलामको करफोकमा वालकृष्ण सम, लक्ष्मी प्रसाद देवकोटा जस्ता साहित्यिक हस्ती आई साहित्यिक कार्यक्रम गरेको उक्त कार्यलाई महका साथ हेर्ने गरेका भनाइ राख्दै अभिलेख र स्मारिकाको निम्ति आफूले सकेको सहयोग गर्ने वचन दिनुभयो ।
कार्यक्रममा लामा पोखरी लाप्चे बजारका व्यापारी दीनानाथ पोखरेललाई प्रमुख अतिथिले सम्मान गर्नु भएको उक्त कार्यक्रमलाई प्राज्ञ नर्मदेश्वरी सत्यालले आगामी दिनमा प्रज्ञा–प्रतिष्ठान अझ गाउँ गाउँमा पुग्न जमर्काे गर्नेछ भन्दै सृष्टि कहिल्यै सानो नहुने र सवल नागरिक बनाउन बच्चालाई प्राथमिकता दिनु पर्नेमा एकता परिवारले उक्त कार्यको निम्ति अग्रणी भूमिका निर्वाह गरेकोमा धन्यवाद दिनुभयो ।
यसै गरी प्रमुख अतिथि प्रा.डा.न्यौपानेले अन्तुका समस्या र पर्यटनका थप सम्भावनाका बारेमा उल्लेख गर्ने भनाइ राख्नुभयो । उपस्थित सबैलाई गीता घिमिरेले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रमको अन्त सभाध्यक्ष रुद्र घिमिरे र सञ्चालन एकु घिमिरेले गर्नु भएको थियो । कार्यक्रममा देउँसी भैलोबाट उठाएको रकमले अन्तु पोखरी परिसरलाई कुर्सी सहयोग गरेकोमा सोही दिन उक्त कुर्सीमा प्रमुख अतिथिहरू बसेर कुर्सीको उद्घाटन गर्नुभयो । कार्यक्रममा बालनाटक नृत्य, गजल, गीत र कविता वाचन गरिएको थियो । शशी चालिसे, तिला लेकाली, रेखा सुवेदी, डा.मदन प्रसाद सत्याल टीका पौडेल सन्तोष कोइराला, जयराम सुनामी, धनजीत राई गोपाल नेपाल, डम्बर दर्लामी, मधुसुदन लामिछाने, सीताराम, कर्णबहादुर आले, बासुदेव, शान्ता खड्का, दीपा ठकुरी, सरोज गोलाल, कोकीला ढकाल, भीम चापागाईं, जीवन नेपाल, नरेन्द्र खत्री, रामप्रसाद घिमिरे, धरनी घिमिरे, बैकुण्ठ घिमिरे, विवेक लामिछाने, दिनानाथ पोखरेल, इन्द्र बहादुर दर्लामी प्रभुप्रसाद घिमिरे, नीता घिमिरे, शिवराज घिमिरे, डम्बर दर्लामी आदिको उपस्थितिमा सम्पन्न कार्यक्रममा टीका पौडेलले स्वागत गीत प्रस्तुत गर्नु भएको थियो ।
प्रस्तुति :- शशी चालिसे
=======================================
नेपाली उपन्यासमा समाजवादी यथार्थवाद
- सागरमणि सुवेदी
१. उपन्यास शब्दको व्युत्पत्ति
उपन्यास नेपालीको तत्सम शब्द हो । संस्कृत व्याकरणको अस् धातुमा उप– र नि– उपसर्ग तथा संस्कृतको –घञ् (अ) प्रत्यय जोडिएपछि निर्माण भएर उपन्यास शब्द व्युत्पन्न हुन्न्छ । यसको व्युत्पत्ति उप–+नि–+अस्–+ –घञ्(अ) हुन्छ र निर्मित उपन्यास शब्दको अर्थ नजिकै राख्नु भन्ने हुन्छ ।
२. उपन्यास शब्द प्रयोग : परम्परा र प्राचीनता :
संस्कृत वाङ्मयमा उपन्यास शब्दको प्रयोग विभिन्न सन्दर्भगत अर्थहरूमा भएको देखिन्छ । कतै स्थापना गर्नु, राख्नु भन्ने अर्थमा कतै आनन्ददायक वाक्य भन्ने अर्थमा र कतै आख्यानकै अर्थमा पनि यसको प्रयोग भएको पाइन्छ । यसबाट के बुझिन्छ भने संस्कृत वाङ्मय प्राचीन भएकाले उक्त भाषामा लिखित साहित्यमा उपन्यास शब्दको प्रयोग भएको पाइएकाले विभिन्न अर्थमै भए पनि यसको प्रयोग प्राचीनकालदेखि नै हुँदै आएको देखिन्छ । हिजोआज उपन्यास एउटा विशिष्ट विधाका मा स्थापित भइसकेको छ । यही विशिष्ट अर्थकै दृष्टिबाट हेर्दा पनि संस्कृत साहित्यमा कथा, आख्यायिकाका मा परिभाषित गरिएका आलङ्कारिक गद्य भाषामै संरचित प्रसिद्ध कृतिहरू पाइन्छन् । तिनको नामकरण उपन्यास नगरिए पनि विधागत संरचनागत समकक्षता भएका कृतिहरू वाणभट्टको कादम्बरी, दण्डीको दशकुमारचरितम्, अम्बिकादत्त व्यासको शिवराजविजय आदि देखिन्छन् । हिजोआज प्रचलित परिभाषित कथा र उपन्यासका समानता र भिन्नता केलाएर ती कृतिहरू उपन्यासकै यी विशेषता भएका हुन् भन्ने निष्कर्षमा पुग्न सकिए पनि विधा वर्गीकरणमा तिनलाई कथा र आख्यायिका नै भनिएको पाइन्छ ।
३. उपन्यासको प्रचलित अर्थ र यसको उद्भव :
माथि उल्लिखित उपन्यास शब्दको व्युत्पत्ति र व्युत्पत्तिगत अर्थले हिजोआज विश्वसाहित्यमा स्थापित उपन्यासको विशिष्ट अर्थ समेट्न नसक्ने कुरा स्पष्ट देखिन्छ । नेपालीमा प्रचलित उपन्यास शब्द अङ्ग्रेजी नोबेलको अनुवाद वाक्यान्तरणमा प्रयोग भएको हो भन्ने कुरा विद्वान्हरूले उल्लेख गरेका छन् । नोवेलको रूपान्तरण नै उपन्यास हो भन्ने निष्कर्षमा पुगेपछि नोवेलको प्रयोग र यसको पूर्वको समेत सङ्क्षिप्त चर्चा गर्नु सान्दर्भिक देखिन्छ ।
इटालेली भाषाको नोवेल्ला शब्दबाट नोवेल शब्द बनेको हो भन्ने जानकारी पाइन्छ । नोवेला शब्दको अर्थ अलिकति नयाँ वस्तु भन्ने हुने र नोवेला शब्द चाँहि नयाँ अर्थ प्रदान गर्ने ग्रिसेली भाषको नोभस् शब्दबाट बनेको हो भन्ने तथ्यले नोवेलाको समेत प्राचीनता र परम्परा समेत देखाउँछ । रोचक, यथार्थपरक र छोटा रचनाहरूलाई इटालेली भाषामा नोबेल्ला र त्यस्तै रचनाहरूलाई बताउन फ्रान्सेली भाषामा नोवेल्ला भनिन्थ्यो भन्ने तथ्यले नोवेलको व्यापकता र पूर्व प्रयोगको इतिहाससमेत बुझ्न सकिन्छ । यहाँ स्मरणीय के देखिन्छ भने ग्रिसेली भाषाको नोभस् शब्दको नयाँ र इटालेली भाषाको नोवेल्लाको अलिकति नयाँ वस्तु भन्ने अर्थमा नयाँ दुवै ठाउँमा प्रयोग भएको पाइनाले पछि विकसित र प्रसिद्ध नोवेल तथा नेपालीमा प्रयुक्त उपन्यास शब्दको विशिष्ट अर्थ विधागत विशिष्टता एवम् पहिचानका लागि नवीनताको खोजीको सङ्केत गरेको अनुभव हुन्छजुन कुरा मानव जीवन भोगाइ, अनुभव वा अनुभूतिहरूसँग सम्बन्धित हुन्छ ।
४. उपन्यास : ऐतिहासिक पृष्ठभूमि :
वर्तमान समयमा विश्वसाहित्यमा अत्यन्त सशक्त विधाका मा स्थापित भइसकेको उपन्यास साहित्यको प्रारम्भ, स्वरूप संरचना आदिका बारेमा अध्ययन गर्दा यसका प्रारम्भिक रचनाका विषयमा विद्वान्हरूका बीचमा एक मत नपाइए पनि उपन्यास लेखनको प्रयास १६औँ शताब्दीको दोस्रो दशकदेखि हुँदै आए पनि यसको लगभग एक शतकपछिमात्र चित्त बुझ्ने औपन्यासिक कृति ड्यानियल डिफोद्वारा रचित रबिन्सन क्रुसो (च्यदष्लकयल ऋचगकयभ) हो भन्ने मत बलियो देखिन्छ । नेपालीमा पनि उपन्यास रचनाको प्रारम्भिक प्रयासकालदेखि नै गणना गर्दा यसले सात शतक लामो यात्रा गरेको देखिन्छ र यो नेपालीमा पनि ज्यादै लोकप्रिय विधाका रूपमा स्थापित पनि भएको छ ।
५. उपन्यासको परिभाषा
उपन्यास लेखन, प्रकाशन, पठन, श्रवणसँगसँगै यसको विकास र विस्तार हुन थालेको कुरा इतिहासबाट बुझिन्छ । उपन्यासमा रहेका, अनुभूत गरिएका विशेषताहरूकै आधारमा यसलाई परिचित गराउन विभिन्न विद्वान्हरूले यसलाई परिभाषित गरेर साहित्यका अन्य विधाहरूका सापेक्षतामा उपन्यासको भिन्नता र मौलिकता बुभm्न सजिलो बनाएका छन् । पूर्वीय, पाश्चात्य एवम् नेपाली विद्वान् समालोचक, लेखकहरूले उपन्यासका विषयमा व्यक्त गरेका विचार, यसका विशेषता, संरचनागत स्वरूप आदिलाई समेटेर सङ्क्षेपमा प्रस्तुत गरिएका केही परिभाषाहरू अध्ययनका लागि प्रस्तुत गर्न सकिन्छ :
– मानव र मानवसमाजसँग सम्बन्धित विविध सत्यलाई कलात्मक मा अभिव्यक्त गर्ने आवश्यक लम्बाइ भएको गद्य आख्यानलाई उपन्यास भनिन्छ ( बराल र एटम, २०५८ : ९ ) । मानव जीवनका विविध कारुणिक मार्मिक तथा विविध पक्षसँग सम्बन्धित रहेर कथात्मक अभिव्यक्ति दिने काम हुन्छ ( लामिछाने र लामिछाने,२०६७ : २२६) ।
– उपन्यास जीवन र जगतप्रति नै एक विहङ्गम दृष्टि हो जसलाई बुझ्ने , केलाउने र चित्रण गर्ने प्रयत्न अत्यन्त यथार्थिक हुन्छ । यथातथ्यको उद्घाटन मात्र नभएको यो एक सम्पूर्ण मनुष्य जीवित मनुष्यको संसार हो ( प्रधान,२०४३ : ४) ।
– उपन्यास यथार्थमा भावनाको भाषा, जीवनको उद्गार हो ।साँचो उपन्यास जीवनको छाया नै हुन्छ । औ साँचो उपन्यास नै जीवनको मार्गदर्शक बन्दछ (राई,२०५०ः४०) ।
– औपन्यासिक रचनामा कथ्य र कथनको भाषा रशैलीको युग र जीवनको परिवेश र विचारको शिल्प र प्रस्तुतिको अवस्थालाई उपयुक्त ढङ्गले मानव जीवनका इतिवृत्तमा बिम्बन गर्ने काम गरिएको हुन्छ । दृष्टिकोण र उद्देश्यमा चिन्तन र जीवनशैलीमा युगले थप्दै जाने परिष्कार गर्दै जाने र नयाँ मूल्यको प्रतिष्ठा गर्दै जाने प्रवृत्तिको पनि विकास गर्दै जाने परम्परा पनि उपन्यासको महत्वपूर्ण उपलब्धि बनेको हुन्छ । जीवनको आकृति, परिभाषा र आयाम जत्तिकै व्यापक रफराकिलो हुन्छ, उपन्यासको आकृति, परिभाषा र आयाम पनि ( सुवेदी,२०५३ : ९) ।
– मानव मस्तिष्कको चिरफारका साथै शारीरिक हिसी , सौष्ठव र संयोजनको वर्णनदेखि लिएर मानव बीचका सम्पर्क, सामाजिक दायित्व धार्मिक रआध्यात्मिक चिन्तनको उच्चता तथा ऐतिहासिक र भौगोलिक वर्णन जस्ता सभ्यता, संस्कृति र कलालाई संरक्षण गर्ने समस्त भावनात्मक, विचारात्मक र शारीरिक भौतिक तथ्य र तत्वहरूको गाद्यिक विवेचना नै उपन्यास हो ( शर्मा, २०५८ : भूमिका ) ।
– उपन्यास हालसम्मको विकास आफैँमा एउटा सङ्घर्षको कथा हो । आन्तरिक तथा बाह्य, विधागत तथा विषयगत सङ्घर्षको क्रमबाट गुज्रेको नै उपन्यास विधा आजका स्थितिमा आइपुगेको हो । यस क्रममा यसले केही कुरा आफूबाट विस्थापित गरेको छ भने केही नयाँ कुरा आफूभित्र समाविष्ट गरेको छ । उपन्यासले आर्जन गरेको यो नवीनतामा समाज र सामाजिक मान्छेको सङ्घर्षशील कथा पनि जोडिएको छ । वास्तवमा उपन्यास मान्छे र समाजबीचको सम्बन्धको कथाक्रम बन्दै आएको छ । यसै अर्थमा उपन्यास समाज,व्यक्ति र उत्पादन इतिहासको स्थितिबोध गराउने सबभन्दा प्रभावकारी विधा पनि हो ( बराल, २०५६ : १) ।
माथि उल्लिखित प्रतिनिधि मूलक परिभाषाहरूको गम्भीर अध्ययन गर्दा प्रायः सबै विद्वान्हरूले प्रस्तुत गरिएका परिभाषाहरूको मर्म समान भए पनि परिभाषामा संयोजन गरिएका शब्द र शब्दावलीहरू विभिन्न देखिन्छन् । उक्त परिभाषाहरू पूर्वीय तथा पाश्चात्य विद्वान्हरूले प्रस्तुत गरेका आशय र उपन्यासका अध्ययनबाट खारिएर सूत्रात्मक मा अभिव्यक्त गरिएका हुन् भन्ने बुभिmन्छ । यद्यपिजीवन जगत्लाई नै गतिशील मान्ने मान्यताहरूका आधारमा हेर्ने हो भने कुनै पनि वस्तुको स्थायी परिभाषा हुँदैन भन्न्ो निष्कर्षमा पुगिन्छ ।उक्त विचारहरू परिवर्तन, शृङ्खलाबाटै आएका हुन् ।तिनलाई समेटेर प्रस्तुत गर्ने हो भने र सारमा कथ्य र कथन पद्धतिमा, विचार दृष्टिकोणमा जीवनदर्शन र जीवन भोगाइका अनुभूतिमा देशकाल परिवेश आदिमा पृथक्ता भए पनि उपन्यास जीवन जगत्को नजिकबाट अध्ययन विश्लेषण गर्ने पठ्यसाहित्य अन्तर्गत गद्यभाषामा रचना गरिने लोकप्रिय विधा हो भन्न सकिन्छ।
६. नेपाली उपन्यास : प्रयास र पृष्ठभूमि :
नेपाली साहित्यको इतिहासमा नेपाली उपन्यास विधाको ऐतिहासिक पृष्ठभूमिको अध्ययन गर्दा उपन्यास विधाको पृष्ठभूमि वि.सं. १८२७ मा प्रकाशित महाभारत विराटपर्वको अनुवादबाट सुरु भएको देखिन्छ । शक्तिवल्लभ अर्यालद्वारा अनूदित उक्त कृतिले आख्यानको ढोका खोल्ने काम गरेको देखिन्छ भने उनैको हास्यकदम्ब नाटकको आख्यानीकृत अनुवादले पनि यसलाई सहयोग गरेको देखिन्छ ।
नेपाली उपन्यासकै कालविभाजनअनुसार पनि प्राथमिक कालमा अनुवाद र ान्तरणका साथै केही धार्मिक कृतिहरू प्रकाशित भएका देखिन्छन् । वि.सं. १८२७ देखि वि.सं. १९४५ सम्म मानिएको प्राथमिक कालीन प्रयासले आख्यानको बीजारोपण गरे पनि मनोरञ्जन, नैतिक, धार्मिक, उपदेशपरक कृतिहरूकै बाहुल्य रहेको प्राथमिककाल माध्यमिक कालका लागि पृष्ठभूमि बनेको कुरा चाहिँ स्वीकार गर्नै पर्दछ।
वि.सं. १९४६ देखि वि.सं. १९९० का समयावधिलाई नेपाली उपन्यासकोमाध्यमिक काल मानिएको देखिन्छ । नेपालकोआन्तरिक राजनैतिक एवम् नेपाली भिन्न हिन्दी, उर्दू, फारसी, अङ्ग्रेजी, बङ्गाली आदि भाषामा रचित प्रकाशित रचनहरूका प्रेरणा र प्रभावमा नेपाली आख्यान क्षेत्रमा यस कालखण्डमा केही कामहरू भएका देखिन्छन् । वीरसिक्का ( वि.सं. १९४६) बाट सुरु भएका यस कालमा वीरचरित्र (वि.सं. १९६०) बाट मौलिक उपन्यास लेखनको प्रारम्भ भएको माानिन्छ ।
समग्र माध्यमिक कालभरि वीरसिक्काको अतिमानवीय धरातल र ऐयारी प्रवृत्तिका अतिरिक्त शैक्षिक चेतना, सामाजिक सुधारका स्वरहरू समेत यस कालमा मुखरित भएका देखिन्छन् ।
७. नेपाली उपन्यासमा आधुनिकता :
मानवीय स्वभाव र रुचि परिवर्तन परिस्थिति वा परिवेशजन्य कुरा हुन् । मान्छेले हासिल गरेका शिक्षादीक्षाका कारण विकसित चेतना, बाहिरी प्रभावले पनि मानवीय व्यवहारमा परिवर्तन हुन्छ । समष्टिगत सामाजिक, सांस्कृतिक आर्थिक जीवनकै प्रतिनिधि पात्रका मा रहेका लेखकमा पनि उल्लिखित प्रभाव पर्छ र परिवर्तन देखा पर्छ । यो सन्दर्भ आधुनिकताका लागि जोड्न खोजिएको हो । साहित्य लेखन, साहित्य विकासका सन्दर्भमा आधुनिकताको परिभाषा यान्त्रिक, गणितीय, तथ्यपरक नहोला । त्यसो भए पनि परम्परागत मूल्यमान्यताभन्दा भिन्न विचार, व्यवहार, दृष्टिकोण, तर्कसङ्गत विषयप्रति चासो अभिरुचि र साहित्यमा तिनकोप्रयोग जस्ता कुराहरू साहित्य विकासका सूचकका मा रहेका देखिन्छन् । यिनै आधारहरूमा आधारित भएर नेपाली उपन्यासको आधुनिक कालकोआरम्भ भएको देखिन्छ । वि.सं. १९९१ देखि उपन्यास लेखनमा परिवर्तन आएकाले नै रुद्रराज पाण्डेको रूपमती (१९९१) बाट आधुनिक कालको आरम्भ भएको कुरा इतिहासमा पाइन्छ ।
८. आधुनिक नेपाली उपन्यास : धारागत वर्गीकरण र अध्ययन :
यथार्थवादी, वैज्ञानिक दृष्टिकोण, अन्धःपरम्पराप्रति असहमति, पाश्चात्य सभ्यता, संस्कृति आदिको प्रभाव, नवीन मूल्यमान्यताको खोजी जस्ता सूचक, मानकहरूलाई नै आधुनिकताको मापक मानेर नेपाली उपन्यासको अध्ययन र विश्लेषण गरिएको पाइन्छ । त्यसरी हेर्दा वि.सं. १९९१ देखि हालसम्म आइपुग्दा नेपाली उपन्यास लेखनमा प्रशस्त वाद, विचारहरू विकसित भएका देखिन्छन् । आदर्शोन्मुख यथार्थवादीआधारशिलामा रचित रूपमती उपन्यासपछि नेपाली उपन्यास लेखनमा देखिएका नवीनता र विभिन्नताको अध्ययन धारागत रूपमै गर्ने गरिएको पाइन्छ । त्यसरी धारागत रूपमा वर्गीकरण गर्दा आदर्शोन्मुख यथार्थवादी धारा, स्वच्छन्दतावादी धारा, सामाजिक यथार्थवादी धारा, अतियथार्थवादी धारा, आलोचनात्मक यथार्थवादी धारा, नारीवादी धारा, प्रकृतवादी धारा, मनोविश्लेषणवादी धारा, विसङ्गतिवादी धारा, अस्तित्ववादी धारा, प्रयोगवादी धारा, प्रगतिवादी धारा, मिथकीय धारा प्रमुख देखिन्छन् । उत्तरआधुनिक मानिएका अग्निदत्त + अग्निदत्त जस्ता उपन्यासहरू पनि यस्तै कुनै प्रवृत्तिभित्र पर्दछन् ।
९. नेपाली उपन्यासमा यथार्थवाद
माथि उल्लिखित धारागत वर्गीकरणको अध्ययन गर्दा यथार्थ जोडिएका धाराहरू आदर्शोन्मुख यथार्थ, सामाजिक यथार्थ, ऐतिहासिक यथार्थ, अतियथार्थ, आलोचनात्मक यथार्थ, मनोवैज्ञानिक यथार्थ देखिन्छन् । यथार्थ वस्तुस्थिति ग्रहण आधुनिकताको एउटा सूचक, मानक मानिएको कुरा उल्लेख भएकै छ । निर्धारित शीर्षकमा केन्द्रित हुनुभन्दा अघि उपन्यासमा यथार्थवादको शक्ति र सीमा पहिल्याउनु सान्दर्भिक ठानिएको छ ।
क. आदर्शोन्मुख यथार्थवाद
सच्चरित्रको विजय र असच्चरित्रको पराजय प्रस्तुत गर्दै अनुकरणीय यस्तो हुनुपर्दछ भन्ने दृष्टिकोणका साथ चरित्र स्थापनामा आदर्शवादले जोड दिन्छ भने प्रस्तुतीकरणमा चाहिँ यथार्थको आड लिनु यसको मूल विशेषता मानिन्छ । यथार्थमा टेकेर आदर्शप्रति ढल्कनु नै यसको मुख्य उद्देश्य मानिन्छ (बराल र एटम, ९८) ।
ख. सामाजिक यथार्थवाद
आफ्नै इन्द्रियद्वारा प्राप्त ज्ञानलाई महत्व दिने र भौतिक संसारलाई सत्य ठान्ने यथार्थवाद वस्तुगत हुन्छ र यसका निर्माणमा अगस्त कोम्तेको भाववाद र माक्र्सको द्वन्द्वात्मक भौतिकवाद समेत कारण रहेको कुरा विद्वान्हरूले उल्लेख गरेका छन् । यसले समाज र साहित्यलाई संयोजन गर्ने काम गर्दछ (लामिछाने २७४) ।
ग. ऐतिहासिक यथार्थवाद :
सरस कल्पनासहित ऐतिहासिक घटना, विषयवस्तु आदिको पुनर्लेखनका रूपमा ऐतिहासिक यथार्थवादलाई स्वीकार गरिएको पाइन्छ (लामिछाने २७६–२७७) ।
घ.अतियथार्थवाद
यथार्थको अतिक्रमण भन्ने अर्थमा साहित्यमा प्रचलित अतियथार्थवादले मानवीय जटिलता, परिवर्तनको इच्छा राख्नु, परम्पराप्रति असहमत रहनु जस्ता औपन्यासिक विशेषता वहन गरेको देखिन्छ (बराल र एटम ११४–११६) ।
ङ. आलोचनात्मक यथार्थवाद
समाजमा व्याप्त शोषण, अन्याय, विकृति, विङ्गति, कुप्रथा आदिलाई प्रस्तुत गर्दै तिनको सुधार हुनुपर्ने विचार राख्ने र सोही अनुरूप लेखनपद्धति अपनाएर सिर्जना गर्ने यस वादले शोषण दमनको चित्रण मात्र नगरी विरोध पनि गर्दछ । कुरीति, कुसंस्कारको आलोचना गर्दै यथार्थवादी दृष्टिकोण राख्नु यसका मूल विशेषता मानिन्छन् ।
माथि उल्लिखित सङ्क्षिप्त विशेषताहरूको अध्ययन गर्दा यथार्थको ग्रहण र उपन्यासमा त्यसको प्रकटीकरण प्रायः सबैका साझा मान्यता देखिन्छन् । यहाँनेर ध्यान दिनैपर्ने कुरा के देखिन्छ भने यथार्थको चित्रण गर्नु एउटा कुरा हो । यसले पनि उपन्यासका माध्यमबाट समाजको अध्ययन गर्नसकिन्छ । समाजको कुरूप यथार्थ र मानव समुदायको भेदभाव, दयनीय, कारुणिक अवस्थाको चित्रणले संवेदना जागृत गराई पठ्य समाजलाई गम्भीर पनि बनाउँछ । यो अनुभूतिगत कुरा हो । तुलनात्मक मा अध्ययन गर्दा आलोचनात्मक यथार्थवाद अगाडि पनि देखिन्छ । सामाजिक भेदभाव, अन्याय, शोषण दमनको चित्रणमात्र नगरी त्यस्ता गलत क्रियाकलापप्रति असहमति जनाउँदै आलोचना, निन्दा, विरोध गर्नु प्रगतिशील आचरण हो भन्ने मान्यता पनि देखिन्छ । त्यस्ता गलत प्रवृत्तिहरू पहिल्याएर तिनको जरो खोतल्नु, विरोध गर्नु, घृणा गर्नु र घृणा जगाउनु उद्देश्यमूलक कुरा पनि हुन् तर त्यस्ता अन्याय अत्याचारको समूल अन्त्य, समतामूलक न्यायपूर्ण समाज निर्माण, परिवर्तनका लागि सशक्त, सङ्गठित, सैद्धान्तिक आधारशिला र वैज्ञानिक दृष्टिकोणसहितको सशक्त विचार सम्प्रेषण गर्ने काम समाजवादी यथार्थवादी साहित्यकै हो (सुवेदी १३३–१३८) ।
१०. समाजवादी यथार्थवाद : सैद्धान्तिक अवधारणा :
साहित्य समालोचनाका क्षेत्रमा समाजवादी यथार्थवाद र प्रगतिवाद पर्यायका रूपमा प्रचलित देखिन्छन् । समाजवादी यथार्थवादी साहित्य रचनाको मूल माक्र्सवाद हो । माक्र्सद्वारा प्रतिपादित द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तका आधारमा कलासाहित्य रचना सिर्जनाका लागि मार्गदर्शक सिद्धान्त माक्र्सवादी सौन्दर्यशास्त्र नै उक्त साहित्यको मेरुदण्ड हो ।
भाािषक स्वरूप (गद्य, पद्य) , विधागत स्वरूप संरचना आदि कविता, नाटक, आख्यान, निबन्धमा भिन्न देखिन्छ । आख्यानअन्तर्गतका कथा र उपन्यासको भाषिक स्वरूप गद्य नै हो । आख्यानात्मक दृष्टिले केही समान विशेषता समेत भएका उक्त विधाका असमानताहरू पनि स्पष्ट देखिन्छन् ।
समाजवादका अनेक परिभाषाहरू र प्रयोगहरू पाइन्छन् । यहाँ माक्र्सवादी द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त अनुसार मानवसमाज, सभ्यता विकासका एउटा चरणका रूपमा समाजवादलाई लिइएको छ । मालिक र मजदूर, शोषक र शोषित, जमिनदार र भूमिहीन, धनी र गरिब, हुने खाने र हुँदा खाने जस्ता अनेक शब्दावलीमा अथ्र्याउन सकिने स्पष्ट छुट्टिने दुई वर्ग समाजमा इतिहासदेखि नै विद्यमान छन् । यो वर्गविभाजित समाजमा शोषण, दमन, उत्पीडनका अनेक हरू, अनेक ठाउँ र परिस्थितिमा प्रकट, अप्रकट रूपमा रहिरहन्छन् । द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणअनुसार त्यस्ता विपरीत असमान वर्गका बीचमा सङ्घर्ष भइरहन्छ, हुनुपर्दछ र सर्वहारावर्गको राज्यसत्ता स्थापना गर्दै उत्पादन, वितरण, उत्पादन सम्बन्ध आदिमा भएको शोषणको समूल अन्त्य गरी सम्पत्तिमा भएका व्यक्तिको स्वामित्व अन्त्य गरी समाजकै अधीनस्थ राखेर समाजकै हित अनु उपयोग हुनुपर्छ भन्ने मान्यताको मूल मर्म आत्मसात् गरिएको माक्र्सवादी सौन्दर्यशास्त्रीय सिद्धान्त अनुकूल रचित साहित्यलाई समाजवादी यथार्थवादी वा प्रगतिवादी साहित्यका मा परिभाािषत गरिएको पाइन्छ ।
लेखक, साहित्यकार पनि सामजिक प्राणी नै भएकाले समाज संरचना, सामाजिक गतिविधि, घटनापरिघटना, सामाजिक चेतनास्तर आदिको प्रभाव लेखकमा पनि पर्छ । त्यसै हुँदाहुँदै पनि कवि लेखकहरूमा हुने प्रतिभा, अनुभूति, अ्रध्ययन क्षमता, अनुकूलता सामाजिक, आर्थिक, राजनैतिक आदि पक्षहरूको विश्लेषण र तिनको अभिव्यक्ति कला, रुचि जस्ता कुराहरू पनि लेखकीय विशेषता हुन् । समष्टिगत समाजको व्यष्टि लेखक समाजको प्रतिनिधि र पथप्रदर्शक पनि भएकाले ऊ आफू दर्शन, सिद्धान्त, साहित्यशास्त्र आदिमा जति निपुण छर उसमा अभिव्यक्तिकला सौन्दर्य चेतना जति प्रबल छ, साहित्य त्यति नै प्रभावकारी र सम्प्रेष्य हुन्छ । सामाजिक परिस्थिति, घटनाशृङ्खला आदिका कारण र कार्यको ठीक विश्लेषण गर्दै यथार्थवस्तुस्थिति र परिवेशको सही बोध गर्न सक्ने र त्यसलाई कलात्मक अभिव्यक्ति समेत दिन सक्ने लेखक थोरैमात्रै देखिन्छन् । यथार्थबोध माक्र्सवादी सौन्दर्यशास्त्रीय सचेतता र विधागत ज्ञानको कुशल संयोजनबाट मात्रै प्रगतिवादी साहित्य सिर्जनाले पाउँछ भन्ने कुरा अत्यन्त महत्वपूर्ण देखिन्छ । यथार्थवादी चिन्तन र लेखन परम्परामा खास गरी नेपाली उपन्यास सिर्जनामा र त्यसलाई माक्र्सवादी सौन्दर्यशास्त्रीय दृष्टिबाट विश्लेषण गर्ने कुरामा मात्रै होइन, लेखकको दलगत प्रतिबद्धता, स्वतन्त्रता साहित्यमा (उपन्यासमा समेत) दलीय नीतिकार्यक्रमको प्रभाव, सम्बन्धित दलको दृष्टिकोण, चरित्र, समाज परिवर्तन, ान्तरणका ,घटना,सत्ताराजनीति, जनमतनिर्माण, वर्गीय चरित्र, अवसरवादिता, संशोधनवाद, जडसूत्रवाद, आत्मसमर्पण, पलायन, सामन्तवाद, साम्राज्यवादकै पुजारी, नवधनाढ्य, साहित्यसिर्जनामा र सार वा अन्तर्वस्तुमा विरोधाभास, क्रान्तिकारी स्वच्छन्दतावादी, आलोचनात्क यथार्थवादी, समाजवादी यथार्थवादी, प्रगतिशील र प्रगतिवादी, कला र नारा, वर्गसङ्घर्ष र वर्गसमन्वय, लेखकीय चरित्र र कृतिगतमूल्य आदि असंख्य शब्दहरू नेपाली साहित्यका प्रगतिशील क्षेत्रमा कथ्यलेख्य दुवै माध्यममा प्रशस्त प्रयोग भएका देखिन्छन् ।
ठोस परिस्थितिको ठोस विश्लेषण र निष्कर्ष निरूपण नै माक्र्सवादी दृष्टिकोण हो भन्ने विद्वान्हरूकै बीचमा देखिएका अनेक नामका मतभेदहरूका कारण नै सात दशक अगाडिस्थापित नेपाली कम्युनिष्ट आन्दोलन, सत्र चिरामा विभाजित भएका यथार्थले पनि प्रगतिशील, प्रगतिवादी आन्दोलनको चित्र र चरित्र छर्लङ्ग देखिन्छ । माक्र्सवादकै केन्द्रीयतामा रहेर साहित्यकलाका विषयमा लेनिन, माओ, गोर्की, लुस्युन, राल्फ फक्स, क्रिस्टोफर कडवेल आदि अग्रजहरूले अभिव्यक्त गरेका विचारहरूको व्याख्या गर्ने कुरामा समेत प्रशस्त मतभेदहरू पाइन्छन् । एउटै दर्शन, सिद्धान्त दृष्टिकोणका विषयमा अनेक व्याख्या देखिन्छन् । वैज्ञानिक विचारमा प्रमाणित गर्न सकिने कुरामा, तथ्यपरक यथार्थमा परस्पर कटु आलोचना र विवाद भएकाले नै प्रगतिवादी लेखन र प्रगतिवादी लेखनका विषयमा पनि ऐक्यबद्धता, एकरूपता नदेखिएको पाइन्छ । दलगत विवाद, अन्तर कलह, आरोपप्रत्यारोप, दलविभाजन जस्ता घटनाहरूले नेपालको प्रगतिशील प्रगतिवादी आन्दोलन र त्यसैसँग अन्तःसम्बन्धित लेखनमा समेत अपेक्षित विकास र विस्तार हुन नसकेको देखिन्छ ।
माक्र्सवादी दर्शन, सिद्धान्त,समाजवादी राज्यव्यवस्था जस्ता विषय बुझ्न नसक्ने नेपाली पाठकहरू प्रगतिशील, प्रगतिवादी रचनाहरूका अध्ययनबाट ती विषयहरूप्रति आकर्षित भएका उदाहरणहरू छन् । निश्चय नै विचारलाई कलात्मक आवरणमा अभिव्यक्त गर्दा त्यसले पाठक , समाजमा गम्भीर प्रभाव पार्दछ । कृतिका पात्रहरूको चरित्र हेरी खराबलाई घृणा, निन्दा, तिरस्कार र असललाई प्रशंसा गर्नपाठक सक्षम हुन्छ । यथार्थको उद्घाटन गर्दै सामाजिक जनजीवनका समस्या प्रस्तुत गर्ने, गलत प्रवृत्तिको आलोचना गर्ने आलोचनात्मक यथार्थवादी आख्यानले सिर्जना गरेको चेतनालाई माक्र्सवादी सौन्दर्यशास्त्रीय दृष्टिकोणसहित समस्या समाधान गर्ने, समुन्नत, समृद्ध, समतामूलक समाज निर्माणका लागि आन्तरिक वैचारिक एवम् साङ्गठनिक रूपमा समेत शक्ति सम्पन्न र सशक्त जनाधार, जनमत निर्माण गर्न सक्ने क्षमता समाजवादी यथार्थवादी साहित्यमा हुन्छ भन्ने कुरा स्पष्ट छ । निश्चित निर्धारित, उद्देश्य, स्पष्ट सैद्धान्तिक दृष्टिकोणसहित रचना गरिने भएकाले यस किसिमका साहित्यले समाज परिवर्तनमा ठूलो भूमिका खेल्न सक्छ भन्ने उदाहरणहरू पाइन्छन् ।
११. नेपाली समाजवादी यथार्थवादी उपन्यास :
नेपाली समाजवादी यथार्थवादीसाहित्य लेखन परम्परा धेरै पुरानो देंिखंदैन । साहित्यको वैचारिक पक्षसँग मुलुकको राजनीति, राजनैतिक, आर्थिक, सामजिक, सांस्कृतिक, धार्मिक चेतना, सामाजिक जागरण जस्ता कुरा पनि जोडिन्छन् । त्यसरी हेर्दा वि.सं. २००६ सालमा कम्युनिस्ट पार्टीको स्थापना, २००७ सालको परिवर्तन,२०१७ सालको निरङ्कुश शाही कदम, पञ्चायती व्यवस्थाको क्रूरता, अभिव्यक्तिमा अङ्कुश, लेखन प्रकाशनमा अस्वतन्त्रता जस्ता जटिलताहरू सम्झनै पर्छ । कमल हिलैमा फक्रिन्छ भनेझैँ अनेक जटिलताहरूको सामना गर्दै २००७सालपूर्व केही र त्यसपछि समाजवादी यथार्थवादी उपन्यास लेखनमा भएका प्रगतिको मूल्याङ्कन इतिहासले गरेको छ ।
पञ्चायती व्यवस्थाविरोधी विद्यार्थी आन्दोलन, २०३६ जनमत सङ्ग्रह घोषणा, जनमत सङ्ग्रहका नाममा फेरिएको पञ्चायती व्यवस्थाकै निरन्तरताका विरोधमा भएको २०४६ को आन्दोलन र त्यसका उपलब्धिहरूको विश्लेषण गर्ने सन्दर्भमा नेपालका दलहरूका फरक फरक धारणा देखिए । जनआन्दोलन परिणाममुखी नभई सम्झौतामुखी टालटुले मात्रै भएको, सत्ताको स्वरूप परिवर्तन भएजस्तो देखिए पनि सारमा तात्विक अन्तर नदेखिएको, अवसरवादी चरित्र मौलाउँदै गएर अनेक विकृति विसङ्गतिहरूले जरा गाड्ने मौका पाएको, श्रमजीवी गरिबहरूका जीवन शैलीमा परिवर्तन नदेखिएको जस्ता विचारहरू २०४७ पछि धमाधम लिखित र मौखिक मा अभिव्यक्त हुन थाले । यी घटनाहरूले पनि उक्त किसिमका उपन्यास लेखनमा शिथिलता र विविधता ल्याएको देखिन्छ ।
२०५२ बाट आरम्भ भएका द्वन्द्वले सामाजिक, राजनैतिक हलचल पैदा गरायो । २०६२–०६३ को दोस्रो संयुक्त जनआन्दोलनपछि नेपालमा विकसित घटनाक्रमहरू ऐतिहासिक महत्वका छन् । संविधान सभाको निर्वाचन, संविधान निर्माण हुँदै संविधान कार्यान्वयनमा राज्यको चरित्र समाजवादोन्मुख हुने घोषणा भएको छ । अहिले हामी समयका त्यही विन्दुमा छौँ । उक्त सबै घटनाक्रमहरूको सूक्ष्म विश्लेषणसँग समाजवादी यथार्थवादी उपन्यास लेखन परम्परा जोडिएको कुरा इतिहासमा उल्लेख भएको पाइन्छ ।
माक्र्सवादी द्वन्द्वात्मक भौतिकवादले अघि सारेका मूलभूत मान्यताहरूलाई उपन्यासका माध्यमबाट व्यक्त गर्दा वर्ग, वर्गीय चरित्र, वर्गविभाजित समाजमा प्रत्यक्ष परोक्ष मा हुने शोषणका अनेक को चित्रण गर्दै गरिब, निमुखा, असहाय, श्रमिक, मजदूर किसानहरूको पक्षपोषण गर्नु, वर्गसङ्घर्षको अपरिहार्यता देखाउँदै समतामूलक समाजका निर्माणमा जोड दिनु, परम्परागत अन्धःविश्वास, कुप्रथा, कुरीतिहरूको विरोध गर्दै तिनको उन्मूलनमा लाग्ने चेतना सञ्चार गर्नु, सबै किसिमका भेदभाव र विकृति विसङ्गतिहरूको चित्रण गर्दै तिनको अन्त्य गर्ने उपाय खोजी गर्नु , सैद्धान्तिक, वैचारिक रूपमा जनतालाई सशक्त पार्दै उद्देश्यमूलक आन्दोलनमा सङ्गठित रूपमा लाग्न उत्प्रेरणा दिनु, क्रान्तिकारी, परिवर्तनकारी चरित्रकै नायकत्वमा उपन्यास सिर्जना गर्नु, कला र अन्तर्वस्तुको समुचित समन्वयमा सचेत रहनु, यथार्थवादी, वस्तुवादी मूल्य मान्यताको यथोचित प्रयोग गर्दै उपन्यासलाई दुर्बाेध्य हुनाबाट जोगाउँदै जनसामान्यको कथ्यभाषा र सरल शैलीको प्रयोग गर्नु जस्ता विशेषतालाई आत्मसात् गरी लेखिएका उपन्यासहरू नेपालीमा धेरै देखिन्छन् । सङ्ख्यात्मक रूपमा उपन्यासको न्यूनता नभए पनि कलात्मक र वैचारिक स्पष्टताका दृष्टिले आलोचनात्मक यथार्थवादकै सेरोफेरोमा धेरै उपन्यासहरू पर्दछन् भन्ने समालोचकहरूले गरेको विश्लेषण र मूल्याङ्कन पनि मननयोग्य देखिन्छ ।
क. समाजवादी यथार्थवादी उपन्यासको अध्ययन :
२००७ सालभन्दा पहिले सामाजिक यथार्थवादी उपन्यासहरू प्रकाशित भए पनि आलोचनात्मक यथार्थवादी अवधारणामा रचित उपन्यासहरू देखिंदैनन् । यहाँ समाजवादी यथार्थवादी उपन्यासको अध्ययन गर्ने सन्दर्भमा आलोचनात्मक यथार्थवादी उपन्यासको स्मरण किन गरियो भने यसै चिन्तनधाराबाट क्रमिक मा विकास हुँदै समाजवादी यथार्थवादी लेखनमा प्रवेश गरेको कुरालाई नबिर्सन हो ।
चरण विभाजनसहित नेपाली समाजवादी उपन्यासहरूको अध्ययन विश्लेषण गरिएको पनि पाइन्छ । त्यही आधारमा हेर्दा २००७ सालदेखि २०१७ सालसम्म पहिलो चरण, २०१७ सालदेखि २०३० सालसम्म दोस्रो चरण र २०३० सालदेखि यता तेस्रो चरण गरी विभाजन गरिएको देखिन्छ ।
चरणगत रूपमा हेर्दा पहिला चरणमा प्रकाशित उपन्यासहरूमा मुक्तिनाथ तिमल्सिनाको को अछुत (२०११), हृदयचन्द्रसिंह प्रधानका स्वास्नी मान्छे (२०११), एक चिहान (२०१७), खड्गबहादुर सिंहको विद्रोह (२०११) भाग १,विद्रोह भाग २ (२०१३) र हुरीको चरा (२०१५)े पहिलो चरणमा परे तापनि यिनलाई आलोचनात्मक यथार्थवादी विशेषतायुक्त उपन्यासहरू भनिएको पनि पाइन्छ ।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना, २००७ सालको परिवर्तनका कारण २००७ सालपछि प्रगतिशील, प्रगतिवादी साहित्यिक सांस्कृतिक संघ संस्था स्थापना हुने र अन्य साहित्य र साहित्यकारहरूका बीचमा पनि प्रगतिवादी आकर्षण बढ्दै गएको समयमा उपन्यासप्राप्तिका दृष्टिले चाहिँ कम उपलब्धिमूलक देखिन्छ ।
– २००८ सालमा नेपाली लेखक संघको स्थापना,
– २००९ सालमा प्रगतिशील लेखक संघको स्थापना,
– २०११ सालमा नेपाल जनसाहित्य संघको स्थापना,
– २०१२ सालमा जनसांस्कृतिक सभाको स्थापना
यस्ता घटनाहरू साहित्यका लागि सुखद देखिन्छन् । अब प्रगतिवाद नेपाली साहित्यको एउटा प्रमुख धाराका रूपमा देखा प¥यो । नयाँ पुस्ताका लागि मात्र होइन, पुराना पुस्ताका लेखकहरूलाई पनि प्रगतिवादले आकर्षित गरेको थियो । २००७ सालपछि संस्थाहरूको स्थापनाका साथै चर्चा परिचर्चाहरू पनि भए । पुष्कर शमशेर, बालकृष्ण सम, यादवप्रसाद पन्त, पोषण पाण्डे समेत सम्पादक मण्डलमा भएको जनसाहित्य पत्रिकाकाकासम्पादकीयले यस्तो आवश्यकता देखेको थियो : लेख्य साहित्यले आफूलाई सामाजिक जीवनमा केन्द्रीभूत गरेर निरन्तर परिवर्तनशील वर्गसंघर्षको परिचायक बन्नुपर्छ (अधिकारी, २०५६ : ग–घ) । प्रगतिशील, प्रगतिवादी चेतना र दृष्टिकोण विकासमा उक्त जागरणको ऐतिहासिक महत्व रहेको थियो भन्न सकिन्छ ।
निरङ्कुश पञ्चायती व्यवस्थाको चर्को दमन लेखन प्रकाशनमा लगाइएको प्रतिबन्धलाई चिर्दै दोस्रो चरणमा प्रकाशित उपन्यासहरू सङ्ख्यात्मक एवम् गुणात्मक दृष्टिले उल्लेख्य देखिन्छन् । यस चरणका उपन्यासहरू डी.पी. अधिकारीका आशमाया (२०२५) र धर्ती अझै बोल्दैछ (२०२७) , खगेन्द्र संङ्ग्रौलाको चेतनाको पहिलो डाक (२०२७) विशेष उल्लेख्य देखिन्छन् ।
तेस्रो चरण (२०३० देखि यता ) उपन्यास रचनाका दृष्टिले उर्वर रहेको देखिन्छ । पारिजातका तोरीबारीबाटा र सपनाहरू (२०३२), पर्खालभित्र र बाहिर (२०३५),उसले रोजेको बाटो (२०३५), अनिदो पहाडसँगै (२०३८), रमेश विकलका सुनौली (२०३०),अविरल बग्दछ इन्द्रावती (२०३) र सागर उर्लन्छ सगरमाथा छुन (२०५२) मध्ये अविरल बग्दछ इन्द्रावती समाजवादी यथार्थवादी दृष्टिकोणले उत्कृष्ट मानिएको देखिन्छ । त्यस्तेै सञ्जय थापा ( प्रदीप नेपाल) का पूर्वतिर (२०४३), नओइलाउने फूल (२०४३), बुङ्लाका साँझहरू (२०४६), देउमाईको किनारमा (२०४७) देखिन्छन् । त्यस्तै भाष्कर (भवानी प्रसाद पाण्डे) का हाँडीका कनिका (२०४५), बन्दी आवाज (२०४६), अमर बस्ती (२०५३) , अचम्मको फैसला (२०५६), सुकुम शर्माको सङ्घर्षशील युवाको डायरी (२०५७), प्रगतिवादी लेखक तथा समालोचक ऋषिराज बरालको कामरेड हुतराजको राजधानी प्रस्थान (२०४८), घनश्याम ढकालको गाउँमा (२०४९),आहुतीको नयाँ घर ( २०५०), इस्मालीको जिरो माइल (२०५६), भाष्करकै समर्पण (२०५७), खगेन्द्र सङ्ग्रौलाको जूनकीरीको सङ्गीत (२०५७), शरद पौड्यालको लिखे (२०५९),सीमाना वारिपारि (२०६१) प्रेमसागर पौड्यालको नयाँ जीवन (२०५७), के.बी. अम्गाईको युद्धक्षेत्र (२०५६), के.पी. ढकालको जुठेको नयाँ घर , पदम थापाको कैदी (२०५५), पृथ्वी ब. सिंहको जब जनता ब्युँझन्छन् ( २०५७), सुकुम शर्माको अनवरत यात्रा , घनश्याम ढकालको रातो आकाश (२०६०), गङ्गा श्रेष्ठको ज्वालामुखी माथिको यात्रा (२०६०), भक्त ब. नेपालीको भूतको ओखती, शीत विन्दुको सहयात्री (२०६०) आदि ।
उक्त उपन्यासहरूको अध्ययन गर्दा समाजवादी यथार्थवादी उपन्यास लेखन, प्रकाशनको अर्थपूर्ण स्थान देखिन्छ । यहाँ स्मरणीय कुरा के देखिन्छ भने एकजना व्यक्ति उपन्यासकार पनि अनेक विचार, सिद्धान्तबाट प्रेरित, प्रभावित हुँदै लेखनयात्रामा विभिन्न किसिमका उपन्यासहरू सिर्जना गरेको देखिन्छ । यस किसिमका लेखकहरू सङ्ख्यात्मक रूपमा थोरै देखिन्छन् भने तिनका प्रकाशित कृतिहरू पनि सबै यही धाराका नभएकाले गुणात्मक प्राप्तिका दृष्टिले पनि आलोचनात्मक यथार्थवादको सीमाभित्रै रहेका देखिन्छन् भने केही उपन्यासहरू आलोचनात्मक यथार्थवादी सिद्धान्तका सीमाबाट विकसित भई समाजवादी यथार्थवादी लेखनमा सफल भएका देखिन्छन् ।
निष्कर्ष
समाजवादी यथार्थवादी उपन्यासलेखनको मूल मान्यता माक्र्सवाद हो । माक्र्सवादले अघि सारेका प्रमुख मान्यतालाई यस प्रवृत्तिले आत्मसात् गर्दछ । नेपाली उपन्यास लेखन परम्परामा देखिएका यस किसिमका विभिन्न कालखण्डमा रचित उपन्यासहरू, तिनीहरूका विषयमा गरिएका अध्ययन, विश्लेषण निष्कर्षहरूको समेत विचार गर्दा वि.सं. २०११ बाट आरम्भ भएको लेखन परम्परामा विगतमा केही न्यूनता देखिए तापनि यसको वर्तमान आशा लाग्दो गरी अगाडि बढेको देखिन्छ । नेपली समाजको बनावट यसको वर्गीय स्वरूप जनचेतना, संस्कृति, राजनीतिमा देखिएका आरोहअवरोह, समाजमा हुने गरेका भइरहेका जातीय, लैङ्गिक आर्थिक, अनेक भेदभावहरूको अध्ययन, चित्रण गर्दै उपन्यासकारहरू अघि बढ्दै गरेको तथ्य प्राप्त हुन्छ । सबै किसिमका भेदभावहरूको समूल अन्त्य गरी समतामूलक समाज निर्माणका लागि गर्नुपर्ने पूर्वतयारी, त्यसका अनेक मौलिक हाम्रो यथार्थ अवस्था आदिको सूक्ष्म अध्ययन गरेर लेखकहरू स्पष्ट उद्देश्य साथ अघि बढ्ने क्रम निरन्तर देखिनु यसको सकारात्मक पक्ष हो र अन्तर्वस्तुका बीचको समुचित तालमेल नमिलेका कारण कतिपय उपन्यासहरू कलात्मक उच्चताका लागि परिष्कारको पर्खाइ भइरहेको भन्ने समालोचकहरूका टिप्पणीलाई पनि आत्मसात् गर्नुपर्ने हुन्छ ।
सौन्दर्यशास्त्रीय ज्ञान, विधागत सैद्धान्तिक सचेतता, वस्तुगत यथार्थता , विश्लेषण गर्न सक्ने क्षमता आर्जनका लागि अनवरत अध्ययन र अभ्यास अपरिहार्य कुराहरू हुन् । यस्ता मान्यता स्वीकार गरी नवोदित लेखकहरूलाई समेत स्पष्ट मार्गनिर्देश गरी यस क्षेत्रतर्फ आकर्षित गर्नुपर्छ । त्यसका लागि सम्बद्ध संघसंस्थाले योजनाबद्ध रूपमै ध्यान दिन आवश्यक देखिन्छ ।
सन्दर्भसामग्री :
– अधिकारी, रविलाल(२०५६), प्रगतिवादी नेपाली समालोचना,पोखरा : लेकाली प्रकाशन ।
– अधिकारी, हेमाङ्गराज(२०३५), पूर्वीय समालोचना सिद्धान्त,ललितपुर : साझा प्रकाशन ।
– उपाध्याय, केशवप्रसाद (२०३०), साहित्य प्रकाश, काठमाडौँ : ... ।
– उपाध्याय, केशवप्रसाद( २०५०, विचार र व्याख्या, ललितपुर : साझा प्रकाशन ।
– खनाल, यदुनाथ(२०३०), समालोचनाको सिद्धान्त, ललितपुर : साझा प्रकाशन ।
– गौतम, देवीप्रसाद( २०४९), प्रगतिवाद परम्परा र मान्यता, काठमाडौ : मुना गौतम ।
– चापागाई, निनु (२०५४), माक्र्सवादी चिन्तनमा सौन्दर्य, काठमान्डु : सम्झना प्रेस ।
– ढकाल, घनश्याम (२०५४), माक्र्सवादी सौन्दर्य शास्त्रको विवेचना,पोखरा : विजय ढकाल सुदीप अफसेट प्रेस प्रा.लि. ।
– न्यौपाने, टङ्कप्रसाद२०३८, साहित्यको रूपरेखा, ललितपुर : साझा प्रकाशन ।
– पराजुली, कृष्णप्रसाद (२०२९),पन्ध्र तारा र नेपाली साहित्य, ललितपुर : साझा प्रकाशन ।
– प्रधान,कृष्णचन्द्रसिंह(२०५३), नेपाली उपन्यास र उपन्यासकार,ललितपुर : साझा प्रकाशन ।
– बराल, ऋषिराज(२०५६),उपन्यासको सौन्दर्यशास्त्र, ललितपुर : साझा प्रकाशन ।
– बराल, कृष्णहरि र नेत्र एटम(२०५६), उपन्यास सिद्धान्त र नेपाली उपन्यास, ललितपुर : साझा प्रकाशन ।
– मास्के,राजेन्द्र (१९८३),वैज्ञानिक साम्यवादको प्रारम्भिक ज्ञान (अनु.) काठमाडौं : प्रगति प्रकाशन ।
– राई, इन्द्रबहादुर (२०५०), नेपाली उपन्यासका आधारहरू, ललितपुर : साझा प्रकाशन ।
– रेग्मी, मुरारीप्रसाद (२०५०), मनोविश्लेषणात्मक समालोचना (उपन्यास खण्ड), ललितपुर : साझा प्रकाशन ।
– शर्मा, ऋषभदेव (ई.सं. १९७७), प्राच्य दर्शन परिचय, कीर्तिपुर : पा.वि.के.त्रि.वि. ।
– शर्मा, लीला (२०३१),जर्ज लुकाजको साहित्य सिद्धान्त(अनु.) ने.रा.प्र.प्र.: काठमाडौँ ।
– शर्मा, तारानाथ(२०२७),, भानुभक्तदेखि तेस्रो आयामसम्म, ललितपुर : साझा प्रकाशन ।
– शर्मा, तारानाथ(२०५१), नेपाली साहित्यको इतिहास, नवीन प्रकाशन : काठमाडौँ ।
– शर्मा, मोहनराज (२०५५), समकालीन समालोचना सिद्धान्त र प्रयोग, काठमाडौं : ने.रा.प्र.प्र. ।
– शर्मा, हीरामणि (२०४१), समालोचनाको बाटोमा, ललितपुर : साझा प्रकाशन ।
– श्रेष्ठ, ईश्वरकुमार (२०५८), पूर्वीय एवम् पाश्चात्यसाहित्य समालोचना : प्रमुख मान्यता वाद र प्रणाली, ललितपुर : साझा प्रकाशन ।
– सुवेदी, अभि (२०३०),पाश्चात्य काव्यसिद्धान्त,काठमाडौं : ने.रा.प्र.प्र.।
– सुवेदी राजेन्द्र (२०५३), नेपाली उपन्यास परम्परा र प्रवृत्ति, वाराणसी ।
पत्रिका÷जर्नल
– अन्वेषण (२०६७), नेपालेली भाषा साहित्य समिति, स्नातकोत्तर नेपाली विभाग, म.ब.क्याम्पस धरान,
– कुन्जिनी (२०६३-०६४), अं. १२, ने.के.वि. कीर्तिपुर,
– दृष्टिकोण (वार्षिक जर्नल) (२०७३),अङ्क ६, म.ब.क्या.ध
सहप्राध्यापक, पिण्डेश्वर क्याम्पस धरान
No comments:
Post a Comment