नेपाली कथा साहित्यकि प्रसिद्ध कथाकार कथाकार देवकुमारी थापाको स्मृति दिवसका अवसरमा यही २०७५ साल वैशाख २१ गते नेपाल प्रज्ञा-प्रतिष्ठान र वनिता साहित्यिक पत्रिकाको सहकार्यमा ' उत्तरवर्ती नेपाली नारीकथाका प्रवृत्तिहरू' विषयक गोष्ठी सम्पन्न भयो । नेपाल प्रज्ञा-प्रतिष्ठान, गध्य / आख्यान विभागका प्रमुख मातृका पोखरेलको सभापतित्वमा सम्पन्न उक्त गोष्ठीको प्रमुख अतिथी वरिष्ठ कथाकार माया ठकुरी हुनुहुन्थ्यो । समालोचक गीता त्रिपाठीले ' उत्तरवर्ती नेपाली नारीकथाका प्रवृत्तिहरू' विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको उक्त गोष्ठीमा डा. विन्दु शर्माले कार्यपत्रमाथि टिप्पणी गर्नुभएको थियो ।
कथाकार देवकुमारी थापाको कृतित्व र व्यक्तित्वमाथि साहित्यकार सन्ध्या पहाडीले प्रकाश पार्नुभएको उक्त कार्यक्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य-सचिव प्रा.डा. जीवेन्द्रदेव गिरीले प्रज्ञा-प्रतिष्ठानले बिभिन्न साहित्यिक संस्थासंग सहकार्य गरेर यस्ता महत्वपूर्ण कार्यक्रमको आयोजना गर्ने गरेको जानकारी दिनुभयो । कार्यक्रममा सहभागी साहित्यकार एवम् अतिथिहरूलाई वनिता पत्रिकाका सम्पादक साहित्यकार लक्ष्मी उप्रेतीले स्वागत मन्तव्य र कार्यक्रमको संचालन कथाकार बाबा बस्नेतले गर्नुभएको थियो ।
-----------------------------------------------
कार्यपत्र
उत्तरवर्ती नेपाली नारीकथाका प्रवृत्तिहरू
- गीता त्रिपाठी
सार
नेपाली कथाको आधुनिक कालको आरम्भ वि.सं. १९९० को दशकबाट भएको हो । यही समयबाटै नेपाली नारी कथा लेखनको सहयात्रा आरम्भ भएको छ । आधुनिक नेपाली कथाको विकासक्रम जीवन र जगत्का ससाना घटनाहरूको चित्रणबाट अघि बढेको छ । जीवन र जगत्का पारखी नारी र पुरुष दुवै हुन् । यी दुवैले सोच्ने, भोग्ने र अनुभव गर्ने जीवनका परिवेश एकै भए पनि प्राकृतिक जैविक संरचनाले तिनमा उत्पन्न हुने भाव र अनुभूतिको तह र रङ फरक फरक हुन्छ । त्यसमाथि प्राकृतिक न्यायका विपरीत एउटाले अर्कोलाई गर्ने शोषणको स्थितिमा शोषितको मानसिकता र शोषकको मानसिकताको परिणति उस्तै हुनु सम्भव छैन । त्यसैले नेपाली नारी कथा लेखनको आरम्भमा पुरुष र नारीका लेखनका विषय र सन्दर्भहरू एकै हुन सकेनन् । पितृसत्तात्मक समाजको चस्माले नारीकथाको अध्ययन र मूल्याङ्कनमा सदैव एउटा निश्चित अवधारणा बनाएका कारण नारीकथाका विषयमा हुने टिप्पणी र समालोचनाहरू विगतदेखि नै पूर्ण हुन सकेनन् । नारीले भोगेको आधुनिक जीवन कहिल्यै आधुनिक हुन सकेन र नारीहरूलाई लामो अन्तरालसम्म आधुनिकताको कल्पनाले समेत छुन सकेन । सधैंको विषम भोगाइका चापबाट जीवनको एक रसमय पीडादायी अनुभूतिलाई बाँच्दै आएका नारीका केही सकारात्मक पक्ष केवल मातृत्व चेतनाले मात्र समालेको पाइन्छ । अतः नारीका कथा सदैव वैयक्तिक पीडा र आँसुका आविष्कारहरूको नयाँ संस्करणमात्र हुन् भन्नेहरूको बाहुल्यले नारीकथाको गुणात्मक विस्तारलाई चुनौती दिँदै आएको हो । यही सिलसिलामा नारी कथा प्रकाशनका खासखास समयलाई नियालेर उत्तरवर्ती नारीकथामा अभिव्यक्त प्रवृत्तिगत विशिष्टताको तथ्यपूर्ण विश्लेषण गर्ने प्रयास यस अध्ययनमा गरिएको छ ।
(सूत्र शब्दहरू : उत्तरवर्ती, नारीकथा, पितृसत्ता, प्रवृत्ति, मोड, आन्दोलन, राजनीतिक, सांस्कृतिक)
१. नारीकथा लेखनको पृष्ठभूमि र विकास
प्राथमिककाल र माध्यामिककालका लोककथा, पौराणिक सन्दर्भका नीतिकथा, जासुसी–तिलस्मी विषयका मनोरञ्जन प्रधान कथाका विविध सन्दर्भ र पृष्ठभूमिबाट तत्कालीन भोगाइ र मनोविज्ञानमा आधारित सामाजिक कथाका विषयमा आएर नेपाली कथाको आधुनिक स्वरुप निर्माण भएको हो । नेपाली नारी कथालेखन र प्रकाशनको आरम्भ भारतीय भूमिबाट प्रकाशित गोर्खासंसार पत्रिकामा प्रकाशित दिव्यकुमारी देवी कोइरालाको चर्खा (१९८३) र नेपालबाट शारदा पत्रिकामा प्रकाशित तुषारमल्लिकाको स्त्रीरत्न (१९९२) कथाबाट भएको मानिन्छ । तत्कालीन नेपाली कथामा देखिएको आदर्शोन्मुख यथार्थवादी कथालेखनको प्रवृत्तिलाई अँगालेर लेखिएको यस कथाले नेपाली कथाको आधुनिककाल प्रवर्तनमा पक्कै पनि योगदान पु¥याएको छ तर कथाकारले कथालेखनलाई निरन्तरता दिन नसक्दा उनका कथागत योगदानको ठोस चर्चा हुन नसकेको हो र सँगसँगै कथायात्रा थालेका गुरुप्रसाद मैनालीको लोकप्रियता चुलिँदै जाँदा तुषारमल्लिकाको अस्तित्व लगभग शून्यबाटै उत्खनन् गर्नुपरेको हो । यसपछि एम. लक्ष्मी उपासिकाको रोदन र पुनर्विवाह (१९९२), वियोगिनीको झोपडी (१९९३) र अल्झो (१९९४), सुशीला कोइरालाको दुलही (१९९६), कुमारी इन्दिरा कोइरालाको सपना र विधवा कथा, श्रीमती पी.पी. शर्माको सौतेनी आमा, बुना बरालको अस्फुट वेदना (२००१) लगायत विद्यादेवी दीक्षित, लोकप्रियादेवी जस्ता नारी कथाकारले आधुनिक नारी कथालेखनको पृष्ठभूमि तयार पारेका हुन् ।
नारी कथाकारको इतिहासमा सशक्त, स्पष्ट र निरन्तर उपस्थिति दिने देवकुमारी थापा (१९८४–२०६८) को पतन (२००५) शीर्षकको कथा प्रकाशित भएपछि उनको आगमन र स्थायित्वले नेपाली नारी कथाको इतिहासलाई सशक्त ढङ्गले अभिलेख गर्ने अवसर मिलेको छ । एउटा दीर्घकलमजीवी हस्ताक्षरका रुपमा देवकुमारी थापाको उदयले नेपाली नारी कथालेखनमा नयाँ मोडको आरम्भ भएको पाइन्छ र नारी कथाको ऐतिहासिक अध्ययनका लागि थापाबाटै नेपाली नारी कथालेखनको चरणगत अध्ययन आरम्भ गरिएको पाइन्छ (त्रिपाठी, २०६७, पृ. १७२) ।
देवकुमारी थापा नेपाली आधुनिक कथाको प्रथम चरणमा साधनारत प्रतिनिधि कथाकारमध्येमा एक हुन् । उनका कथालाई लैङ्गिकताका आधारमा निर्मित उपक्रमभित्र सीमित राखेर अध्ययन गर्नुपर्ने आवश्यकता देखिँदैन । विषय, शैली र परिणतिका आधारमा थापाका कथाले युगीन सामाजिक मूल्यको स्थापनामा योगदान पु¥याएको छ ।
थापापछि नेपाली नारी कथाकारका रुपमा शशिकला शर्मा, राधिका राय, फलेन्द्र जगत्कुमारी राणा, किशोरीदेवी, किरण शाक्य लगायतका केही कथाकारहरूले कथा लेखनमा सक्रियता देखाएका छन् तर तिनको निरन्तरता उल्लेख्य हुन नसक्दा नेपाली नारी कथा परम्परालाई जोड्दै लैजाने सामान्य योजकका रुपमा मात्र तिनको योगदानको चर्चा हुने गरेको छ ।
प्रेमा शाह (२००२–२०७४) नेपाली कथामा देवकुमारी थापापछि उदाएकी एक सशक्त कथाकार हुन् । उनको आगमनले नेपाली कथालाई बैग्लै उत्साह र उचाइ दिएको छ । अंशु (२०१६) कथाबाट प्रकाशित भएकी शाहका पहेंलो गुलाफ (२०२३) र विषयान्तर (२०२८) गरी दुई वटा कथा सङ्ग्रह प्रकाशित छन् । उनका मनोवैज्ञानिक प्रवृत्तिका दुई प्रसिद्ध कथाहरू पहेँलो गुलाफ र लोग्नेले नेपाली कथामा गाढा छाप बनाएका छन् । यसपछि हिरण्यकुमारी पाठक, चन्द्रकला नेवार, विद्यादेवी दीक्षित लगायतका कथाकारले नारी कथाको सीमित क्षेत्रलाई विस्तारित गर्दै लाने सुकर्म गरेका हुन् । पारिजातको उदय हुनुपूर्वका नारी कथाकारितालाई नेपाली आधुनिक कथाको पहिलो चरणका रुपमा अध्ययन गरिएको छ (त्रिपाठी,२०७१, पृ. ७६) । पारिजातको उदयले नेपाली आख्यानलाई नयाँ स्वरुप दिएपछि नेपाली कथामा पनि दोस्रो चरणको आरम्भ भएको हो ।
पहिलो चरणका नारी कथामा सामाजिक आदर्शोन्मुख यथार्थवादी प्रवृत्ति र सामाजिक मनोवैज्ञानिक प्रवृत्ति नै मूल रुपमा आएको पाइन्छ । विषयगत आधारमा परम्परित समाज, संस्कृति र धार्मिक विषय नै कथानकका रुपमा प्रस्तुत भएका छन् । यसरी नै यौन मनोविज्ञानको सामान्य र जटिल दुवै मनस्थितिको चित्रण तत्कालीन नारीकथामा रहेको छ । कथामा अन्धविश्वास, कुसंस्कार र नारीशोषणको विरोध र शिक्षाको महङ्खव तथा समानताको चेतना प्रकट भएकाले ती कथाहरूमा आधुनिक जीवनबोध यथेष्ट रहेको छ । विषयगत आधारमा मूल वा केन्द्रीय कथ्य चाहिँ नारीका पारिवारिक र सामाजिक जीवनका भोगाइका मार्मिक पक्ष र त्यसबाट सङ्केतित अग्रगामी चाहना रहेको छ । शिल्प संरचनाका हिसाबले छोटा छोटा कथा बुन्नु, आलङ्कारिक पदक्रमको प्रयोग गर्नु, हार्दिक–भावुक स्वच्छन्द शैलीको प्रस्तुति र सरल भाषाको प्रयोग तत्कालीन नारी कथाका विशिष्टता हुन् ।
नेपाली कथाको प्रवृत्तिगत आधारमा गरिएको काल विभाजनमा २०२० सालपछिको समय नवचेतनाको युग मानिएको छ । यही समय पारिजात (१९९४–२०५०) नेपाली आख्यानमा नयाँ चेतनाका साथ प्रवेश गरेकी हुन् । उनको मैले नजन्माएको छोरो (२०२१) रचना पत्रिकामा प्रकाशित भएपछि नेपाली कथामा नयाँ नारीसोच र चिन्तनकासाथ दोस्रो चरणको आरम्भ भएको देखिन्छ । देवकुमारी थापाले आफ्नो विरासतमा प्रेमा शाहको उपस्थिति पाएको पाँच वर्षपछि नै पारिजातको गम्भीर कथाकारिताले नेपाली कथालाई खास मोड दिएको हो । उनकै कारण नेपाली नारी कथाको दोस्रो चरण परिमाणात्मक र गुणात्मक दुवै हिसाबले अत्यन्त उल्लेखनीय रहन गएको हो । उनकै उत्साहबद्र्धक नेतृत्व पाएकाले पहिलो चरणबाट प्रवेश गरेका केही नारी कथाकारहरू दोस्रो चरणमा आएर निकै विस्तारित हुन पुगेका छन् । त्यसबेला देशभित्रका तत्कालीन राजनीतिक–सामाजिक जटिलताबिच देखिएका भाषिक–साहित्यिक तथा सांस्कृतिक आन्दोलनहरू र अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रम र प्राविधिक उन्नतिका प्रभावले नारी कथाको स्वरुपलाई पनि प्रभावित बनाएको देखिन्छ ।
नवचेतनाको सञ्चार र प्रयोगवादी प्रवृत्तिले कथालेखनलाई नयाँ मूल्य दिएको समय पारिजात र प्रेमा शाहका कथाले सामाजिक यथार्थबाट नारीकथालाई मनोविश्लेषणात्मकतातिर प्रवाहित गरी विसङ्गत मानसिकताको चित्रणमा शैलीगत नवप्रयोग समेत गरेको पाइन्छ । पारिजातको समकालीन भएर कथामा प्रकाशित भई पारिजातको उत्तराद्र्धदेखि हालसम्म सक्रिय र उत्साहबद्र्धक कलम चलाउँदै आएका कथाकारहरू गीता केशरी, माया ठकुरी, पद्मावती सिंह, भागीरथी श्रेष्ठ, हिरण्यकुमारी पाठक, भुवन ढुङ्गाना लगायतले नेपाली नारीकथाको उत्तरवर्ती चरणमा पनि नव नव प्रवृत्तिका कथा सिर्जना गरी निरन्तरता दिइरहेका छन् भने मञ्जु काँचुली, शारदा शर्मा, अनिता तुलाधर, सुशीला देउजा, आशा सिंह, इन्दिरा प्रसाईं, उषा दीक्षित, बेञ्जु शर्मा, शान्ता श्रेष्ठ, बाबा बस्नेत, ललिता दोषी, जलेश्वरी श्रेष्ठ लगायतका कथाकारको उपस्थिति र निरन्तरताले नेपाली नारीकथाको तेस्रो अर्थात् उत्तरवर्ती चरणलाई निकै विशिष्ट बनाएको छ । दोस्रो चरणका कथामा विसङ्गत जीवनदृष्टिको प्रस्तुति, निराशा र पलायनमुखी भावनाको अभिव्यक्ति, चरित्रमुखी कथा लेखन र जटिल मनोविज्ञानको चित्रण, विषय र शैली दुवैमा प्रयोगपरकता, अस्तित्व चेतना, राजनीतिक समस्याको प्रस्तुति, सांस्कृतिक र सामाजिक सुधारमुखी चेतनाको अभिव्यक्ति, बौद्धिक र हार्दिक भावको सरल र प्रतीकात्मक दुवै खाले प्रयोग, पारिवारिक दायित्वप्र्रति सचेत, अन्धविश्वासी र रुढिग्रस्त सामाजिक सोचको विरोधका साथै पितृसत्ताको विरोध जस्ता प्रवृत्तिहरू प्रकट भएका छन् ।
२. उत्तरवर्ती नेपाली नारीकथाको प्रवृत्तिगत विश्लेषण
नेपाली कथाको अध्ययनमा २०३६ सालको राजनीतिक परिवेशदेखिको समयलाई उत्तरवर्ती चरणका रुपमा अध्ययन गर्न सकिन्छ । यो समय मूलतः राजनीतिक सन्दर्भको बाह्य र आन्तरिक परिवेशले पक्रिएर राखेको केन्द्रीय विषयसँगै यसले सामाजिक, सांस्कृतिक परिवेशगत भोगाइमा पारेका प्रभावहरू सहितको विविध विषयहरू कथामा प्रयुक्त भइआएका छन् । यस अध्ययनमा पनि नेपाली नारीकथाको स्वरुपका आधारमा २०३६ सालदेखि हालसम्मका कथालाई उत्तरवर्ती कथाका रुपमा प्रस्तुत गरिएको छ । उत्तरवर्ती शब्दले दिने समयसन्दर्भको अर्थ भूतसँग वर्तमानको एकात्मक अन्वितिबाट अघि बढिरहेको निर्वच्छिन्नता हो । नारीकथामा पछिल्लो समयमा आएको प्रवृत्तिलाई आधार मानेर २०३६ देखिको लगभग ३८ वर्षको यो अवधिमा लेखिएका कथाहरूका प्रवृत्तिहरूको विश्लेषण गर्ने प्रयास यहाँ गरिएको छ ।
नेपाली कथामा विषयगत र चेतनागत आधारले विस्तृतता देखिएको उत्तरवर्ती चरणका कथामा समसामयिक राजनीतिक परिघटना, सामाजिक र विश्व परिवेशको निकटता, विज्ञान–प्रविधि र भर्चुअल यथार्थ, सांस्कृतिक रुढतामा सुधारमुखी चेतना, मिथक र वर्तमान भोगाइका सन्दर्भहरूलाई बृहत् संयोजन गरी कथा रचना गरिएको पाइन्छ । यस चरणका नारीकथामा पनि यस्ता प्रवृत्तिहरू प्रकट भएका छन् । यसका अलावा नारीका सूक्ष्म सामाजिक–पारिवारिक सन्दर्भमा आधारित वर्गीय जीवन भोगाइका सङ्गत–विसङ्गत पक्षहरू अझ बढी आएका छन् । उत्तरवर्ती चरणको लगभग पुरै अवधि स्वतन्त्रताका निम्ति राजनीतिक विद्रोहबाट गुज्रिएकाले जनयुद्धकालीन समयको प्रभाव नारीकथामा पनि प्रशस्त परेको छ । युद्धकालीन भोगाइको उत्कर्षले सिर्जना गरेको नारी पुरुष मनोविज्ञानका उतारचढावहरूले यस चरणका नारीकथालाई नयाँ सांस्कृतिक चेतनातिर आकृष्ट गरेकाले पछिल्लो चरणका नारीकथाहरू उन्मुक्तिको अभिव्यक्तिमा बढी प्रयोगशील भएर आएका छन् । यहाँ यस लामो अवधि जुन केवल राजनीतिक अस्थिरताको सन्दिग्ध मानसिकताबाट व्यतित भयो, यस अवधिले पारेका प्रभाव र पितृसत्ताका पुरानै अव्यवस्थाले दिएका आघात दुवै खाले पीडाका चेपबाट सिर्जना भएका नारीकथाका प्रवृत्तिहरूको विश्लेषणका निम्ति नारीकथाको उत्तरवर्ती अवधिलाई दुई वटा मोडमा राखेर प्रस्तुत गरिएको छ :
पहिलो मोड : २०३६ देखि २०६२/०६३
दोस्रो मोड : २०६४ देखि हालसम्म
२.१ पहिलो मोडका नारीकथाको प्रवृत्तिगत विश्लेषण
उत्तरवर्ती नेपाली नारीकथाको पहिलो मोेड २०३६ देखि २०६२÷०६३ सालसम्मको अवधिलाई लिइएको छ । यो अवधि नेपालको राजनीतिक परिवर्तनमा आम जनताको सहभागिता र त्यसपछि बहुदलीय प्रजातन्त्र हुँदै गणतन्त्रको आवश्यकता बोध भएको पहिलो ऐतिहासिक कालखण्ड हो । यस अवधिमा र यसको निकट पृष्ठभूमिमा घटित केही महङ्खवपूर्ण घटनाहरूमा २०३६ सालको राजनीतिक विद्रोह र २०३७ सालको जनमत सङ्ग्रहको घोषणा, २०४६ सालको जनआन्दोलन र बहुदलीय प्रजातन्त्रको प्राप्ति तथा नेतृत्वको कार्यशैलीप्रतिको असन्तुष्टि, २०५२ सालको सशस्त्र माओवादी द्वन्द्व र गणतन्त्र स्थापनाका निम्ति जनयुद्धमा परिणत भएको २०६२÷०६३ को निर्णायक आन्दोलन रहेका छन् । यस अवधिमा सामाजिक र मनोवैज्ञानिक रुपले नारी जागरणका निम्ति पृष्ठभूमि तयार भएको छ । प्रत्यक्षतः नारी पुरुष नभनीकन आम नागरिकको बृहत् सहभागिता रहेको त्यस राजनीतिक सन्दर्भलाई रचनाकारितामा प्रस्तुत गर्दा भने नारीहरूले राजनीतिक स्वतन्त्रताका विषयमा भन्दा पनि व्यक्तिगत स्वतन्त्रता र समानताका विषयमा मनन गरी कथा रचना गरेका छन् । यस अवधिमा तुलनात्मक रुपमा पारिवारिक सन्दर्भ र सांस्कृतिक जीवनका विभिन्न पक्षलाई नै मूलरुपमा आफ्ना कथाका विषय बनाएका छन् । प्रत्यक्ष रुपमा २०४६ सालसम्मको अवधिमा नेपाली नारीकथामा राजनीतिक सन्दर्भका कथा रचना भएको देखिँदैन तापनि सामूहिक चेतनाका तहमा बदलिँदो विश्व राजनीतिक परिवेश र स्थानीय परिवेशगत भोगाइका अनुभवले नारीकथामा नवीन सोचको विकास भने गरेको पाइन्छ । त्यसैले अप्रत्यक्षतः स्वतन्त्र चेतनाका हिसाबले नारीकथाको एउटा महङ्खवपूर्ण चिन्तन प्रक्रिया यस अवधिमा निर्माण भएको स्वीकार्न सकिन्छ ।
२०४६ सालको बहुदलीय राजनीतिक परिवर्तनपछिका नारीकथामा राजनीतिक चिन्तन वर्गीय समस्याका रुपमा प्रकट भएका छन् । बहुदलीय व्यवस्थापछि विकास र निर्माणका अवसरहरूमा रमाउन चाहने आम नागरिकका सपना पूरा गर्नेतिर नेतृत्व पक्ष जिम्मेवार हुन नसक्दा त्यस परिस्थितिको चित्रण साहित्यका विविध विधामा प्रस्तुत भएका छन् । नेपाली नारीकथाले पनि त्यो परिवेशलाई उजागर गरेको छ । स्वतन्त्रताको युद्धमा होमिएको भाष्करकी पत्नीको प्रथम पुरुष दृष्टिविन्दुबाट परिवर्तनका निम्ति गरिएको युद्ध र त्यसपछिका विसङ्गतिमाथि तर्कपूर्ण विचार प्रकट गरिएको शारदा शर्माको कथा सङ्ग्रह आस्थाको भग्नावशेष (२०४८) मा सङ्कलित ‘भाष्कर’ शीर्षकको कथामा प्रयुक्त राजनीतिक चेतना यसको एउटा महङ्खवपूर्ण दृष्टान्त हो । न्याय र समानताका निम्ति युद्ध अनिवार्य छ भन्ने कथ्यलाई मिथकीय बिम्ब समेतको प्रयोगबाट प्रस्तुत गरिएको यस कथामा बाह्य केन्द्रमा भाष्कर पात्र तत्कालीन युद्धमा होमिनु जायज भएको तर्कसहितको एउटा अंश यहाँ प्रस्तुत छ :
“मसँग उसलाई प्रतिरोध गर्ने उत्तर हुँदैनथ्यो । सत्य र न्यायका अघिल्तिर कुनै उत्तर हुँदोरहेनछ र त शक्तिले थिचोमिचो गरेर सन्तुष्टि लिन लालायित हुने रहेछन् क्रूर दमनकारीहरू । वास्तवामा पाण्डवहरूले अपमानित नै भएर आफ्नो हक गुमाउन स्वीकार गरेका भए त्यत्राविधि मान्छे कुरmक्षेत्रमा निश्चय नै मर्दैनथे तर अत्याचारले मौलाउने वातावरण अझ राम्ररी पाउँदै जाने थियो । आतङ्क र अनाचारमुनि कहाँ बाँकी रहने थियो र मान्छेको संवेदनशीलता ? जीवन कसरी निर्भय र सहज रहिरहन सक्थ्यो ? वास्तवमा हरक्षण, हरपल हामी आफूसँग, आफ्नो मानसिकतासँग र वरिपरिका विषय, परिस्थितिहरूसँग युद्धै त गरिरहेका हुन्छौं । के म युद्ध गरिरहेकी छैन र ? मेरा यी सबै आफन्त युद्धै त गरिरहेका छन्, युद्ध त जीवनमा अनिवार्य पो रहेछ... (पृ.?)।”
यस्ता दृष्टान्तमा नारीपात्र केवल समाख्याताका रुपमा प्रस्तुत भएका छन् । जसरी यथार्थतः घरका बाबु, पति, दाजु वा भाइ जस्ता सम्बन्धी पुरुषहरू युद्धमा पस्छन् र नारीले तिनलाई अप्रत्यक्ष रुपमा सहयोग गरेकी हुन्छे, त्यसरी नै कथामा त्यस्ता पुरुषको वीर चरित्रको प्रकटीकरण गर्नु र त्यस समयमा आफूले पाएको दुःख र असहायपनको चित्रण गर्नु नै अधिकांश नारीकथाको अन्तर्वस्तु बनेको देखिन्छ ।
कथाकार भागीरथी श्रेष्ठको भूमिगत (२०६२) भित्र सङ्कलित भूमिगत शीर्षककै कथाले २०४६ सालको बहुदलीय प्रजातान्त्रिक व्यवस्थापछिको नेतृत्वमा देखिएको स्वार्थीपनाको चित्रण गरेको छ । सर्वसाधारणबाट सहयोग लिएर मन्त्री बनेका जनप्रतिनिधिहरू सत्तामा पुगेपछि कसरी अपरिचयको नाटक गर्छन् भन्ने तत्कालीन यथार्थको प्रतिनिधि चरित्रका रुपमा लक्ष्य शर्मालाई उभ्याइएको यस कथाकी पात्र पारु एक शोषित नारीकी प्रतिनिधि चरित्र हुन् । यहाँ एउटा सन्दर्भ यस्तो छ :
“पारुले सोची— यी सब महादुःख, कष्ट र सङ्घर्षबाट प्राप्त भएको यो मन्त्रीपदले पारुलाई लक्ष्य शर्माबाट कसरी विस्थापित, निराश, असुरक्षित र अपमानित ग¥यो ? यो कस्तो घिन लाग्दो परिवर्तन हो लक्ष्य शर्माको ? यी सब परिवर्तन भ्रम हुन्, नाटक हुन् । बाटो बिराएर हिँडेको परिवर्तन (पृ.१०६) ।”
बहुदलीय प्रजातन्त्रको लडाईं जनताका सुख सुविधा र अधिकारको बहालीका निम्ति भएको थियो । जनताका लागि राम्रा नेता बन्नसक्ने गुण लक्ष्य शर्मामा हुनेछ भन्ने विश्वास लिएर अनेक बाधामा कष्ट सहेर तनमनधनले उसलाई साथ दिएकी पारुलाई मन्त्री भइसकेपछि गाउँबाट केही आशा र उत्साह लिएर भेट्न जाँदा धेरैबेर कुराएर फेरि भोलि आउनु भन्ने खबर पठाउने ढोंगी चरित्रप्रति यस कथामा व्यङ्ग्य प्रकट भएको छ । यसरी नै बेञ्जु शर्मा र मञ्जु काँचुलीका तत्कालीन कथाले पनि राजनीतिक परिवेश र मानसिक द्वन्द्वका केही झिल्काहरू आफ्ना कथामार्फत् प्रस्तुत गरेका छन् ।
उत्तरवर्ती कथाको चरण विभाजनका निम्ति जुन राजनीतिक सन्दर्भलाई मुख्य आधारका रुपमा लिने गरिएको छ, नारीकथामा भने त्यस अवधि (२०३६ देखि २०४६ साल) मा राजनीतिक चेतनाका प्रभावशाली कथाहरू प्रकाशित भएनन् । यस अवधिका नारी कथाकारहरूमा पारिजातको साल्गीको बलात्कृत आँसु (२०४३) र बधशाला जाँदा आउँदा (२०४९) ले प्रयोगवादी शैलीमा प्रगतिशील चेतना र नारी चेतनाको सम्प्रेषणलाई निरन्तरता दिएको छ । यसरी नै पद्मावती सिंहका कथादी (२०३८), कथायाम (२०३९) र कथाकार (२०४४) गरी तीन वटा सङ्ग्रहका कथाले सामाजिक र मनोवैज्ञानिक धरातलका विषयलाई नै कथानकमा उनेका छन् । यही क्रममा माया ठकुरीको साँघु तरेपछि (२०३९), चौतारो साक्षी छ (२०४६), माया ठकुरीका कथाहरू (२०४८) ले सामाजिक न्यायको पक्षमा वर्गीय समस्याको छायाङ्कन गरेका छन् । भागीरथी श्रेष्ठका क्रमशः (२०४३), मोहदंश (२०४४), विभ्रम (२०५०) सामाजिक यथार्थलाई नै विषय बनाई लेखिएका छन् । भुवन ढुङ्गानाको युद्धको घोषणा गर्नुअघि (२०४९), बेञ्जु शर्माको विसङ्गत (२०४९), शान्ता श्रेष्ठको सारङ्गीमा नअटाएको सुर (२०४२), सीता पाण्डेका असजिला खुसीहरू (२०४२) र बन्धकी खुसीहरू (२०४५), शारदा शर्माको आस्थाको भग्नावशेष (२०४८), रेवती राजभण्डारीको दाइजो (२०४६), भद्रा घलेको शक्तिरुपा नारी (२०४५), गायत्री विष्टको खलनायकका बिम्बहरू (२०५२), कमला सरुपको सम्झौताको मोडमा (२०४९), शान्ति क्षेत्रीको मायाजाल (२०४८), लीला श्रेष्ठको फक्ल्यान्ड (२०४९), अनिता तुलाधरको सूर्य ग्रहण (२०४०), बिडम्बना (२०४६), सङ्गीता स्वेच्छाको असहमितका पाइलाहरू (२०५०, सह), हिरणयकुमारी पाठकको मोहचक्र (२०५०) र शून्यवत् (२०५७), पुष्पलता आचार्यको रित्तो वर्तमान (२०५१), इन्दिरा प्रसाईंका मन सायद उघ्रिँदैन (२०५१), बयान (२०५५) तथा दोस्रो सत्ता (२०६२) प्रकाशित छन् ।
वेदकुमारी न्यौपानेको अर्को एउटा विद्रोह (२०५२), यमुना रायको व्यथैव्यथा कथैकथा (२०५१), गङ्गा उपाध्यायको स्मृतिका गोरेटाहरू (२०५२), ईश्वरी खड्काको बदलिँदो परिवेश (२०५२), मेरिना स्मृतिको स्मृतिका पानाहरू (२०५२), मीरा प्रधान रेमको एउटा महानगरमा (२०५३), बाबा बस्नेतका गन्तव्य (२०५४) र उन्यू फुलेपछि (२०६१), इल्या भट्टराईको मन मनै त हो (२०६०), अनि...(२०६२), भवानी क्षेत्रीको उजेलीहरू (२०६०), नीलम कार्की निहारिकाको हवन (२०६२) लगायतका कथा सङ्ग्रहरूहरूमा प्रकाशित कथाहरूले उत्तरवर्ती चरणको यस पहिलो मोडमा कथा संरचनाको शिल्पगत स्तरीयतालाई जिम्मेवारीपूर्वक अघि बढाउँदै लगेका छन् भने कथानक चयनमा विविधता र विस्तृता ल्याए पनि ती सामाजिक र पारिवारिक जीवनका विभेदजन्य भोगाइ, प्रेम, धोका, मनोविज्ञान र अस्तित्वको खोजकै सेरोफेरोमा फैलिएको देखिन्छ ।
उत्तरवर्ती नारीकथाको दोस्रो मोड निर्माणमा २०४६ सालपछिको समसामयिक राजनीतिक विकासक्रम र आमसञ्चारमा प्रविधिको विस्तारसँगै यसले दिएको विश्व परिवेशसँगको निकटताले महङ्खवपूर्ण प्रभाव पारेको देखिन्छ । नेपालको राजनीतिमा २०५२ सालदेखि २०६२ सालसम्मको समय सशस्त्र द्वन्द्वको कहाली लाग्दो समय थियो । तत्कालीन राज्य सरकारमा रहेका दलहरू र भूमिगत माओवादी पार्टीका बिच भएको सशस्त्र युद्धले नेपालका शिक्षा, स्वास्थ्य, व्यापार, निर्माण तथा सबै उत्पादनशील क्षेत्रहरू प्रभावित भएका थिए । हत्या, हिंसा र अपहरणको त्रासदीय राजनीतिक द्वन्द्वले सर्वसाधारण जनताका जीवन बाँच्ने सपनाहरू कुल्चिइएका थिए भने नारीका प्राकृतिक स्वरुप र सिर्जनामाथि चरम अन्याय भएको थियो । यसले देश पछौटेपनको सिकार भएको थियो । दोहोरो बन्दुकको मारमा परेका नेपालीहरूको विक्षिप्त मनोदशा र विदेशी भूमिमा भएका युद्ध, द्वन्द्व र दुर्घटना तत्कालीन कथाका कथ्यमा प्रशस्त आएका छन् । २०५३ सालपछि लेखिएका नारीकथामा यो परिवेशको असर प्रत्यक्षः देखिएको छ । भय, आतङ्कबाट उत्पन्न हुने शारीरिक र मानसिक विचलन र अनेक अन्योलका स्थितिहरू अभिघातका रुपमा नारीकथामा उनिएका छन् ।
सामाजिक जीवनमा फैलिएको त्रासका भोेक्ता अधिकांश नारीका पक्षबाट चिन्तन गरी लेखिएका तत्कालीन नारीकथाले नयाँ व्यवस्थाका निम्ति उत्साहजनक स्वागतको तयारी भन्दा पनि त्यो जनयुद्धले जन्माएका जीवनका विसङ्गतिहरूलाई नै मुख्य विषय बनाएको पाइन्छ । अभाव, बेरोजगारी, विदेश पलायन र अशिक्षाको स्थिति त्यस समयका नारीकथामा आएका मुख्य विषय हुन् । जनयुद्धका समयका नारीसमस्यालाई मात्र होइन, सन्तान, जीवन साथी र आम मानिसका बाह्य र आन्तरिक पर्यावरणीय समस्यालाई समेत तत्कालीन नारीकथाले सम्बोधन गरेका छन् । सशस्त्र द्वन्द्वका बेला मानवीय संवेदनाको ह्रासोन्मुख अवस्थामाथि लेखिएको माया ठकुरीको आमा जानुहोस् (२०६४) कथा सङ्ग्रहभित्र प्रकाशित ‘पहाड ओर्लंदै छ’ कथा द्वन्द्वकालमै लेखिएको कथा हो । यसले तत्कालीन त्रासदीलाई यसरी प्रस्तुत गरेको छ :
“रात्रिको अन्धकारमा अकस्मात् बुट बजार्दै टर्च बालेर गाउँलेहरूलाई ढोका खोल्न लगाइन्थ्यो । गाउँलेहरूको छातीमा बन्दुक तेस्र्याएर हप्कीदप्की गर्ने ती मानिसहरू आफूलाई कुन अपराधका निम्ति सजाय दिन तत्पर भएका हुन्, त्यो पनि थाहा हुँदैनथ्यो (पृ...) ।”
राजनीतिक परिवर्तनका निम्ति भनिएको सशस्त्र जनयुद्धका समयमा सर्वसाधारण निर्दोष जनतालाई अनाहकमा दिइएको दुःखको मार्मिक अभिव्यक्ति प्रस्तुत अनुच्छेदमा प्रकट भएको छ । सत्ता प्राप्तिका निम्ति लड्नेहरूले जनताका जीवनलाई महङ्खव नदिएका निर्ममतायुक्त यस्ता दृश्यहरू तत्कालीन कथाका विषय भएका छन् । यस्तै अर्को विषय निलम कार्की निहारिकाको ‘राजमार्ग’ शीर्षकको कथामा पनि प्रस्तुत भएको छ ः
“बुटवल आउन लाग्यो, ल चेकिङमा झरिदिनुप¥यो । कहाँबाट आएको ? के छ झोलामा ? ...हेल्लो बुबा हो ? हामी आइपुग्यौं, अस्पतालमा छौं । आमालाई भर्ना गरेको छ । भीडन्तबाट भागेर आएका आतङ्ककारी त्यही बसमा आएको आशङ्कामा बसलाई नियन्त्रणमा लिएको छ । बल्लतल्ल बिरामी भनेर आमा र म चैं फुत्कियौं (पृ.) ।”
उल्लिखित कथ्यगत प्रवृत्तिहरू उत्तरवर्ती नारीकथाको पहिलो मोडका केही नारीकथामा आएका छन् । गीता केशरीको ‘ऐना’, पद्रमावती सिंहको ‘िहंसाको मौनता’, भागीरथी श्रेष्ठको ‘सफाया’, इल्या भट्टराईको ‘आखिर त्यही भयो’, शर्मिला खड्का दाहालको ‘सुकन्या उर्फ निलिमा’, गीता रेग्मीको ‘सत्ता’ लगायतका केही नारीकथामा द्वन्द्वको प्रत्यक्ष चित्रण पाइन्छ भने परोक्ष रुपमा परेका प्रभावहरू सामाजिक–सांस्कृतिक सन्दर्भबाट प्रशस्त लेखिएका छन् । यस अवधिमा प्रकाशित नारीकथाका प्रवृत्तिहरू समग्रमा निम्न प्रकार छन् :
(क) विषयगत रुपले विविधता,
(ख) राजनीतिका कारण बनेको जटिल सामाजिक जीवनको चित्रण,
(ग) निम्नवर्गका मानिस (नारी/पुरुष) माथि हुने शोषणको विरोध,
(घ) सार्वभौम स्वतन्त्रताको खोजी,
(ङ) पितृसत्ताको विरोध,
(च) नारी अस्तित्व चेतनाको अभिव्यक्ति,
(छ) शैलीमा आंशिक प्रयोगपरकता, अधिकांशमा घटनाप्रधानता र मनोविश्लेषणात्मकता,
(ज) नारीका प्रतिकूल आपसी सम्बन्धको शल्यक्रिया र सद्भाव स्थापनाको प्रयास,
(झ) सूक्ष्म र बौद्धिक कथानकको प्रयोग,
(ञ) कथामा नारी यौन मनोविज्ञानको प्रयोग ।
२.२ दोस्रो मोड : २०६३ सालदेखि हालसम्म
नेपाली नारीकथामा नवीन सांस्कृतिक चेतनाका तहबाट बहुलबादी दृष्टिकोणका कथा लेखनको प्रारम्भ भएको प्रवृत्तिगत आधारमा उत्तरवर्ती नेपाली नारीकथाको दोस्रो मोड (२०६३ देखि यता) को धारणा अघि सारिएको हो । यसका निम्ति गणतन्त्रका निम्ति जारी दस बर्षे जनयुद्धको परिणामले प्रमुख भूमिका खेलेको देखिन्छ भने त्यसपछि सांस्कृतिक चेतनाका हिसाबले नेपाली साहित्यमा आएको चिन्तनगत धरातल निकै फराकिलो, उदार र नयाँ सोचले अघि बढिरहेको छ, जुन नारीकथामा पनि प्रकट भइरहेको नितान्त नवीन सोच हो । दस बर्षसम्मको सशस्त्र द्वन्द्व र जनयुद्धको परिणामपछि देशमा जातीयता, क्षेत्रीयता, वर्गीयता, लैङ्गिकता जस्ता विभिन्न रुपले उपेक्षामा परेका वर्गले आआफ्ना तर्फबाट अधिकारका लागि सचेत आवाज उठाइरहेका छन् । यसैक्रममा तराई–मधेसबासीहरूले राज्यको केन्द्रबाट आफूलाई सधैं किनारामा फालिएको भन्दै पहिचानको आन्दोलन पनि अघि बढाएका थिए । यस्तो परिवर्तनका बेला नारीकथामा भने राज्यको मुक्तिभन्दा पनि नारीमुक्तिका विषय नै धेरै आएको पाइन्छ । राज्य, समाज र परिवारभित्रका त्रिपक्षीय विभेदमा परेर थलिएका नारीका कथाले अराजक भएर आफ्ना जैविक, सामाजिक र सांस्कृतिक दमनहरूको प्रतिकार गरी कथा लेखनलाई अघि बढाएको छ ।
मूलतः २०६३ पछिका नेपाली कथामा सीमान्तीकृतहरूको सांस्कृतिक जागरणका आवाज बुलन्द भएर प्रकट भइरहेको पाइन्छ । नेपाली समाजमा पितृसत्ताका दबावका कारण सिर्जित मनोविज्ञानबाट बाहिर आउन नेपाली आम नारीलाई निकै सङ्घर्ष गर्नुपरिरहेको स्थिति छ । यस विषयमा पुरुष कथाकारहरूका कथामा उठाइएका परिवर्तनमुखी आवाज अब भने नारीकथामा पनि आँट गरेर पाठकलाई रुचिकर हुनेगरी प्रस्तुत गर्न थालिएको पाइन्छ । यस समयमा प्रकाशित केही सशक्त कथा सङ्ग्रहहरूमा इल्या भट्टराईको निःशब्द प्रश्नहरू (२०६३) र जीवनका रङ्गहरू (२०६८), हरिमाया भेटवालको दोस्रो दर्जा (२०६३) र मैनका मान्छेहरू (२०६९), सरला रेग्मीको चुँडाल्दै बन्धनहरू (२०६३), लक्ष्मी उप्रेतीका तिर्सना (२०६३) र रजनीको मुक्त आकाश (२०७०), सुविसुधा आचार्यको अग्नियुद्ध (२०६३), रहस्यमय भोगाइ (२०६५) र फ्रन्टपेज (२०६७), अञ्जना पौडेलको जब वेदना फूल बन्यो (२०६३), भुवन ढुङ्गानाको धर्मबिम्ब (२०६४), माया ठकुरीको आमा जानुहोस् (२०६४) र प्रियम्वदा (२०६९), मञ्जु काँचुलीको बेनाम मानिसहरू (२०६४), हेमन्ती जोशीको प्रतिबिम्ब (२०६४), सरु पोखरेलको मुना टुसाएपछि (२०६४), निलम कार्की निहारिकाको कागजमा दस्तखत (२०६४) र बेली (२०६८), शर्मिला खड्का दाहालका संवत्–अफिस (२०६४), समयको क्यानभासमा (२०६५), क्यानभासमा कोरिएका कथाहरू (२०६८) र फेसबुक च्याटिङ्ग (२०६९), बबिता बस्नेतको सम्बन्धहीन सम्बन्धहरू (२०६५), सुष्मा बाँस्कोटा बरालको प्रत्येक व्यक्ति एउटा कथा (२०६५), पद्मावती सिंहको मौन स्वीकृति (२०६५) र समयदंश (२०६७), ममता शर्माको पुतलीको देह (२०६५), गीता रेग्मीको परिचय (२०६५), भागीरथी श्रेष्ठको रातो गुलाफ (२०६६), तृष्णा कुँवरको सेराज अहमद (२०६६), सीमा आभासको टापूका स्वरहरू (२०६६), आन्विका गिरीको कम्युनिष्ट (२०६६), सुस्मिता नेपालको हवाइजहाजसँगै उँडेको मन (२०६६), गङ्गा पौडेलको चार आँठे चुल्ठो (२०६७), स्वप्निल नीरवको उज्यालोतिर (२०६७), विना तामाङ “सुनगाभा” को छुकी (२०६९), सञ्जु बजगाईंको समुद्र र सपना (२०६७) र मध्यधार (२०७३), रामेश्वरी पन्तको घाउ चह¥याइ नै रह्यो (२०६७), हिरण्यकुमारी पाठकको दुःस्वप्न (२०६८), ललिता दोषीको निष्पाप आँखाहरू (२०६८), तोया गुरुङको कुसुम (२०६८), उषा शेरचनको तेस्रो रङ (२०६७), विद्या सापकोटाको निलो तृष्णा (२०६९), सुधा बस्नेतको मायालु पीडाहरू (२०७०), विन्दु सुवेदीको मेरी दिदी र ऊ (२०७१), गायत्री विष्टका खलनायकका बिम्बहरू (२०५२) र कामरेडको कथा (२०७२), भगवती बस्नेतको मर्दको माया (२०७२), मन्दिरा मधुश्रीको बुधनको घोडी (२०७३), जलेश्वरी श्रेष्ठको म्यारिज एनिभर्सरी (२०७४), अर्चना थापाको कठपुतला (२०७४), अनुपम रोशीको मध्यान्तर (२०७४), ज्योति जङ्गलको छाया (२०७४), सरिता अर्यालको पुरmष (२०७५) लगायत छन् ।
पछिल्लो समय आएका कथा सङ्ग्रहहरू मध्ये अर्चना थापाको कठपुतला कथा सङ्ग्रहभित्रका कथाहरूले परम्परा र वर्तमानबिचको फाटकबाट परिवर्तनशील समाजको गतिलाई नवीन शिल्पमा प्रस्तुत गरेको छ । यस सङ्ग्रहका कथाले नारीकथामा पहिलोपटक लामा कथागत संरचनाको ढाँचा प्रस्तुत गरेको छ भने मिथकको पुनर्सिर्जन र स्वैर कल्पनाको प्रयोग तथा पर्यावरणीय सङ्कटसँगै यान्त्रिक जीवनका प्राविधिक त्रुटिहरूको मार्मिक विश्लेषण गर्ने सामथ्र्य राखेको छ । तृष्णा कुँवरको सेराज अहमदले मूलतः तराईका समस्याहरू उजागर गरेकाले यो अर्को महङ्खवपूर्ण कथा कृति हो । आन्विका गिरीको कम्युनिष्ट कथासङ्ग्रहका कथाले नयाँ मान्यतामाथिको विकल्प दिएको छ भने अनुपम रोशीको मध्यान्तर यौन र जीवनका बिषयमा बोल्ने नवीन सोचयुक्त कथा सङ्ग्रहका रुपमा आएको छ । ज्योति जङ्गलको नवीनतम कथा कृति छाया भित्रका कथाले उठाएका सामाजिक समस्यामूलक विषय समसामयिक विषय हो तापनि यसको कथ्यमा कथाकारले दिएको सन्देश चाहिँ विभिन्न ह्रासोन्मुख परम्परागत मूल्य र जैविक यथार्थका बिच रहेर सोचनीय बनेका छन् ।
यस मोडका नारीकथाका मूल प्रवृत्तिहरू यस प्रकार छन् :
(१) परम्पराले लादेको सामाजिक/सांस्कृतिक मूल्य मान्यताप्रति असहमति,
(२) नारीवादी चेतना र अस्तित्ववादी चिन्तन,
(३) नारीेकेन्द्रको खोजी, नारीपात्रको नायकत्व र सशक्तीकरणमा जोड,
(४) पुरुषसत्ताको अस्वीकार र विद्रोही नारीचरित्रको सिर्जना,
(५) सशस्त्र द्वन्द्वको पीडादायी परिवेशको चित्रण र नारी भोगाइको प्रस्तुति,
(६) आर्थिक दृष्टिले नारी सशक्तीकरणको प्रयासका विषयको प्रस्तुति,
(७) वैदेशिक रोजगारीले निम्त्याएका नारी÷पुरmषका पारिवारिक सम्बन्धको विघटन र यसले निम्त्याएका आर्थिक समस्या–सामाजिक र मानसिक समस्याको चित्रण,
(८) प्रगतिवादी चिन्तन र वर्गीय चेतनाको प्रस्तुति,
(९) स्थानीयताको चित्रण,
(१०) सीमान्तीकृत र तेस्रो लिङ्गीका समस्या र अधिकारप्रति सचेत,
(११) प्रविधिसंस्कृतिको प्रयोग र भर्चुअल यथार्थको जटिलताको चित्रण,
(१२) डायस्पोरिक चेतना र विस्थापन सङ्कटको चित्रण,
(१३) आंशिक रुपमा परम्परित शैलीका कथा लेखन र अधिकांश उत्तरआधुनिक बहुलवादी चिन्तनयुक्त कथ्यको प्रयोग,
(१४) मिथकको पुनर्सिर्जन, आलोचनात्मक पुनव्र्याख्या र नवीन दृष्टिकोणको प्रक्षेपण ।
(१५) रैखिक र विश्लेषणात्मक दुवै शैली, सरल र बिम्बात्मक–कल्पनाशील दुवै थरी काव्यिक
भाषाको प्रयोग ।
३. निष्कर्ष
उत्तरवर्ती नारीकथाका प्रवृत्तिहरूको निरुपण गर्नका लागि २०३६ सालदेखि हालसम्मको अवधिलाई यहाँ जम्मा दुई मोडमा राखी अध्ययन गरिएको छ । उत्तरवर्ती चरणको आरम्भ अवधि निश्चित गर्ने सम्बन्धमा नेपाली साहित्यका विभिन्न विधाहरूलाई २०३६ सालको राजनीतिक क्रान्तिका आधारमा तय गर्ने परम्परा चल्दै आएको छ । यस अध्ययनमा पनि नेपाली नारीकथाको उत्तरवर्ती चरणलाई सोही आधारमा २०३६ सालदेखि हालसम्म मानी यसको प्रवृत्तिगत अध्ययन गरिएको छ । प्रवृत्तिगत अध्ययनलाई सहज बनाउनका निम्ति लगभग यो ३८ वर्षको अवधिलाई राजनीतिक (२०३६ देखि २०६२÷०६३) र सांस्कृतिक (२०६३ देखि हालसम्म) जागरणको युग मानी दुई वटा मोडमा विभाजन गरी अध्ययन गरिएको छ ।
पहिलो मोडको कालाबधी पछिल्लो मोडका तुलनामा केही लामो देखापर्दछ । नेपालको राजनीतिक परिवर्तनको उत्तरवर्ती तीन महङ्खवपूर्ण सन्दर्भहरूले नै नेपाली नारीकथाको उत्तरवर्ती स्वरुप निर्माण गरेको छ । पहिलो राजनीतिक सन्दर्भ २०३६ सालदेखि २०४६ ले एकतन्त्रीय पञ्चायती शासनको विरुद्धमा विभिन्न आन्दोलन गरी बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको स्थापना गरेको थियो । यस समयका कथामा अन्तर्वस्तु छनोटमा बन्धनको स्थिति रहेको थियो । निराशा, पर्खाइ र पारिवारिक सामाजिक जीवनका यथार्थहरूको सपाट लेखन नै त्यस समयका अधिकांश कथाका प्रवृत्ति थिए भने पारिजातका कथामा प्रयुक्त चेतनाले वर्गीय उत्थान र अस्तित्ववादी चिन्तनका नवीन शैली प्रयोग गरी नेपाली कथामा सूक्ष्म बौद्धिक चिन्तनको परम्परा बनाइरहेको थियो ।
२०४७ सालदेखि २०५२/०५३ सालको अवधिमा नेपाली राजनीतिमा व्यवस्थाको परिवर्तन मात्र भयो, तर आम जनताका विकास निर्माण र आर्थिक समुन्नति तथा समानताका चाहनाहरूप्रति कुनै सम्बोधन हुन सकेन । अर्कोतिर बहुदलीय व्यवस्थासँगै भित्रिएको खुला बजार नीतिले विज्ञापनमुखी र उपभोक्तावादी स्वभावलाई जगाइदियो । क्रयशक्तिमा वृद्धि नहुने तर आयातित वस्तुहरू उपभोगका विकल्पहरू अनेक दिने अनियन्त्रित बजारतन्त्रले आर्थिक क्रान्तिका नाममा भ्रष्टाचार मात्रै मौलाउन थालेकाले सरकारसँगका पहुँचमा रहेकाको मात्र जीवनस्तर उकासियो भने अरु नागरिकमा नेतृत्वप्रति शङ्का पैदा भयो । यसैबिच आएका नारीकथामा जीवनको अवमूल्यन, पितृसत्ता र राज्यसत्ताको आन्तरिक विरोध, चेलीबेटीको बेचविखन र हिंसाका विरुद्ध केही आवाज प्रकट भएको पाइन्छ तर पनि स्पष्ट र खुला किसिमले नारीशक्ति र संरचनाका विषयमा आवाज मुखरित हुन सकेको देखिँदैन । यस अवधिमा लेखिएका कथामा असन्तुष्टि र असहमति व्याप्त भए पनि नारीकथामा भने नारी जातिप्रतिको विभेद र अभावका पीडा नै ज्यादा मुखरित भएको पाइन्छ ।
२०५३ सालदेखि २०६२÷०६३ सालको अवधि आम नेपालीका निम्ति दस बर्षे सशस्त्र द्वन्द्व र अन्तमा गणतन्त्रका निम्ति समर्पित समय हो । यस समयमा लेखिएका नारीकथाले मातृत्व चेतनाका नयाँ परिवेशगत स्वरुपको प्रकाशन गरेको छ । देशमा द्वन्द्व भएकाले शिक्षा, स्वास्थ्य र रोजगारीका सही अवसरको कमी थियो । घरका अधिकांश पुरुषहरू राज्य र प्रतिपक्ष दुवैका दोहोरो दमनमा परेकाले सहर पस्ने या देश छाड्ने क्रम बढेर गएको थियो । यस्तो बेला अधिकांश घरमा छाक टार्ने समस्या त छँदै थियो, त्यसमाथि सुरक्षाको अभाव, त्रासदी र पारिवारिक वियोगान्तले नारी र नारीकथाको परिवेशलाई बढी नै प्रभावित पारेको थियो । त्यसैले तत्कालीन नारीकथामा सशस्त्र आतङ्कका विरोधमा नै बढी कलम चलेको पाइन्छ । त्यस आतङ्कभित्र रहेका बलात्कार र हिंसाका घटनाहरूलाई कथ्यका रुपमा लिएर कलम चलाउने नारीकथाकारको बाध्यताका त्यससमयमा देखिएको छ ।
उत्तरवर्ती नारीकथाको दोस्रो अर्थात् पछिल्लो मोड (२०६३ सालदेखि हालसम्म) सांस्कृतिक जागरणको अवधिका रुपमा विस्तारित भएको छ । यस समयमा आएका नारीकथामा उत्तरआधुनिक बहुलबादी संस्कृति र संस्कारको प्रकटीकरण भएको छ । रुढीग्रस्त सामाजिक मान्यताहरू र विभेदकारी सांस्कृतिक प्रचलनहरूका विरुद्धमा यस अवधिमा निकै सशक्त कथाहरू लेखिएका छन् । वर्गीयताभित्रका समस्याहरूलाई यथास्थितिवादी नभएर आलोचनात्मक यथार्थवादीका रुपमा नारीकथाले प्रस्तुत गरेको छ । समग्रमा उत्तरवर्ती नारीकथाले नारीका समस्या र पुरुषका समस्यालाई समान रुपले अघि ल्याउने क्रमको थालनी समेत गरिरहेको छ ।
सन्दर्भ सूची
ढकाल रजनी र गीता त्रिपाठी (२०७१). नेपाली महिला लेखन : प्रवृत्ति र योगदान. काठमाडौं : गुञ्जन ।
त्रिपाठी, गीता (२०६७). कृति विश्लेषण : प्रायोगिक आयाम. काठमाडौं : रत्न पुस्तक भण्डार ।
उप्रेती, लक्ष्मी (२०६८). नेपालका नारी कथाकार : प्रवृत्ति र प्रतिनिधि कथा : वनिता प्रकाशन
त्रिपाठी, सुधा (२०७०). नेपाली साहित्यमा महिला स्रष्टाको योगदान. नेपाल प्रज्ञा प्रतिष्ठान र दण्डपानी अज्र्याल स्मृतिकेन्द्रको संयुक्त आयोजनामा भाद्र १७ गते सोमबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा प्रस्तुत कार्यपत्र ।
पाण्डे, ज्ञानु (२०६८). नेपाली साहित्यमा नारीस्रष्टाको अवस्था. नारीस्रष्टा चिन्तन र सिर्जना (सम्पा. विमल भौकाजी).उत्तर अमेरिका : नेपाली साहित्य प्रतिष्ठान, पृ.५९–७१) ।
लुइँटेल, लीला (२०६९). नेपाली महिला साहित्यकार. काठमाडौं : गुञ्जन ।
श्रेष्ठ, दयाराम (२०७०). नेपाली कथा र कथाकार. काठमाडौं : नेपाल प्रज्ञाप्रतिष्ठान ।
000
000
No comments:
Post a Comment