Sunday, April 29, 2018

कैलालीको धनगढीमा आख्यान एवम् बालसाहित्य गोष्ठी सम्पन्न

नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल वाङ्मय परिषदको संयुक्त आयोजनामा धनगढी, कैलालीमा यही २०७५ साल  वैशाख १४ र १५ गते आख्यान एवम् बालसाहित्य गोष्ठी सम्पन्न भएको छ । स्थानीय कैलाली जनपुस्तकालयको सभाकक्षमा भएको गोष्ठीको उद्घाटन प्रमुख  अतिथि सात प्रदेश नम्बर सातका माननीय सभामुख अर्जुन बहादुर  थापाले गरेका थिए । समारोहमा प्रदेश नम्बर सातका आन्तरिक मामिलाएवम् कानूनमन्त्री प्रकाशबहादुर  शाहको विशिष्ट आतिथ्य एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य एवम् आख्यान विभाग प्रमुख  मातृका पोखरेल, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य एवम् बालसाहित्य एवम् लोकवार्ता विभाग प्रमुख  नर्मदेश्वरी सत्यालको महत्वपूर्ण  उपस्थिति रहेको थियो । पहिलो दिनकोकार्यक्रममा उदघाटन समारोह, कार्यपत्र प्रस्तुति , स्रष्टा सम्मान एवम् रचना वाचनको कार्यक्रम रहेको थियो । नेपाल वाङ्मय परिषदका अध्यक्ष डा.  डा. पुष्करराज भट्टको अध्यक्षतामा सम्पन्न भएको उदघाटन समारोहको सञ्चालन सचिव योगराज आचार्यले एवम् अन्य समारोहको सञ्चालन महासचिव बाबुराम  आचार्यले गरेका थिए । 

उदघाटन समारोहमा मन्तव्य दिने क्रममा प्रमुख  अतिथि अर्जुन बहादुर  थापाले सुदुर पश्चिमको साहित्यिक चिन्तन पौराणिक कालदेखि विकास हुँदै आएको, यस क्षेत्रका विभिन्न स्रष्टाले योगदान दिँदै आएको सन्दर्भका साथै आफ्नो लेखनगत जीवनका बारेमा प्रकाश पारेका थिए । उनले प्रदेश सरकार यस क्षेत्रको भाषासाहित्य, कला संस्कृतिका क्षेत्रमा कार्य गर्न प्रतिबद्ध रहेको र यसका लागि सबैले सहयोग गर्नुपर्ने विचार राखेका थिए । कार्यक्रमका विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य एवम् आख्यान विभाग प्रमुख  मातृका पोखरेलले यस क्षेत्रका स्रष्टाले नेपाली आख्यानका साथै नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएको सन्दर्भको प्रस्तुतिका साथै नेपाल प्रज्ञा प्रतिष्ठानले यस क्षेत्रलाई महत्वपूर्ण साहित्यिककेन्द्रको रुपमा हेरेको बताउनु  भयो । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य एवम् बालसाहित्य एवम् लोकवार्ता विभाग प्रमूख नर्मदेश्वरी सत्यालले नेपाल प्रज्ञा प्रतिष्ठानले बालसाहित्यको कामलाई महत्व दिएको र सुदुर पश्चिम  क्षेत्रमा रहेका गलत चिन्तन एवम् कुरीति हटाएको खण्डमा नेपाली समाज एवम् साहित्य क्षेत्रमा महत्वपूर्ण फडको मार्ने दृष्टिकोण प्रस्तुत गर्नुभयो  । कार्यक्रममा सुदुर  पश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशी, दलित साहित्य सोपानका अध्यक्ष गणेश नेपाली, सुदुर  पश्चिमाञ्चल कला प्रतिष्ठानका सचिव गुणाकर पनेरुले शुभकामना दिएका थिए ।

सुदुर  पश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशी, कैलाली जनपुस्तकालयका उपाध्यक्ष डा. टिएन जोशी किशोर, दलित साहित्य सोपानका अध्यक्ष गणेश नेपाली,  सुदुर  पश्चिमाञ्चल कला प्रतिष्ठानका सचिव गुणाकर पनेरु, विद्यार्थी साहित्यप्रतिष्ठानका अध्यक्ष तोयनाथ भट्ट, महाकाली गजल प्रतिष्ठानका अध्यक्ष कविराज भट्ट,वरिष्ठ स्रष्टा मनिराज जोशी, यज्ञराज यात्री, वरिष्ठ समाजसेवी बद्रीनाथ भण्डारी तथा साहित्यकार हेमन्ती जोशी, गगनसिंह ऐर, केदारप्रसाद आचार्य, कैलाली जनपुस्तकालयका अध्यक्ष उमाकान्त जोशी, चर्चित लोकदेउडा गायक ध्वजबहादुर महरा, सुप  साहित्य समाजका महासचिव हरिकृष्ण कडायत लगायत १०० जनाको हाराहारीमा स्रष्टाहरूको उपस्थिति रहेको थियो । यस समारोहमा स्रष्टा अर्जुन बहादुर  थापा र  जनक रसिकलाई वि.स. २०७४ सालको नेपाली वाङ्मय प्रतिभा सम्मान वितरण गरिएको थियो । प्रदेशका माननीय सभामुख स्रष्टा थापालाई दर्शन एवम् सीद्धान्तसँग सम्बन्धित कृतिका माध्यमबट समाज रुपान्तरणमा सहयोग पुर्याउनु  भएकोमा नेपाली वाङ्मय साधना सम्मानबाट प्रदेश नम्बर सातका माननीय मन्त्री प्रकाशबहादुर शाह एवम् सभाध्यक्षले, त्यसैगरि स्रष्टा जनक रसिकलाई प्रमुख  अतिथि माननीय सभामुख अर्जुन बहादुर थापाले नेपाली वाङ्मय प्रतिभा सम्मान २०७४ बाट सम्मानित गरेका थिए । यस गोष्ठीमा 'नेपाली लघुकथामा अभिव्यक्त बालपात्र' शिर्षकमा डा. पुष्करराज भट्टले र  'सुदुर  पश्चिमाञ्चलको आख्यान साहित्यको अवस्था, प्रवृति एवम् चुनौती'  विषयमा जनक रसिकले कार्यपत्र प्रस्तुत  गरेका थिए । यस समारोहमा सुदुर  पश्चिमका चर्चित देउडा गायक ध्वजबहादुर महरा, सुप साहित्य समाजका महासचिव हरिकृष्ण कडायत एवम् देउडा गायक सुरेन्द्र संगमलेदेउडा गीतका माध्यमबाट मनोरञ्जन गराएका थिए । कार्यक्रममा प्रस्तुत  गरिएका कार्यपत्र माथि स्रष्टा मेघनाथ खनाल बन्धु  एवम् धर्मराज जोशीले टिप्पणी गर्नुभएको थियो । यस समारोहमा पदम स्मृति अवस्थी, पुष्पा जोशी, पवित्रा जोशी, बसन्त विक,  हेमन्ती जोशी, सिद्धनारायण आचार्य, तेजराज कापडी, युगीन विवेक,कविराज भट्ट, तिलकबहाडुर सिंह,  रोजी सिंह, यमराज जोशी, अम्बिका भण्डारी, केवी लिसानी, सुरेन्द्र संगम, लक्षीराम आचार्य, चक्र चनारा, योगराज आचार्य, केदारप्रसाद आचार्य एवम् गोकर्ण अवस्थी लगायत दुई  दर्जन भन्दा बढी स्रष्टाले आफ्ना रचना वाचन गरेका थिए ।

कार्यक्रमको दोस्रो दिन बिहान ११ बजेदेखि कार्यक्रम प्रारम्भ भयो । सो कार्यक्रममा बालसाहित्य लेखन कार्यशाला गोष्ठी एवम् बालसाहित्य रचना वाचन कार्यक्रम सम्पन्न भयो । दोस्रो दिनको कार्यक्रमको अध्यक्षता नेपाल वाङ्मय परिषदका अध्यक्ष डा. पुष्करराज भट्टले एवम् सञ्चालन महासचिव बाबुराम आचार्य एवम् को षाध्यक्ष तिलकबहादुर सिंहले गरेका थिए । यस समारोहमा आख्यान लेखनका बारेमा योगराज आचार्य एवम् जनक रसिक, कविता काव्य लेखनका बारेमा मेघनाथ खनाल, कविराज भट्ट एवम् तीर्थराज भट्टले प्रशिक्षणका साथै सहजिकरण गरेका थिए । कैलाली जिल्लाका विभिन्न विद्यालयबाट उपस्थित ६० जना विद्यार्थाीका साथै अन्य साहित्यकारले समेत समारोहमा भाग लिएका थिए । कार्यक्रमको अन्त्यमा प्राज्ञ नर्मदेश्वरी सत्यालले सहभागी विद्यार्थी एवम् प्रशिक्षकलाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो । उनले यो कार्यक्रमको सञ्चालनमा देखिएको सहभागिताले आफूलाई खुसि  लागेको र नेपाली बालसाहित्यको लेखनमा यस क्षेत्रका स्रष्टाले महत्वपूर्ण योगदान दिने कुरामा आफू  विश्वस्त भएको विचार राख्नु भयो  ।

कार्यक्रमको अन्त्यमा बालबालिका एवम् अन्य लेखकले आफ्ना रचना वाचन गरेका थिए ।

000 

==================================

कार्यपत्र 

सुदूरपश्चिमको समकालीन आख्यान लेखन र यसका चुनौतिहरु
–जनक रसिक

कला साहित्य वा कुनै पनि प्रकारका सभ्यताको बिकासक्रमलाई स्थान विशेषको भूगोल, शाषकीय व्यवस्था, पूर्वाधारको स्थिती र शिक्षाको बिकासले प्रभाव पारिरहेको हुन्छ । त्यसकारण कुनै पनि स्थानको कला साहित्यको स्थिति अध्ययन गर्नका लागि उपर्युक्त तत्वहरुको बारेमा बुझ्नु जरुरी हुन्छ । 

नेपालको कर्णाली नदी पश्चिम महाकाली नदी सम्मको भूभागलाई सुदूरपश्चिमको नामले चिनिदै आएको छ । उच्च हिमाली क्षेत्रमा ब्यासी, शौका, भोटे लगायत जाती र दक्षिण तराइमा थारु जातीको बसोबास रहेको सुदूरपश्चिम क्षेत्रमा वाहुल्यता भने खस आर्य जातीकै रहेको छ । त्यसबाहेक मगर, गुरुङ, नेवार, तामाङ लगायतका आदिवासी जनजातीहरुको बसोवास पनि यो क्षेत्रमा छ । त्यही अनुरुप भाषिक विविधता पनि यो क्षेत्रमा पाइन्छ । तर डोटेली, थारु र नेपाली भाषा साहित्यको बिकास बिस्तार भए पनि अत्य भाषा भाषिकामा त्यो प्रष्ट देखिदैन । 

शिक्षाको बिकास ढीलो सुरु भएको, भौतिक पूर्वाधारको बिकासले राज्यसँग निकै पछि जोडिएको, आर्थिक अवस्था तुलनात्मक रुपमा कमजोर रहेको तर साँस्कृतिक विविधता, सँस्कारगत आचारव्यवहार र प्राकृतिक सौन्दर्यले निकै समृद्ध मानिएको नौ जिल्लाको भूगोल र त्यसैभित्रको समाज समुदाय नै समग्र सुदूरपश्चिम हो । परिवर्तित शाषन व्यवस्थामा यो ७ नंं. प्रदेशको रुपमा स्थापित भएको छ । 

सुदूरपश्चिम अर्थात  ७ नं. प्रदेशमा शिक्षा र भौतिक पूर्वाधारको बिकास सँगै साहित्यको बिकास पनि अघि बढिरहको छ । साहित्यका प्रमुख चार विधा मध्ये आख्यान एक हो । अख्यान अन्तरगत कथा, लघूकथा र उपन्यास पर्दछन् । वर्तमान समयसम्म हेर्दा सुदूरपश्चिमको आख्यान लेखनले एक प्रष्ट आकार निर्माण गरेपनि मूलधारको गति भने समात्न सकेको छैन । समकालिन नेपाली आख्यान लेखनमा सुदूरपश्चिमको अवस्था र यसका चुनौतिहरुको चिरफार गर्ने प्रयास यो आलेखमा गरिएको छ । 

सुदूरपश्चिममा आख्यान लेखनको अवस्था 
सुदूरपश्चिम क्षेत्र सामाजिक, साँस्कृतिक, धार्मिक र जीवन शैलीका दृष्टिले परापूर्वकाल देखि नै पृथक र विशिष्ट खालको रहिआएको छ । यहाँको आफ्नै छुट्टै भाषा यहाँको विशिष्ट सौन्दर्य हो । वि.सं. १८७०–७५ पछि मात्रै यहाँको जनताले बाँकी नेपाल आवतजावत गर्ने, गोरखा भाषा लगायत अन्य भाषासँग परिचित हुने, सम्बन्ध स्थापित गर्ने जस्ता गतिविधि भएको पाइन्छ । औपचारिक शिक्षा आर्जन तथा लेखन परम्पराको सुरुवात बीसौँ शाताब्दीको मध्यतिर भएको पाइन्छ । तर प्रजातन्त्र स्थापना हुँदा सम्म त्यो ज्यादै न्युन मात्रामा भयो  । प्रजातन्त्र स्थापनापछि मात्रै यहाँ शिक्षाको बिकास दु्रत गतिमा अघि बढेको हो । 

सुदूरपश्चिमको आख्यानको इतिहास पौराणिक कालदेखि नै चलनमा रहेको लोककथा, दन्त्यकथामा गाँसिएको छ । शिक्षा र लेखन परम्पराको बिकास हुनु पूर्व यहाँको समाजमा श्रुतिपरम्परा घनिभूत रुपमा व्याप्त थियो । धार्मिक कथाहरु, लोक कथाहरु, दन्त्यकथाहरु, बीरगाथाहरु, समाजमा घटित सत्य घटना तथा कतिपय काल्पनिक घटनाहरुलाई पनि कथानक बनाएर सुन्ने सुनाउने परम्परा थियो । कतिपय कथाहरुमा सामाजिक जनजीवनको परिव्यथा, सुख दुःख पनि समेटिएका हुन्थे । यस्ता कथाहरुमा कतिपय छोटा कथा हुन्थे भने कतिपय पूरै रात वा कैयौ रात बिताउन सकिने गरी लामा पनि हुन्थे ती लामा कथाहरुलाई उपन्यासका दर्जामा राख्न सकिन्छ । स्रुति परमपरा वर्तमान समयमा पनि अस्तित्वमै रहेको छ । 

प्राप्त तत्थ्य अनुसार सुदूरपश्चिम क्षेत्रमा आख्यान लेखनको औपचारिक सुरुवात पहलमान सिँह स्वाँरबाट भएको पाइन्छ । उनको उपन्यास ‘एक लाख रुपैँयाको चोरी’ नै सुदूरपश्चिमको पहिलो लिखित आख्यान हो । त्यसपछि लामो समय यस क्षेत्रमा केही सर्जकहरुले काव्य रचना गरे पनि आख्यान लेखन कार्य भएको देखिदैन । प्रजातन्त्र स्थापना भएपछि मात्र खड्क बहादुर सिँहको उपन्यास ‘विद्रोह’को पहिलो भाग (२०११) र दोस्रो भाग (२०१३०) प्रकाशन भएको देखिन्छ । त्यसपछि मात्रै सुदूरपश्चिम क्षेत्रमा कथा र उपन्यास लेखन अघि बढेको पाइन्छ । 

यस क्षेत्रबाट उदाएका लेखकहरुका हालसम्म प्रकाशित उपन्यासहरुमा भाउपन्थीको मलास (२०२५), वासुदेव भाइसाव को ‘संस्मरण’, ‘निगालाका छतरीहरु’ र ‘सप्पर’, भक्तराज जोशीको ‘सपना’, श्रेष्ठप्रिया पत्थरका ‘पतिङ्गर’, ‘पुकार’, ‘रङ्गभूमी’, मर्यादा, र पुनराबृत्ति’, बिक्रम सिँह धामीको ‘जैमती’, देवराज भट्टको ‘नौलाहितु’, नृप बहादुर स्वारको ‘कुसुमी ’, ‘चिनु’ र ‘कथाव्यथा’, जीत सिँह भण्डारीका ‘कर्तव्य’, अधिकार’ ‘ममताको झलक’, र ‘स्वप्न समाधी’, खेमराज ओझाको ‘कर्मको तन्ना’, पदम बहादुर विष्टको ‘नौलो बिहानी’, तेज प्रसाद श्रेष्ठको ‘संकल्प जिउँदो रहेछ’, तेज बहादुर शाहको ‘बादल ’, तुलशी शर्माको ‘भाउजु’, बिश्णु प्रसाद दौल्यालको ‘विदाइ’, मनिरामा चौधरीको ‘विधवा’, गौरीदत्त पनेरुको ‘पराजित’, आत्मारामा ओझाको ‘तिला ’ ‘नाग मल्ल ’, पदमराज जोशी प्रभातको ‘पहाडकी सौराई’ बच्चु वि क को ‘फकिर ’, दीर्घराज ओझाको ‘सुदूरपशिचमकी बसन्ती’, रामनाथ अधिकारीको ‘जनसेनाकी पत्नि’,  बुद्धिसागरका ‘कर्नाली ब्लुज’,  र ‘फिरफिरे’ राज सरगमका ‘चिम्नी’ र ‘छाउघर’ विवेक ओझाको ‘ऐलानी’ आदि रहेका छन् । 

लोककथा तथा दन्त्य कथाहरुको स्रुति परम्परामा रहेको सुदूरपश्चिममा कथा लेखनको औपचारिक सुरुवात पनि २००७ साल पछि नै भएको पाइन्छ । सुरुवातका केही वर्ष स्रष्टाहरुले फुटकर कथाहरु लेखन प्रकासन गरे । कथाकार भाउपन्थी को कथा सँग्रह ‘सम्बन्ध’ प्रकाशन भएपछि सुदूरपश्चिममा कथा संग्रह प्रकाशन कार्य अघि बढेको पाइन्छ । हालसम्म यस क्षेत्रबाट उदाएका कथाकारका कथासंग्रहरुमा लोकेन्द्र बहादुर चन्दका ‘हिउँको तन्ना’, बिसर्जन’ , आर.डी प्रभास चटौतको लडाइको मैदानबाट ’, कृष्णदत्त चटौतका अस्ताचलको सूर्य’ र गुनासो’, ताराप्रसाद जोशीको नेपाली कथा संग्रह ’,तेजप्रकाश श्रेष्ठको हाटबजार ’,  र ‘त्रिविध’, पुस्करराज भट्टका लघुकथाहरु कर्मयोद्धा’, ‘मुक्तिदूत’, ‘एक थोपा सागरको’, नारा जोशीको लुघुकथा,  वीर ब.चन्दको ‘कपडाको थोपडो ’ पदमराज जोशी प्रभातको ‘नामसारी ’ वासुदेव भाइसावको ‘खुद्यौडाका बातै ’, मनिराम चौधरीको ‘रसाइल करम’, महेशविक्रम शाहका ‘सटाहा’, ‘सिपाहिकी स्वास्नी, ‘अफ्रिकन अमिगो’, ‘छापामारको छोरो’, ‘ज्याक्सन हाइट’, ‘भुइँखाट’, रामलाल जोशीको ‘ऐना’, मनिराज जोशीको ‘दुई लाखको अर्ति’, हेमन्ती जोशीको ‘प्रतिविम्ब’, ‘पत्र पत्र जिन्दगी’, भक्तराज ढुङ्गाना को पीडा, रामचन्द्र नेपालको ‘आवाज’, पदम चलाउनेको ‘लालमोर्चाका किल्लाहरुमा’, भोजराज भट्टको ‘बमना रानाको कोट’ आदि रहेका छन् । यसबाहेक फुटकर रुपमा कथा लेखन प्रकासन गरिरहेका स्रष्टाहरुमा जगदीश ओझा, श्रेष्ठ प्रिया पत्थर, बच्चु बिक, जनक रसिक, भुवन निस्तेज, राजेन्द्र तारकिणी, भावना क्षितिज लगायत दर्जनबढी श्रष्टाहरु रहेका छन्। 

यस क्षेत्रमा लेखिएका उपन्यास, कथा लघुकथामा विषयवस्तुको विविधता पाइन्छ । धर्म परम्परा, इतिहास, राजनीति, शाषन व्यवस्था, अन्धविश्वास देखि विज्ञान प्रविधि का विषयवस्तु यहाँका आख्यानहरुमा समेटिएको पाइन्छ । समकालिन नेपाली आख्यानमा आन्चलिकता सबैभन्दा उच्कृष्ट नमुनाहरु यसै क्षेत्रबाट उत्पादन भएका छन् । स्तरियताको मापनमा बढी सँख्याका पुस्तकहरु औषत दर्जाामा रहेपनि केहीले मूलधारमा गर्विलो उपस्थिति जनाएका छन् । यसै क्षेत्रबाट उदाएका लोकेन्द्र बहादुर चन्द, महेशविक्रम शाह,नरबहादुर साउँद, बिजयकुमार, रामलाल जोशी का कृतिले देशको चर्चित मदन पुरस्कार प्राप्त गरेका  गरेका छन् । बुद्धिसागरका उपन्यासहरु देशमा  सर्वाधिक बिक्रि हुने पुस्तकमा परेका छन्, कार्पाेरेट दुनियामा आख्यान लेखनबाट सबैभन्दा बढी रोयल्टी पाउने लेखक हुन बुद्धिसागर । भर्खरैका युवा राज सरगमको उपन्यास छाउघर, देशका चर्चित मदन पुरस्कार र पद्मश्री पुरस्कारको छनोट सुचिमा परेर तथा पाण्डुलिपि पुरस्कार प्राप्त गरेर चर्चित बनेको छ । नेपाली लघुकथामा पहिलो पटक विद्यावारिधी गरेर डा. पुष्करराज भट्टले एउटा प्राज्ञिक जमातको ध्यान सुदूरपश्चिमतिर खिचेका छन् । यस बाहेक पछिल्लो समय नयाँ प्रतिभाहरुको आगमनले नेपाली सर्जक प्रकाशक पाठक तथा मिडियालाई सुदूरपश्चिमतिर फर्काएको छ । 

केन्द्रिकृत राज्य प्रणालीको कारण विकास निर्माण र सेवा सुविधा राजधानी केन्द्रित भए, शिक्षा र अवसर पनि राजधानीभित्रै बढी मात्रामा उपलब्ध हुन थाले । यसको अवसर प्राप्तीका लागि यस क्षेत्रक थुप्रै सर्जकहरु राजधानी भित्रिएका छन् भने केही सर्जकहरु देशका विभिन्न ठाउँमा बसेर सिर्जना गरिरहेका छन् । त्यसकारण सुदूरपश्चिमको आख्यानलाई पनि सोही अनुरुप दुइ भागमा विभाजन गरेर अध्ययन गर्नु बढी सान्दर्भिक देखिन्छ । पहिले सुदूरपश्चिम क्षेत्रलाई नै कर्म थलो बनाएका सर्जकका सिर्जना र दोस्रो सुदूरपश्चिममा जन्मी हुर्केर अन्यत्र कार्यक्षेत्र बनाएका सर्जक र सिर्जना । 

सुदूरपश्चिमको आख्यान लेखनका प्रबृत्तिहरु 

क्षेत्रफलका आधारमा सुदूरपश्चिम क्षेत्र सानो भए पनि यसभित्रको भूगोल, सँस्कृति, सामाजिक जनजीवनका आयामहरु अनेक छन् । शिक्षा र भौतिक पूर्वाधारका दृष्टिले समुदायहरुबीच ठूलो अन्तर छ । जातिय संस्कारहरु विभिन्न छन् । त्यहीअनुरुप सर्जकहरुका सिर्जनामा पनि विविधता छ । आख्यानका विषयवस्तुहरु भिन्न भिन्न छन्, लेखकका बिचार, चेतना र उद्देश्य फरक फरक छन् । समयकाल र राज्य व्यवस्थाको परिस्थितिहले पनि यहाँको आख्यानलाई प्रत्यक्ष प्रभाव पारेका छन् । यसरी सुदूरपश्चिमको समग्र आख्यानका प्रवृत्तिहरुलाई निम्नानुसार विभाजन गर्न सकिन्छ ः 

क) ऐतिहासिकता 
सुदूरपश्चिम तथा कर्णाली क्षेत्र खस आर्य सभ्यताको उद्गम स्थल मानिन्छ । भारतमा मुश्लिम तथा मुगल आक्रमणका क्रममा बसाइ सरी आएका जातीहरु पनि यो क्षेत्रमा छन् । नेपाल एकिकरण पूर्व यहाँ एक सशक्त डोटी राज्य थियो । दर्जनौ रजौटाहरु थिए । नेपाल अँग्रेज युद्ध यसैको पश्चिम क्षेत्रमा भयो । बाँका बीर, भीमदत्त पन्त, द्वारिका देवी ठगुरानी जस्ता वीर पुरुषहरु यसै क्षेत्रमा जन्मिए । यस्ता विविध कारणले सुदूरपश्चिम क्षेत्र इतिहासहरुको खानी नै हो । यहाँ विविध क्षेत्र, वर्ग, जाती, सँस्कृति आदिका इतिहासहरु छन् । विशेष गरेर नृप बहादुर स्वारका कृतिहरु, खडक बहादुर सिँहको विद्रोह, आत्माराम ओझाको ‘नागी मल्ल’ आदि ऐतिहासिकताका नमूना हुन । यस बाहेक अन्य थुप्रे कृतिहरुमा पनि इतिहासका सन्दर्भहरु जोडिएका छन् । 


ख) सामाजिक परम्पराहरुको प्रस्तुति 

सामाजिक  विविधता सुदूरपश्चिम क्षेत्रको प्रमुख सौन्दर्य हो । यहाँ दैनिक जनजीवन र सामाजिक कार्यव्यवहारहरु अधिकांश सामाजिक संस्कारको आधारमा हुने गर्छन् । कृषी कर्म, पशुपालन, मेलापात, पहाडी जीवनको दैनिकी हो । घाँसदाउरा देखि खेतिकाम सम्म आफ्नै तरिकाले गरिन्छ । यहाँ थुप्रै मौलिक चाडपर्वहरु छन् । तराइमा थारु जातिको आफ्नै संस्कार र परम्परा छ । यस्ता सामाजिक संस्कार र परम्परा र दैनिकीहरुलाई विषयबस्तु बनाएर उपन्यास तथा कथाहरु सिर्जना गरिएका छन् । पदमराज जोशी प्रभातको ‘पहाडकी सौराइ’ वासुदेव भाइसावको खुद्यौडाकी बातै’, मनिराज जोशीको दुइलाखको अर्ति आदि सामाजिक परम्परा झल्काउने उत्कृष्ट कृतिहरु हुन् । यसबाहेक कृष्णदत्त चटौत, लक्ष्मीदत्त बैरागी, आत्माराम ओझा, रामलाल जोशी लगायतका स्रष्टाका सिर्जनाहरुमा पनि सामाजिक परम्परा उजागर गरिएको पाइन्छ । 

ग) द्वन्दकालकालीन विषयको उद्घाटन 
सामाजिक, जातिय, वर्गिय तथा शाषकीय विभेदका कारण देशमा समय समयमा विद्रोह संघर्ष तथा सशत्र युद्धहरु भए । यी संघर्षहरुको दौरान राज्य पक्षबाट तथा विद्रोही पक्षबाट ठूलो जनधनको क्षती भयो । आम सर्वसाधारणले पीडा र सास्ती खेप्नुप¥यो । द्वन्दकालका यिनै घटना र कथा व्यथालाई मूल मुद्दा बनाएर यस क्षेत्रका सर्जकहरुले कलम चलाएका छन् । महेशविक्रम शाहको छापामारको छोरो, पदम चलाउनेको लालमोर्चाका किल्लाहरु, खडकबहादुर सिँहको विद्रोह आदि द्वन्द साहित्यका नमूना हुन । यस बाहेक अन्य थुप्रै सर्जहरुका कृतिहरुमा द्वन्दकालीन विषयवस्तुहरु समावेश गरिएका छन् । 

घ) नारी चेतना 
नेपालका वहूसँख्यक समुदाय पितृसत्तात्मक छन् । सुदूरपश्चिम क्षेत्रमा पनि पुरुष जाति भन्दा नारी जातीले भोग्नुपरेका दुःख पीडा र कठिनाइहरु बढी छन् । शिक्षा, स्वास्थ आय आर्जन देखि राजनीतिक नेतृत्वकर्म सम्म महिलाहरु पछि परेका देखिन्छन् । महिला जातीका परिव्यथा, उनीहरुको स्थिति उजागर गर्दै नारी चेतना, विद्रोह र समानताका पक्षमा साहित्य लेख्ने क्रम देशभरी नै बढेको छ । सुदूरपश्चिम क्षेत्रमा तुलशी शर्माको भाउजु, लक्ष्मीदत्त बैरागीको ‘बसन्ती बिचारी’, दीर्घराज ओझाको सुदूरपश्चिमकी बसन्ती राज सरगमको छाउघर आदि नारी चेतनाका उत्कृष्ट आख्यान हुन । त्यसबाहेक श्रेष्ठ प्रिया पत्थर, हेमन्ती जोशी, नारा जोशी लगायतका कृतिहरुमा नारी चेतना सशक्त रुपमा मुंखरित भएको पाइन्छ । 

ङ) गणतान्त्रिक चेतना 
शाताब्दिऔ देखि राजा रजौटा द्वारा शाषित हुँदै आएको नेपाली समाज पछिल्लो २३७ वर्षे शाही शाषनको अन्ततिर आइपुग्दा राजतन्त्रप्रति बहुसँख्यक जनतामा वितृष्णा पैदा भैसकेको थियो । जनता वा जनप्रतिनिधिहरु स्वयंले शाषन गर्नुपर्ने गणतन्त्र स्थापनाको लागि आवाजहरु बुलन्द हुन थाले । सर्जकहरु यसबाट टाढा रहने कुरै भएन । गीत र काव्यका साथ दर्जनौ सर्जकहरु स्वयं संघर्षमा सामेल भए । त्यसबाहेक फुटकर रुपमा कथा लघुकथा लेखन प्रकाशन कार्य पनि भयो । प्रजातन्त्र पुनर्वहाली पूर्व नै प्रकाशित भएका देवराज शर्माका कृतिहरुमा स्पष्ट रुपमा गणतन्त्रको पक्षमा वकालत गरिएको छ । त्यसबाहेक यस क्षेत्रका थुप्रै सर्जकहरुका कथाहरुमा गणतन्त्रप्रतिको अनुराग प्रष्ट देख्न पाइन्छ । लामो समयसम्म ओझेलमा परेका यस क्षेत्रका विषय स्थान, पात्र र चालचलनहरुले साहित्यको मूलधारमा स्थान पाएका छन् । 

च) परिवर्तनका स्वरहरु 
सुदूरपश्चिम क्षेत्रको साहित्यिक बिकासको सुरुवातका वर्षमा वहुसँखयक सर्जकहरुले इतिहास, सामाजिक परम्परा, धर्म, स्तुती आदिलाई लेखनको मूल विषय बनाए पनि पछिल्लो समय बहूसँख्यक सर्जकहरुले परिवर्तन र परिवर्तनको चाहनालई मुखय रुपमा अगालेका छन् । व्यक्ति, परिवार, समाज, समुदाय, संस्कृति संस्कार आचरण व्यवहार देखि राजनीतिक व्यवस्था र शाषन सत्ता सम्म सबै ठाउँमा सबै खाले परिवर्तनलाई यहाँका स्रष्टाहरुले औँल्याएका छन् । जातिय वर्गीय, धार्मीक, लैँगिक आर्थिक लगायतका विभेदको अन्त्य र समानताको पक्षमा सर्जहरुकका कलम चलेका छन् । समाजमा व्याप्त कुरिति, कुसंस्कार, विभेद, भ्रष्टाचार, दण्डहिनता लगायतका विषय लेखकहरुको निशानामा छन् । श्रेष्ठ प्रिया पत्थर, हेमन्ती जोशी, पुष्करराज भट्ट, वासुदेव भाइसाव, राज सरगम लगायतका दर्जनौ लेखकहरुका कृतिमा परिवर्तनका स्वरहरु उठेका देखिन्छन् । त्यसबाहेक पचिल्लो समयमा युवा पुस्तका लेखकहरुमा परिवर्तनका स्वरहरु अझ बढी मुखरित भएका छन् । 

छ) सामाजिक समस्याको उद्घाटन :
नेपाली समाजमा जति सुन्दरता छ त्यति नै सामाजिक कुसँस्कार हरु पनि छन् । देशैभर सबैजसो समुदायमा व्याप्त धार्मीक साँस्कृतिक संस्कारगत लगायतका कुप्रथाहरु यहाँको समुदायमा पनि छन् । शिक्षा र भौतिक पूर्वाधारको बिकास अन्य क्षेत्रभन्दा ढीलो सुरु भएको कारण यो क्षेत्रका कु प्रथाहरु पनि तुलनात्मक रुपमा बढी देखिएका छन् । केही सर्जकहरुले तिनै कुप्रथा र सामाजिक समस्याहरुलाई लेखनको मूलविषय बनाएका छन् । पछिल्लो समय प्रकाशन भएको रामलाल जोशीको ऐना, राज सरगम को छाउघर, विवेक ओझाको ‘ऐलानी’ आदि सुदूरपश्चिमको समाजले विगतमा भोगेका सामाजिक समस्याहरु माथी लेखिएका कृति हुन् । तर यहाँ सम्झनै पर्ने कुरा के छ भने विगतमा रहेका यस्ता कुरिति र कु संस्कारहरु कतिपय हटिसकेका र कतिपय हट्ने क्रममा रहेकाले सर्जकहरुले पनि त्यही ढङ्गले सिर्जना  गर्नुपर्ने देखिन्छ । 

यी प्रवृत्तिहरुबाहेक यहाँको आख्यान लेखनमा व्यङ्ग्य, सामाजिक पहिचान, विज्ञान प्रविधि, परदेशिनुको पीडा राष्ट्रियता, गौरव गाथा लगायतका विषयवस्तुहरुपनि सशक्त रुपमा उठान गरिएको पाइन्छ । 

सुदूरपश्चिमको आख्यान लेखनका चुनौतीहरु 
सुदूरपश्चिमको आख्यान लेखनको करिब शताव्दीसम्म्को इतिहास हेर्दा दर्जनौ लेखकहरु तयार भएका छन् । दर्जनौ पुस्तकहरु प्रकाशन भएका छन् । सयौँ फुटकर रचनाहरु प्रकाशन भएका छन् , तिनमा विविध, वाद, सिद्दान्त, आयाम, दर्शनको प्रयोग भएको छ, केही स्रष्टा र कृतिहरु राष्ट्रिय रुपमा स्थापित पनि भएका छन् । तर केहि उदारणले मात्र समग्र आख्यानलाई समृद्ध प्रमाणित गर्ने सक्दैन । राष्ट्््््यि मुलधारको लेखन भन्दा सुदुरपश्मिको आख्यान लेखनको गति केहि सुस्त रहेको कुरा साँचो हो । यहाँको आख्यान लेखन राष्ट्रिय मुलधाराभन्दा संख्यात्मक र गुणात्मक दुवै आधारमा तुलनात्मक रुपमा कमजोर नै छ । हालसम्म प्रकाशनमा आएका  पचाश भन्दा बढि लेखकहरुका सयभन्दा बढि कथा, उपन्यास कृतिहरुमध्ये हातका औंलामा गन्न सकिने मात्र लेखक र कृतिहरु मात्र राष्ट्रियमुलधारामा स्थापित भएका छन् । अझ त्यसमा पनि राजधानीमै बसेर स्थापित भएका लेखकहरु बढी छन् । अर्को अर्थमा यहाँको आख्यान लेखनलाई सबल, समृद्ध नै मान्नेहो भने पनि चुनौतीहरु र सुधार गर्नुपर्ने कुराहरु थुप्रै छन् । 

सुदुरपश्चिमको आख्यान लेखनका मुख्य चुनौतीहरुलाई निम्ननुसार परिभाषित गर्न सकिन्छ ः

क) कोरा वर्णनात्मकता तथा शिल्पगत कमजोरी :
      साहित्य भनेकै भोगाइहरुको र विचारहरुको कलात्मक अभिव्यक्ति हो । औषत भोगाइहरु र औषत विचारहरु जोकोही सँग हुन्छन् । तिनीहरुको साधारण कथन वा सधारण अभिव्यक्तिले स्रोता वा पाठकलाई खासप्रभाव पार्दैन, त्यो उनीहरुले सामान्य रुपमै ग्रहण गर्छन् । सामान्य रुपमा वर्णन गरिएको विषयवस्तु साहित्य बन्दैन । साहित्य बन्नका लागी विचार र भोगाइहरु को अभिव्यक्ति कलात्मक, विम्वात्मक, गहन हनुपर्छ, जसले स्रोता, पाठक वा दर्शहरुलाई आकर्षित, आनन्दित आल्हादित वा सोचमग्न बनावस । साहित्यको प्रभावशक्ति त्यसको अभिव्यक्ति कलाको शक्तिमा भरपर्छ । तर यसक्षेत्रका थुप्रै लेखकहरुका आख्यानहरुमा अभिव्यक्ति कला निकै कमजोर छ । उनीहरुका सिर्जनामा कोरा वर्णनात्मकता पाइन्छ । त्यो वर्णन कि सत्य घटनाहरुको समाचार जस्तो हुन्छ, कित अति कल्पनाको वर्णन, जुन प्रष्ट देखिन्छ ।
      
अभिव्यक्तिलाई बढी सुन्दर र आकर्षक बनाउने काम शिल्पले गर्दछ । विम्बहरुको प्रयोग, जनजीवनका मीथहरुको प्रयोग आदिले आख्यानलाई जीवन्त बनाउछ, तर यहाँका आख्यानमा शिल्पगत कमजोरी एक प्रमुख समस्या देखिन्छ । 

ग) जनजीवनका मूल समस्या प्रतिको उदासिनता 
          साहित्य जहाँ, जसरी र जुन विधामा लेखिए पनि लेखिने विषयवस्तु भनेको समाज, जनजीवन र परिवेश नै हो । अझ आख्यानका त मुल विषय यिनै हुन् । सुदुरपश्चिम क्षेत्र सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक, जातिय, भौगोलिक लगायतका तमाम विविधताले भरिपुर्ण क्षेत्र हो । यहाँको जीवनशैलि, रितिरिवाज,परम्परा अन्य क्षेत्रको भन्दा नितान्त फरक छ । साहित्यका लागि तमाम विषयवस्तुहरु छन् । यहाँ, तर ति धेरै लेखिएका छैनन् । एकथरी गैरसरकारी संस्था, सञ्चार माध्यम र लेखकहरुले यहाँका कुसँस्कार र कुसंस्कृतिलाई मूल मुद्दा बनाएर यहाँको समाजलाई कुरुप देखाउने भरपूर प्रयास गरेका छन् । जसका कारण बाहिरका मानिसहरुके बुझाईमा सुदूरपश्चिम क्षेत्र अभाव, अशिक्षा, अन्धविश्वास, मात्र भएको पिछडिएको क्षेत्र हो भन्ने छ । तर यहाँको समाज र संस्कार सुन्दर पक्षहरु लेखिएकै छैनन् । इतिहासको गरिमा भाषा मुल्य, मीथकहरुको सौन्दर्य र श्रोतसाधनको उपलब्धताप्रती लेखकहरु उदासीन देखिन्छन् । 

घ) मूलधारदेखिको दूरी 
देशकाल परिस्थिति ले साहित्यलाई ठूलो प्रभाव पार्दछ । समयसँगै साहित्यका विषयबस्तुहरु फेरिदै गएका हुन्छन् । नयाँ सिद्धान्त, नयाँ आयाम र नयाँ शैलीहरु आइरहेका हुन्छन् । समय अनुरुप पाठकको रुचि चाहना फेरीदै गैरहेको हुन्छ । यसै अुनुरुप साहित्यको मूलधार निर्माण भएको हुन्छ । तर यस क्षेत्रका अधिकांश लेखकहरु मूलधारबाट अहिले पनि निकै टाढा देखिन्छन । औषत लेखककहरुका सिर्जनामा पुरानै शीर्षक, पुरानै विषय, पुरानै शैली र पुरानै बिचार झल्केको हुन्छ । यतिसम्म की केही स्रष्टाहरु मञ्च वा भिडियामा देखिने वित्तिकै  उसले प्रस्तुत गर्ने विषय अनुमान गर्न सकिन्छ । परिवर्तित राजनीतिक सन्दर्भ, जनआकांक्षा, पहिचानका मुद्दा आञ्चलिकता, विज्ञान प्रविधि, विश्व परिवेश लगायतका तमाम सन्दर्भप्रति यहाँका सर्जकहरु उदासीन देखिन्छन् । जसले गर्दा तिनले सिर्जना गर्ने साहित्य फितलो बन्न गएको । 

ङ) साधनको अभाव 
सर्जकको कर्म साधना हो । साधनाको अर्थ सिर्जनामा मेहनत, लगनशीलता, नियमितता, अध्ययन, विमर्स, सुधार, पुननिर्माण आदि हुन । एउटा र सशक्त सिर्जना तयार गर्न त्यसमा गहन अनूभूति, लामो अध्ययन, निरन्तरको अभ्यास र विमर्सको जरुरत पर्छ । अध्ययनले ज्ञानको दायरा बढाउँछ, अभ्यासले अभिव्यक्ति कलामा निखार ल्याउँछ, आलोचना वा विमर्शले कमजोरी सुधार्न मद्दत गर्दछ । तर यस क्षेत्रका सर्जकहरु यी सबै कुरामा पछाडी नै देखिन्छन । कुन समयमा कहाँ, कस्तो के लेखिरहेछ, प्राय सर्जकहरु अनभिज्ञ हुन्छन् । थोरै लेखेर छिटो छिटो चर्चा कमाउने, सम्मान थाप्ने र वरिष्ट कहलिने हुटहुटि यहाँका वहुसंख्यक सर्जकहरुमा देखिन्छ । दीर्घसाधना का माध्यमबाट कालजयी सिर्जना गर्ने सोच अत्यन्त न्युन सर्जकहरुमा मात्र भेटिन्छ । 

च) प्राज्ञिक विशेषज्ञताको कमी 
भाषासाहित्य अध्ययन अध्यापन हुने विशेषज्ञ तहका शिक्षण संस्थानहरु यस क्षेत्रमा दर्जन भन्दा बढी छन् । तर त्यहाँ पाठ्यक्रमको नियमित र परीक्षाकेन्द्रित पठनपाठन बाहेक कुनै पनि प्रकारको प्रज्ञिक विमर्श भएको पाइदैन । विशेषज्ञ तह हासिल गेका अध्यापकहरु र हासिल गर्दैगरेका विद्यार्थीहरु साहित्यिक विमर्शमा भने उत्रिन सकेका छैनन् । केही थोरै बाहेक, साहित्यका अधिकांश अध्यापक र विद्यार्थीहरु साहित्यको अवस्था र मर्मप्रति बेखबर देखिन्छन् । साहित्यिक गतिविधि तथा कृतिहरुको उचित समिक्षा, समालोचना गर्न सक्ने व्यक्ति ज्यादै न्युन छन् । अन्य साहित्यिक संघसँस्थाहरुमा पनि भाषा साहित्यका विज्ञ वा विशेषज्ञहरुको उपस्थििति वा गतिविधि न्युन मात्रमा देखिन्छ । जसले गर्दा साहित्यको गति, स्थान र प्रभाव थाहा हुँदैन । अशल साहित्य सिर्जनामा प्राज्ञिक विशेषताको कमि पनि प्रमुख चुनौतीको रुपमा देखिएको छ । 

छ) संस्थागत गतिविधिको अभाव 
भाषा साहित्य र कला संस्कृति को संरक्षण सम्बद्र्धन गर्ने मूल उद्देश्य राखेर स्थापना भएका संघसंस्थाहरु सुदूरपश्चिममा दर्जनौ छन् । कविताकै लागि, गजलकै लागि, गीलसंगीतकै लागि वा नाटककैलागि मात्र स्थापित संस्थाहरु पनि छन् । तर आख्यानकै लागि छुट्टै संस्थाहरु स्थापित छैनन् । बहूआयामिक संस्थाका गतिविधिहरुमा पनि आख्यानलाई प्राथमिकता दिइएको पाइदैन । प्राय ः मञ्चहरुमा गजल, कविता वा काव्यकै गतिविधिहरु हुन्छन् । पत्रपत्रिकामा आख्यानको स्थान न्यून देखिन्छ । साधना बढी चाहिने भएकाले आख्यान लेखनमा उपस्थिति समेत न्युन देखिन्छ । 

ज) प्रकाशनको समस्या 
सुदूरपश्चिम क्षेत्रमा साहित्यका प्रकाशक वा छुट्टै व्यावसायिक प्रकाशहरु छैनन्, नियमित साहित्य प्रकाशन हुने पत्रपत्रिकाहरु वा म्यागाजिनहरु पनि छैनन् । राजधानीका प्रकाशन गृहा वा सञ्चार माध्यमहरुमा यहाँका अधिकांश लेखकहरुको पहुँच छैन । जसले गर्दा यहाँ सिर्जना भएका स्तरिय आख्यानहरु पनि प्रकाशन हुन पाउँदैनन् । सर्जक आफैले लगानी गरेर प्रकाशन गरेका पुस्तहरु धेरै पाठकहरुसम्म पु¥याउन सकिदैन । असले गर्दा सिर्जना भएको भएको स्तरिय आख्यानले उचित मूल्य नपाउने र लेखकको मनोवल घट्दै जाने समस्या यो क्षेत्रमा व्याप्त छ । 

झ) विभेदको सिकार
भौगोलिक कठिनाई र सामाजिक व्यवस्थाका कारण शिक्षा र भौतिक पूर्वाधार को बिकास यो क्षेत्रमा ढीलो गरी सुरु भयो । यहि कमजोरीमा टेकेर राज्य सत्ता र त्यसको नजिकका मानिसहरुले सुदूरपश्चिम प्रति विभेद गर्न सुरु गरे । विभिदको क्रम सामाजिक, राजनैतिक, आर्थिक, शाषकिय लगायत सबै क्षेत्रमा फैलियो । त्यो क्रम साहित्य सम्म पनि पुग्यो । सुदूरपश्चिमका सर्जक र सिर्जना कमजोर हुन्छन भन्ने मानसिकता नेपाली मिडिया र साहित्यिक मूलधारमा लामो समय सम्म व्याप्त रह्यो । जसले गर्दा मूलधार मानिएका स्रष्टा, संस्था र राज्यका निकायले समेत कम महत्व दिने स्थिति रह्यो । यहाँ भएका राम्रा सिर्जना पनि विभेदको सिकार भए । यो विभेदलाई चिर्न यहाँका सर्जकहरुले लामो संघर्ष र साधना गर्नु प¥यो, जुन क्रम अझै रोकिएको छैन । 

यस्ता विविध समस्या  र चुनौतिका कारण समकालीन सुदूरपश्चिमको आख्यान लेखन राष्ट्रिय मूलधार भन्दा पछि परेको देखिन्छ । 

उपसंहार :
यस आलेखमा सुदूरपश्चिमको आख्यान लेखनका थुप्रै चुनौतीहरुको सूचि पेश गर्नुको अर्थ यहाँ समस्या मात्र छन् भन्ने हैन । वा यहाँको आख्यान कमजोर र दयनिय अवस्था छ भन्ने पनि हैन । यस क्षेत्रको आख्यान लेखनका थुप्रै सुन्दर र सवल पक्ष पनि छन् । तुलनात्मक रुपमा राष्ट्रिय मूलधारभन्दा पछि पर्नुको कारणहरु खोज्ने र तिनलाई हटाएर यहाँको आख्यान लेखनलाई अझ बढी समृद्ध, सबल र गतिशील बनाउन प्रयास गर्नु यस लेखको मूल उद्देश्य हो । उपयुक्त चुनौतीहरुलाई हटाउँदै अघि बढ्न सके भोलीको दिनमा सुदूरपश्चिमको आख्यान सशक्त  र समृद्ध बन्ने कुरामा दुई मत छैन । 

सन्दर्भ स्रोत :
१. ओझा, डा. देवीप्रसाद, सुदूरपश्चिममा साहित्य र साहित्यकारहरु 
२. भाइसाब, बासुदेव, डोट्याली लोकसंस्कृति तथा लोक साहित्य
३. भट्ट, डा. पुष्करराज, विद्यावारीधी शोधपत्र
४. कैलाली जनपुस्तकालय
५. थुप्रै सर्जकहरुका कृतिहरु
६. विकिपिडिया लगायत अनलाइन स्रोतहरु
७. सयपत्री, डोट्याली लोककथा विशेषाङ्क, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान      
 000


































































































































































No comments:

Post a Comment